कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २० गते)

पीसीआर विधिबाट १३ हजार ९८ र आरडीटी विधिबाट ४८ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो कुरा बताउनु भएको हो । उहाँले पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित फेला नपरेको बताउनु भयो ।

प्रदेश १

प्रदेश १ मा वैशाख २० गतेसम्म कोरोना भाइरसका शङ्कास्पद १ हजार ४ सय ९६ जनाको स्वाब सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । वैशाख २० गतेसम्म ३ सय ५१ जना महिला र १ हजार १ सय ४५ जना पुरुषको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएका मध्ये ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार वैशाख २० गते १ सय ५४ जनाको स्वाब सङ्कलन गरिएको छ । स्वाब सङ्कलन गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । आरडीटी विधिबाट वैशाख २० गतेसम्म ५ हजार ४ सय ९९ जनाको एण्टीवडी परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । आरडीटी परीक्षणमा ९ सय २८ जना महिला र ४ हजार ५ सय ५६ जना पुरुष गरी ५ हजार ४ सय ८४ जनाको रिपोर्ट नेगेटिभ आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा वैशाख २० गते ११ जना क्षमता भएको क्वारेण्टाइन थपिएको छ । वैशाख २० गतेसम्म क्वारेण्टाइनमा ४ सय ८१ जना महिला र १ हजार ७ सय ९७ जना पुरुष गरी २ हजार २ सय ७८ जना बसेका छन् । होमक्वारेण्टाइनमा बस्नेको सङ्ख्या ६ हजार ७ सय ६ जना पुगेको छ । आइसोलेशनमा बस्नेको सङ्ख्या ३४ जना छ ।

नोबेल मेडिकल कलेज, विराटनगरले हात भाँचिएर अप्रेशनका लागि भर्ना भएका उदयपुरका भीमबहादुर खत्रीलाई वैशाख १९ गते अप्रेशन थिएटरबाटै निकालेको छ । नोबेलले यसअघि मोरङको पथरीकी एक वृद्धालाई खोकेको भन्दै अपरेशन थिएटरबाट निकालेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको थियो । सोही अस्पतालले प्रसूति गराउन वैशाख १७ गते शल्यक्रिया कक्षमा पुर्‍याइएकी सरस्वती रौनियारलाई उदयपुर घर भएको भनी कोशी अस्पतालमा रेफर गरेको थियो । विराटनगरका अस्पतालले भर्ना लिन नमानेकै कारण समयमा उपचार नपाएर वैशाख १८ गते सुनसरीको देवानगञ्ज गाउँपालिका-१ का २७ वर्षीय रविन्द्र यादवको मृत्यु भएको थियो ।

नोबेल मेडिकल कलेज विराटनगरले स्वास्थ्य उपचारबाट वञ्चित गराएको विषयमा वैशाख १९ गते प्रदेश मानव अधिकार अनुगमन समितिले विज्ञप्ति जारी गरी प्रदेश सरकारसँगै सरोकारवालाहरूको ध्यानाकर्षा गराएको छ । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल बार एशोसिएशन, नेपाल पत्रकार महासङ्घ र गैरसरकारी संस्था महासङ्घबीच सहकार्य भई गठन भएको मानव अधिकार अनुगमन समितिले विज्ञप्ति जारी गर्दै आधारभूत खाद्य अधिकार र स्वास्थ्य अधिकारको रक्षा गर्न आग्रह गरेको छ ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा वैशाख २० गतेसम्म कोरोना भाइरसका शङ्कास्पद २ हजार ४ सय १० जनाको स्वाब सङ्कलन गरिएकोमा १ हजार ९ सय १० जनाको रिपोर्ट आएको छ । जसमा १ हजार ८ सय ९८ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिनु भयो । ५ सय जनाको रिपोर्ट आउन बाँकी रहेको छ । त्यसैगरी, वैशाख २० गतेसम्म आरडीटी किटबाट ५ हजार २ सय २३ जनाको परीक्षण गरिएकोमा ५ हजार २ सय १३ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेशमा क्वारेण्टाइन सङ्ख्या १ सय ७५ रहेकोमा ४ हजार १४ क्वारेण्टाइन बेड रहेको छ । वैशाख २० गतेसम्म १ हजार ३ सय ७ जना क्वारेण्टाइनमा रहेका छन् भने ४ हजार ५ सय ३२ जना होम क्वारेण्टाइनमा रहेका छन् । कोरोना आशङ्का गरिएका २३ जना बिरामी आइसोलेशन वार्डमा उपचारार्थ छन् । प्रदेशमा आइसोलेशन बेड सङ्ख्या २ सय ६७ रहेको छ ।

सीमा नाकामा खटिएका सुरक्षाकर्मीका आँखा छलेर भारतको पञ्जाबाट दुई जना युवा वैशाख १९ गते रौतहटको कटहरिया आइपुगेका छन् । पञ्जाबबाट १२ दिनसम्म साइकल चलाएर कटरिया आइपुगेका ती दुई युवालाई क्वारेण्टाइनमा पठाइएको इलाका प्रहरी कार्यालय, कटहरियाका प्रहरी नायब निरीक्षक सुरेन्द्र सिंहले जानकारी दिनु भयो ।

बाराको देवताल गाउँपालिका-७ पिपरपाती जब्दीका क्यान्सर पीडित ४५ वर्षीय रामबलेश महतोलाई सोही गाउँपालिकाका अध्यक्ष चन्दनकुमार सिंह र प्रमुख प्रशासकिय अधिकृत राजीव कुमार यादवले क्यान्सर अस्पताल भरतपुर जानका लागि गाउँपालिकाको एम्बुलेन्स नदिएको भन्दै पीडितले वैशाख २० गते जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन् ।

सप्तरी, सिरहा, महोत्तरी र बारा जिल्लाले राहत वितरण कार्यलाई जारी राखेको छ । सप्तरीको महादेवा गाउँपालिका-१ नम्बर वडा कार्यालयले वैशाख २० गते पकरी टोलमा दलित, विपन्न, असहाय परिवारका ७ सय परिवारलाई राहत वितरण गरेको वडा अध्यक्ष जयश्वर किशोर दासले बताउनु भयो  । त्यसैगरी सिरहाको विष्णुपुर गाउँपालिका-२ का गरिब, दलित तथा विपन्न परिवारहरूका २ सय ९४ परिवारलाई वैशाख २० गते राहत वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलदेव यादवले बताउनु भयो । त्यसैगरी महोत्तरीको सोनमा गाउँपालिका-१ मा रहेका अति गरिब विपन्न ३ सय ५० घरपरिवारहरूलाई लक्षित गरी राहत वितरण गरिएको वडा अध्यक्ष अशोक कुमार यादवले जानकारी दिनु भयो । त्यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-१८ लामिडाँडाका लकडाउन प्रभावित माझी र मुसहर समुदायका ६५ परिवारलाई सङ्घीय सभा सदस्य रामबाबु कुमार यादवले वैशाख २० गते राहत वितरण गरेको यादवका नीजि सचिव कमलेश मण्डलले बताउनु भयो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

आरडिटी विधिबाट बागमती प्रदेशमा ५ हजार ५ सय १५ जनाको नमूना स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बागमती प्रदेशमा ४ हजार ७ सय ५१ ओटा क्वारेण्टाइन बेड रहेकामा ५ सय ११ जना क्वारेण्टाइनमा रहेका छन् । मन्त्रालयका अनुसार ९ सय ४८ आइसोलेशन बेड रहेकामा ११ जना आइसोलेशनमा उपचाररत छन् । बागमती प्रदेशमा सात जनामा कोरोना देखिएकामा एक जनाको उपचार जारी छ । अन्य ६ जना उपचारपछि निको भएर आ-आफ्नो घर गइसकेका छन् ।

सिन्धुलीको दुधौली नगरपालिकाले सुत्केरीलाई पोषिलो खानेकुरा वितरण गरेको छ । नगरपालिकाले रिलिफ नेपालको सहयोगमा ७५ जना सुत्केरीलाई पोषिलो खानेकुरा वितरण गरेको हो । लकडाउन उल्लङ्घन गरेको आरोपमा ललितपुर प्रहरीले ३ सय ९० जनालाई वैशाख २० गते कारबाही स्वरुप कोभिड-१९ को बारेमा दुई घण्टे कक्षामा राखेर घर पठाएको छ । सवारी पास नलिएका तर अत्यावश्यक सेवा बिरामी, मलामी, कृषि मल, बीउ लिन जानको लागि आफू कहाँदेखि कहाँसम्म जाने भन्ने ट्राफिक प्रहरीको १०३ वा प्रहरी कन्ट्रोल १०० मा जानकारी दिइ अनुमति लिन सकिने व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।

भक्तपुरको मानव अधिकार अवस्था अनुगमन तथा समन्वय समितिले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीलाई सदस्यमा मनोनित गरेको छ । सिन्धुपाल्चोक जिल्लामा कोरोना भाइरसको महामारीपछि बन्द भएको विद्यालयहरूमध्ये चौतारा साँगाचोकगढी नपा-७ स्थित सिद्धिगणेश माविले विद्यार्थी भर्ना अभियान सुरू गरेको छ । टोलटोलमा शिक्षकहरू पुगेर १०/१० जनाको समूहमा अभियान चलाइएको हो ।

नुवाकोटको विदुर नगरपालिकाले नगरपालिका भित्र रहेको बाँझो जमिनलाई कृषि प्रयोजनमा उपयोग गर्न "विदुर नगरपालिका कृषि उपयोग तथा अनुदान कार्यविधि २०७७" पारित गरेको छ । कार्यपालिकाको बैठकले पारित गरेको कार्यविधिमा नगरपालिकाभित्र अन्नबाली, तरकारी, फलफुल तथा मसलेदार खेती जस्ता कृषिजन्य उत्पादन कार्य गर्न चाहेमा नगरपालिकाले सहजीकरण गरि प्रोत्साहन स्वरुप मल, बीउ, यन्त्र, सिंचाइ आदिमा थप अनुदानको समेत व्यवस्था गरि नगरवासीलाई कृषिमा आत्मनिर्भर गराउन आवश्यक व्यवस्थाको थालनी गरेको जनाएको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा वैशाख २० गतेसम्म प्रदेशमा ६ सय ३३ जनाको स्वाब परीक्षण गरिएकामा ६ सय ३१ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशमा वैशाख २० गतेसम्म कुल ५ हजार ८ सय ३४ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ । गण्डकी प्रदेशमा ४ हजार १ सय ८० ओटा क्वारेण्टाइन बेड रहेकामा ६ सय ३२ जना क्वारेण्टाइनमा रहेका छन् । २ सय ५० आइसोलेशन बेड रहेकामा अहिले कोही पनि आइसोलेशनमा नरहेको सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) जिल्लाको कावासोति नगरपालिकाले एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई लक्षित गरी स्थानीय टेलिभिजन र रेडियो मार्फत शैक्षिक कार्यक्रम प्रसारण शुरू गरेको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

एकजना पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएपछि रुपन्देही जिल्लाको कोटहीमाइ गाउँपालिका-१ को पुर्निहवा गाउँमा 'सिल' गरिएको छ । कोटहीमाइ गाउँपालिकाको मझगाँवास्थित श्री मर्चवार आर्दश उच्च माविको क्वारेण्टाइनमा रहेका स्थानीय २५ वर्षीय पुरुषमा कोरोनाको सङ्क्रमण पुष्टि भएपछि गाउँलाई सिल गरिएको हो । अर्को आदेश नभएसम्म सिल गरिएको उक्त गाउँमा आवतजावत गर्नसमेत पाइँदैन । उक्त गाउँसहित बाहिरी क्षेत्रमा चारैतिर प्रहरी परिचालन गरिएको छ । गाउँलेलाई खाद्यान्न र आपतकालीन समस्या समाधानका लागि स्थानीय तह र प्रशासनले समन्वय गर्नेछन् ।

बाँकेमा कोरोना सङ्क्रमित देखिएपछि दाङको तुलसीपुर उपमहानगरपालिकाले नेपालगञ्जबाट आउने नाकामा कडाइ गरेको छ । नेपालगञ्जबाट आउने मुख्य नाकाका रूपमा रहेको वडा नं. १३ को दमारगाउँमा २४ घण्टा जाँच सुरू गरिएको हो ।

बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमण देखिएका ६० वर्षीय पुरुषको परिवार र उनको सम्पर्कमा रहेका मानिसहरूको वैशाख २० गतेदेखि कोरोना परीक्षण सुरु भएको छ । राप्ती सोनारी गाउँपालिकाको अनुरोधमा इन्सेकले नाकाबस्ती गुर्दन गौरी, महेशपुर, चुनभट्ठी, बासखोली, मासमानी, खयरभट्ठी टोलका १ सय २६ घरधुरीलाई खाद्यान्न वितरणमा सहयोग गरेको छ ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

जिल्ला बाहिर अध्ययन तथा कामले रोकिएका र लकडाउनमा फसेका सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकाका नागरिकहरूको हवाइमार्गबाट उद्दारको मागलाई मध्यनजर राख्दै पर्यटन मन्त्रालयले नेपालगञ्ज र सुर्खेतमा लकडाउनमा फसेका हुम्लाबासीलाई हवाइ सेवाबाट उद्दार गर्ने निर्णय गरेअनुसार वैशाख २० गतेदेखि उद्दार सुरू भएको छ । उद्दार गरिएका नागरिकलाई वैशाख २० गते हुम्लाको विमानस्थलको हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गर्दै आ-आफ्ना गाउँपालिकामा पठाइएको छ ।

अध्ययन, रोजगारी तथा औषधि उपचारका लागि काठमाडौँ, नेपालगञ्ज र सुर्खेतमा रहेका ६  हजार ७ सय ६५ जनालाई कर्णाली प्रदेश सरकार र मुगु जिल्लाका चार स्थानीय तहमध्ये तीन छाँयानाथ रारा नगरपालिका, सोरु र मुगुम कार्मारोङ गाउँपालिकाले उद्धार गरी जिल्ला भित्र्याएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि बाहिरबाट आउनेहरूका लागि स्थानीय तहले अनिवार्य १४ दिन होम क्वारेण्टाइनमा बस्नुपर्ने भनी कागज गराएर मात्र उद्दार गरेका हुन् ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा वैशाख २० गते कोरोना भाइरसको स्वाब सङ्कलन केन्द्रको स्थापना गरिएको छ । कोरोना भाइरस सङ्क्रमितका लागि बनाइएको आइसोलशनलाई मध्यनजर गरी स्वाब सङ्कलन केन्द्रको स्थापना गरिएको हो ।

डोटी जिल्ला विपद् व्यवस्थापन समितिको बसेको बैठकले कोराना महामारीबाट जिल्लामा सबै सुरक्षित रहुन् र क्वारेण्टाइनमा बसेकाहरूलाई सहजता होस् भन्ने उद्देश्यले काठमाडौँलगायत जिल्ला बाहिरबाट आउने बिरामी, दीर्घ रोगी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई सेल्फ क्वारेण्टाइनमा राख्ने निर्णय भएको छ ।

भारतीय सीमा नाका झुलाघाटबाट उद्दार गरेर ल्याइएका बैतडीको पुचैंडी नगरपालिका-६ मनकालीका ६७ वर्षीय जुने लुहारको मृत्यु भएको छ । उनलाई वैशाख २० गते बिहान क्वारेण्टाइनमा लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । लुहार वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिएका थिए ।

बन्दाबन्दीका कारण भोकै बस्नुपर्ने बाध्यता रहेका दैनिक ज्यालादारी, विपन्न परिवार, गरिबलाई अछाम जिल्लाको सदरमुकामस्थित मङ्गलसेन नगरपालिकाले वैशाख २० गतेबाट खाद्यान्न राहत वितरण सुरु गरेको छ । त्यसैगरी, लकडाउनका क्रममा आवतजावतलाई रोक्न पञ्चदेवल-विनायक नगरपालिकाले कर्णाली प्रदेशको दैलेख, कालीकोटबाट अछाम प्रवेश गर्ने बेलखेतलगायतका नाकामा आवतजावतमा कडाइ गरिएको छ ।

विभिन्न जिल्लाबाट दार्चुला भित्रिएका सयौँ मानिसलाई आरडिटी परीक्षणबिना घर पठाइएको छ । स्थानीय तहले उद्दार गरी ल्याएका तथा सरकारको निर्णयअनुसार भारतबाट उद्दार गरिएका नागरिकलाई सिधै घर पठाउँदा गाउँमा त्रास बढेको छ । त्यसैगरी, भारतमा मजदुरी गरी फर्किएका बैतडी जिल्ला पुर्चौडी नगरपालिकाका कृष्णराम पार्की रडुवा भन्ने क्षेत्रमा ट्युब तरेर नेपाल भित्रिएको दार्चुला जिल्लाको लेकम गाउँपालिका-३ स्वास्थ्य सहसंयोजक सीता गुरुङले जानकारी दिनु भयो । उनलाई सीमामा खटिएका सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर लेकम गाउँपालिका-३ को क्वारेण्टाइनमा राखिएको छ ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क