कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १७ गते)

साउन १७ गते ३ सय १५ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार नाघेको छ । साउन १७ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको छ । जसमध्ये ५६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १७ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १४ हजार ४ सय ९३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन १७ गते ९३ जना डिस्चार्ज भएका छन् भने निको दर ७२.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ५ हजार ५ सय ३८ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ६ हजार ९ सय ९३ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश २ 

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजस्थित साईकृष्णा हस्पिटल एण्ड मेडिकल कलेजस्थित क्वारेण्टाइनको अवस्था फोहोर र दुर्गन्धित रहेको भिडिओ र फोटोहरू सार्वजनिक भएपछि साउन १७ गते कोभिड–१९ का संयोजक एवम् गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झासहितको टोलीले साउन १७ गते आइसोलेशन केन्द्रको निरीक्षण गर्नु भएको छ । आइसोलेशन केन्द्रमा केही सङ्क्रमितहरुले बाहिरबाट खाना, नास्ता ल्याएर डस्टबिनमा नथुपारी बाहिर फोहोर फ्याँक्ने गरेको भन्दै बाहिरबाट आउने खाना रोकिएको डाक्टर झाले बताउनु भयो । सुचारू अवस्थामा नरहेको पुरानो भवनमा बनाइएको आइसोलेशन केन्द्रमा पानी निकासका लागि ड्रेन नरहेकोले शौचालयको समस्या रहेको भन्दै उहाँले सोको व्यवस्थापन भइरहेको बताउनु भयो । जनशक्तिको अभावमा थोरै सरसफाई कर्मचारीहरू अति सम्वेदनशील स्थलमा गएर सरसफाई गर्न नमान्ने गरेकोले थप जनशक्तिका लागि प्रदेश र सङ्घीय सरकारसँग माग गरेको पनि डाक्टर झाले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी आनन्द ठाकुरले आइसोलेशनको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको र अविलम्व सुधार गर्न सरोकारवाला निकायलाई जानकारी गराएको बताउनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा साउन १७ गते पाँच जनामा कोरोना सङ्क्रमण पोजेटिभ भेटिएकोमा दुई जना समुदायमा बस्दै आएका व्यक्तिहरू रहेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु  भयो । सिरहा नपा–१६ का पुरुष राजनितिकर्मी र लहान नपा–८ का पुरुष स्वास्थ्यकर्मीसहित क्वारेण्टाइनमा रहेका तीन जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितहरू समुदायमा घुलमिल गरेर काम गर्ने व्यक्तिहरू रहेकोमा उनीहरूलाई ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि साउन १४ गते पीसीआर परीक्षण गरी विराटनगर पठाइएकोमा साउन १७ गते सङ्क्रमण पुष्टि भएको प्रमुख यादवले बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोरोना सङ्क्रमित बिरामीहरूले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामको कोरोना विशेष अस्पतालमा भेण्टिलेटर नभएर ६ जना कोरोना सङ्क्रमितलाई धरान रेफर गरिएको आइसोलेशन धनुषाका संयोजक डाक्टर जामुन सिंहले बताउनु भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा रहेको चार ओटा भेण्टिलेटरमध्ये दुई ओटा पाँच वर्षदेखि बिग्रेको भएपनि अहिलेको कोरोना माहामारीको समयमासमेत मर्मत नहुँदा बिरामीहरूलाई रेफर गर्नु बाहेक अर्को विकल्प नभएको डाक्टर सिंहले बताउनु भयो । भेण्टिलेटर र आइसीयू अभावका कारण कोरोना सङ्क्रमित बिरामी र अन्य प्रकारका सिकिस्त ६ देखि आठ जना बिरामीलाई दैनिक रेफर गरिँदै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर नागेन्द्र यादवले बताउनु भयो । बिरामीको चाप अत्यधिक देखिएकाले अस्पतालमा कम्तीमा २० ओटा भेण्टिलेटर र २० बेडको आइसीयू आवश्यक रहेको डाक्टर यादवले बताउनु भयो ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार वीरगंजको नारायणी वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी महिलामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । अस्पतालमा उपचाररत ५० वर्षीया महिलाको मृत्यु साउन १६ गते भएको थियो । नारायणी अस्पतालको प्रयोगशालाले १६ गते राति ११ बजे दिएको रिपोर्ट अनुसार उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । उनी निमोनिया उपचारका लागि अस्पताल भर्ना भएकी थिइन् । साउन १६ गते बिहानदेखि उनको श्वासप्रश्वासमा समस्या देखिएको हो । मृत्यु हुनु अघि नै कोरोना भाइरसको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । पीसीआर ल्याबबाट राति ११ बजे आएको रिपोर्टमा तीन जना महिलासहित ६४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  तीन जना महिलामध्ये मृतक महिलाको रिपोर्ट पोजेटिभ देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदनकुमार उपाध्याय जानकारी दिनु भयो  । उनको शव हालसम्म गण्डकमा रहेको नारायणी बयोधा अस्पतालमै रहेको अस्पतालको प्रशासन शाखाका बिष्णु पटेलले बताउनु भयो ।

त्यसैगरी वयोधा अस्पतालको आइसीयू कक्षमा उपचाररत ६८ वर्षीया महिलाको साउन १७ गते कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ  । साउन १६ गते पुष्टि भएका ६४ जनामध्ये ६८ वर्षीया महिलामा पनि कोरोना सङ्क्रमण पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ । ६८ वर्षीय महिलालाई साँझ गण्डक कोभिड अस्पतालमा सारिएको थियो । श्वासप्रश्वास समस्या देखिएको उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि कोभिड अस्पताल गण्डकमा उपचारको लागि रेफर गरिएको थियो ।

बागमती प्रदेश

यस प्रदेशमा साउन १७ गते काठमाडौँमा पाँच, रामेछापमा दुई, भक्तपुर र काभ्रेमा एक÷एक जना गरी नौ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या १ हजार १ सय १५ जना पुगेको छ । जसमध्ये ५ सय ३२ जना उपचारपछि घर फर्किएका छन् भने ५ सय ७३ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणका कारण १० जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले बताउनु भयो । सेढाईँले यस प्रदेशको रसुवा जिल्लाका सङ्क्रमित उपचारपछि निको भइसकेकाले सङ्क्रमित कोही पनि बाँकी नरहेको समेत जानकारी दिनु भयो ।

गण्डकी प्रदेश

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार साउन १७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले देवचुली नगरपालिका–१६ रजहरमा रहेको कोरोना अस्थायी अस्पतालको अनुगमन गर्नुभएको छ । सामुदायिक प्राकृतिक चिकित्सालयमा स्थापना गरिएको अस्थायी अस्पतालको आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितको अवस्था र हालसम्म अस्पतालबाट भइरहेको उपचारको बारेमा मुख्यमन्त्री गुरूङले जानकारी लिनु भएको थियो । सो अवसरमा उहाँले गण्डकी प्रदेश सरकारले अस्पताललाई आवश्यक पर्ने थप स्वास्थ्य सामग्री उपलब्ध गराउने बताउनुभयो ।


अनलाइन डेस्क