कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १६ गते)
साउन १५ गते २ सय २४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ७ सय ७१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १६ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १४ हजार ३ सय ९९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन १६ गते १ सय ५१ जना डिस्चार्ज भएका छन् भने निको दर ७२.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १६ गतेसम्म ५६ जनाको मृत्यु कोरोना सङ्क्रमणका कारण भएको छ । ५ हजार ३ सय १६ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा १० हजार ७ सय ६८ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार विराटनगर महानगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिन नदिन साउन १६ को मध्यरातिदेखि नगरक्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको छ । महानगरस्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समिति (सीसीएमसी)को साउन १६ गतेको बैठकले नगर क्षेत्रमा समुदायस्तरमा सङ्क्रमितहरू वृद्धि भइरहेको अवस्थामा त्यसको नियन्त्रण एवम् रोकथाम लागि भदौ १ गतेसम्म महानगरपालिका क्षेत्रभित्र लागू हुने गरी लकडाउनको निर्णय गरिएको महानगर प्रमुख भीम पराजुलीले जानकारी दिनुभयो ।
प्रदेश २
प्रदेश २ मा साउन १६ गते सम्ममा जम्मा ५ हजार १ सय ५४ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार १ सय १ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल २ हजार ३४ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन १६ गते सम्ममा १९ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सङ्क्रमितहरूले आइसोलेशन केन्द्रमा शौचालय, बाथरूम, बेड फोहोर र दुर्गन्धित भएको भन्दै सङ्क्रमितहरूलाई निको हुन नभई थप बिरामी बनाउन राखेको तथा पहुँच हुने सङ्क्रमितहरू घरमै र अन्य सङ्क्रमितहरूलाई आइसोलेशन केन्द्रमा राखेर विभेद गरिएको भन्दै राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजमा रहेका सङ्क्रमित तथा उनका परिवरले विरोध जनाएपछि जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीएमसी)ले साउन १६ गते सङ्क्रमितहरूलाई घरमै आइसोलेशनमा बस्न पाउने निर्णय गरेको छ । सिडिओ शंकरहरी आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले लक्षण नदेखिएका र होम आइसोलेशनमा बस्न इच्छुक सङ्क्रमितहरूको हकमा नेपाल सरकारको निर्देशिका बमोजिम स्वास्थ्य मापदण्ड पूरा गरी होम आइसोलेशनमा राख्न सकिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी एवम् प्रशासकिय अधिकृत आनन्द ठाकुरले जानकारी दिनु भयो ।
कञ्चनरुप नगरपालिकाले साउन १६ गते एक सूचना जारी गर्दै कञ्चनरुप, बरमझिया, पोटरी, बलुवा, रुपनगर, बरदहट्टा, सिमरा, बक्साहा, बेङ्गरी, महादेव पट्टीस्थित गुदरी, हटिया र बजार साउन १७ गतेदेखि बन्द गर्ने जनाएको छ । कञ्चनरुप नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत नवराज खड्काले साउन १६ गते एक सूचना जारी गरी हाल आएर कोभिड–१९ रोग समुदायमा फैलिने सम्भावनालाई मध्यनजर गर्दै नगर क्षेत्रभित्र उच्च जोखिम न्यूनिकरणका लागि उक्त गुदरी, हटिया र बजारहरू साउन १७ गतेदेखि बन्द रहने जनाउनु भएको छ । बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले एक विज्ञप्ति जारी गरी समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन सक्ने उच्च जोखिम रहेकाले गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने अति आवश्यक सेवा बाहेकका अन्य सार्वजनिक सेवाहरू साउन १५ गतेदेखि अनिश्चितकालका लागि बन्द भएको जनाएका छन् ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा साउन १५ गते कोरोना सङ्क्रमणको पुष्टि भएको छ । साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीको स्वाब सङ्कलन गरिएकोमा न्यायाधिशलाई सङ्क्रमण भएको पुष्टि भएपछि उनलाई आइसोलेशनमा राखिएको छ । उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च सरकारी वकिलको कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय र नेपाल बार एशोसिएशनका पदाधिकारीसहितको छलफलबाट उच्च अदालतका न्यायाधिश कोरोना सङ्क्रमित भएको हुँदा साउन १६ गतेदेखि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित काम कारवाही बाहेकका अन्य काम कारवाही साउन महिनाको अन्त्यसम्म नगर्ने निर्णय भएको नेपाल बार एशोसिएशनका जनकपुरका अध्यक्ष रामनेक साहले जानकारी दिनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार कोरोना सङ्क्रमण फैलिन थालेपछि महोत्तरीको सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको वडा नं. ३ र ५ मा निषेधाज्ञा जारी भएको छ । साउन १५ गते बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले साउन १६ गते राति ११ बजेदेखि सदरमुकामको बजार क्षेत्र र महोत्तरी गाउँपालिको वडा नं. ३ र ५ मा पाँच दिनको लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनु भयो । जलेश्वर सदरमुकामको पूर्व भार्गवसर कुट्टी, पश्चिममा रावि क्याम्पस, उत्तरमा नेपाली सेनाको प्रकौली व्यारेक र दक्षिणमा रातोपुलसम्मको क्षेत्रमा निषेधाज्ञा लगाउन लागेको समितिले जनाएको छ । यस्तै महोत्तरी गाउँपालिकाको वडा नं. ३ र ५ मा सोही समयदेखि निषेधाज्ञा लागु हुने छ ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार कोभिड १९ को सन्र्दभमा जिल्ला प्रशासन कार्यालय रौतहटले साउन १६ गते सुचना जारी गर्दै गृह मन्त्रालयको साउन १५ गतेको निर्देशन बमोजिम अर्को सूचना वा व्यवस्था नभएसम्मको लागि सबै प्रकारका सवारी पासहरू जारी गर्ने कार्य बन्द गरिएको जिल्ला प्रशासन कार्यलयका प्रशासकिय अधिकृत किरणनिधि तिवारीले बताउनु भएको छ । त्यसैगरी अर्को सूचनामा इस्लाम धर्मावलम्बीहरूको महान पर्व इदुल जोहा (बकरीद), हिन्दु धर्मावलम्बीहरूले मनाउने जनै पूर्णिमा (रक्षा बन्धन) तथा कृष्ण जन्माष्टमी पर्व मनाउने क्रममा सामूहिक रूपमा भेला भई, घर बाहिर गएर मनाउँदा कोभिड १९ को सङ्क्रमणको जोखिम बढ्न सक्ने भएकोले उपरोक्त चाडपर्वहरू घरबाहिर गएर भेला भएर सामूहिक रूपमा मनाउन साउन १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार प्रतिबन्ध लगाइएको सूचनामा उल्लेख छ ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार साउन १६ गते जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला सुरक्षा समितिको निर्णयअनुसार साउन १८ गते बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ अनुसार आठ बुँदे निषेधाज्ञाको सूचना जारी गरेको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनु भएको छ । सूचनामा अत्यावश्यक काम बाहेक कोही पनि नागरिकहरू भेला हुन तथा घर बाहिर निस्कन नहुने । पर्सा र बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गका सबै स्थानीय तहहरू, कलैया बजार क्षेत्र, पथलैया–बीरगंज औद्योगिक करिडोरमा पर्ने जीतपुर सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रोनगढ, बरियारपुर लगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामिण क्षेत्रहरूमा निषेधाज्ञा लगाइएको उल्लेख छ ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार वीरगंजमा तीन जना ३५ वर्षीय, ६५ वर्षीय र ५६ वर्षीय पुरूषहरूको कोरोना सङ्क्रमणबाट साउन १५ गते मृत्यु भएकोे मृत्यु भएको छ । ३५ वर्षीय र ६५ वर्षीय पुरूषहरूको मृत्यु पछि कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको हो । ३५ वर्षीय पुरूषको कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा र ६५ वर्षीय पुरूषको उनकै घरमा मृत्यु भएको हो । ५६ वर्षीय पुरूषको भने पछिल्लो एक हप्तादेखि बीरगंजस्थित नारायणी अस्पतालको मातहातमा रहेको गण्डक अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा राति ११ बजे मृत्यु भएको हो । ३५ वर्षीय पुरूषलाई ज्वरो आएपछि साउन ५ गते क्लिनिकमा देखाइएको थियो । स्वास्थ्यमा सुधार नआएपछि १३ गते तराई अस्पताल लगिएकोमा अस्पतालले सोही दिन कोरोना अस्पतालमा रिफर गरेको थियो । उनको मृत्युपछि पीसीआर रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदनकुमार उपाध्यायले बताउनु भयो । त्यसै गरी ६५ वर्षीय पुरूषको मृत्यु पछि कोरोना भाइरसको सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखा परेको हुनाले घरका सदस्यले अस्पताललाई खबर गरेका थिए । अस्पतालको टोली गएर स्वाब सङ्कलन गरेकोमा नतिजा पोजेटिभ थियो भने शवलाई नारायणी अस्पतालमा ल्याएर राखिएको थियो । ५६ वर्षीय पुरूषको साउन ७ गतेदेखि गण्डक अस्थायी अस्पतालमा कोरोनाको उपचार गराई रहनु भएका उहाँको १५ गते अचानक अवस्था गम्भीर भएपछी दिउँसोदेखि अक्सिजन सपोर्टमा राखेर उपचार शुरु गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको गण्डक अस्थायी अस्पतालका डा. निरज सिंहले बताउनु भयो । मृत्यु भएका ५६ वर्षीय पुरुष भारतीय नागरिक हुन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
इन्सेकको पहलमा नागरिकता प्राप्त !
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) इन्सेकको पहलमा गुँरास गाउँपालिका-४ की ३७ वर्षीय अमृताकुमारी विश्वकर्माले नागरिकता प्राप्त गर्नुभएको छ । कानुनी प्रक्रियाका लागि इन्सेकले ०८१ चैत ६ गते उपलब्ध गराएको ८…
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज !
कारागारमा राष्ट्रिय परिचयपत्र वितरण हुँदा कैदीबन्दीलाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयले कारागारभित्रै राष्ट्रिय परिचयपत्र दर्ता तथा निर्माण कक्ष तयार गरी कैदीबन्दीका लागि सहजता बनाएको हो । प्रमुख जिल्ला…
आगलागीले घरगोठ जलेपछि कुवँर परिवारको बिचल्ली ! (फोटो फिचर)
आगलागीले घरगोठ जलेपछि खुम बहादुर कुवँर परिवारको बिचल्ली भएको छ । पति खुम बहादुर कुवँरको मृत्यु भएको धेरै भएको छैन । ६ महिना नपुग्दै इस्मा गाउँपालिका–१, हस्तिचौरकी ५० वर्षीया कमला…
यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध उजुरी
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले पकाहा गाउँपालिका-१ का २५ वर्षीय भुषण राउत र २१ वर्षीय अरुण कुमार यादबविरुद्ध चैत ५ गते प्रहरीमा उजुरी दिएको छ । आरोपितद्वयले पीडित बालिकालाई ०८१ चैत…
महायज्ञका लागि दलितको घर भत्काएको विषयमा इन्सेक र आयोगद्वारा अनुगमन
महायज्ञका लागि औरही गाउँपालिका-५ का ३५ वर्षीय डोम समुदायका दीपक मरिकको घर भत्काएको घटना इन्सेक र राष्ट्रिय मानव अधिकार आयोगले अनुगमन गरेको छ । औरही गाउँपालिकाको डोजर प्रयोग गरी दीपक मरिकको…