कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १५ गते)

साउन १५ गते २ सय ७४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या १९ हजार ५ सय ४७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन १५ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १४ हजार २१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन १५ गते २ सय २७ जना डिस्चार्ज भएका छन् भने निको दर ७२.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । साउन १५ गतेसम्म ५२ जनाको मृत्यु कोरोना सङ्क्रमणका कारण भएको छ । ५ हजार २ सय ४७ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ६ हजार ३ सय ४ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन १५ गतेसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । प्रतिवेदनका अनुसार भोजपुर, सङ्खुवासभा, रसुवा, मनाङ र मुस्ताङमा सङ्क्रमित शुन्य रहेका छन् भने ७२ जिल्लामा सक्रिय सङ्क्रमित छन् ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोशी अस्पताल विराटनगरमा कार्यरत थप दुई जना स्वास्थ्यकर्मीमा साउन १५ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पतालको ओपीडी (बहिरङ्ग) विभागको सेवा बन्द गरिएको सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले बताउनु भयो । यसअघि कोशी अस्पतालका दुई जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका थिए । अस्पतालमा सङ्क्रमित हुने स्वास्थ्यकर्मीको सङ्ख्या थपिँदै गएपछि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपीडीबाट प्रदान गरिँदै आएका सेवा बन्द गरेको डाक्टर दासले बताउनु भयो । कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएका सुनवर्षी नगरपालिका–८ का ४५ वर्षीय पुरुषकी पत्नीमा पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । कोशी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा साउन १५ गते सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार इटहरी उपमहानगरपालिकाका इञ्जिनियरलाई कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कार्यालयले सेवा बन्द गरेको छ । उपमहानगरपालिकाको साउन १५ गतेको बैठकले वडा कार्यालयसम्मको सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख द्वारिकलाल चौधरीले बताउनु भयो ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरीमा तयार गरिएको १ सय ७८ बेडको एक मात्र आइसोलेशन केन्द्रको शौचालय, बाथरूम, बेड फोहोर र दुर्गन्धित भएको भन्दै सङ्क्रमितहरूले साउन १५ गते विरोध जनाएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार सेवा दिन नसके होम आइसोलेशनमै छाड्नु पर्ने भन्दै राजविराज नपा–३ का मुस्तमिक आलमले साउन १५ गते फेसबुकमार्फत फोटो र भिडियो शेयर गर्दै आइसोलेशनमा निको हुनुको साटो थप बिरामी हुने अवस्था रहेको बताउनु भएको छ । आफूहरू आउनु भन्दा अघिका सङ्क्रमितहरूले गरेको फोहोर थुप्रिएकाले हटाउन पटक–पटक माग गरे पनि सुनवाइ नभएको उहाँले गुनासो गर्नु भयो । सङ्क्रमितहरूले पनि सरसफाईमा सहयोग गर्नु पर्ने भन्नु हुँदै कोभिड–१९ व्यवस्थापक एवम् गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले १ सय भन्दा बढी सङ्क्रमित भइरहने भएकाले फोहोर थुप्रिने गरेको र सरसफाई पनि नियमित हुने गरेको बताउनु भयो ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि साउन १५ गते देखि जलेश्वर नगरपालिकाको काम बन्द गरिएको छ । जलेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाको हस्ताक्षर सहित प्रकाशित सूचनाअनुसार अर्को सूचना प्रकाशित नहुञ्जेलसम्म अति आवश्यक सेवा बाहेकका सबै सेवा बन्द रहने उल्लेख छ । सूचनामा कोरोनाको सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाई नगरपालिकालाई सहयोग गरिदिन अनुरोध गरिएको छ ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रदेश २ को सामाजिक विकास मन्त्रालयका एक जना कार्यालय सहयोगी, स्टोर किपर र सवारी चालकलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि कार्यालयका कर्मचारीहरू कार्यालय आउन छाडेकाले कार्यालयको कामकाज प्रभावित हुँदै आएको मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुरले बताउनु भयो । कर्मचारीहरूले मन्त्रालयकै कर्मचारीमा कोरोना सङ्क्रमण देखिएकाले मन्त्रालयको कामकाज बन्द गरी सील गर्न माग गर्दै आएको मन्त्रालयका अधिकृत लक्ष्मण महराले बताउनु भयो ।

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोरोना भइरसबाट नागरिक सङ्क्रमित हुँदै गएकाले नियन्त्रण गर्नका लागि प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले साउन १८ गते देखि लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले आलोपालो सेवा प्रवाह गर्ने साउन १५ गते जानकारी दिनु भयो । उहाँले जिल्ला प्रशासन कार्यालयमा सेवा प्राप्त गर्ने नागरिकको भिडभाड बढ्दै गएकाले भौतिक दुरी कायम गर्दै स्वास्थ्य सुरक्षाको न्यूनतम् उपाय अपनाएर सुरक्षित सेवा प्रवाह गर्ने वातावरण मिलाउन नेपाल सरकार मन्त्रिपरिषद्को साउन ५ गतेको निर्णय नं ५ अनुसार आलोपालो सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको बताउनु भएको छ । सातामा तीन दिन आठ ओटा स्थानीय तह र अर्को तीन दिन बाँकी आठ ओटा स्थानीय तहका नागरिकको पालो तोकिएको छ । आइतबार, सोमबार र मङ्गलबार कलैया उमनपा, निजगढ नपा, कोल्हवी नपा, सिम्रोनगढ नपा, फेटा गाँउपालिका, देवताल गाँउपालिका, बारागढी गाँउपालिका र परवानीपुर गाउँपालिकाबाट कार्यालयमा आउने नागरिकको सेवा प्रवाह हुने पण्डितले बताउनु भएको छ । बुधबार, बिहिबार र शुक्रबार जितपुरसिमरा उमनपा, महानढिमाई नपा, पचरौता नपा, सुवर्ण गाँउपालिका, बिश्रामपुर गाँउपालिका, प्रसौनि गाँउपालिका, करैयामाई गाँउपालिका र आदर्शकोत्वाल गाँउपालिकाका नागकिको लागि सेवा प्रवाह गर्ने व्यवस्था मिलाएको पण्डितले बताउनु भएको छ ।

गण्डकी प्रदेश

बाग्लुङ प्रतिनिधि सृजना पन्तका अनुसार स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि जैमिनी नगरपालिकाले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । साउन १५ गते ५२ वर्षीय स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि नगरप्रमुख इन्द्रराज पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै सबै सेवा बन्द भएको जानकारी गराउनुभएको हो । साउन १६ गते नगरपालिकाका अन्य कर्मचारीहरूको स्वाब सङ्कलन गरी रिपोर्ट नआएसम्म नगरपालिका र वडाका आकस्मिक बाहेक सबै काम बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश ५

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार जिल्लामा पछिल्लो समय समुदायमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि साउन १५ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन समिति (सिसीएमसी) को बैठकले साउन १७ गते राति १२ बजेदेखि साउन २० गते राति १२ बजेसम्म निषेधज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सङ्क्रामक रोग ऐन, २०२० को दफा २ एवम् स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम अत्यावस्यक बाहेकका सम्पुर्ण सेवा तथा कार्यहरू सञ्चालनमा निषेध गरिएको प्रमुख जिलला अधिकारी रामबहादुर कुरूम्वाङले बताउनुभयो । बाँकेमा हालसम्म ४ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार ३ सय ८१ जना निको भएर घर फर्किएका छन् ।


अनलाइन डेस्क