कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ९ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १८ हजार ३ सय ७४ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ९ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये १२ हजार ९ सय ४७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ३ सय ८३ जनाको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये निको दर ७०.५ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । साउन ९ गतेसम्म कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ । मन्त्रालयले २४ घण्टामा १ सय ७ जना निको भएका र १ सय ३३ जनामा कोरोना देखिएको जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको स्वाब परीक्षण गरिएको थियो । साउन ९ गतेसम्म ३ लाख ३५ हजार ८२ जनाको स्वाब परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार उपचार अभावका विराटनगरमा एक जना बिरामीको मृत्यु भएको छ । कोरोना भाइरसको सङ्क्रमण भए/नभएको पुष्टि माग गर्दै अस्पतालले बिरामी भर्ना नगर्दा उपचार अभावमा उदयपुर जिल्लाको कटारी नगरपालिका–५ का २३ वर्षीय पदमबहादुर राईको मृत्यु साउन ९ गते भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि परिवारले पदमबहादुरलाई साउन ९ गते विराटनगर ल्याएको थियो । सुरूमा बिरामीलाई नोबेल अस्पताल विराटनगर लगिएको थियो । नोबेल अस्पतालले कोरोना रिपोर्ट नभएको भनेपछि बिरामीलाई भर्ना नगरेर कोशी अञ्चल अस्पताल पठाएको थियो । बिरामीलाई कोशी अस्पताल पु¥याएपछि अस्पतालले गेटमा रोकेर बिरामीको स्वाब सङ्कलन गरेको थियो । बिरामीको स्वाब सङ्कलन गरी भर्ना गर्ने तयारी गरिरहेको बेला बिरामीको मृत्यु भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चुमनलाल दासले बताउनुभयो । उहाँले भन्नुभयो–‘बिरामी आएपछि स्वास्थ्यकर्मीले चिकित्सकलाई जानकारी गराए लगत्तै आइसोलेशनमा स्वाब सङ्कलन गरे लगत्तै बिरामीको मृत्यु भयो ।’
प्रदेश २
प्रदेश २ मा साउन ९ गते सम्ममा जम्मा ४ हजार ७ सय ९० जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ८ सय ८० जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ९ सय १ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन ९ गते सम्ममा ९ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार आइसोलेशन केन्द्रमा बसेका व्यक्ति, उनका परिवार र साथीहरूले आइसोलेशन केन्द्रमा सुधार आएको बताएका छन् । सङ्क्रमित व्यक्ति, उनका परिवार र साथीहरूले साउन ८ गते खाना, पानीको असुविधा भएको, शौचालय फोहोर रहेको र नुहाउने व्यवस्था समेत नभएको भन्दै इन्सेक प्रतिनिधिलाई भिडिओ र तस्बिरहरूसमेत पठाउँदै आवश्यक पहलका लागि अनुरोध गरेका थिए । त्यसपछि इन्सेक प्रतिनिधिले कोभिड व्यवस्थापक तथा गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झासमक्ष तत्काल समस्या समाधान गर्न आग्रह गर्नु भएको थियो ।
राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा उपचाररत विष सेवनका बिरामी तिलाठी कोइलाडी गाउँपालिका–२ का ५० वर्षीय पुरूषमा साउन ९ गते कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. झाले बताउनु भयो । अस्पतालमा कार्यरत ३२ वर्षीया नर्स र ३६ वर्षीया सरसफाई कर्मचारीमा साउन ७ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि नयाँ बिरामी भर्ना लिन छाडेको अस्पतालमा उपचाररत बिरामीमासमेत साउन ९ गते साँझ कोरोना देखिएपछि राति ७ देखि ११ बजेसम्मका लागि आकस्मिक कक्ष सिल गरिएको डा. झाले बताउनु भयो ।
नर्स र सरसफाई कर्मचारीमा सङ्क्रमण देखिएपछि अस्पतालमा कार्यरत १ सय ९८ जना कर्मचारी, चिकित्सक तथा ४६ जना बिरामीको स्वाब पीसीआर परीक्षण गरिएकोमा विष सेवन गरी भर्ना भएका पुरूषमा कोरोना सङ्क्रमण देखिएको तर अन्य कर्मचारी, चिकित्सक र बिरामीहरूको रिपोर्ट भने नेगेटिभ आएको अस्पतालले जनाएको छ । आकस्मिक कक्षमा रहेका बिरामीहरूलाई अन्य वार्डमा स्थानन्तरण गरिएको छ । आकस्मिक कक्षलाई निसङ्क्रमण गर्न लागिएको छ । बिरामीमा कोरोना पोजेटिभ देखिएपछि उनीहरूको नियमित परीक्षण र रेखदेखमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सकसहितको टोली क्वारेण्टाइन बस्नु पर्ने अवस्था आएकोले अस्पतालको सेवा प्रभावित हुने भएको छ ।
कोरोना भाइरस सङ्क्रमण समुदायमा फैलिए पछि राजविराज नगरपालिकामा लकडाउन र निषेधाज्ञा जारी भएसँगै साउन ९ गते राजविराज नपा–६ स्थित सिरहा रोडको क्षेत्रलाई आवतजावत गर्न नपाउने गरी सिल गरिएको छ । कोरोना सङ्क्रमित ७३ वर्षीय व्यापारीबाट समुदायमा कोरोना फैलिए पछि उहाँको घर रहेको राजविराज नपा–६ स्थित राम मन्दिरदेखि सिरहा रोडको सखडा जाने मोडसम्मको क्षेत्रलाई सिल गरिएको हो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा भिटिएम किट अभाव हुँदा क्वारेण्टाइनमा बसेकाहरूको कोरोना परीक्षण बन्द भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । क्वारेण्टाइनमा बसेकाहरूको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नु पर्ने भए पनि पर्याप्त मात्रामा जिल्लामा भिटिएम नहुँदा परीक्षण गर्न नसकिएको साउन ९ गते भेटघाटको क्रममा इन्सेक प्रतिनिधिलाइ उहाँले बताउनु भएको हो । क्वारेण्टाइनमा लगभग ७ सय जना रहेका छन् । भटिएम २ सय मात्र पठाएकोले कसको गर्ने ? कसको नगर्ने ? समस्या भएको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार पर्सामा स्थानीय प्रशासनले साउन १० गते बिहान ५ बजेदेखि अनिश्चितकालका लागि निषेधाज्ञा घोषणा गरेको छ । कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन सङ्क्रामक रोग ऐन, २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम वीरगंज महानगरपालिका क्षेत्रभरी लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो । परिस्थिति नियन्त्रणमा लिन सेना समेत परिचालन गर्न सक्ने गरी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा अवधिमा औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कोही पनि घरबाहिर निस्कन नपाउने आदेश गरिएको छ ।
बागमती प्रदेश
काठमाडौँमा १० जना र चितवनमा दुई जना गरी १२ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएसँगै यस प्रदेशमा साउन ९ गते कोरोना सङ्क्रमतिहरूको सङ्ख्या ९ सय ८ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले बताउनु भयो । सङ्क्रमितमध्ये ४ सय ५८ जना उपचारपछि घर फर्किसकेका छन् । ४ सय ४० जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ भने १० जनाको मृत्यु भएको डा. सेढाईँले जानकारी दिनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
खानेपानीको अभाव भएपछि स्थानीयलाई सास्ती
आदर्श गाउँपालिका–६ खतेडा, सिल्ल, काडा र टोट्बिला गाउँका स्थानीय वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानी अभावका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको छ । आदर्श गाउँपालिकामा झण्डै…
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…