कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २ गते)
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ४ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २ गते जारी गरेको प्रतिवेदनका अनुसार सङ्क्रमितमध्ये ११ हजार ५ सय ३४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । ५ हजार ८ सय ७१ जनाको उपचार भइरहेको छ भने ४० जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ हजार ६ सय ८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा १ सय १ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये निको दर ६६.१ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । ७७ जिल्लामा नै कोरोना सङ्क्रमित देखिएको भएपनि हाल शुन्य सङ्क्रमित रहेका जिल्लाहरूमा भोजपुर, सङ्खुवासभा, मुस्ताङ, मनाङ र हुम्ला रहेका छन् । सङ्क्रमितमध्ये ८६ प्रतिशत पुरुष र १४ प्रतिशत महिला रहेका छन् ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराज नपा–६ निवासी व्यापारी ७३ वर्षीय वृद्धको उपचारका क्रममा साउन १ गते राति धरानस्थित बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । पत्नीको उपचार गरी भारतको दिल्लीबाट दरभङ्गा हुँदै कान्छा छोरा र पत्नीसहित १३ दिनअघि घर आएका उनको होम क्वारेण्टाइनमै बसेकोमा श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानमा भर्ना भएको राजविराज नपा–६ का वडा अध्यक्ष प्रेम यादवले जानकारी दिनु भयो । मुटु र प्रोस्टेटका बिरामी मृतकमा कोराना सङ्क्रमण पुष्टि भएपछि उनकी पत्नी, छोरा, बुहारी, नाती, नातिनी र घर–पसलमा कार्यरत कर्मचारीहरूको स्वाब सङ्कलन गर्न लागिएको स्वास्थ्य कार्यालय, सप्तरीका निमित्त कार्यालय प्रमुख दुनीयालाल यादवले बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार कोरोना महामारीको कारणले बन्द रहेको विद्यालय पुनः सञ्चालन गर्न सुझाव सहित प्याब्सन रौतहटले जिल्लाका विभिन्न स्थानीय तहहरूमा साउन २ गते ध्यानाकर्षण पत्र बुझाएको छ । कोभिड–१९ का कारण सृजित समस्याहरूको समाधानका लागि पटक–पटक नेपाल सरकारलाई प्याब्सनको तर्फबाट आग्रह गरेको भएतापनि कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि विद्यालयहरूले आफ्ना गतिविधिहरू सञ्चालन गर्न ज्ञापन पत्रमार्फत आग्रह गरेका हुन् । ज्ञापन पत्रमा कोरोना भाइरसका कारण ठप्प भएको पठनपाठनलाई सुचारु गर्न, नयाँ विद्यार्थी भर्ना तथा अध्ययनरत विद्यार्थीहरूको अभिलेखिकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरू व्यवस्थापन मिलाउन प्याब्सनले अनुरोध गरेको छ । कतिपय विद्यालयका भवनहरू क्वारेण्टाइनका रूपमा प्रयोग भएकोले स्थानान्तरण गरी निर्मलीकरणको व्यवस्था गर्न तथा शैक्षिक सत्रको विदाहरू कटौती गर्दै बढी दिनसम्म विद्यालयका कक्षाहरू सञ्चालन हुने गरी क्यालेण्डर निर्माण गर्न प्याब्सनले आग्रह गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार साउन २ गते प्याब्सनले देशभरका स्थानीय तहहरूमा ज्ञापन पत्र बुझाएको प्याब्सन रौतहटका अध्यक्ष वीरेन्द्र ठाकुरले जानकारी दिनु भयो । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले कार्यपालिका बैठकमा सो कुरा राखी शिक्षालाई निरन्तरता गर्ने विषयमा आफू सकारात्मक रहेको बताउनु भयो ।
गण्डकी प्रदेश
लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार क्वोलासोथर गाउँपालिका–६ निवासी २३ वर्षीय युवक क्वारेण्टाइनमा मृत अवस्थामा भेटिएका छन् । असार ३१ गते पोखराबाट लमजुङ गएका उनलाई साउन १ गते क्वारेण्टाइनमा राखिएको थियो । क्वारेण्टाइनमा एक्लै रहेका उनी साउन २ गते मृत अवस्थामा भेटिएको प्रहरी इन्स्पेक्टर ओमबहादुर पुनले इन्सेक प्रतिनिधिलाई जनाकारी दिनुभएको छ । मृतकका परिवारका अनुसार क्वारेण्टाइनमा राम्रो व्यवस्थापन नहुँदा ज्यान गुमाउन परेको गुनासो गरेका छन् । प्रहरीका अनुसार घटना आत्महत्या भएको हुनसक्ने र मृतकको स्वाब परीक्षण रिपोर्ट आएपछि पोष्टमार्टम गरिने भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…
निःशुल्क डाइलासिस सेवाको पालो नपाउँदा बिरामी मर्कामा ! (फोटो फिचर)
सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् । गुलरिया नगरपालिका–१२, लालपुरका…
हत्या घटनाका आरोपितविरुद्ध उजुरी
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार की २८ वर्षीया लक्ष्मीनिया देवी मण्डलको हत्या गरेको आरोपमा ०८१ कात्तिक १५ गते मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र निजका पत्नी २५ वर्षीया रीनादेवी…