कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)

पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ हजार ४ सय ९१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो । नेपालमा सबैभन्दा पहिले ०७६ माघ ९ गते एक जनामा कोरोना पुष्टि भएको थियो । असार २० गतेसम्म ६ हजार ४ सय १५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाका कारण ३४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गोरखाको पालुङटारका ४४ वर्षीय पुरुष र रुपन्देहीको देवदहका ७५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । ९ हजार ४२ जनाको उपचार भइरहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी स्थिति प्रतिवेदन अनुसार १० वर्षमुनिका ५ सय ६९ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी ११ वर्षदेखि २० वर्षसम्मका ३ हजार २ सय ६०, २१ वर्षदेखि ३० वर्षसम्मका ५ हजार ७ सय ६५, ३१ देखि ४० वर्षसम्मका ३ हजार ५ सय ३८, ४१ देखि ५० वर्षम्मका १ हजार ५ सय ६३ जना, ५१ देखि ६० वर्षसम्मका ५ सय ६४ जना, ६१ वर्षमाथिका २ सय ३२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा असार २० गते २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ५ सय ९३ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये २ हजार ३५ जना उपचारपछि निको भएर घर फर्किएकोमा असार २० गते मात्र ६७ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार २० गते थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ८८ पुगेको छ भने एक जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार असार २० गते गोरखा अस्पतालको आइसोलेशनमा मृत्यु भएका पालुङटार नगरपालिका–७ का ४४ वर्षीय कोरोना सङ्क्रमितको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । गोरखा नगरपालिका–१२ र शहिद लखन गाउपालिका–१ को सिमा क्षेत्रमा रहेको लुदि दोभानमा शव व्यवस्थापन गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरे लगतै स्थानीय भेला भएर अवरोध गरेका हुन् । स्थानीयको अवरोध हटाएर असार २० गते साँझ ६ बजे शवको व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले इन्सेक प्रतिनिधिलाई जानकारी गराए । अवरोध गर्ने स्थानीयलाई हटाउन प्रहरीले आठ सेल अश्रुग्याँस पनि प्रहार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताउनुभयो । गोरखा अस्पतालबाट लुदि दोवानसम्म नेपाली सेनाको रणसिंङ दल गणका टोलीले शव पु¥याएर व्यवस्थापन गरेका हुन् । चहलपहल भइरहने ठाउ“मा शव व्यवस्थापन गर्न लागेपछि विरोध गरेको एक स्थानीयले इन्सेक प्रतिनिधिलाई बताउनुभयो ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार व्यास नपा–२ को बालमन्दिर माविमा बनाइएको क्वारेण्टाइन व्यवस्थित नहुँदा क्वारेण्टाइनमा बस्नेहरु राति निस्केर बजार डुल्ने गरेको स्थानीय बासिन्दाहरुले बताएका छन् । एक स्थानीय बासिन्दाले क्वारेण्टाइनमा बस्नेहरु राति भएपछि त्यहाँबाट निस्केर बजारमा डुल्ने गरेको बताउनुभयो । उक्त क्वारेण्टाइनमा अहिले अधिकांश दमौलीका विभिन्न मोटर ग्यारेज र वर्कशपमा काम गर्ने नौ जना मिस्त्रीहरु रहेका छन् । यस विषयमा वडा अध्यक्षलाई जानकारी गराउँदा पनि केही वास्ता नगरेको ती स्थानीय बासिन्दाले बताउनुभयो । क्वारेण्टाइनमा राखिएको १० दिन हुँदासम्म पनि उनीहरुको स्वाब सङ्कलन नगरिएको हुँदा उनीहरु त्यहाँ बस्न मन नलागेको भन्दै रात परेपछि त्यहाँबाट निस्कने गरेको एक वर्कशप सञ्चालकले बताउनुभयो । विद्यालयका सहयोगीको भरमा सञ्चालन गरिएको उक्त क्वारेण्टाइनमा सुरक्षाकर्मीहरुको व्यवस्था नगरिएको कारण पनि उनीहरु त्यहाँबाट निस्किएर हिँड्न सहज भएको छ । बिहान बेलुकीको खाना बाहेक अन्य केही पनि व्यवस्था नभएको, पानी समेत पिउन नपाएको हुँदा क्वारेण्टाइनमा बस्न नसकिने ती वर्कशप सञ्चालकले बताउनुभयो । व्यास नगरपालिका–२ का वडा अध्यक्ष काशिराम श्रेष्ठले स्वाब सङकलनकोलागि स्वास्थ्य कार्यालयले नै टोली पठाउने र आफूले सरकारको नियम अनुसारको सुविधा क्वारेण्टाइनमा बस्नेहरुलाई दिएको बताउनुभयो ।

प्रदेश ५

नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार पीसीआर परीक्षणका लागि स्वाब पठाएको १५ दिनसम्म पनि रिपोर्ट नआउँदा क्वारेण्टाइनमा बसेका व्यक्ति आत्तिनुको साथै क्वारेण्टाइनको व्यवस्थापनमा चुनौति थपिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताउनु भयो । उहाँका अनुसार जिल्लाबाट पठाइएको मध्ये ३ सय ९२ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । समयमा रिपोर्ट नआउँदा क्वारेण्टाइनमा रहेका व्यक्तिहरूमा सङ्क्रमण फैलिन सक्ने त्रास रहेको र खर्च भारपनि बढ्दै गएकोले सेवा सुविधामा घटाउनु पर्ने अवस्था आएको बर्दघाट नगरपालिकाका मेयर धिरज शर्मा बस्यालले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो ।


अनलाइन डेस्क