कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १९ गते)
पछिल्लो २४ घण्टामा ७ सय ४० जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या एकै दिनमा कोरोना पुष्टि भएको आजसम्मकै सबैभन्दा धेरै हो । थपिएका कोरोनासँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १५ हजार २ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो । असार १९ गतेसम्म ६ हजार १ सय ४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोनाका कारण ३२ जनाको मृत्यु भएको र ९ हजार ८४ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितमध्ये ८७ प्रतिशत पुरुष रहेको मन्त्रालयद्वारा जारी स्थिति प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश १
प्रदेश १ मा असार १९ गते थप ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ६ सय ५३ पुगेको छ । प्रदेशमा असार १९ गते २१ जना कोरोनाको उपचारपछि घर फर्किएका छन् । प्रदेशमा कूल ४ सय २१ जना उपचारपछि घर फर्किएका छन् ।
बागमती प्रदेश
यस प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ५ सय ७ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईले बताउनु भयो । जसमध्ये २ सय जना निको भएर घर फर्किसकेका छन् भने ६ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार १९ गते थप ३२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ६३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।
प्रदेश ५
रोल्पा प्रतिनिधि हरिसरा घर्तीका अनुसार गङ्गादेव गाउँपालिका– ५ मा होम क्वारेण्टाइनमा असार १७ गते झुण्डिएर आत्महत्या गरेका ३१ वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब परीक्षण रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख अनिल केसीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । दुबईबाट आएका उनलाई क्वारेण्टाइनमा ठाँउ अपुग भएपछि काकाको घरमा होम क्वारेण्टाइनमा राखिएको थियो । उहाँको सम्पर्कमा आएका र शव व्यवस्थापनमा खटिएका सबैको स्वाब सङ्कलन गरेर पठाइने गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले बताउनु भयो ।
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार संस्थागत विद्यालयका शिक्षक युनियन बाँकेले संस्थागत विद्ययालयमा कार्यरत शिक्षकहरूको लकडाउनको पारिश्रमिक दिर्नु पर्ने माग गर्दै असार १९ गते नेपालगञ्जमा विरोध प्रदर्शन गरेका छन् । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) बाँकेले पारिश्रमिक उपलब्ध गराउन सहयोगको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज, इन्सेक नेपालगञ्ज, जिल्ला प्रशासन कार्यालय बाँकेमा असार १९ गते निवेदन दिएको छ ।
कर्णाली प्रदेश
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार पीसीआर मेसिनमा जाँचिएका कोरोना भाइरस नमूना पुनः परीक्षण गराउँदा हुबहु रिपोर्ट आएपछि दैलेख प्रयोगशालालाई असार १८ गते मान्यता प्राप्त भएको छ । दैलेख प्रयोगशालाले परीक्षण गरेका नमूनाहरू नेपालगञ्ज प्रयोगशालामा असार १८ गते १० ओटा पोजेटिभ र १० ओटा नेगेटिभ रिपोर्टहरू पुनः परीक्षण गर्दा हुबहु रिपोर्ट आएपछि राष्ट्रिय प्रयोगशालाले मान्यता दिएको इञ्चार्ज शङ्कर शाहीले जानकारी दिनु भयो । योसँगै दैलेख प्रयोगशालाको रिपोर्टलाई जिल्लाले नै प्रकाशन गर्न पाउने भएको छ । कोभिड सङ्कट व्यवस्थापन समितिलाई जानकारी गराएर स्वास्थ्य सेवा कार्यालयले असार १९ गतेदेखि रिपोर्ट सार्वजनिक गर्ने अधिकार प्राप्त भएको स्वास्थ्य सेवा कार्यालयका इञ्चार्ज डाक्टर निरञ्जन पन्तले जानकारी दिनु भयो ।
हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिकाको क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले विभिन्न वडाका क्वारेण्टाइनको व्यवस्थापनमा एकरूपता नदेखाएको भन्दै असार १८ गते विज्ञप्ति निकालेका छन् । १४ दिन क्वारेण्टाइनमा बस्दाको समयमा वडा कार्यालय र सिमकोट गाउँपालिकाले व्यवस्थापन, खाना तथा अन्य सुविधाहरूमा असमान व्यवहार गरेको विषयमा पटकपटक सम्बन्धित निकाय र जनप्रतिनिधिलाई ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले आफ्नो माग पुरा नभएमा थप आन्दोलनका कार्यक्रम सञ्चालन गरिने स्थानीय दिपेन्द्र रावतले बताउनु भयो । वडा एकदेखि आठसम्मका क्वारेण्टाइनहरूमा व्यवस्थापनमा एकरूपता नभएको, कोभिड–१९ को महामारीमा भएको खर्चको पारदर्शीरूपमा सार्वजनिक गर्नुपर्ने, पीसीआर रिपोर्ट सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउनुपर्ने उहाँहरूको माग छ ।
सुदूरपश्चिम प्रदेश
बझाङ प्रतिनिधि रमेश केसीका अनुसार बुङ्गल नगरपालिकाले तयार गरेका क्वारेण्टाइनहरूमा बस्दै आएका २ सय २ जनाको पीसीआर रिपोर्ट एक महिना बितिसक्दा पनि नआएपछि उहाँहरूले भागेर घर जाने बताउँदै आएको नगरपालिकाका प्रमुख धनबहादुर विष्टले बताउनु भयो । एक महिना अगाडि नगरपालिकाले किट उपलब्ध गराई स्वाब सङ्कलन गरी परीक्षणका लागि प्रदेश प्रयोगशाला, धनगढी पठाएको भए पनि प्रयोगशालाबाट रिपोर्ट पठाउन ढिलाई गरिएकाले क्वारेण्टाइनमा बसेकाहरूले आफूलाई दबाब दिँदै आएको नगरप्रमुख विष्टको भनाइ छ । बुङ्गल नगरपालिका–१ स्थित महेन्द्र मावि र दहबगर क्वारेण्टाइनमा बस्दै आएका तीन जना पुरुष पीसीआर रिपोर्ट आउन ढिला भएको भन्दै घर गएका छन् । ३१ दिनसम्म क्वारेण्टाइनमा बस्दासमेत आफूहरूको पीसीआर रिपोर्ट नआएपछि घर गएको मङ्गल बोहराले बताउनु भयो । थलारा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले प्रदेश प्रयोगशाला, धनगढीले पीसीआर रिपोर्ट पठाउन ढिला गरेकाले क्वारेण्टाइन व्यवस्थापन गर्न समस्या भएको बताउनु भयो ।
बैतडी प्रतिनिधि नरी बडुका अनुसार भारतका विभिन्न स्थानबाट गाउँ फर्किएर जिल्लाका विभिन्न क्वारेण्टाइनमा बस्दै आएकाहरूको एक महिनासम्म पनि कोरोनाको रिपोर्ट नआउँदा क्वारेण्टाइनमा नै बस्न बाध्य भएका छन् । सुर्नया गाउँपालिकास्थित सिउँडे क्वारेण्टाइनमा बस्दै आउनुभएका राजेन्द्र विष्टले एक महिनादेखि रिपोर्ट कुर्दै बसेको बताउनु भयो । जिल्लाका विभिन्न पालिकाका क्वारेण्टाइनमा बसेकाहरूको स्वाब सङ्कलन गरेर पठाइएको भए पनि एक महिना बितिसक्दासमेत रिपोर्ट नआउँदा समस्या भएको स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो । असार १९ गतेसम्म जिल्लास्थित क्वारेण्टाइनमा ७ सय ६ जना व्यक्तिहरू बस्दै आउनुभएको स्वास्थ्य कार्यालयले जनाएको छ । क्वारेण्टाइनमा बसेका गर्भवती र बालबालिका पोषणयुक्त खानेकुरालगायत स्याहारसुसारबाट वञ्चित हुनु परेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…