कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १७ गते)

पछिल्लो २४ घण्टामा ५ सय २२ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १४ हजार ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनु भयो । असार १७ गते १ सय १७ जना महिला र ३ सय ६५ जना पुरुषमा कोरोना देखिएको डाक्टर गौतमले बताउनु भयो । कुल सङ्क्रमितमध्ये १ हजार ७ सय ७४ जना महिला र १२ हजार २ सय ७२ जना पुरुष रहेका मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण ३० जनाको ज्यान गएको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ३ हजार ६ सय ५६ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार १८ वर्षमुनीका २ हजार ६१ जना बालबालिकामा कोरोना पुष्टि भएको छ ।

प्रदेश १

प्रदेश १ मा असार १७ गते थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ६ सय ४ पुगेको छ । असार १७ गतेसम्म ४ सय जना कोरोनाको उपचारपछि घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा असार १७ गते ५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ४ सय ९२ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये १ हजार ८ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नगरपालिका–१२ मा रहेको आधारभूत विद्यालय पडरिया क्वारेण्टाइनमा रहेकाहरूले असार १७ गते विद्यालयमा जस्तापाताको छानो तातेर गर्मीमा बस्न नसकिने भन्दै आन्दोलन गरेका छन् । पानी पर्दा केही राहत भए पनि घाममा बस्न, सुत्न नसकिने इन्सेक प्रतिनिधिलाई क्वारेण्टाइनका एक जनाले बताउनु भयो । क्वारेण्टाइनमा बसेको १५ देखि २० दिन पुगिसक्दा पनि स्वाब परीक्षण नगरिएको र परीक्षण भएकाहरूको रिपोर्ट नआएकोले आन्दोलन गर्नु परेको उनीहरूको भनाइ थियो । उक्त क्वारेण्टाइनमा एक महिला सहित ४० जना रहेका छन् । लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले पङ्खाको व्यवस्था भए पनि जस्तापाता तातेर गर्मी हुनु स्वाभाविक भएको बताउनु भयो । रिपोर्ट आउने हाम्रो हातमा नभए पनि सामग्रीको अभावमा परीक्षण नभएको र असार १९ गतेसम्म स्वाब परीक्षण गराउने उहाँले बताउनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्ला स्वास्थ्य कार्यालय रौतहटमा कार्यरत पाँच जना कर्मचारीको दुई ओटा ल्याबमा गरिएको परीक्षण रिपोर्ट फरकफरक आएपछि पुनः स्वाब सङ्कलन गरेर केन्द्रीय प्रयोगशाला टेकु, काठमाडौँमा पठाउने र त्यसको रिपोर्ट अन्तिम मानेर अगाडि बढ्ने प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे बताउनु भयो । पाँच जना कर्मचारीको असार १५ गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । तर, उक्त रिपोर्टमा शङ्का लागेर पाँचै जना व्यक्तिहरूको स्वास्थ्य कार्यालयको पहलमा सोही दिन पुनः स्वाब सङ्कलन गरेर बागमती प्रदेशको हेटौाँस्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको ल्याबमा पठाइएकोमा असार १६ गते रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा असार १७ गते २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ४ सय ५३ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो । जसमध्ये १ सय ८५ जना निको भएर घर फर्किसकेका छन् भने पाँच जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार जिल्ला कारागार शाखा चौताराका एक जना बन्दीमा असार १६ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ७० वर्षीय पुरुष बन्दीको पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईँले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उनको गालामा मासु पलाएकाले काठमाडौँस्थित सेन्टर जेलमा सरुवा गरी उपचारको प्रबन्ध मिलाउन पीसीआर रिपोर्ट आवश्यक भएकाले जाँच गर्दा कोरोना सङ्क्रमणकोे पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले बताउनु भयो । जेलभित्र बसेका बन्दीमा कोरोना सङ्क्रमण देखिएपछि बाँकी कैदी बन्दीहरूको पीसीआर परीक्षणको तयारी गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चापागाईँले बताउनु भयो । चौतारा कारागारमा असार १७ गतेसम्म ७६ जना कैद ताकिएका र ४६ जना कैद नतोकिएका गरी १ सय २२ जना रहेका जिल्ला कारागारका निमित्त प्रमुख विमल अधिकारीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार १७ गते थप १४ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ६ पुगेको छ भने निको हुनेको सङख्या २ सय ८७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभएको छ ।

प्रदेश ५

रोल्पा प्रतिनिधि हरिसरा घर्तीका अनुसार गङ्गाादेव गाउँपालिका–५ को क्वारेण्टाइनमा रहेका ३४ वर्षीय पुरूषले असार १७ गते झुण्डिएर आत्महत्या गरेको गाउँपालिकाका प्रेस सल्लाहकार अशोककुमार वलीले इन्सेक प्रतिनिधिलाई फोनमार्फत बताउनु भयो । उनी दुबईबाट आएर असार ४ गतेदेखि क्वारेण्टाइनमा बसेका थिए । मृतकको स्वाब परीक्षणको लागि पठाइने वलीले बताउनु भयो । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यलयका इन्स्पेक्टर सुधीर खड्कासहित प्रहरी टोली घटनास्थल प्रस्थान गरेको छ ।

सुदूरपश्चिम प्रदेश

डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार दिपायल सिलगढी नगरपालिका–८ लडागडाको क्वारेण्टाइन तथा आइसोलेशनमा शुद्ध खानेपानीको अभावले त्यहाँका व्यक्तिहरूलाई समस्या भएको स्थानीय गणेश साउदले बताउनु भयो । खानेपानीको अभावलाई पूर्ति गर्न स्थानीयहरूको सहयोगमा दिपायल सिलगढी नगरपालिका–७ स्थित उडितोलाको सिनेभावर खोलाबाट जिपमार्फत पानीको आपूर्ति गर्नु परेको साउदको भनाइ छ । क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले शुद्ध पिउने पानीको अभावले उनीहरूको स्वास्थ्यमा समस्या हुने स्थानीय जयबहादुर कडायतले गुनासो गर्नु भयो । नगरपालिकाका मेयर मञ्जु मलासीले गाउँबस्ती र क्वारेण्टाइनमा रहेका व्यक्तिहरूलाई पानीको समस्या नहोस् भन्नका लागि ट्याक्टर तथा दमकलबाट पानी क्वारेण्टाइनमा पुर्‍याउने कार्य भइरहेको भए पनि प्रयाप्त नभएको बताउनु भयो । लडागडामा रहेको आइसोलेशनमा १८ जना र क्वारेण्टाइनमा १ सय ५ जना रहेका छन । असार १७ गतेसम्म जिल्लाका नौ ओटै स्थानीय तहमा ४ सय १६ जनामा कोराना पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालय, डोटीका प्रमुख रमेश मलासीले बताउनु भयो ।


अनलाइन डेस्क