कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ११ गते)

कोरोना भाइरसको सङ्क्रमणबाट असार ११ गतेसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार १ सय ६२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । कोरोना सङ्क्रमितमध्ये असार ११ गते दिउँसोसम्म २ हजार ६ सय ५० जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ हजार ४ सय ८६ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण २६ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १० वर्ष मुनिका ३ सय २५ जना बालबालिका रहेका छन् ।

प्रदेश १

प्रदेश १ मा असार ११ गते थप सात जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ५ सय ३ पुगेको छ । असार ११ गते ७० जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रदेशमा कूल डिस्चार्ज हुनेको सङ्ख्या ३ सय ५५ जना पुगेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा असार ११ गते १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार २ सय १६ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये १ हजार २ सय ६७ जना उपचारपछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार प्रदेश २ मा स्थानीय तहहरूले बनाएको क्वारेण्टाइन सरकारको मापदण्ड विपरित भएको भन्दै उच्च अदालत जनकपुर, राजविराज इजलासमा प्रदेश २ सरकारविरुद्ध असार १० गते मुद्दा दायर भएको छ । सिरहाको सुुखिपुर नगरपालिका–३ बस्ने ३० वर्षीय गुमस्ता कुमार यादवले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेश २, जनकपुरधाम धनुषा, जिल्ला प्रशासन कार्यालय सिरहा, जिल्ला प्रशासन कार्यालय सप्तरीको गरी सात स्थानीय तहलाई विपक्षी बनाई मुद्दा दायर गर्नु भएको हो । विपक्षी बनाइएका स्थानीय तहहरूमध्ये सिराहाको सुखिपुर नगरपालिका, लाहान नगरपालिका, धनगढीमाई नगरपालिका, बरियारपट्टी गाउँपालिका र नवराजपुर गाउँपालिका रहेको छ । मुद्दामा नेपालको संविधानको धारा १४४ (१) र (२) बमोजिम परमादेश प्रतिषेध लगायत आवश्यक उपयुक्त आज्ञा, आदेश जारी गरी पाउँ भन्ने माग गरिएको छ । मुद्दामा विपक्षी बनाइएकाहरूबाट कोरोना भाइरससम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ विपरितका कार्य गरिएको र गराइएको उल्लेख छ । त्यसैगरी क्वारेण्टाइन सञ्चालनका क्रममा संविधानले नागरिकलाई दिएका कतिपय मौलिक हकहरू उल्लङ्घन गरेको उल्लेख छ । उच्च अदालत जनकपुर, राजविराज इजलासले मुद्दाको सुनुवाइका गरी असार १० गते निवेदनमा माग बमोजिमको जारी हुन नपर्ने कुनै कारण वा आधार भए प्रदेश २ को हकमा उच्च सरकारी वकिलको कार्यालय राजविराज मार्फत १५ दिन भित्र र अन्य विपक्षीहरूको हकमा आफैँ वा आफ्नो कानुन बमोजिमको प्रतिनिधि मार्फत लिखित जबाफ पठाउन आदेश गरेको छ ।

त्यसैगरी प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा उपचार नपाएर असार ८ गते राति मृत्यु भएका हंसपुर नपा–७ का १५ वर्षीय राजु सदाको घटनाको छानविन गर्न असार ११ गते सामाजिक विकास मन्त्रालयले तीन सदस्यीय छानविन समिती गठन गरेको छ । घटनाबारे सही तथ्य जानकारी लिएर सात दिन भित्र मन्त्रालयमा प्रतिवेदन पेश गर्न स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक डाक्टर हरिश्चन्द्र शाहको संयोजकत्वमा प्रदेश २ का अस्पताल विकास तथा चिकित्सा सेवाका डा. नवल किशोर झा र मन्त्रालयका महाशाखा प्रमुख दिलिपकुमार प्रधान सदस्य रहने गरी समिति गठन गरिएको छ । राजु सदाको मृत्यु घटनाको सम्बन्धमा उपचारमा संलग्न चिकित्सकहरू समेत रहेको टोली सम्मिलित मेडिकल अडिट प्रतिवेदन प्रादेशिक अस्पताल, जनकपुरधामबाट सार्वजनिक गरिएको छ । डाक्टर कुलदिप पण्डितको संयोजकत्वमा चिकित्सकहरूको टोलीले इन्सेफलाइटिसका कारण बिरामीको मृत्यु भएको जनाएको छ ।

बागमती प्रदेश

यस प्रदेशमा असार ११ गते रामेछापमा दुई र धादिङमा दुई गरी थप चार जनामा कोरोना सङ्क्रमित फेला परेका छन् । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ सय ३७ जना पुगेको छ जसमध्ये ९१ जना उपचारपछि घर फर्किएका र चार जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार ११ गते थप १४ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ भने एक जनाको मृत्यु भएको छ । प्रदेशमा हाल सङ्क्रमितको सङ्ख्या ७ सय ६७ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो । इन्सेक कास्की जिल्ला प्रतिनिधि सुशन घिमिरेका अनुसार कोरोना सङ्क्रमितको मृत्युपछि शव व्यवस्थापन गर्ने क्रममा पोखरा मनपा–३२ स्थित मझुवामा प्रहरी र स्थानीयबिच झडप भएको छ । शव व्यवस्थापनका लागि डोजरले खाडल खन्न लागेपछि स्थानीयले तोडफोड र ढुङ्गामुढा गर्न उत्रिएपछि प्रहरीले आठ राउण्ड हवाई फायर समेत गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी सुवास हमालले जानकारी दिनुभयो । स्थानीयले सडकमा टायर बालेर विरोध प्रदर्शन गर्दै नेपाल प्रहरीको दुई ओटा बाइक, एउटा स्कुटर र सशस्त्र प्रहरीको एउटा भ्यानमा तोडफोड गरेका थिए । पोखरा महानगरपालिकाका सूचना अधिकारी भरतराज पौडेलका अनुसार स्थानीयको विरोधकै बिच शव व्यबस्थापन गरिएको छ । असार ८ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयूको भेण्टिलेटरमा राखेर उपचाररत स्याङ्जाको आँधीखोला गाउँपालिका सिरुवारीका ५५ वर्षीय पुरुषको असार १० गते राति मृत्यु भएको प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिनुभयो ।

प्रदेश ५

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार निस्दी गाउँपालिका र पूर्वखोला गाउँपालिकामा आइसोलेशन बेड अभाव हुँदा कोरोना सङ्क्रमित बिरामीलाई राख्न समस्या भएको छ । जिल्ला सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजसँग ३० जना सङ्क्रमितलाई राख्न सम्झौता भएपनि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि व्यवस्थापनमा समस्या भएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । यसैगरी पूर्वखोला गाउँपालिकामा मात्र कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ५० पुगेको छ । सङ्क्रमित बढेपछि सुरक्षित तरिकाले राख्न समस्या भएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । उहाँले  आइसोलेशन नभएपछि  विद्यालयमा रहेका क्वारेण्टाइनलाई व्यवस्थित गराएर सङ्क्रमितहरूलाई राखिएको बताउनु भयो । पानी परेका कारण गाँउपालिका भित्रका सबै सडकहरू पहिरोले अवरुद्ध भएकोले तत्काल व्यवस्थापनमा समस्या परेको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारूले बताउनु भयो ।

कर्णाली प्रदेश

इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि असार १० गतेदेखि सदरमुकाम खलङ्गामा निषेधाज्ञा जारी गरिएको छ । अस्पतालमा कार्यरत चार जना स्वास्थ्यकर्मी र एक जना अन्य गरी पाँच जनामा कोरोना पुष्टि भएपछि समुदायमा फैलिन नदिन र आशङ्कित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि जिल्ला प्रशासन कार्यालय जुम्लाले असार १० गतेदेखि तीन दिनका लागि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताउनु भयो । प्रतिष्ठानको फरक–फरक विभागमा काम गर्ने चार जना कर्मचारीहरूमा कोरोना पोजेटिभ देखिएकाले अस्पतालको इमरजेन्सी सेवाबाहेक अन्य सेवा बन्द गरिएको अस्पताल निर्देशक डा. मङ्गल रावलले जानकारी दिनु भयो ।

इन्सेक सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीका अनुसार जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका प्रमुख डाक्टर अर्जुन बुढाले बताउनु भयो । उहाँका अनुसार अस्पतालमा कार्यरत कर्मचारीलाई कोरोना पोजेटिभ देखिएपछि कार्यालयमा कार्यरत अन्य ७६ जनाको स्वाब सङ्कलन गरी असार १० गते परीक्षणका लागि सुर्खेत पठाइएको छ । भारतलगायत अन्य देशबाट आएका नागरिकको स्वाब सङ्कलन गर्दै आइरहेका एक स्वास्थ्यकर्मीलाई सङ्क्रमण देखिएको डाक्टर बुढाले बताउनु भयो ।

इन्सेक दैलेख जिल्ला प्रतिनिधि अमर सुनारका अनुसार असार १० गते बिहान घरमै आत्महत्या गरेका दुल्लु नगरपालिका–१० गमौडीका २१ वर्षीय युवक क्वारेण्टाइनबाट फर्किएको जानकारीका आधारमा दुल्लु अस्पतालले स्वाब सङ्कलन गरी कर्णाली प्रदेश प्रयोगशालामा पठाएकोमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रयोगशालाले असार ११ गते आत्महत्या गरेका ती युवकसमेत दैलेखमा २६ जना नयाँ सङ्क्रमित थपिएको जानकारी दुल्लु अस्पतालका इञ्चार्ज डाक्टर पूजा बीसीले दिनु भयो । दैलेख जिल्लामा कोरोनाका कारण मृत्यु हुनेहरू तीन जना पुगेको छ ।


अनलाइन डेस्क