कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ९ गते)

नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १० हजार नाघेको छ । ०७६ चैत ११ गते लकडाउन सुरू गर्दा दुई जनामा देखिएको कोरोना त्यसयताका तीन महनिामा १० हजार ९९ सय पुगेको हो । ०७६ माघ ९ गते एक जनामा कोरोना देखिएको थियो । त्यसपछि चैत १० गते अर्का एक जनामा कोरोना पोजेटिभ देखिएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार तीन महिनाको यो अवधिमा १ लाख ८६ हजार ३ सय ६६ जनाको स्वाब परीक्षण गरिएको छ । तीमध्ये १ लाख ७६ हजार २ सय ६७ जनामा कोरोना नभएको परीक्षण रिपोर्ट आएको छ । मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण २४ जनाको मृत्यु भएको छ । २ हजार २ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन् । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये ९० प्रतिशत पुरुष र १० प्रतिशत महिला रहेका छन् ।

प्रदेश १

प्रदेश १ मा असार ९ गते थप २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ४ सय ८३ पुगेको छ । प्रदेश १ मा असार ९ गते २७ जना डिस्चार्ज भएका छन् । प्रदेशमा डिस्चार्ज हुनेको कूल सङ्ख्या २ सय ८५ पुगेको छ ।

प्रदेश २

प्रदेश २ मा असार ९ गते ६८ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ हजार ९७ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये १ हजार १ सय ९ जना उपचार पछि निको भएर घर फर्किएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–२ को क्वारेण्टाइनबाट रिपोर्ट नआउँदै भागेर असार ८ गते घर गएका सोही गाउँपालिका–१ का दुई जना पुरुषमा असार ९ गते कोरोना पोजेटिभको रिपोर्ट आएको छ । असार ८ गते भागेर घर गएका दुई जनालाई प्रहरीले असार ८ गते साँझ नियन्त्रणमा लिई क्वारेण्टाइनमा फर्काए पनि घरपरिवारमा ४÷५ घण्टा बसेका दुई जना व्यक्तिमा कोरोना पोजेटिभ फेला परेपछि सो वडालाई सिल गर्नेबारे गाउँपालिकामा आज राति छलफल भइरहेको विपद् व्यवस्थापन अधिकृत राजेश झाले बताउनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला अस्पताल सिरहाद्वारा सञ्चालित चन्द्र मावि आइसोलेशनमा रहेका व्यक्तिहरूले असार ९ गते सिरहा नगरपालिकास्थित सूर्यनारायण सत्यनारायण मरवैता यादव बहुमुखी क्याम्पसबाट कोरोना सङ्क्रमित भई पुगेका कर्मचारीहरूलाई घेरा हाली आक्रमण प्रयास गरेका छन् । आफू लगायत स्वास्थ्यकर्मीहरू सहित ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएर आइसोलेशनमा बस्न जाँदा कर्मचारी ठानेर आक्रमण गर्न खोजेको एक बिरामीले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले खानाको व्यवस्थापनको माग राखेर आन्दोलन गरेका उनीहरूलाई राम्रोसँग व्यवस्थापन गर्न अस्पतालका प्रमुखलाई निर्देशन दिएको बताउनु भयो ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार रि–एजेन्ट काम नलाग्ने भएपछि बीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा कोरोनाको परीक्षण दुई दिनदेखि रोकिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पठाएको रि–एजेन्ट काम नलाग्ने हुँदा ल्याब बन्द गर्नुपर्ने अवस्था आएको प्रयोगशाला प्रमुख डाक्टर निरा पाठकले जानकारी दिनु भयो । ल्याब बन्द भएपछि दुई दिनमा सङ्कलन भएका झण्डै १ हजार ३ सय स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु काठमाडौँमा पठाइएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदनकुमार उपाध्यायका अनुसार रि–एजेन्ट र आरएनए एक्सट्रयाक्सनको अभावमा असार ७ गतेदेखि प्रयोगशाला सञ्चालनमा आएको छैन । सरकारले पठाएको पीसीआर किट बीरगञ्जमा रहेको पीसीआर मेसिनसँग नमिलेकोले परीक्षण बन्द भएको र त्यस विषयमा स्वास्थ्य मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा लिखित जानकारी गराएको डाक्टर उपाध्यायले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा असार ९ गते २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धादिङ जिल्लाका १८ जना, सिन्धुपाल्चोक जिल्लाका दुईजना र मकवानपुर जिल्लाका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३ सय २९ पुगेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईले बताउनु भयो ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार काठमाडौँ जिल्ला अदालतले कोभिड–१९ (कोरोना) को पीसीआर परीक्षण गराएर मात्र आरोपितलाई अदालतमा पेश गर्नुपर्ने नजिरको सुरूवात गरेको छ । असार ८ गते जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजसलासले विद्युतीय अपराधको आरोपमा गिरफ्तार भएका एकराम राईलाई पीसीआर विधिबाट कोरोना सङ्क्रमण परीक्षण गराएर मात्र अदालतमा पेश गर्न आदेश दिएको हो । सो आदेशपछि अनिवार्य रूपमा पीसीआर विधिबाट आरोपितको स्वास्थ्य परीक्षण गराएर मात्र अदालतमा पेश गर्नुपर्ने नजिरको सुरुवात भएको अधिवक्ता अनन्त पराजुलीले इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । अदालतको आदेशले न्याय निरूपणमा संलग्न सबैको स्वास्थ्यप्रति गम्भीर बन्न निर्देश गरेको उहाँको भनाइ छ । राईलाई अदालत पेश गर्दा हिरासतमै हुँदा गरिएको आरडीटी विधिबाट कोरोना परीक्षणको रिपोर्ट पनि पेश गरिएको थियो । तर, अदालतले आरडीटी परीक्षणलाई अस्वीकार गरेको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार ९ गते थप ५३ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ५ सय ९३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार बन्दीपुर गाउँपालिका अन्तर्गतका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि एक साताकोलागि गाउँपालिका पुर्णरुपमा बन्द गरिने निर्णय गरेको अध्यक्ष पूर्णसिंह थापाले बताउनु भयो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत सङ्क्रमण देखिएका कारण समुदायमा फैलने जोखिम उच्च रहेको हुँदा असार ९ गतेदेखि लागु हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवा र इलाका प्रहरी कार्यालय एक साताका लागि र बन्दीपुर अस्पतालको सबै सेवा, गाउँपालिका अन्तर्गतका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, नीजि क्षेत्र, बैङ्क तथा वित्तिय संस्थाहरू दुई साताको लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको वडा नम्बर १ का अध्यक्ष भानुभक्त पोख्रेलले बताउनुभयो ।

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार ६ दिनदेखि पर्वत जिल्ला अस्पताल बन्द हुँदा बिरामीलाई समस्या भएको छ । अस्पतालमा कार्यरत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि असार ४ गते राति देखि पर्वत अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको थियो । आकस्मिक बिरामीहरूको सेवा प्रदान गर्ने अस्पतालले जनाएपनि बिरामी भएका सर्वसाधारणहरुले सेवा नपाएको गुनासो गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीबाट खुट्टा भाचिएको बिरामी लिएर पर्वत अस्पताल आएका ४५ वर्षीय सुबास शर्माले आफूले अस्पतालबाट सेवा नपाएको गुनासो गर्नुभयो । असार ८ गते अस्पतालमा आउँदा परिसरबाटै आफूलाई प्रवेश निषेध गराएपछि नीजि अस्पतालमा गएर उपचार गराउन बाध्य भएको उहाँले बताउनुभयो । कुश्मा नगरपालिका–१३ खौलालाँकुरीकी २१ वर्षीय आशा कुँवरको असार ५ गते घरमा नै मृत्यु भयो, उनका परिवारले उनको शवलाई पोष्टमार्टम गराउनका लागि पर्वत अस्पताल बन्द भएपछि धौलागिरि अञ्चल अस्पताल पु¥याउने पर्ने बाध्यता आइप¥यो । पत्नीको पोष्टमार्टमका लागि आफूहरुले शव बोकेर प्रहरी सहित बागलुङ पुग्नुपरेको मृतकका पति प्रताप कुँवरले गुनासो गर्नुभयो ।

प्रदेश ५

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार बङ्गलाचुली गाउँपालिका–३ मुलावारी क्वारेण्टाइनमा बसेर कोरोना परीक्षण रिपोर्ट नआउँदै असार ७ गते घर गएका नौ जनामध्ये ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असार ९ गते गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएका पाँच जना बगलाचुली गाउँपालिका–३ का र एक जना लमही नपाका हुन् । कोरोना पुष्टि भएपछि बङ्गलाचुली–३ का पाँच जना घरमै रहेको र उनीहरूको व्यवस्थापनका लागि गाउँपालिकाले तयारी थालेको छ भने लमही नपा–६ का १७ वर्षीय पुरूष भने नभेटिएको गाउँपालिकाका प्रेस संयोजक जीवन नेपालीले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । कोरोना पोजेटिभ भनिएका व्यक्ति नभेटिएपछि प्रहरीको सहयोगमा खोजी भइरहेको वडाध्यक्ष गणेशमान चौधरीले बताउनु भयो । भारतबाट आएका उनीहरूलाई जेठ २४ गते स्वाब लिएकोमा १७ दिनपछि रिपोर्ट आउँदा घर फर्किसकेका सङ्क्रमितलाई आइसोलेशनमा ल्याउने कि घरमै आइसोलेटेड गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रेस संयोजक जीवन नेपालीले बताउनु भयो । स्वाब सङ्कलन गरेको दुई हप्ता बितिसक्दा पनि रिपोर्ट नआएको भन्दै घोराही उमनपा–१८ स्थित रझेना माविको  क्वारेण्टाइनमा रहेकाहरूले असार ८ गते बाहिर निस्केर प्रदर्शन गरेका थिए । उनीहरूले परीक्षणमा ढिलाइ भएको भन्दै स्वाब परीक्षण भइरहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकै गेटमा पुगेर नाराबाजी गरेका थिए ।

कर्णाली प्रदेश

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार गत जेठ ३१ र ३२ गते अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जना कोरोना सङ्क्रमितहरूको उपचारमा संलग्न पाँच जना स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण देखिएको अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले बताउनु भयो । आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना पुष्टि भएलगत्तै उनीहरूको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीको टोलीलाई अस्पतालकै क्वारेण्टाइनमा राखिएको थियो । निर्देशक खड्काका अनुसार कोरोना सङ्क्रमण देखिएका स्वास्थ्यकर्मीहरूलाई प्रदेश अस्पतालकै आइसोलेशनमा राखिएको छ । यसैगरी, कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका दैलेख दुल्लु नपा–३ का कोरोना सङ्क्रमित ४५ वर्षीय पुरुषको असार ९ गते मृत्यु भएको निर्देशक खड्काले जानकारी दिनु भयो ।

कालीकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार खाँडाचक्र नगरपालिका–२ स्थित सालडाँडा आधारभूत विद्यालयको क्वारेण्टाइनमा बस्ने व्यक्तिहरूले स्वच्छ र सफा खाना, पानी र चर्पीको व्यवस्था गर्न आग्रह गरे पनि सुनुवाइ नभएको आरोप लगाएका छन् । भारतको विभिन्न ठाउँबाट आएका चार महिलासहित १ सय ६ जना रहेको उक्त क्वारेण्टाइनमा दुई ओटा मात्र प्लाष्टिकले आधा ढाकेको चर्पी रहेकाले समस्या भएको खाँडाचक्र नपा–९ का २१ वर्षीय दल विकले बताउनु भयो । सोही वडाका अध्यक्ष विर्खसिंह विकले नगरपालिकाले क्वारेण्टाइन व्यवस्थापनको लागि न्यून रकम विनियोजन गरेकाले समस्या आएको बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार लम्कीचुहा नगरपालिका–७ का ३६ वर्षीय युवकको क्वारेण्टाइनबाट घर जाने क्रममा असार ८ गते बाटोमै मृत्यु भएको र २४ घण्टा बितिसक्दा पनि शव व्यवस्थापन हुन सकेको छैन । जेठ २६ गते भारतको हल्द्धानीबाट आएका युवक १४ दिन लम्कीचुहा नगरपालिका–७ स्थित सरस्वती माविको क्वारेण्टाइनबाट असार ८ गते घर जाने क्रममा अचानक बाटोमा मृत्यु भएको वडा नम्बर ७ का वडाध्यक्ष हरिराम चौधरीले बताउनु भयो । मृतकको स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालामा परीक्षणका लागि पठाइएको भए पनि रिपोर्ट नआएका कारण शवको व्यवस्थापन नगरिएको कोरोना जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

इन्सेक डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार जिल्लाका सम्पूर्ण क्वारेण्टाइन र आइसोलेशनमा रहेका गर्भवती तथा सुत्केरी महिला, जेष्ठ नागरिक, बालबालिका र दिर्घ रोगीहरूलाई विशेष सेवा सुविधा र सुरक्षासहितको व्यवस्था मिलाउने जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताउनु भयो । क्वारेण्टाइन र आइसोलेशन केन्द्रहरूमा महिला हिंसाका घटना हुन सक्नेतर्फ सजकता अपनाई महिलाहरूका लागि छुट्टै सुरक्षित स्थान र महिला स्वयम्सेविकाको व्यवस्था मिलाउन स्थानीय तहसँग समन्वय भइरहेको र कोरोना नियन्त्रणका लागि सचेतना कार्यक्रमसमेत सञ्चालन गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईको भनाइ छ । यसैगरी, बडीकेदार गाउँपालिकाले कोरोना सङ्क्रमितलाई १ हजार ५ सय र मृत्यु भएमा मृतकका परिवारलाई ५० हजार रुपियाँ दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर चन्दले बताउनु भयो ।


अनलाइन डेस्क