कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ५ गते)
कोरोना भाइरसको सङ्क्रमणबाट असार ५ गतेसम्म ८ हजार २ सय ७४ जना सङ्क्रमित भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । असार ५ गते जारी स्थिति प्रतिवेदनमा मन्त्रालयले ६ हजार ८ सय ५० जनाको उपचार भइरहेको, १ हजार ४ सय २ जना निको भएर डिस्चार्ज भएको र २२ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । २४ घण्टामा ६ हजार २ सय ३१ जनाको कोरोना परीक्षण गरिएकामा ४ सय २६ जनामा कोरोना पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी २४ घण्टामा २ सय १६ जना डिस्चार्ज भएका छन् ।
प्रदेश १
प्रदेश १ मा असार ५ गते थप दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दुई जना थप भएसँगै प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ४ सय २४ पुगेको छ । प्रदेशमा असार ५ गते १० जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा कूल २ सय ३४ जना डिस्चार्ज भएका छन् । प्रदेश सरकारले असार ५ गते विभिन्न मुलुकबाट नेपाल आएका १ सय ४ जनालाई सुनसरीको बराह क्षेत्र नगरपालिकास्थित चतरामा निर्माण गरेको होल्डिङ एरियामा राखेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले होल्डिङ एरियामा बसेकाहरूको विवरण सम्बन्धित स्थानीय तहमा पठाइएको बताउनु भयो । स्थानीय तहले प्राप्त विवरणका आधार उनीहरूलाई क्वारेण्टाइनमा राख्ने र आरडीटी तथा पीसीआर परीक्षण गर्नेछन् ।
प्रदेश २
प्रदेश २ मा असार ५ गते नौ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार सप्तरीका चार र सार्लाहीका पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ७ सय ९० जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये ७ सय ४० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
बागमती प्रदेश
यस प्रदेशमा असार ५ गते थप ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा हालसम्म २ सय ८१ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये ५० जना उपचारपछि निको भएर घर फर्केका छन् भने बाँकी २ सय ७७ जना आइशोलेसनमा रहेको र चार जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयको वेभसाइटमा उल्लेख गरिएको छ ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार असार ५ गतेदेखि लागु हुने गरी सरकारले लकडाउनलाई व्यवस्थित बनाउन राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक लगाएको छ । हाल केही खुकुलो रहेको लकडाउनलाई थप व्यवस्थित बनाउन भन्दै सरकारले ‘लकडाउन व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड–२०७७’ जारी गर्दै रातको समयमा पैदल र सवारी साधान चलाउन रोक लगाएको हो ।
मापदण्ड कडाइका साथ पालना गराउन सुरक्षा निकाय र ७७ ओटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । उहाँले सुरक्षा मापदण्डमा कोरोना सङ्क्रमणविरूद्ध स्वास्थ्य मन्त्रालयले जारी गरेको ‘हेल्थ प्रोटोकल’को पूर्ण रूपमा पालना गराउन पनि भनिएको बताउनु भयो । यसका लागि सुरक्षा निकाय, सेवा प्रदायक, सेवाग्राहीको जिम्मेवारी, नागरिकको दायित्वसमेत उल्लेख गरेर मापदण्ड तय गरिएको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार ५ गते थप ३२ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ सय ८० पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार धौलागिरी अञ्चल अस्पताल बागलुङले लगातार एक हप्ता आइसोलेशनको सरसफाइमा खटिएका कर्मचारीलाई अनिवार्य रुपमा क्वारेण्टाइनमा बस्नुपर्ने नियम बनाएको छ ।
प्रदेश ५
बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बारबर्दिया नपा– ३ का ३५ वर्षीय पुरूषमा असार ४ गते आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएपछि क्वारेण्टाइनबाट घर पठाएको राती एक्कासि बिरामी परेपछि उपचारका लागि जिल्ला अस्पताल, गुलरिया लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । घर फर्किएकै दिन राती छाती दुखेर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजाँदै गर्दा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । मृतकको स्वाब परीक्षणका लागि असार ५ गते भेरी अस्पताल नेपालगञ्जमा पठाइएको चौधरीले बताउनु भयो । शव जिल्ला अस्पतालमा राखिएको छ । स्वाब परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनु भयो । उनी दुई साताअघि काठमाडौँबाट नेपालगञ्ज हुँदै बारबर्दिया नपाको क्वारेण्टाइनमा १४ दिन बसेर आरडीटी परीक्षणको नतिजा नेगेटिभ आएपछि घर फर्किएका थिए ।
गुल्मी प्रतिनिधि टोपलाल अर्यालका अनुसार छत्रकोट गाउँपालिका–५ मैनडाँडाका ६९ वर्षीय पुरूषको असार ४ गते राती होम क्वारेण्टाइनमा मृत्यु भएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले इन्सेक प्रतिनिधिसँगको कुराकानीमा बताउनु भयो । पन्थका अनुसार मृतक प्यारालाइसिसका बिरामी थिए । भारतबाट उपचार गराएर जेठ २५ गते आएका उनलाई होम क्वारेण्टाइनमा छुट्टै व्यावस्थापन गरिएको थियो । मृतकको आरडीटी परीक्षण पोजेटिभ आएको थियो । उनको स्वाब असार ४ गते सङ्कलन गरेर प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको संयोजक पौडेलले बताउनु भयो । आरडीटी पोजेटिभ आएकाले शवलाई नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताउनु भयो ।
कर्णाली प्रदेश
कर्णाली प्रदेश अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेका तीन जनामा कोरोना सङ्क्रमण देखिएपछि असार ४ गतेदेखि चार दिनका लागि आइसीयू कक्ष सिल गरिएको छ । जेठ ३१ र ३२ गते आकस्मिक कक्षमा भर्ना भएका सुर्खेत र दैलेखका दुई जना बिरामीमा असार ४ गते कोरोना सङ्क्रमण देखिएपछि उनीहरूको उपचारमा संलग्न ४२ जना स्वास्थ्यकर्मीसहितको टोलीलाई अस्पतालकै क्वारेण्टाइनमा राखिएको अस्पतालका सुपेरिटेण्डेण्ट डाक्टर डम्मर खडकाले बताउनुभयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
नौ दिनदेखि धर्नामा बसेका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न आयोगको आग्रह
फुटपाथ व्यवसायीलाई उचित व्यवस्थापन गर्नु पर्ने मागसहित नौ दिनदेखि काठमाडौँ महानगरपालिका मेयरको कार्यालय अगाडि धर्नामा बसिरहनुभएका अभियन्ता ईः को स्वास्थ्यप्रति संवेदनशील बन्न राष्ट्रिय मानव अधिकार आयोगले आग्रह गरेको छ ।…
सहकर्मी कुटपिट घटनाको विरोधमा डाक्टरहरूद्वारा प्रदर्शन
पोखराको मणिपाल शिक्षण अस्पताल लगायत देशका विभिन्न ठाउँमा चिकित्सकहरूमाथि निरन्तर आक्रमण बढिरहेको भन्दै काठमाडौँमा डाक्टरहरूले प्रदर्शन गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका डाक्टरहरूले आक्रमणमा संलग्नलाई कडा कारबाही गर्नु…
विद्यालय शिक्षा विधेयकको विरोधमा राहत शिक्षक नौ दिनदेखि आन्दोलनमा
सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकमा आफ्ना मुद्दाहरू नसमेटिएको भन्दै सामुदायिक विद्यालयका राहत शिक्षक ०८० असोज २ गतेदेखि विभिन्न कार्यक्रम गर्दै आन्दोलनमा रहेका छन् । नेपाल राहत शिक्षक केन्द्रीय…
बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बहुदरमाई नगरपालिका–७ का ४५ वर्षीय सुशिल राउत कुर्मी विरुद्ध पीडितले जिल्ला प्रहरी कार्यालयमा २०८० असोज ५ गते दिएको उजुरी प्रहरीले असोज ७ गते दर्ता…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सन्धिखर्क नगरपालिका–१ बस्ने २० वर्षीय रामबहादुर पुनलाई असोज ८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले असोज ७ गते बलात्कार गरेको भन्दै पीडित…