कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार ४ गते)
कोरोना भाइरसको सङ्क्रमणबाट असार ४ गतेसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत जानकारी दिनु भयो । कोरोना सङ्क्रमितमध्ये असार ४ गते दिउँसोसम्म १ हजार १ सय ८६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् भने ६ हजार ६ सय ४० जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार कोरोनाका कारण २२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार २१ वर्षदेखि ३० वर्षसम्मका २ हजार ८ सय ९३ जनामा कोरोना पुष्टि भएको छ । ६१ वर्षमाथिका ८२ जना, २० वर्ष मुनीका २ हजार १ सय ३४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले स्थिति प्रतिवेदनमा उल्लेख गरेको छ । त्यसैगरी ३१ देखि ५० वर्षसम्मका २ हजार ४ सय ८८ जनामा कोरोना पुष्टि भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रदेश १
प्रदेश १ मा असार ४ गते थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा चार जना थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ४ सय २० पुगेको छ । प्रदेश १ बाट असार ४ गते ४० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको कूल सङ्ख्या २ सय २४ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश २
प्रदेश २ मा असार ४ गते ६६ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार धनुषामा २९, महोत्तरीमा एक, सर्लाहीमा दुई, रौतहटमा ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ७ सय ८१ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये ६ सय ८३ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार सूर्यनारायण सत्यनारायण क्याम्पस स्थित क्वारेन्टाइनमा रहेकाहरूले स्वाब सङ्कलन गरेको १५ दिन भन्दा बढी भइसक्दा पनि असार ४ गतेसम्म रिपोर्ट नआएको र घर समेत जान नदिएको एक व्यक्तिले बताएका छन् । सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाइले स्वाब सङ्कलनको रिपोर्ट केन्द्रबाटै आउने उल्लेख गर्दै दैनिक रूपमा ताकेता गरेको बताउनु भयो । स्वाब सङ्कलन नगरी घर पठाउँदा जोखिम बढ्न सक्ने हुनाले स्वाब सङ्कलन गर्न स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको उहाँले बताउनु भयो । असार ४ गतेसम्म १ सय २४ जना महिला र १ हजार १ सय ४ जना पुरुष गरी १ हजार २ सय २८ जना क्वारेण्टाइनमा रहेका र ४ सय ४० जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार सम्सी गाउँपालिका–३ वैरगीया लक्ष्मिनीया स्थित मदरसामा रहेको क्वारेन्टाइनमा असार ४ गतेसम्म ७७ जना रहेको र उक्त क्वारेण्टाइनमा ठाउँ अभाव भएपछि खुल्ला आकाशमुनी पाल टाँगेर भारतबाट आएका स्थानीयहरूलाई राखिएको छ । उक्त क्वारेण्टाइनमा दुई शौचालय छ । त्यो पनि फोहोर रहेको क्वारेन्टाइनमा रहेका एक व्यक्तिले बताउनु भयो । स्वाब सङ्कलन भएर नतिजाको पर्खाइमा रहेका उनीहरू पालमुनी सुत्दा कतिखेर सर्प वा अन्य किराले टोक्ने हो भनेर राम्ररी निदाउन समेत सकेका छैनन् । स्वास्थ्यकर्मीहरू समेत स्वाब सङ्कलनपछि अनुहार समेत देखाउन नआएको क्वारेण्टाइनमा रहेका व्यक्तिहरूले आरोप लगाएका छन् ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा असार ४ गते थप ३० जनामा कोरोना सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या ३ सय २४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।
इन्सेक तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जेठ २४ गते स्वाब नमूना सङ्कलन गरिए पनि लामो समयसम्म नतिजा नआएपछि व्यास नगरपालिका–१ को आदिकवि भानुभक्त क्याम्पसको क्वारेण्टाइनमा बस्ने युवाले आन्दोलन सुरु गरेका थिए । उनीहरुले नाराबाजी गर्न थालेपछि असार ३ गते साँझ व्यास नगरपालिकाका प्रमुख र प्रमुख जिल्ला अधिकारी सहितको उपस्थितिमा ती ५० जना युवाहरुको आरडीटी परीक्षण गरेर घर पठाइएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले असार ४ गते बिहान सार्वजनिक गरेको नतिजामा घर फर्किसकेका मध्ये एक जना पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको थियो । उनलाई नेपाली सेनाको टोलीले घरबाट एम्बुलेन्समा राखेर आइसोलेशनमा ल्याइएको र घर सिल गरी उनका परिवारका दुई जना सदस्यलाई क्वारेण्टाइनमा राखिएको प्रजिअ बद्रीनाथ अधिकारीले बताउनुभयो । रिपोर्ट समयमा नआउँदा यस्तो समस्या आएको अधिकारीले बताउनुभयो ।
प्रदेश ५
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार ४ गते प्रदेश ५ मा रुपन्देही प्रयोगशालामा गरिएको परीक्षणमा गुल्मीका तीन जना, कपिलवस्तुका एक जना, पाल्पाका ६ जना, रुपन्देहीका नौ जना, रोल्पाका एक जना, नवलपरासी पश्चिमका एक जना, अर्घाखाँचीका ९७ जना गरी १ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी नेपालगञ्ज प्रयोगशाला गरिएको परीक्षणमा बाँकेका तीन र बर्दियाका तीन जना गरी ६ जना, राप्ती विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा चार जना गरी प्रदेश ५ मा जम्मा १ सय २८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेश
सुर्खेतको सिम्ता गाउँपालिका–८ की २५ वर्षीया युवती जेठ १६ गते भारतबाट आई सिम्ता गाउँपालिका–८ स्थित नेरा मावि आलीमा १४ दिन क्वारेण्टाइनमा बसी घर फर्केको दुई दिनपछि असार १ गते घरनजिकै भुण्डिएर आत्महत्या गरेको गाउँपालिका अध्यक्ष कविन्द्र केसीले बताउनु भयो । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले असार ३ गते साँझ जारी गरेको विज्ञप्तिअनुसार क्वारेण्टाइनमा हुँदा गरिएको आरडिटी परीक्षणमा नेगेटिभ देखिए पनि असार १ गते मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना सङ्क्रमण देखिएको छ ।
सुदूरपश्चिम प्रदेश
इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंहका अनुसार बुढीगङ्गा नगरपालिकाको धुरालसैन माविको क्वारेण्टाइनमा राखिएका १७ जना कोरोना सङ्क्रमितहरूको उपचारका लागि एक जना अनमी दिया सिंह मात्रै हुनुहुन्छ । स्वास्थ्य कार्यालय, बाजुराका प्रमुख दयाकृष्ण पन्तले स्वास्थ्यकर्मी अभाव भएका कारण मापदण्ड अनुसारका कर्मचारी स्थानीय तहमा निर्माण गरिएका आइसोलेशनमा पठाउन नसकिएको बताउनु भयो । जिल्लामा चिकित्सक तथा हेल्थ असिस्टेण्टहरूको अभावका कारण अधिकांश स्थानीय तहले तयार गरेका आइसोलेशनमा अनमीहरूलाई उपचारका लागि परिचालन गरिएको पन्तको भनाइ छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…
बलात्कार गरेको कसुरमा १२ वर्ष कैद सजायको फैसला
२३ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–११ का विनोद वलीलाई १२ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश लालसिंह थापाको ०८१ मङ्सिर २६ गतेको…