कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २ गते)

कोरोना भाइरसको सङ्क्रमणबाट ६ हजार ५ सय ९१ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो वेभसाइटमार्फत यस्तो जानकारी गराएको हो । जसमध्ये १ हजार १ सय ५८ जना निको भइ घर फर्किएका छन् भने १९ जनाको मृत्यु भएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।

प्रदेश १

प्रदेश १ मा असार २ गते पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा कूल सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको छ । जसमध्ये १ सय ७४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा असार २ गते १ सय ८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा ८९, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय ६७ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये ५ सय ६ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार भारतको पञ्जाबबाट ५१ वर्षीय बुबासँगै आएर जेठ १३ गतेदेखि राजविराज नगरपालिका–१ राजदेवी माविको क्वारेन्टाइनमा बसेका ३० वर्षीय एक युवकको रिपोर्ट नआउँदै घर पठाइएको र उनको रिपोर्ट पोजिटिभ आएपछि लापरवाही भएको भन्दै उक्त क्वारेन्टाइनमा खटिएका हेल्थ असिस्टेन्ट राजकुमार पटेललाई कारबाही प्रकृया अगाडि बढाइएको राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक निरञ्जनप्रसाद यादवले बताउनु भयो । उनको बुबाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि युवकलाई पनि जेठ ३२ गते डिस्चार्ज गरिएको थियो । असार १ गते उनको रिपोर्ट पोजेटिभ आएपछि सङ्क्रमित युवकलाई गाउँ पुगेर लुकेको अवस्थामा नियन्त्रणमा लिई आइसोलेशन केन्द्रमा लगिएको राजविराज नगरपालिका–१ का बैजु दासले बताउनु भयो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार मलङ्गवा नगरपालिका–२ स्थित कभर्ड हलको क्वारेन्टाइनमा रहेका १६ जनामा असार २ गते कोरोना सङ्क्रमण देखिएपछि उनीहरूलाई सदरमुकाम मलङ्गवामा रहेको ५० बेडको अस्थायी कोरोना विशेष अस्पतालमा राख्न बेडको अभाव भएपछि पहिलेदेखि बस्दै आएकै क्वारेन्टाइनलाई आइसोलेशन वार्डमा परिणत गरी राखिएको छ । उक्त आइसोलेशनमा १ सय ५६ जना बिरामीहरू कोच्चिएर बसिरहेको आइसोलेशनमा बस्ने एक युवकले बताउनु भयो । एउटै कोठामा १२ जना भन्दा बढी बिरामीलाई कोचेर राखिएको छ भने मलङ्गवा नगरपालिकाले ओढ्ने र ओछ्याउने समेत नदिएको भन्दै जसोतसो सुत्ने गरेको अर्का बिरामीले बताउनु भयो । बिरामीहरूलाई चाहिने पौष्टिक खाना र शुद्ध पानीको उचित व्यवस्था गरिएको छैन र समयमा खाना नदिँदा सानासाना बालबालिका र अरू रोगबाट ग्रसित व्यक्तिलाई झनै समस्या हुने गरेको आइसोलेशनमा बस्ने अर्का एक युवकले बताउनु भयो । आफै सङ्क्रमित हुने डरले बिरामीहरूको स्वास्थ्य जाँचका लागि यहाँ कर्मचारी तथा स्वास्थ्यकर्मी बस्न नचाहेकोले आइसोलेशनमा बसेको एक सातादेखि आफूहरूको पुनः स्वास्थ्य परीक्षण नभएको आइसोलेशनका बिरामीहरूले बताएका छन् । मलङ्गवा नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरूले आफूहरूको अवस्था बारे बुझ्न एक दिन पनि नआएको बिरामीहरूको गुनासो छ । जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीका अनुसार क्षमता भन्दा बढी बिरामी भएकाले समस्या भइरहेको छ र तीन–चार दिनमा नै समाधान हुनेछ ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार असार २ गते राजपुर नगरपालिकाबाट १० वर्षीय बालक सहित ७६ जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर फर्किएको नगरपालिकाका स्वास्थ्य संयोजक रविन्द्र झाले बताउनु भयो । जसमध्ये राजपुर प्राथमिक उपचार केन्द्रको आइसोलेशनबाट २५ जना र राजपुर बैरिया मदरसा आइसोलेशनबाट ५१ जना डिस्चार्ज भएका छन् । यस्तै परोहा नगरपालिकाबाट पनि ६१ जना सङ्क्रमित घर फर्किएका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो । उनीहरूको पछिल्लो रिपोर्ट नेगेटिभ आएका थियो । यसअघि रौतहटबाट १ सय १० जना कोरोना सङ्क्रमित उपचारपछि घर फर्किएका थिए ।

बागमती प्रदेश

यस प्रदेशमा असार १ गते थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै बागमती प्रदेशमा २ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको हो । जसमध्ये ५० जना उपचारपछि निको भएर घर फर्केका छन्, भने १ सय ७५ जना आइशोलेसनमा रहेको प्रदेशको समाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाइले बताउनु भयो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा असार २ गत थप २२ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ सय २६ पुगेको छ ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार कोरोना सङ्क्रमित बोक्ने एम्बुलेन्स चालकहरूको स्वाब परीक्षण नहुँदा चालकहरुमा त्रास बढेको छ । ग्वालीचौर स्वास्थ्य चौकीको क्वारेण्टाइनमा बस्ने एम्बुलेन्स चालक राजेन्द्र खत्रीले कोरोना परीक्षण नगरिएकोले त्रास लाग्न थालेको बताउनु भयो । ‘बडिगाड गाउँपालिकाका विभिन्न क्वारेण्टाइनबाट १० जना सङ्क्रमितलाई धौलागिरी अस्पतालको आइसोलेशनसम्म पु¥याउने काम गरेँ ।’–उहाँले भन्नुभयो–‘सङक्रमित भेटिएपछि अस्पताल पु¥याउन फकाउन आएका जनप्रतिनिधि मलाई कस्तो छ भनेर सोध्न अहिलेसम्म आउनुभएको छैन । क्वारेण्टाइनमा बस्न थालेको दिन गनिरहेको छु ।’ जिल्लामा दिन प्रतिदिन सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा एम्बुलेन्स चालकको मनोबल बढाउनतर्फ कसैको ध्यान नगएको उहाँको आरोप छ ।

प्रदेश ५

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असार २ गते प्रदेश ५ मा ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमा दाङमा ५७ जना, अर्घाखाँचीमा नौ जना, रुपन्देहीमा चार जना,रोल्पामा एक जना, बाँकेमा एक जना, बर्दियामा नौ जना रहेका छन् । यसैगरी रुपन्देहीमा २६ जना र बाँकेमा २२ जना गरी ४८ जना निको भएर घर फर्केका छन् ।

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार घोराही उपमनपा–२, ३ र ४ मा स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडाका स्वास्थ्य संस्थाहरू र वडा नम्बर ३ को वडा कार्यालय असार २ गतेदेखि सिल गरिएको छ । जेठ २१ गते स्वाब परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा असार १ गते आएको रिपोर्टमा सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमितहरूको आवतजावत रहेको पाइएपछि वडा र स्वास्थ्य कार्यालयलाई सिल गरिएको इन्सेक जिल्ला प्रतिनिधिसँगको फोन सम्पर्कमा घोराही उमनपाका मेयर नरुलाल चौधरीले बताउनु भयो । यसैगरी उमनपाले कोरोना रिपोर्ट नआउदै घर पठाइएका १९ जनामा सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी सुरू गरेको स्वास्थ्य संयोजक नारायण प्रसाद घर्तीले बताउनु भयो ।

कर्णाली प्रदेश

सुर्खेतको गुर्भाकोट नगरपालिका–७ सिरवानीस्थित नेरा प्राविको क्वारेण्टाइनमा बसेका  गुर्भाकोट नपा–८ का ५० वर्षीय भीमबहादुर कामीको मृत्यु भएको छ । क्षयरोगबाट ग्रसित कामीको असार १ गते दिउँसो क्वारेण्टाइनमै मृत्यु भएको गुर्भाकोट नपाका प्रमुख हस्त पुनले बताउनु भयो । भारतको गढवालबाट १३ दिनअघि आएका कामी आफैँले खाना पकाएर खाएपछि एकाएक बिरामी भई ढलेलगत्तै मृत्यु भएको पुनको भनाइ छ । उहाँका अनुसार असार १ गते मृतक कामीकोे पीसीआर परीक्षण गर्दा कोराना नेगेटिभ देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार भारतबाट नेपाल भित्रने नागरिक र क्वारेण्टाइनको सङ्ख्यामा वृद्धि भइरहेकाले नेपाल प्रहरीलाई क्वारेण्टाइनको सुरक्षामा केन्द्रित गरिएको छ । जसका कारण असार १ गतेदेखि नेपाली सेनालाई कारागारको सुरक्षाको जिम्मा दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताउनु भयो ।


अनलाइन डेस्क