कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार १ गते)

पछिल्लो २४ घण्टामा नेपालमा ४ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार २ सय ११ जना पुगेको छ । सङ्क्रमण पुष्टि भएकामध्ये ५ हजार १ सय ५१ जना आइसोलेसनमा रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ६७ जना सङ्क्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा सात जना महिला र ६० जना पुरुष रहेका छन् । योसँगै १ हजार ४१ जना सङ्क्रमित डिस्चार्ज भएका छन् । जसमध्ये १ सय ४ जना महिला र ९ सय ३७ जना पुरुष छन् । हालसम्म प्रदेश १ को ओखलढुङ्गा, बागमती प्रदेशको रसुवा र गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेकका ७३ जिल्लामा कोरोना सङ्क्रमित पुष्टि भएका हुन् ।

प्रदेश १

प्रदेश १ मा असार १ गते २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ कूल सङ्क्रमितको सङ्ख्या ३ सय ९७ पुगेको छ । सङ्क्रमित भएकामध्ये २६ जना महिला र ३ सय ७१ जना पुरुष छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको सङ्ख्या १ सय ७४ पुगेको छ । मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार गोठगाउँमा सञ्चालित कोभिड–१९ अस्पतालमा कोरोना सङ्क्रमितलाई घरको खाना खान अनुमति दिइएको छ । पूर्वाञ्चल विश्वविद्यालय परिसरमा सञ्चालित अस्पतालको व्यवस्थापन समितिले अन्य बिरामीसरह घरबाट खाना ल्याएर खुवाउन अनुमति दिएको शिक्षण अस्पतालका डिन शैलेशमणी पोखरेलले बताउनु भयो ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर असार १ गते सिल गरिएको छ । चैनपुर नगरपालिका–२ का ३५ वर्षीय एक व्यक्तिको उपचारका क्रममा असार १ गते मृत्यु भएपछि अस्पताल प्रशासनले सूचना जारी गर्दै स्वास्थ्य केन्द्र शिल गरिएको जानकारी दिएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्वास्थ्य केन्द्रबाट दिइने सबै खाले सेवा बन्द गरिएको अस्पतालका मेडिकल अधिकृत डा.विनोद बेकोजुले बताउनु भयो । उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि स्वाब सङ्कलन गरी परीक्षणका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी पठाएको र रिपोर्ट आएपछि अर्को निर्णय गरिने प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर व्यवस्थापन समिति अध्यक्ष नेत्रबहादुर डाँगीले बताउनु भयो ।

प्रदेश २ 

प्रदेश २ मा असार १ गते १ सय ७१ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार सिरहामा चार, धनुषामा चार, महोत्तरीमा ३०, सर्लाहीमा २३, रौतहटमा ९८, बारामा दुई र पर्सामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ८२ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये ४ सय ७८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्लामा क्वारेण्टाइनमा बसेकाहरूको जेठ १९ गतेदेखि कोरोना परीक्षणका लागि स्वाबको नमूना सङ्कलन कार्य रोकिएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सहित राजविराज, जनकपुर, विराटनगर, वीरगञ्ज र काठमाडौँका कुनै पनि प्रयोगशालाले स्वाब लिन नमानेपछि सिरहामा स्वाब सङ्कलन रोकिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । स्वाब सङ्कलन गरी परीक्षणका लागि जनकपुर र काठमाडौँ पठाउने गरिएकोमा जनकपुरले ‘अहिले स्वाब सङ्कलन गरेर नपठाउनु’ भनेर पत्र नै पठाएको  यादवले बताउनु भयो । टेकुले पनि स्वाब नपठाउनु भनेकाले नमुना सङ्कलन रोकिएको यादवको भनाइ छ । जेठ १७ गते नमुना सङ्कलन गरी पठाइएको रिपोर्ट हालसम्म नआएकोले क्वारेण्टाइन व्यवस्थापनमा थप समस्या भएको यादवले बताउनु भयो । क्वारेन्टाइनमा रहनु भएका करिब १ हजार जनाको नमुना सङ्कलन गर्न बाँकी रहेको र ५ सय ८० जनाको रिपोर्ट आउन बाँकी रहेको यादवले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा असार १ गते थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो सँगै प्रदेशमा हालसम्म २ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ५० जना  उपचारपछि निको भएर घर फर्केका छन्, भने १ सय ७५ जना आइशोलेसनमा रहेको प्रदेशको समाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाइले बताउनु भयो ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार कोरोना सङ्क्रमणका कारण भएको लकडाउनका बेला कालोबजारी गरेपछि जिल्लाका सात ओटा उद्योग तथा पसललाई गरी कूल १ लाख १५ हजार जरिबाना तोकिएको छ । जेठ २९ गते गरिएको बजार अनुगमनका क्रममा उद्योग र पसल कारबाही गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनु भयो ।

गण्डकी प्रदेश

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार सुनौलीबाट उद्धार गरी बागलुङको क्वारेण्टाइनमा लैजाँदै गरेका एक युवकले कुश्मा नगरपालिका–८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेका छन् । पोखरा–बागलुङ सडकमा बस रोकेको अवस्थामा उनले भीरबाट हाम फालेका थिए । गम्भीर घाइते भएका युवकलाई उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको र गण्डकी अस्पताल पोखराले मृत्यु भएको घोषणा गरेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार परीक्षण गरिएका स्वाबको पीसीआर रिपोर्ट ढिला आउँदा क्वारेण्टाइनमा रहेकाहरू समस्यामा परेका छन् । १४ दिन क्वारेण्टाइन अवधि गुजारेकाहरू पनि पीसीआर रिपोर्ट ढिला आउँदा घर जान पाएका छैनन् । क्वारेण्टाइनमा बस्नेहरूको रिपोर्ट ढिला आउँदा मानसिक त्रास बढेको शहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा बताउनुभयो ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार गण्डकी प्रदेशमा परीक्षण सुस्त हुँदा क्वारेण्टाइनमा बसेकाहरु थप सकस र सङ्क्रमणको जोखिममा परेका छन् ।  भारतका विभिन्न स्थानबाट आएर बागलुङ जिल्लाका १० ओटा स्थानीय तहमा रहेका क्वारेण्टाइनमा बसेका ८ सय जनाभन्दा बढीको स्वाब सङ्कलन गरी पठाइएको भएपनि एक सातादेखि पीसीआर रिपोर्ट आएको छैन ।

प्रदेश ५

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार घोराही उमनपा–१७ र १८ का दुई ओटा क्वारेण्टाइनमा रहेका ४१ जनालाई पीसीआर रिपोर्ट नआउँदै घर पठाइएको छ । जसमध्ये १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । घोराही उमनपा–१७ को चौघेरा माविको क्वारेण्टाइनबाट जेठ २९ गते ३५ जना र वडा नम्बर–१८ को गिठेपानी आधारभूत विद्यालयको क्वारेण्टाइनबाट ६ जनालाई जेठ ३० गते  घर पठाइएको थियो । चौघेरा माविका १७ जना र गिठेपानी आधारभुत विद्यालयका दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।

क्वारेण्टाइनबाट घर गएकाहरूमा कोरोना पुष्टि भएपछि घोराही उमनपा–१७ चौघेराका स्थानीयले असार १ गते वडा कार्यालय घेराउ गरका छन् । क्वारेण्टाइनमा रहेका व्यक्तिहरूलाई पीसीआर रिपोर्ट नआउँदै घर पठाएर गाउँलाई नै जोखिममा पारेको भन्दै सङक्रमितका परिवार र सम्पर्कमा आएका सबैको पीसीआर परीक्षणको माग गरेको स्थानीय शिशिर आचार्यले जानकारी दिनुभयो ।

जेठ २१ गते लिइएको स्वाबको रिपोर्ट एक हप्तासम्म नआएपछि होम क्वारेण्टाइनमा बस्ने शर्तमा उनीहरूलाई घर पठाइएको वडा नम्बर–१७ का अध्यक्ष खुशीराम चौधरीले बताउनु भयो । उनीहरू घर गएपनि निगरानीमै रहेकाले सुरक्षित रहेको र सबैलाई आइसोलेशनमा राखिएको उहाँले बताउनु भयो । गिठेपानी क्वारेण्टाइनमा रहेका ६ जना जेठ ३० गते भागेर घर गएपनि उनीहरूलाई ल्याएर आइसोलेशनमा राखिएको वडाध्यक्ष भरतमणी अर्यालले जानकारी दिनुभयो ।

लामो समयसम्म पनि पीसीआर परीक्षणको रिपोर्ट नआउँदा क्वारेण्टाइनमा बसेकाहरूलाई सम्झाउन कठिन भएको जनप्रतिनिधिहरूको भनाइ रहेको छ । जिल्लामा असार १ गतेमात्रै ४३ जनामा कोरोना पुष्टि भएकोमा ४ जना स्वास्थ्यकर्मीमा पनि सङ्क्रमण देखिएको छ । यससँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १ सय ८६ पुगेको छ ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार कृष्णनगर नपाको आइसोलेशन सेन्टरबाट जेठ ३१ गते २२ वर्षीय कोरोना सङ्क्रमित भागेका स्वास्थ्य शाखा संयोजक अनिल विश्वकर्माले बताउनु भयो । उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जेठ २३ गतेदेखि थप उपचारका लागि आइसोलेशन सेन्टरमा राखिएको थियो । उनी भारतीय नागरिक भएको र क्वारेण्टाइनमा बस्दा गलत ठेगाना दिएको बुझिएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले यस विषयमा केही जानकारी नआएको बताउनु भयो ।

प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार क्वारेण्टाइनमा १४ दिन बसेर आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाएको १२ दिनसम्म पनि रिपोर्ट नआएको क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले गुनासो गरेका छन् । प्यूठान नपा–३ स्थित पदमा प्राविको क्वारेण्टाइनमा बसेका युवाको एक जनाको आरडीटी परीक्षण पोजेटिभ आएपछि सबैको स्वाब पीसीआर परीक्षणका लागि पठाइएकोमा रिपोर्ट कुरेर बसेको क्वारेण्टाइन व्यवस्थापन समितिका संयोजक बुद्धिराम भुसालले बताउनु भयो । रिपोर्ट समयमा नआउँदा २६ दिनसम्म क्वारेण्टाइनमा राख्दा खर्च बढनुको साथै व्यवस्थापनमा समस्या हुँदै आएको संयोजक भुसालले बताउनु भयो । उनीसँगै स्वाब पठाइएका अन्य ठाउँको पनि रिपोर्ट नआएको वडा अध्यक्ष प्रेमबहादुर हमालले बताउनु भयो ।

कर्णाली प्रदेश

हुम्लाको सिमकोट गाउँपालिका–५ को बालमन्दिर माविको क्वारेण्टाइनमा बसेका ६० जना व्यक्तिहरू क्वारेण्टाइनमा राम्रो सुविधा नभएको भन्दै असार १ गते सिमकोट गाउँपालिकाको कार्यालयमा धर्ना बसेका छन् । जेठ ३२ गते उक्त क्वारेण्टाइनमा बसेका व्यक्तिहरूलाई पीसीआर परीक्षणमा लापरबाही गर्दा स्वास्थ्यमा समस्या भएको, खाद्यान्नमा कुहिएको चामल दिएको, पानी तथा शौचालयको व्यवस्था नभएको सिमकोट गाउँपालिका–५ का दिपेन्द्र रावतले गुनासो गर्नु भयो । खाद्य संस्थानलाई राम्रो चामलको खाना खुवाउने अनुरोध गरे पनि गुनासो आएपछि अब राम्रो चामल खुवाउने सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले प्रतिबद्धता जनाउनु भएको छ ।


अनलाइन डेस्क