कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३१ गते)

पछिल्लो २४ घण्टामा थप २ सय ७३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या देखिएको छ । यससँगै देशभर सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ३५ पुगेको छ । जेठ ३१ गते स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिनुभएको जानकारी अनुसार नयाँ सङ्क्रमितमध्ये २ सय ४७ जना पुरुष हुन् भने ३६ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३६ रहेको छ । योसँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ९ सय १३ पुगेको छ । त्यस्तै कोरोना भाइरस सङ्क्रमणकै कारण थप दुई जनाको मृत्यु भएको छ । प्रवक्ता गौतमका अनुसार पर्साका २५ वर्षीय पुरुष र बाराका पाँच वर्षीय बालकको मृत्यु भएको हो । यससँगै कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

प्रदेश १

प्रदेश १ मा जेठ ३१ गते थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ३ सय ४४ पुगेको छ । जसमध्ये १ सय ६२ जना डिस्चार्ज भएका छन् ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कोरोनाको सफल उपचारपछि प्रमाणपत्र लिएर घर फर्किएका विर्तामोड नगरपालिका–२ का एक युवकलाई स्थानीयले घर प्रवेशमा रोक लगाएका छन् । प्रतिष्ठानमा १० दिन उपचारपछि कोरोना नभएको सर्टिफिकेट लिएर घर फर्किएका ३१ वर्षीय युवकलाई वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानबाट भागेर आएको आरोप लगाउँदै स्थानीयले घर प्रवेशमा अवरोध गरेका हुन् । जेठ १३ गते भारतबाट नेपाल आएका उनलाई वुद्धशान्ति गाउँपालिकाले निर्माण गरिएको क्वारेण्टाइनमा राखिएको थियो । स्वाबको पीसीआर परीक्षणपछि कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनलाई वीपी कोरोना अस्पताल सुनसरीमा भर्ना गरी उपचार गरिएको थियो । विर्तामोड नगरपालिका–२ का वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले स्थानीयलाई सम्झाइबुझाइ घरमा राख्ने वातावरण बनाएको बताउनु भयो ।

प्रदेश २

प्रदेश २ मा जेठ ३१ गते १ सय ७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेशका बरिष्ठ स्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार महोत्तरीमा एक, सर्लाहीमा ११, रौतहटमा ९० र पर्सामा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ९ सय १३ जना पुगेको छ । प्रदेश २ मा कोरोना सङ्क्रमित मध्ये ४ सय ३७ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार निजगढ नगरपालिका–६ माथिल्लो योजना टोल खोल्माका पाँच वर्षीय बालकको मृत्यु कोरोना सङ्क्रमणका कारण भएको छ । जेठ ३० गते राति बीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालका सञ्चालक डा. अबुल हैस अन्सारीले बताउनु भयो । निमोनिया भएको भनी जेठ ३० गते बिहान स्थानीय दुई ओटा क्लिनिक र सामुदायिक अस्पतालमा उपचार गर्दा बालकको स्वास्थ्यमा सुधार नआएपछि स्वास्थ्यकर्मीको सल्लाह अनुसार परिवारले पर्साको हेल्थ केयर अस्पताल बीरगञ्ज लगेको निजगढ नगरपालिकाका नगर प्रमुख सुरेश खालले बताउनु भयो । कोभिड रोग नियन्त्रण निर्देशिका अनुसारका प्रक्रियाका लागि नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदनकुमार उपाध्यायसँगको सहकार्यमा जेठ ३० गते राति पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको डा. अन्सारीले बताउनु भयो ।

क्वारेन्टाइनमा बसिरहेका नागरिकको कोरोना रोग नियन्त्रण निर्देशिका अनुसार परीक्षण गर्न स्वाब सङ्कलन गर्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राम नरेश यादवले बताउनु भयो । १६ ओटा स्थानीय तहहरूमा ५ सय जना क्वारण्न्टाइनमा बसिरहेका नागरिकको भिटिएम अभावका कारण समयमा स्वाब सङ्कलन गरी पठाउन नसकेको उहाँले बताउनु भयो । २ सय ५० जनाको मात्र पीसीआर विधिबाट कोराना परीक्षणका लागि स्वाब सङ्कलन गरी पठाएको उहाँले जानकारी दिनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार राजपुर नगरपालिका–१ का तीन ओटा क्वारेण्टाइनमा बसेका ३ सय ५ जनाले समयमा पीसीआर रिपोर्ट नआएको भन्दै सडक अबरुद्ध गरेका छन् । समयमा रिपोर्ट नआएको विरोधमा बहुअर्वा र आधारभूत विद्यालयको क्वारेण्टाइनमा बसेकाहरूले जेठ ३१ गते गौर चपुुर सडकखण्डको बहुअर्वामा सडक अबरुद्ध गरेका हुन् । वडा अध्यक्ष शेख अरिरुल्लाहले भन्नु भयो–‘जेठ २४ गते काठमाडौँ स्वाब पठाएका थियौँ तर रिपोर्ट आएको छैन ।’ उनीहरूलाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । क्वारेण्टाइनमा बसेकाहरुले प्रहरीमाथि ढुङ्गामुढा गर्दै क्वारेण्टाइन छोडेर भाग्न खोजेपछि अश्रुग्याँस र हवाइफायर गरेको इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी ज्ञानकुमार महत्तोले बताउनु भयो । प्रहरीले १४ सेल अश्रुग्याँस र दुई राउण्ड हवाई फायर गरेको थियो । प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर ३२ वर्षीय प्रहरी हवल्दार सुवोध सिंह घाइते हुनुभएको छ । उहाँको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको छ । क्वारेण्टाइनबाट भागेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर पुनः क्वारेण्टाइनमै पुर्‍याएको छ । राजपुर नगरपालिकालाई पूर्णरूपमा सिल गरेर परीक्षणको कार्यलाई तीब्र बनाउन आफूहरूले अनुरोध गर्दा पनि प्रशासनबाट सुनुवाइ हुन नसकेको भन्दै नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरले असन्तुष्टि व्यक्त गर्नु भएको छ ।

बागमती प्रदेश

यस प्रदेशमा जेठ ३१ गते थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशका १ सय ८५ जनामा सङ्क्रमण भएको छ । जसमध्ये ४६ जना उपचारपछि घर फर्केको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले जानकारी दिनुभयो ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या थपिएसँगै उपचार गर्ने र स्याहार गर्ने स्थानहरूको अभाव भएको छ । स्थानीय तह तथा सङ्कट व्यवस्थापन केन्द्रले तयारी गर्न नसक्दा कोरोना भाइरस सङ्क्रमणको सङ्ख्या वृद्धि भएपछि उनीहरूको उपचारमा र आइसोलेशनमा राख्ने ठाउँको समस्या भएको छ । हाल क्वारेनटाइनमै राखेर उपचार गरिरहेको र व्यवस्थापनमा समस्या आएको जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालले बताउनु भयो ।

ज्वालामुखी गाउँपालिकामा एकै दिन २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकालेले विद्यालयको क्वारेण्टाइनमै राखिएको र कोरोना सङ्क्रमणपछि अवस्था सामान्य रहेकोले गाउँमै व्यवस्थापन गरिएको ज्वालामुखी गाउँपालिकाका सूचना अधिकारी धनबहादुर मास्केले जानकारी दिनुभयो । गाउँँपालिकामा एक जना पनि डाक्टर र आइसोलेशन समेत नभएको मास्केले बताउनु भयो ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा जेठ ३० गते पर्वतका थप पाँच जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ सय ९७ पुगेको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार लामो समयसम्म स्वाब परीक्षणको रिपोर्ट नआउँदा क्वारेण्टाइनमा बस्नेहरूमा मानसिक तनाव देखिएको छ । व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसको क्वारेण्टाइनमा बसेका मध्ये एक जनाको गत जेठ २४ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनीसँगै बसेका अन्य व्यक्तिहरूको रिपोर्ट भने नआउँदा यस्तो समस्या आएको हो । क्वारेण्टाइनमा बसेकामध्ये व्यास नपा–१३ घर भएका एक जनाले जेठ ३१ गते इन्सेक प्रतिनिधिलाई फोन गरी पहिलो परीक्षणमा आफूहरूको रिपोर्ट नेगेटिभ आएको तर सँगै बसेका एक जनाको रिपोर्ट पोजेटिभ आएपछि आफूहरूको पुनः दोश्रो पटक स्वाब सङ्कलन गरिएको बताए । सङ्कलन भएको एक साता हुँदासम्म रिपोर्ट नआउँदा आफूहरूलाई मानसिक तनाव भएको उनले बताए ।

पर्वत जिल्ला प्रतिनिधि सन्तोष थापाका अनुसार  अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक पर्वतको माग अनुरूप जिल्ला प्रशासन कार्यालय पर्वतले कोरोना भाइरससम्बन्धी जानकारीका लागि सूचना अधिकारी तोकेको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जेठ ३० गते बसेको सीसीएमसीको बैठकबाट स्वास्थ्यसम्बन्धी जानकारीको लागि जिल्ला स्वास्थ्य कार्यालय पर्वतका अधिकृत प्रविन भण्डारी र अन्य गतिविधि अपडेटका लागि जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमलाई तोकिएको जानकारी दिनुभयो । इन्सेक पर्वतका प्रतिनिधि सन्तोष थापाले जेठ २७ गते प्रमुख जिल्ला अधिकारीसमक्ष एक ध्यानाकर्षण पत्र बुझाउँदै सूचना लिन पाउने अधिकारलाई व्यवस्थित बनाउन माग गर्नुभएको थियो ।

प्रदेश ५

नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार सुस्ता गाउँपालिका–३ का ३५ वर्षीय युवक भारतबाट घर फर्कने क्रममा जेठ २९ गते नेपाल भारत सीमा सुनौलीमा मृत्यु भएको थियो । मृत्युपछि भारतमै गरिएको परीक्षणमा कोराना भाइरस पुष्टि भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताउनु भयो । कोरोना पुष्टि भएपछि परिवारका सदस्यलाई शव देखाएर भारतमै व्यवस्थापन गरिएको पाण्डेले बताउनु भयो ।

कर्णाली प्रदेश

कर्णाली प्रदेश अस्पताल सुर्खेत र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा पीसीआर परीक्षणको चाप बढेपछि शारदा नगरपालिकाका विभिन्न क्वारेण्टाइनमा बसेकाहरूको स्वाब हेटौँडा पठाइएको छ । भारतबाट आएका १ सय ८ जनाको स्वाब परीक्षणका लागि हेटौँडास्थित प्रदेश प्रयोगशालामा पठाइएको नगर प्रमुख सुरेश अधिकारीले बताउनु भयो ।

जेठ ३१ गते त्रिभुवन माविस्थित आइसोलेशनका सङ्क्रमितले आफ्नो दोस्रो रिपोर्ट आउन ढिला गरेको भन्दै जनप्रतिनिधि र ड्युटीमा रहेका प्रहरीलाई गाली गरेको विषयमा प्रहरीले लाठीचार्ज गर्दा चार जना घाइते भएका छन् । आइसोलेशन हाताबाट बाहिर निस्केका सात जनालाई सम्झाउँदा पनि नमानेपछि लाठीचार्ज गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर उपेन्द्रप्रसाद आचार्यले बताउनु भयो । घाइतेहरूलाई सरस्वती मावि तर्ताङ्गस्थित आइसोलेशनमा उपचार सुरु गरिएको छ । नारायण नगरपालिका–६ का २१ वर्षीय युवकको टाउकोमा सात ओटा टाँका लगाइएको र अरुलाई दुखाई कम हुने औषधि दिइएको घाइतेहरूको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश

कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार कोरोना भाइरसको परीक्षणका लागि सङ्घीय र प्रदेश सरकार गरी ९ हजार ९ सय २५ किट पठाइएको भए पनि सबै किटहरू प्रयोग भइसकेको र हाल किटको अभावले गर्दा कोरोना शङ्कास्पद व्यक्तिहरूको स्वाब सङ्कलन तथा स्वास्थ्य परीक्षण प्रभावित भएको स्वास्थ्य कार्यालय, कञ्चनपुरका कोरोना सम्पर्क व्यक्ति सिद्धराज भट्टले बताउनु भयो ।

बैतडी प्रतिनिधि नरी बडुका अुनसार सरकारको मापदण्डअनुसार क्वारेण्टाइन व्यवस्थित नहुँदा आफूहरू समस्यामा रहेको क्वारेण्टाइनमा बसेका गर्भवती र सुत्केरी महिलाहरूले गुनासो गरेका छन् । सुत्नका लागि बेड र पोषिलो खानेकुरा नपाउँदा आफू समस्यामा परेको दशरथचन्द नगरपालिका–७ एैचेकाडास्थित कैलपाल आधारभूत विद्यालयको क्वारेण्टाइनमा बसेकी गर्भवतीको गुनासो रहेको छ । उनले भुइँमा फम ओछ्याएर सुत्न परिरहेको बताइन् । ‘बिहानबेलुकी दालभात मात्रै पाइन्छ । सरसफाइका लागि पानीको व्यवस्था छैन । बिहान फिका चिया दिन्छन् । कुनै पोषिलो खाना नपाएका कारण स्वास्थ्यमा अप्ठ्यारो महसुस भइरहेको छ ।’–उनले भनिन् । मेलौली नगरपालिका–२ स्थित केदारेश्वर माविको क्वारेण्टाइनमा रहेकी एक महिलाले १० दिनदेखि तीन महिनाको बच्चा लिएर क्वारेण्टाइनमा बस्दै आएको भए पनि पोषिलो खानेकुरा नपाएकाले बच्चाका लागि दुध नपुगेको गुनासो गरिन् । क्वारेण्टाइनमा बसेका सुत्केरी र गर्भवती महिलाका लागि छुट्टै व्यवस्था गर्न नसकिएको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायणबहादुर चन्दले बताउनु भयो ।


अनलाइन डेस्क