कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १५ गते)

देशभर ५३ हजार ५ सय ३४ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा सो बारेमा जानकारी दिनु भएको दिनुभयो ।

हालसम्म नेपालमा कोभिड-१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ५२ रहेको र १६ जना डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वैशाख १५ गते नयाँ सङ्क्रमित फेला परेका छैनन् । उपचाररत ३६ जनामध्ये भरतपुरमा एक, विराटनगरमा ३१, वीरगञ्जमा तीन र धनगढीमा एक जनाको उपचार भरहेको छ । दाङको घोराहीमा रहेको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट कोरोनाको परीक्षण सुरू भएको डाक्टर देवकोटाले बताउनु भयो ।

प्रदेश १

प्रदेश १ मा कोरोना सङ्क्रमण पुष्टी भएकाहरूको कोशी अस्पताल (कोभिड-१९) कोरोना उपचार केन्द्रमा उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालकी मेडिकल सुपरीटेन्डेण्ट डाक्टर संगीता मिश्राले बताउनु भयो । प्रदेश १ सरकारको कोरोना जनसुरक्षा कोषमा २८ करोड ८२ लाख ९७ हजार रुपियाँ जम्मा भएको छ । सुन्दरहरैँचा नगरपालिकाको गोठगाँउमा कोरोना अस्पताल निर्माणका लागि प्रदेश सरकारले वैशाख १५ गते स्थलगत अनुगमन गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्के क्षेत्र, दमक नगरपालिका-३ र बाहृशी गाँउपालिकामा स्थानीय तहले शिल गरेका छन् ।

इलामको माङ्सेबुङ गाउँपालिकाले गाउँबाट बाहिरी जिल्लामा गएर बसेका व्यक्तिको राहतका लागि विपद् व्यवस्थापन कोषमा ५० लाख रुपियाँ रकमान्तर गरेको छ ।

लक डाउनका कारण रोकिएको सामाजिक सुरक्षा प्रदेशका विभिन्न स्थानीय तहले घरघरमा पुगेर वितरण गर्दै आइरहेका छन् ।

बुद्धशान्ति गाउँपालिकाको शान्तिनगर क्षेत्रका कृषकले लगाएको टमाटर बारीमै कुहिन थालेपछि गाईलाई खुवाउन थालेका छन् । लकडाउनका कारण झापाका उखु कृषक र व्यवसायी मारमा परेका छन् । उत्पादनको मुख्य सिजन मानिने चैत र वैशाखमा उखु बाली उठाउन नपाएपछि कृषक र व्यवसायीहरूले १५ करोड रुपियाँ क्षति व्योहोर्नु पर्ने भएको छ ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले प्रदेशका पत्रकारहरूका लागि स्वास्थ्य सुरक्षा समाग्री वैशाख १५ गते उपलब्ध गराएको छ । कोरोना भाईरस (कोभिड- १९) को उच्च जोखिममा रहेको प्रदेश दुईका आठ जिल्लाका पत्रकारहरूका लागि सामाजिक विकास मन्त्री नवल किशोर शाहले पत्रकार महासंघ प्रदेश कमिटीका उपाध्यक्ष गायत्री मिश्रलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गर्नु भयो । मन्त्री शाहले १ हजार ओटा मास्क, एक हजार थान ग्लोब्स र ४० लिटर स्यानीटाइजर हस्तान्तरण गर्दै यस महामारीमा पनि जोखिम मोलेर अग्रपंक्तिमा खटिने पत्रकारलाई आफ्नो सुरक्षासँगै जनतालाई सूचना प्रदान गर्दा संवेदनशील बन्न आग्रह गर्नु भयो ।

सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले सञ्चारकर्मीको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले कोभिड-१९ सम्वद्ध कार्यमा क्रियाशील रहने सञ्चारकर्मीको मृत्यु भएमा निजको परिवारलाई ५० लाख रुपियाँ क्षतिपूर्ति दिने निर्णय समेत गरेको स्मरण गराउनु भयो ।

सप्तरीको विभिन्न स्थानमा नयाँ व्यक्तिलाई भित्रिन नदिन युवाहरूले ठाउँ-ठाउँमा अवरोध खडा गरेका छन् । बाँसको भाटा, काठको मुढा, डोरीको तगारोले छेकेर आवतजावत बन्द गरेका छन् । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको पालना गर्न घरमा बसेका जनतालाई लक्षित गरी तिलाठी कोइलाडी गाउँपालिकाले सुपथ मूल्यको खाद्यान्न घुम्ती पसल सञ्चालनमा ल्याएको छ ।

राहतको सही सदुपयोग नगरी आसेपासे, सम्पन्न, समर्थक, कर्मचारीहरूलाई छानेर राहत वितरण गरेको आरोप लगाउँदै तिलाठी कोलाडी गाउँपालिका-७ का वडावासीले वडा कार्यालय भित्रै प्रवेश गरेर वडाध्यक्ष गुलाब सिंहमाथि वैशाख १४ गते दुर्व्यवहार गरे ।

नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा बजारभाउ भन्दा महँगो दाल बिक्री गरेको भन्दै जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रको कमाण्डमा रहेको प्रहरीले वैशाख १४ गते नारायणी मोर्डन पल्सेर्स ईण्डष्ट्रिज परवारीपुर-४ चैनपुर बाराका सञ्चालक ७३ वर्षीय मोहनलाल अग्रवाल, सोही उद्योगका प्रतिनिधि ४८ वर्षीय सुनिल शर्मा, श्रीकृष्ण आधुनिक दाल उधोग छातापिप्रा- ९ बाराका सञ्चालक ४५ वर्षीय पवन कुमार साह, प्रतिनिधि ५२ वर्षीय सुरेश प्रसाद, माहाबिर ओभरसिज प्रा.लि. परवानीपुर-४ लिपनीमाल बाराका प्रतिनिधि ४३ वर्षीय सन्तोष झालाई उद्योगबाट गिरफ्तार गरेको डिएसपी मिश्रले बतानु भयो । उधोगहरूले लक डाउनभन्दा अगाडि प्रति केजी ८० रुपियाँ देखि ८५ रुपियाँ तथा लकडाउन अवधिमा ९४ रुपियाँ देखि ९८ रुपियाँसम्ममा बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले थप अनुसन्धान गर्न गिरफ्तार गरेको मिश्रले बताउनु भयो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

बागमती प्रदेशमा वैशाख १४ गतेसम्म ७ हजार ५ सय ९१ जनाको एण्टिवडी परीक्षण गरिएको छ । विदेशबाट फर्किएका र क्वारेण्टाइनमा रहेकाहरूलाई प्राथमिकता दिएर स्वास्थ्य जाँच गरिएको हो । प्रदेशका १३ वटै जिल्लामा हालसम्म र्‍यापीड टेष्ट गर्दा १४ जनामा पोजिटिभ देखिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता तथा चिकित्सा महाशाखा प्रमुख डा. पुरुषोत्तम सेढाईंले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकले वैशाख १४ गते साँझ बाह्रबिसेमा राँके जुलुस प्रदर्शन गरी लकडाउनको उल्लङ्घन गरेको छ । कांग्रेसले ६०/७० जनाको समूह जम्मा गरी बाह्रबीसे बजारमा जुलुस प्रदर्शन गरेको हो । सांसद सुरेन्द्र यादवको अपहरण भएको र स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै राँके जुलुस निकालेको नेपाली कांग्रेसले जनाएको छ ।

Table_3_April27काभ्रेको तेमाल गाउँपालिकाले वैशाख १५ गतेदेखि सबै वडाका घर-घरमा स्वास्थ्य जाँच सुरू गरेको छ । वडाकै स्वास्थ्यकर्मीमार्फत प्रत्येक घरधुरीमा पुगेर स्वास्थ्य जाँच गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले जानकारी दिनुभयो । हालैमात्र काठमाडौँबाट १७ ओटा गाडीमा १ हजार भन्दा बढी नागरिक गाउँ भित्रिएकाले उनीहरूको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको कुइँकेलले बताउनुभयो ।

राष्ट्रिय मानव अधिकार अयोगले रामेछापमा गठन गरेको मानव अधिकार अनुगमन समितिको सदस्यमा इन्सेक जिल्ला प्रतिनिधि नवराज घिमिरे चयन हुनु भएको छ ।

स्थलगत रिपोर्टिङका क्रममा रहेका पत्रकारहरूलाई दुर्व्यवहार गरेको आरोप लागेका प्रहरीलाई कारबाहीको माग गरिएको छ । भरतपुर महानगरपालिका-१० स्थित चौबीसकोठीमा वैशाख १५ गते रिपोर्टिङमा रहेका कायाकैरन दैनिकका सम्पादक विनोदबाबु रिजाल र त्रिवेणी एफएमका अर्जुन अधिकारीलाई प्रहरीले दुर्व्यवहार गरी नियन्त्रणमा लिएको नेपाल पत्रकार महासङ्घ चितवन शाखाले जनाएको छ । पत्रकारले खिचेको फोटो, भिडियोसमेत डिलिट गर्न लगाइ सञ्चारकर्मी र सञ्चारसाधनलाई नियन्त्रणमा लिइनु खेदजनक रहेको महासङ्घका अध्यक्ष राधेश्याम खतिवडाले बताउनुभयो ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा वैशाख १५ गते पीसीआर विधिबाट थप परीक्षण भएन । आडीटी विधिबाट ४ हजार ९ सय २४ जनाको र पीसीआर विधिबाट ४ सय ६६ जनाको परीक्षण भएको सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कास्कीको पोखरा महानगरपालिकाले अस्पताल जानुपर्ने गर्भवती महिलालाई निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि बागलुङमा पहिलोपटक सेनिटाइजर टनेल निर्माण गरिएको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासबारे सोमबार प्रदेश ५ का सभामुख पूर्णबहादुर घर्ती मगरले रुकुमपूर्वका स्थानीय, जिल्ला समन्वय समिति र जिल्ला प्रशासनसँग एकीकृत भिडियो संवाद गर्नुभएको छ । सभामुख र स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृतबीच कोरोना रोकथाम र नियन्त्रणका लागि अहिले गरिरहेका काम र आगामी योजनाका बारेमा छलफल गरिएको हो ।

कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि रुपन्देही तिलोत्तमा नगरपालिकाले गरेको पूर्वतयारीका विषयमा सांसदहरू सहितको टोलीले वैशाख १५ गते अनुगमन गरेको छ । जिल्ला समन्वय समिति, रुपन्देहीको संयोजनमा राष्ट्रियसभा, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यहरू सहितको टोलीले अनुगमन गरेको हो ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकाले स्थानीयको सहकार्यमा १२ शैयाको सुविधा सम्पन्न कोरोना विशेष अस्पतालको निर्माण सम्पन्न गरेको छ भने चौरजहारी र मुसिकोट नगरपालिकामा आइसोलेशन भवन निर्माण कार्य जारी रहेको नगरपालिकाले जानकारी दिएका छन् ।

नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका नागरिकलाई जहाजबाट उद्धार गरी ल्याउन हुम्लाबासीले जिल्ला प्रशासन कार्यालय हुम्लामा पटकपटक उद्धारका लागि पहल गरेपछि नेपाल सरकारले वैशाख १६ गतेबाट जहाजमा नागरिकलाई ल्याउन अनुमति दिएको छ ।

नौ ओटा स्थानीय तह रहेको कालीकोट जिल्लाका विद्यालयमा स्थापना गरिएका क्वारेण्टाइनहरू धुलोले भरिएको र आवश्यक मापदण्ड नपुगेको इन्सेकद्वारा गठित मानव अधिकार समूह शुभकालिका संयोजक पर्शुराम गाउँलेले बताउनु भयो । त्यसैगरी, रुकुम, जाजरकोट र डोल्पाको सीमानाका मानिने त्रिवेणीमा स्थापना गरिएको क्वारेन्टाइनमा २४ जनाभन्दा बढी मानिस छन् । यहाँ घाँस बिच्छाएर पातलो फर्ममा सुत्नुपर्ने, कुखुरा पालन गरेको ठाउँ भएकोले कुखुराको गन्ध आउने र जस्ता पाताले छाएको साँघुरो कोठामा कोचिएर बस्न बाध्य भएको स्थानीय लीलराज रोकायाले बताउनु भयो ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

जिल्ला प्रशासन कार्यालय, दार्चुलाले गृह मन्त्रालयको निर्देशनअनुसार वैशाख १५ गतेदेखि अत्यावश्यक बाहेकका सवारीलाई पास वितरणमा कडाइ गरेको छ । चैत १३ गतेदेखि धार्चुलाका पाँच ओटा क्वारेण्टाइनमा रहेका नेपाली फर्काउन तीन पटक निर्णय गरिसके पनि गृहमन्त्रालयको आदेश कुर्दाकुर्दै ल्याउन नसकिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनु भयो ।

नेपाल सरकारले लकडाउनको घोषणा गरेको समयमा स्थानीय स्वास्थ्यचौकीमा उपलब्ध नभएका औषधिहरू डडेल्धुरा जिल्ला सदरमु्कामबाट ल्याएर घरघरमा वितरण गरिएको छ । सबै जिल्ला सदरमुकामसम्म औषधी लिन जान नसक्ने भएकाले गाउँपालिकाभित्रका वडामा यस्तो व्यवस्था गरिएको युवा लोकेन्द्र पनेरुले बताए ।

लकडाउनको कारण कार्यालयहरू पनि बन्द भई स्थानीयलाई समस्या भएको भन्दै के आई सिंह गाउँपालिका डोटीले सात ओटै वडाहरूमा रहेका जेष्ठ नागरिक, एकल महिला तथा ५ वर्षमुनिका बालबालिकाले पाउँदै आएको सामाजिक सुरक्षा भत्ता घरघरमै गएर वितरण गर्ने तयारी गरेको गाउँपालिकाका नायब सुब्बा जनकबहादुर कठायतले जानकारी दिनु भयो ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क