कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ३० गते)
नेपालमा थप ४ सय ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जेठ ३० गते ५ हजार ९ सय २५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको हो । थपिएका सङ्क्रमितमध्ये ४ सय २४ जना पुरुष र २४ जना महिला रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । अर्घाखाँचीको मालारानीको क्वारेण्टाइनमा रहेका एक व्यक्तिमा स्वास्प्रश्वामा समस्या आएपछि प्रादेशिक अस्पताल बुटवलमा उपचार गरी घर फर्कने क्रममा बाटोमा मृत्यु भएको थियो । मृत्यु पछि स्वाब सङ्कलन गरी परीक्षण गर्दा उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । योसँगै मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।
प्रदेश १
प्रदेश १ मा जेठ ३० गते थप ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टी भएको छ । प्रदेश १ मा कूल सङ्क्रमितको सङ्ख्या ३ सय ३४ पुगेको छ । जेठ ३० गते आठ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा कूल १ सय ६३ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोरोना भाइरसका सङ्क्रमितको उपचारमा समस्या भएपछि जिल्लाका आठ ओटा स्थानीय तहको लगानीमा कोरोना अस्पताल निर्माण कार्य सुरु भएको छ । तत्कालका लागि २० बेडको कोरोना अस्पताल निर्माण कार्य सुरू गरिएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताउनु भयो ।
प्रदेश २
प्रदेश २ मा जेठ ३० गते २ सय ४ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ स्वास्थ्य प्रशासक विजय कुमार झाका अनुसार सप्तरीमा १८, सिरहामा ११, धनुषामा १५, महोत्तरीमा १६, सर्लाहीमा ५९, रौतहटमा ८६ र बारामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार ८ सय ६ जना पुगेको छ । प्रदेशमा कोरोना सङ्क्रमित मध्ये ४ सय २० जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार हनुमाननगर कङ्कालिनी नगरपालिकाका स्वास्थ्यकर्मीसहित १५ जनामा जेठ ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि क्वारेण्टाइन व्यवस्थापनमा लापरवाही भएको भन्दै गाउँमा त्रास बढेको स्थानीय राहुल मण्डलले बताउनु भयो । मण्डलका अनुसार क्वारेण्टाइनमा खटिएका स्वास्थ्यकर्मीको गाउँघरमा आवतजावत रहेको र उपचार गर्ने गरेको तथा वडा नम्बर ६ मा सङ्क्रमण पुष्टि भएका १२ जना बसेको मदरसामा घरपरिवार र गाउँलेहरूको आवतजावत हुने गरेकोले क्वारेण्टाइनमा खटिएका अन्य स्वास्थ्यकर्मीहरू, उपचार गराएका सेवाग्राही तथा गाउँलेहरूमा त्रास बढेको छ ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार बल्वा नगरपालिका–११ रौजास्थित क्वारेण्टाइनमा बस्नेहरू शौचालय नभएका कारण बिहान झिसमिसेमै खेत र बगरमा जानु पर्ने बाध्यता रहेको छ । क्वारेण्टाइनमा भारतका विभिन्न प्रान्तबाट आएका व्यक्तिहरूलाई राखिएको छ । क्वारेण्टाइन राख्ने स्थान अभावका कारण यही ठाउँमा राख्न बाध्य भएको र हतारमा शौचालय बनाउन नसकेको बल्वा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख यमुनाप्रसाद यादवले बताउनु भयो । आरडीटी परीक्षणमा पोजेटिभ देखिएका ३२ जनालाई क्वारेण्टाइनमा राखिएको छ । पीसीआर परीक्षणका लागि दुई साताअघि स्वाब सङ्कलन गरी पठाएकोमा हालसम्म रिपोर्ट नआएको यादवले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा हालसम्म १ सय ८४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये ४३ जना निको भएर घर फर्केको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईंले बताउनु भयो ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार सरकारले कोरोना परीक्षणलाई तिव्रता दिएपछि काठमाडौँमा जम्मा भएर परीक्षण गर्न नभ्याइएको १ हजार ओटा नमूना स्वाब हेटौँडा ल्याइएको छ । हेटौँडा उपमहानगरपालिका–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रयोगशालामा परीक्षणको लागि १ हजार स्वाब प्राप्त भएको बागमती प्रदेशको सामजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तमराज सेढाईँले बताउनु भयो । काठमाडौँमा देशभरीकै स्वाब आएको कारण धेरै भिड भएपछि केन्द्रीय प्रयोगशालाले हेटौँडा पठाएको उहाँको भनाई छ । ल्याबमा हाल मकवानपुर सहित सिन्धुली, बारा, पर्सा र रौतहटको स्वाब परीक्षण हुने गरेको छ ।
चितवन प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार भरतपुर स्थित कोरोना विशेष अस्पतालमा आइसोलेशनमा बसेका केही व्यक्तिले त्यहाँ भित्र आफूहरूले भोग्नु परेको समस्या बारे भिडियो सार्वजनिक गरेका छन् । माडी नगरपालिकाका पाँच जनाले भिडियो खिचेर सार्वजनिक गरेका हुन् । आफूहरू आएको पाँच दिन भएको र समस्याबारे जानकारी गराउँदा सम्बन्धित निकाय र व्यक्तिले बेवास्ता गरेको उनीहरूले बताएका छन् । भिडियोमा देखाइए अनुसार सङ्क्रमितहरूले प्रयोग गर्ने शौचालयको पानी आइसोलेशन वार्डसम्म पुगेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ ३० गते नवलपरासी बर्दघाट सुस्ता पूर्वका थप चार जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । योसँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ सय ९२ पुगेको छ । जेठ २९ गते राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष खोमराज शर्मा, क्ष्ल्ँ का प्रतिनिधि कामराज देवापचाई र कर्ण गुरूङसँग प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक डा. बिनोद बिन्दु शर्मा तथा प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र (एज्इभ्ऋ) का संयोजक नवराज शर्मासँग भेटघाट तथा क्वारेण्टाइन र आइसोलेशन कक्षलाई अपाङगमैत्री बनाउनको लागि प्रदेश सरकारबाट भएका पहलहरूको बारेमा छलफल भएको छ । छलफलमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, गण्डकी प्रदेशका अध्यक्षले प्रदेश सरकारले गरेका कामहरूको जानकारी दिन दोभाषेको प्रयोग गरेकोमा धन्यवाद समेत दिनुका साथै आँखा नदेख्ने र कान पनि नसुन्ने अपाङ्गता भएका व्यक्तिहरूको लागि उपयुक्त माध्यमबाट सन्देश प्रवाह गर्नको लागि सुझाव समेत राख्नु भएको निर्देशक शर्माले जानकारी दिनुभएको छ ।
प्रदेश ५
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जेठ ३० गते बसेको बैठकले जिल्लास्तरीय, स्थानीय तथा होम आइसोलेशन गरी तीन तहका आइसोलेशनका लागि फरक–फरक मापदण्ड तयार पारिएको भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताउनु भयो ।
विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले तोकेको मापदण्ड अनुसार हुने गरी जिल्लास्तरीय तथा स्थानीय तहस्तरीय आइसोलेशन सेन्टरको मापदण्ड निर्धारण गरिएको हो । पीसीआर परीक्षणमा पोजेटिभ देखिएका तर लक्षण देखा नपरेका सङ्क्रमितहरूलाई यस्ता सेन्टरमा राखिने मन्त्री चौधरीले बताउनुभयो ।
यसैगरी सङ्क्रमितले प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम समितीको निगरानी र अनुमतीमा आफ्नै घर तथा होटलमा समेत बस्न पाउने गरी मापदण्ड तयार पारिएको हो । जिल्ला स्तरिय तथा स्थानीय आइसोलेशनमा बस्दा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने र पनि सेल्फ आइसोलेशन अर्थात होटल तथा आफ्नै घरलाई आइसोलेशन बनाएर बस्नेहरूको खर्च स्वयम् व्यक्तिले नै व्यहोर्नु पर्ने छ ।
कर्णाली प्रदेश
इन्सेक कालीकोट जिल्ला प्रतिनिधि कालीबहादुर मल्लका अनुसार सदरमुकामस्थित एकीकृत भवनको आइसोलेशनमा राखिएका कोरोना सङ्क्रमितहरू सामान्य सुविधा पनि नभएको भन्दै जेठ २९ गते राति घर जान थालेपछि प्रहरीले कुटपिट गर्दा दुई जना घाइते भएका छन् । आवश्यक मात्रामा पानी र पेटभरि खान नपाएपछि बाहिर निस्कँदा आइसोलेशनमा खटिएका प्रहरीले कुटपिट गरेको एक घाइतेले बताए । बिरामीहरू आइसोलेशनबाट निस्केर भाग्न लागेपछि प्रहरीले लाठीचार्ज गरेरभित्र पठाउन खोज्दा सामान्य चोट लागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका श्यामबाबु ओलियाको भनाइ छ । उक्त भवनमा एक महिला तथा एक बालकसहित २९ जना सङ्क्रमितहरू रहेका छन् ।
इन्सेक हुम्ला जिल्ला प्रतिनिधि नन्द सिंहका अनुसार सिमकोट गाउँपालिका–२ को रामदेव मावि र सोही गाउँपालिका–७ को कैलाश माविको क्वारेण्टाइनमा बस्दै आएका नागरिकले आफूहरूलाई वडा कार्यालयले बिजुली, शौचालय र खानेपानीको व्यवस्था नगरेको क्वारेण्टाइनमा बसेका स्थानीय रामबहादुर भण्डारीले गुनासो गर्नु भयो । हाल क्वारेण्टाइनमा बस्दै आएका ४ सय ३२ जनालाई सिमकोट गाउँपालिकाले सुविधाका नाममा १० किलो चामल, केही दाल मात्रै दिएको र कुनै पनि प्रकारको परीक्षण नगरिएको स्थानीय मानबहादुर शाहीले बताउनु भयो । बजेट अभावका कारण सबै समस्या हल गर्न नसकिएको सिमकोट गाउँपालिका–२ का वडाध्यक्ष नरबहादुर भण्डारीको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार महेन्द्रनगरस्थित महाकाली अस्पताल परिसरमा निर्माणधीन कोरोना अस्पताल जेठ ३० गतेबाट सञ्चालनमा आएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले ५० शैयाको उक्त अस्पताल उद्घाटन गर्दै कोरोना उपचारको लागि थप सहयोग पुग्ने बताउनु भयो । महाकाली अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हरिकुमार श्रेष्ठले महाकाली अस्पतालमा पीसीआर मेसिन जडान सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति अभाव रहेकाले सो सरकारले उपलब्ध गराउनुपर्ने उहाँले बताउनु भयो ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार सुदूरपश्चिम प्रदेशमा क्वारेण्टाइनमा बस्नेहरूको सङ्ख्या ६६ हजार रहेको र जाँच गर्नका लागि आवश्यक मात्रामा आरडीटी किट उपलब्ध नभएको हुँदा क्वारेण्टाइनमा बसेकाहरूका लागि जेठ २९ गते जाँच तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गरिएको सुदूरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीद्वारा जारी परिपत्रमा उल्लेख गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौँ, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तह तथा प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयलाई बोधार्थ पठाइएको परिपत्रमा कोरोनाका लक्षण नदेखिएका तर क्वारेण्टाइनमा १४ दिन बिताइसकेकालाई थप सात दिन होम क्वारेण्टाइनमा बस्ने गरी पठाउने, आरडीटी पोजेटिभ देखिएका तर कोरोनाका लक्षण नदेखिएकालाई स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि नतिजा नआउञ्जेल होम आइसोलेशनको मापदण्डअनुसार घरकै आइसोलेशनमा पठाउने र होम क्वारेण्टाइन तथा आइसोलेशनमा रहँदा कोरोनाको लक्षण देखा परेमा स्थानीय तहले निर्माण गरेका आइसोलेशनमा राखी उपचार गराउने उल्लेख गरिएको छ ।
इन्सेक डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार लकडाउनको अवधि र त्यसभन्दा केही समयअघि भारत तथा अन्य मुलुकबाट करिब ५ हजारभन्दा बढी मानिस जिल्ला भित्रिएकोमा किट अभावका कारण उनीहरूको कोरोना परीक्षण हुन नसकेको स्वास्थ्य कार्यालय, डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले जानकारी दिनु भयो । जिल्लामा किट अभावको जानकारी प्रदेश र केन्द्रीय सरकारलाई गराई सकिएको भए पनि सरकारले किट नपठाउँदा कोरोना जाँच गर्न समस्या भएको स्वास्थ्य कार्यालय, डडेल्धुराका प्रमुख श्रेष्ठको भनाइ छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-४ का २७ वर्षीय सुशिल कुमार यादवविरुद्धको उजुरी ०८१ मङ्सिर १६ गते जिल्ला प्रहरी कार्यालय मलंगवाले दर्ता गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक…