कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ १७ गते)

जेठ १७ गते थप १ सय ८९ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४ सय ४ पुगेको छ । जसमध्ये ६ जनाको मृत्यु भएको छ भने २ सय १९ जना निको भएका छन् । सरकारले चैत ११ गतेदेखि जारी लकडाउनलाई जेठ ३२ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्ले उक्त निर्णय लिएको सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत जानकारी गराउनु भएको छ ।  मन्त्रिपरिषद् बैठकले आन्तरिक तथा बाह्य हवाई उडान पनि असार १६ गतेसम्म बन्द राख्ने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले लकडाउनका कारण तेस्रो देशमा अड्किएका नेपालीहरुलाई ल्याउने कार्यविधि पनि पास गरेको छ । सरकारले अब तेस्रो देशबाट दूतावासमा नाम दर्ता भएका आधारमा नेपालीलाई आवश्यकता अनुसार ल्याउने भएको छ । तर उनीहरुलाई ल्याएर काठमाडौंका होटलमा कम्तीमा १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।

प्रदेश १

झापाको कचनकवल गाउँपालिकाका २७ जना कोरोना सङ्क्रमितलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नलिएपछि सामाजिक विकास मन्त्री जीवन घिमिरेको निर्देशनमा जेठ १७ गते बिहान सो अस्पतालमा भर्ना गरिएको छ । उनीहरू जेठ १६ गते राति अस्पताल  बाहिरै बसेका थिए । सङ्क्रमितलाई भर्ना गरिएपछि प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक लगायतसँग मन्त्री घिमिरेले भर्ना नगर्नुको कारण र कमजोरीको पहिचान गर्न निर्देशनु भयो ।

प्रदेश सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि साढे ४ सय बेडको आइसोलेशन उपचार केन्द्र निर्माणको घोषणा गरेको छ । ४ सय ५० बेड मध्ये १ सय ५० बेडको आइसोलेशनमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी तयारी सुरू भएको छ । सुनसरीको बराहक्षेत्रमा प्रदेश सरकारले निर्माण गर्ने १ सय ५० बेडको आइसोलेशन उपचार केन्द्रमा आयुर्वेदिक पद्धतिबाट उपचार गर्ने गरी सामाजिक विकास मन्त्री जीवन घिमिरेले जेठ १७  बराहक्षेत्रमा छलफल गर्नु भयो । सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेल, वराह क्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, तीनवटै सुरक्षा निकायका प्रमुख र कृष्णदास आश्रम व्यवस्थापन समितिका पदाधिकारी लगायतसँग छलफल गर्दै मन्त्री घिमिरेले बराहक्षेत्रमा आयुर्वेदिक पद्धतिबाट उपचार गरिने निश्कर्ष निकालिएको बताउनु भयो ।

प्रदेश २

सप्तरीको कञ्चनरूप नगरपालिका–१ बैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा बसेकाहरूले सुरक्षार्थ खटिएका प्रहरी कमलेश साहलाई जेठ १७ गते कुटपिट गरी घाइते बनाएका छन् । क्वारेन्टाइनमा बसेकाहरूसँग भेट्न आएका आफन्तहरूलाई दूरी कायम राखी बस्न भनेपछि क्वारेन्टाइनमा बसेका र उनीहरूलाई भेट्न आएकाहरूले मिलेर कुटपिट गरेको साहले बताए । घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपमा प्राथमिक उपचार पछि थप उपचारको लागि कञ्चनरुपस्थित धर्मेश्वर अस्पतालमा भर्ना गरिएको छ ।

भारतको विभिन्न शहरबाट जेठ १५ गते साँझ गुजरा आएका ७८ जनालाई रौतहटको गुजरा नगरपालिका उपमेयर रौषन खातुन शेखले जेठ १६ गते सिमराभवानीपुर क्वारेन्टाइनमा लैजान खोज्दा सोही नगरपालिका–४ का वडाध्यक्ष पवनराज गिरीले मावि कनकपुरमा लैजाने अडान राखेपछि साँझ विवाद भएको थियो । प्रहरी कार्यालय विजयपुरका इन्स्पेक्टर चन्द्र्रकिशोर साहको कमाण्डमा रहेको प्रहरीले भिड नगर्न र सिमराभवानीपुर क्वारेन्टाइनमा बाहिरबाट आएकालाई लैजान भनेपछि वडा अध्यक्ष गिरी पक्षका मानिसहरूले जेठ १६ गते प्रहरीमाथि ढुङ्गा मुढा गरेको जिल्ला प्रहरी कार्यालय , रौतहटकका डिएसपी भरत श्रेष्ठले बताउनु भयो । घटनामा इन्स्पेक्टर साहको देव्रे हातमा चोट लागेको डिएसपी श्रेष्ठले बताउनु भयो । गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीले सिमराभवानीपुर क्वारेन्टाइन तयार पारेर लैजाने क्रममा वडा अध्यक्ष गिरीको समूहले अबरोध सृजना गरेको बताउनु भयो । प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोपमा वडाध्यक्ष गिरीलाई प्रहरीले जेठ १६ गते साँझ गिरफ्तार गरी जिल्ला प्रहरी कार्यालय गौरमा राखेको छ ।

बाराको सुवर्ण गाउँपालिका–१ का ३५ वर्षीय पुरुषले क्वारेन्टाइनमा पानी, खाना, खाजा र बस्न समस्या भएको, क्यारेन्टाइनमा लामो समयदेखि बसे पनि स्वाब सङ्कलन र परीक्षण नगरी थुनेर राखेकाले समयमा परीक्षणको पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिलाई जेठ १७ गते अनुरोध गरे । इन्सेक प्रतिनिधिले तत्कालै गाउँपालिकाका अध्यक्ष महेन्द्रराय यादवलाई उनको समस्याको बारेमा जानकारी गराउँदा गाउँपालिका अध्यक्षले क्वारेन्टाइनमा बस्नेको सङ्ख्या बढेका कारण व्यवस्थापनमा समस्या भएपनि बुझेर समाधान गर्ने बताउनु भयो । बाराको कलैया उपमहानगरपालिका–३ गङ्गापुरस्थित प्रादेशिक शैक्षिक तालिम केन्द्रमा सञ्चालन भएको कोरोना कोभिड–१९ अस्पतालका स्वास्थ्यकर्मी ओमप्रकाश कुशवाहाले कोभिड अस्पताल एकान्त ठाउँमा भएकाले रातको समयमा आफूहरूलाई डर लागेकाले शान्ति सुरक्षाको व्यवस्था मिलाउन माग गर्नु भयो । अस्पतालमा चिकित्सक ओमप्रकाश कुशवाहा, ललन महतो, पारामेडिकल्स नवल पण्डित, साक्षी गुप्ता, दुई जना कार्यालय सहयोगी र दुई जना सरसफाइकर्मी, एक जना खाना पकाउने र एक जना ल्याव कर्मचारी छन् । सो क्वारेन्टाइनमा हाल दुई जना महिला र ४८ पुरुष रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयले सो अस्पतालमा नेपाली सेनाले सुरक्षा दिने भनिएको तर सेना खटिएको छैन । सेना अस्पतालमा सुरक्षा दिन नआएसम्मका लागि नजिककै रहेको गङ्गापुर प्रहरी चौकीले सुरक्षा व्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

बागमती प्रदेश

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकाको जेठ १६ गते बसेको वैठकले कोरोना भाइरस सङ्क्रमण विरुद्ध अग्रपंक्तिमा बसेर काम गर्ने ९२ जना स्वास्थ्य कर्मी, कर्मचारी र जनप्रतिनिधिहरूको एक/एक लाख रुपियाँको स्वास्थ्य बीमा गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष राजकुमार पौड्यालले बताउनु भयो । वीमा गर्ने काम जेठ १८ गतेबाट सुरु गरिने स्वास्थ्य संयोजक भुपेन्द्रलाल श्रेष्ठले बताउनु भयो ।

भारतबाट गाउँ फर्किएका पाँच जनालाई स्थानीयले क्वारेन्टाइनमा बस्न नदिएपछि दोलखाको तामाकोशी गाउँपालिका–२ का वडा सदस्य ओमबहादुर केसीले आफ्नो निजी घरमा क्वारेन्टाइन बनाइ राखेका छन् । उनीहरूलाई गाउँपालिकाले जनता आधारभुत विद्यालयमा पाँच बेडको क्वारेन्टाइन तयार गरी राख्ने तयारी गरेकोे थियो । झुलेका स्थानीयवासीले विद्यालयमा बनाइएको क्वारेन्टाइनमा राख्न नमिल्ने भन्दै जेठ १६ गते राति अवेरसम्म अवरोध गरेका थिए । राति अबेरसम्म स्थानीयवासीले अवरोध गरेपछि वडा सदस्य केसीले आफ्नो निजी घर क्वारेन्टाइनका लागि दिएको गाउँपालिका योजना शाखा प्रमुख रामकुमार कार्कीले बताए ।  उनीहरूलाई खाना, स्वास्थ्य उपचार लगाएको व्यवस्था गर्न गाउँपालिकाले चार जना स्वयम्सेवक खटाएको छ ।

धादिङको निलकण्ठ नगरपालिकाको बाल मन्दिर मावि क्वारेन्टाइनमा सरसफाइ सामग्री, अत्यावश्यक स्वास्थ्य सेवा समेत उपलब्ध छैन । जसले गर्दा  क्वारेनटाइनमा बस्नेहरू जेलमा बसेको अनुभव गरेको बताउँछन् । क्वारेन्टाइनको मापदण्ड पूरा गर्न नसकिएको र भारतबाट आएकाहरूलाई विद्यालयहरूमा राखिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले बताए  ।

ललितपुरमा कोरोनाका शंकास्पद बिरामी ओसार्नु परेपछि एम्बुलेन्स चालक बेपत्ता हुने र सम्पर्क विहीन हुने गरेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताउनु भयो ।  ललितपुरमा भएका सबै एम्बुलेन्स सञ्चालकलाई बोलाएर बैठक बस्ने तयारी भएको डा. गेलालले बताउनु भयो । उहाँले सेवा दिन मान्नेलाई स्वागत र नमान्नेको सेवा खारेज गर्ने समेत बताउनु भयो ।

गण्डकी प्रदेश

स्याङ्जाका कोभिड–१९ सङ्क्रमित बिरामीहरुको रोग प्रतिरोधात्मक क्षमता बृद्धिका लागि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र स्याङ्जाले स्थानीय रूपमा उपलब्ध जडिबुटी तथा औषधिहरू उपलब्ध गराउनुका साथै तनाव व्यवस्थापनका लागि भिडियो कन्फरेन्सद्वारा योग प्राणायाम सुचारु गरेको छ बागलुङको काठेखोला गाउँपालिकाले शिक्षकहरूलाई स्वयम्सेवकको रूपमा परिचालन गरेको छ । शिक्षकहरूलाई गाउँपालिकाले निर्माण गरेको क्वारेण्टाइन व्यवस्थापन, सीमा नाकामा जाँचबुझ र सहायता कक्ष सञ्चालनको लागि परिचालन गरिएको गाउँपालिका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । भारतका विभिन्न स्थानबाट हालसम्म ८ सय २८ जना बागलुङ आएका छन् ।

कर्णाली प्रदेश

सामाजिक विकास मन्त्रालयका अनुसार लकडाउन अवधिमा १८ हजार ३ सय ९३ जनाले भारत तथा अन्य प्रदेशबाट कर्णाली प्रवेश गरेका छन् ।

दैलेखको दुल्लू नगरपालिका–७ पटाङ्गिनी नजिक विद्युत प्राधिकरण भवनको क्वारेन्टाइनमा मृत्यु भएका दुल्लू नगरपालिका–११ कालभैरवका ३९ वर्षीय युवकको कोरोनाको कारण मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेको छ ।

दुल्लूस्थित विद्युत प्राधिकरणका दुई ठूला भवनको बीचमा पाले बस्ने एक कोठे भवनमा बस्ने सुत्ने गरेका युवकको मृत्युपछि उनीसँग बसेका अरु दुई जनालाई छुट्टै अर्को कोठामा सारिएको छ । ‘कोरोनामा मृत्यु भएकाहरूको शव व्यवस्थापनसम्बन्धी सङ्क्षिप्त कार्यविधि, २०७६’ले तोकिएअनुसार मृत्युपछि पीसीआर रिपोर्ट पुष्टि भएका ती युवकको शव गाडिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनु भयो ।  दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलका अनुसार विद्युतीय शव दहन गर्ने र त्यस्तो सुविधा नभएको अवस्थामा जमिनमा गाड्ने नियम भएअनुसार परिवारजनको सल्लाहमा दैलेखस्थित नेपाली सेनाको इन्द्रदल गुल्मको टोलीले जेठ १७ गते शवलाई गाडेको हो ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालय, डोटीले जेठ १७ गते दिएको कोरोना भाइरस ( कोभिड १९) सम्बन्धी दैनिक अपडेट विवरण अनुसार जेठ १७ गतेसम्म पीसीआर विधिबाट ६ हजार ८१ जनाको नमूना संकलन गरिएको छ । संकलित नमूनामध्ये ५ हजार ५ सय ३६ जनाको कोरोना परीक्षण गरिएकोमा २१ जनामा कारोना पोजेटिभ पुष्टि भएको छ भने ५ हाजर ५ सय १६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटि आएको छ । पीसीआर विधिबाट ५ सय ४५ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ । २१ जना कारोना संक्रमितमध्ये पाँच जना निको भएका छन् । आरडीटी परीक्षण विधिबाट २१ हजार ८ सय २० जनाको नमूना संकलन गरी परीक्षण गर्दा सबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सुदूरपश्चिम प्रदेश अन्तर्गत सेती प्रादेशिक प्रयोगशालमा जेठ १७ गतेसम्म ३ हजार ७ सय ६१ जनाको नमूना संकलन गरेकोमा ३ हजार २ सय १६ जनाको परीक्षण भएको र ५ सय ४५ जनाको परीक्षण गर्न बाँकी रहेको छ । सुदुरपश्चिम प्रदेशका २ हजार ३  सय १६ जनाको नमूना संकलन गरी पठाइएकोमा सबै जनाको परीक्षण भएको छ । सुदूरपश्चिम प्रदेशमा जेठ १७ गतेसम्म १ हजार १ सय १९ क्वारेन्टाइन स्थानमा ४४ हजार ८३ ओटा बेड सङ्ख्या रहेका छन् । ४ हजार ३ सय ५५ महिला र ३२ हजार ६ सय ३८ जना पुरुष गरी जम्मा ३६ हजार ९ सय ९३ जना क्वारेन्टाइनमा रहेका छन् । जसमध्ये अछाममा ४ सय १५ महिला र २ हजार ५ सय ५ पुरुष,बैतडीमा ३ सय ८ महिला र ४ हजार ३ सय १८ पुरुष, बझाङमा ३ सय ४६ महिला र १ हजार ५ सय २६ पुरुष, बाजुरामा ४ सय ८१ महिला र १ हजार ४ सय ५८ पुरुष, डडेल्धुरामा २ सय ३ महिला र ३ हजार २ सय ४४ पुरुष, दार्चुलामा ९६ जना महिला र ७ सय ४८ पुरुष, डोटीमा ७ सय ५९ महिला र ५ हजार ५ सय ६१ पुरुष, कैलालीमा १ हजार ४ सय ४३ महिला र ७ हजार ९ सय ९० पुरुष र कञ्चनपुरमा ३ सय ४  जना महिला र ५ हजार २ सय ८८ पुरुष रहेका छन् ।


अनलाइन डेस्क