कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २५ गते)

नेपालमा जेठ २५ गते २ सय १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३ हजार ४ सय ४८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेठ २५ गतेसम्म ७१ जिल्लामा कोरोना सङ्क्रमित फेला परेको जनाएको छ । सङ्क्रमितमध्ये ३ हजार २ सय १२ जना पुरुष र २ सय ३६ जना महिला रहेका छन् । २० वर्ष मुनीका ९ सय ३९ जना र ६० वर्षमाथिका ३५ जना रहेका छन् ।

प्रदेश १ मा २ सय ५९ जना सङ्क्रमित रहेकामा ९१ जना डिस्चार्ज भएका छन् । प्रदेश २ मा अन्य सबै प्रदेशमा भन्दा बढी १ हजार १ सय ६१ जना सङ्क्रमित पुष्टि भएकामा एक जनाको मृत्यु भएको छ भने १ सय ८६ जना डिस्चार्ज भएका छन् । बागमती प्रदेशमा अन्य सबै प्रदेशमा भन्दा कम ९२ जना सङ्क्रमित रहेकामा तीन जनाको मृत्यु भएको छ भने घद्द जना डिस्चार्ज भएका छन् । गण्डकी प्रदेशमा १ सय ११ जना सङ्क्रमितमध्ये तीन जना डिस्चार्ज भएका छन् । प्रदेश ५ मा १ हजार ८१ जना सङ्क्रमितमध्ये चार जनाको मृत्यु भएको र १ सय ३३ जना उपचाचरपछि घर फर्किएका छन् । कर्णाली प्रदेशमा ६ सय ३३ जनामा कोरोना पुष्टि भएकामा तीन जनाको मृत्यु भएको र नौ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सुदूरपश्चिम प्रदेशका १ सय ११ जना सङ्क्रमितमध्ये १३ जना डिस्चार्ज भएका छन् भने दुई जनाको मृत्यु भएको छ ।

जेठ २५ गते साँझसम्म प्रदेश १ का इलाम र ओखलढुङ्गा, बागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ र प्रदेश ५ का पूर्वी रुकुम बाहेकका जिल्लामा कोरोना सङ्क्रमित फेला परेका छन् ।

प्रदेश १

प्रदेश १ मा जेठ २५ गते १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या २ सय ५७ जना पुगेको छ । जसमध्ये जेठ २५ गतेसम्म ९० जना उपचारपछि घर फर्किएका छन् ।

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश सरकारले सञ्चालनमा ल्याएको कोरोना उपचार केन्द्र सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा सङ्क्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भयो । सङ्क्रमितहरू अस्पतालमा आएर भर्ना हुन समय लाग्ने भएकाले सङ्क्रमित भर्ना हुनुअघि अनलाइनबाट बेड बुक गर्न सक्ने प्रवन्ध गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सङ्क्रमितले बेड बुक गरेपछि बेड नं. र बेडको लोकेशनका आधारमा भर्ना प्रणालीको विकास गरिएको छ ।

प्रदेश २

प्रदेश २ मा जेठ २५ गते ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या १ हजार १ सय ४९ जना पुगेको छ । प्रदेश २ मा कोरोना सङ्क्रमित मध्ये २ सय ३ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा जेठ २५ गतेदेखि आरटी रियल टाइम पीसीआर मेसिनद्वारा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण सुरु भएको छ । पहिलो पटक राजविराजका २४ जनाको स्वाब परीक्षण गरिएको र दोस्रो पटक २६ जनाको स्वाब परीक्षणका लागि प्रक्रियामा राखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. चुमनलाल दासले बताउनु भयो । उहाँका अनुसार यसअघि स्वाबको नमुना परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने गरिएकोमा रिपोर्ट आउन एक सातासम्म प्रतिक्षा गर्नु पर्ने थियो ।

सर्लाही जिल्ला प्रतिनिधि बुधन साहका अनुसार भारतको विभिन्न स्थानबाट आएर चन्द्रनगर गाउँपालिका–१० बबरगञ्ज स्थित उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका व्यक्तिहरूले पीसीआर परीक्षणका लागि स्वाब लिएको नौ दिन बितिसक्दा पनि रिपोर्ट नआएको र क्वारेण्टाइनमा खाना, खाजा र चिया पनि दिन ढिलाइ गरेको क्वारेण्टाइनमा बसेका २६ वर्षीय एक युवकले बताए । कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्नका लागि जेठ १६ गते नै स्वाब सङ्कलन गरिएको थियो तर रिपोर्ट आउन ढिलाई भएपछि उनीहरू क्वारेण्टाइन छाडेर भाग्ने, स्वास्थ्यकर्मीलाई दुःख दिने, खाना पकाएर खुवाउने भान्सेलाई कुटपिट गर्न खोज्ने, ह्याण्ड पम्पको पाइपमा ढुङ्गा हाल्ने र ढुङ्गामुढा गर्ने जस्ता गतिविधि गर्न थालेको स्वास्थ्य शाखा प्रमुख विरेन्द्र साहले बताउनु भयो । क्वारेण्टाइनको व्यवस्थापनप्रति रुष्ट भएका केही व्यक्तिहरूले चन्द्रनगर गाउँपालिकाका प्रमुख महेन्द्र महतोलाई जेठ २५ गते गालीगलौज समेत गरेको साहले बताउनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार गरुडा नगरपालिकामा जेठ २५ गते व्यापारीहरूले विरोध प्रदर्शन गरेका छन् । लकडाउनका कारण व्यापार व्यवसाय ठप्प रहेको बेला सरकारले कर तिर्न समयसिमा तोकेपछि उद्योग बाणिज्य सङ्घ गरुडाका अध्यक्ष हरेन्द्रप्रसाद जयसवालको नेतृत्वमा व्यापारीहरू प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले व्यापारीको बैक व्याज, व्यवसाय कर, बिजुली तथा खानेपानी महसुल मिनाहा गर्नुपर्ने माग राख्दै गरुडा बजारमा प्रदर्शन गरेको व्यापारी धर्मनाथ जयसवालले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशको सिन्धुपाल्चोक र धादिङ जिल्लाका एक/एक जनामा जेठ २५ गते कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमित पुष्टि भएको छ । यससँगै प्रदेशमा कोरोना सङ्क्रमतिहरू ९२ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले बताउनु भयो ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार कोरोना उपचार अस्पतालको सूचीमा रहेको धादिङ अस्पताल धादिङमा स्वास्थ्यकर्मी र आवश्यक सामग्रीको अभाव भएको छ । कोरोना उपचार गर्नका लागि सूचीकृत गरिएपनि हालसम्म कोरोना सङ्क्रमित बिरामीको उपचार गर्न नपरेका कारण उपचारमा समस्या आएको थिएन । कुनै पनि तयारी नगरिएका करण कोरोना सङ्क्रमित बिरामीको उपचार गर्नु पर्ने अवस्था आएपछि सामग्री र स्वास्थ्यकर्मी अभाव भएको हो । छिमेकी मुलूक भारतबाट फर्किएर नीलकण्ठ नगरपालिकाले निर्माण गरेको क्वारेण्टाइनमा बस्दै आएका नगरपालिकाको वडा नं ७ का ३३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्लामै रहेको आइसोलेशनमा राखेर उपचार गर्ने भनिएपनि सामग्री अभाव भएको धादिङ अस्पतालका अध्यक्ष महेन्द्र धमलाले जानकारी दिनुभयो ।

भक्तपुर जिल्ला प्रतिनिधि रमेश गिरीका अनुसार दुबईबाट जेठ २३ गते नेपाल ल्याइएको बागमती प्रदेशका नागरिकलाई काठमाडौँको होल्डिङ्ग सेन्टरमा राख्ने ठाउँ नभएपछि भक्तपुरको खरिपाटीस्थित क्वारेण्टाइनमा ल्याएको छ । काठमाडौँको होल्डिङ्ग सेन्टरमा राति बस्ने ठाउँ नभएको भन्दै भक्तपुर पठाएपछि ४० जनालाई २३ गते राति खरिपाटी ल्याएर राखिएको नेपाली सेना वीरदल गणका कर्णेल शिव पौडेलले जानकारी दिनुभयो । जसमध्ये २२ जनालाई २४ गते नै सम्बन्धित जिल्लामा पठाइएको छ भने १८ जना अझै खरिपाटी क्वारेण्टाइन मै रहेको कर्णेल पौडेलले बताउनु भयो । उनीहरूलाई पनि पठाउने तयारी भइरहेको उहाँले जानकारी दिनु भयो ।

गण्डकी प्रदेश

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखामा जेठ २५ गते कोरोना सङ्क्रमण देखिएका १० जनामध्ये एक जना बलात्कार घटनाको आरोपमा जेठ ९ गते पालुङटार प्रहरीले गिरफ्तार गरी जेठ ११ गते जिल्ला प्रहरी कार्यालय गोरखा ल्याइएका किशोर रहेका छन् । प्रहरी हिरासतमा रहेका उनको सम्पर्कमा रहेकाहरूको खोजी सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी ओम अधिकारीले बताउनुभयो । सङ्क्रमितलाई गोरखा अस्पतालको आइसोलेशनमा पठाइएको छ ।

कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार गण्डकी प्रदेशका मन्त्री र सांसदहरू सामाजिक दुरी कायम नगरी निर्वाध रूपमा घुमफिर गर्दा सङ्क्रमणको खतरा बढेको छ । मन्त्री, सांसद र कर्मचारीको पीसीआर परीक्षण गरेपछि अति आवश्यक बाहेक प्रदेशको राजधानी भन्दा बाहिर नजान सभामुख नेत्रनाथ अधिकारीले अनुरोध गर्नुभएको थियो । तर जेठ २३ गते संसद बैठक सकिए लगत्तै सांसदहरू कोही काठमाडौँ त कोही आफ्ना जिल्लातिर पुगेर जेठ २५ गते पोखरा आइ बैठकमा सहभागी भएका छन् ।

प्रदेश सभाका सांसदहरू नै बिना सुरक्षा हिँड्डुल गर्दा जोखिम बढेको भन्दा नागरिक स्तरबाट विरोध हुन थालेको छ । सांसदहरू योजना अनुगमन र जिल्लामा कार्यक्रम रहेको भन्दै प्रदेश राजधानीबाट गृह जिल्ला आउने जाने गरिरहेका छन् । कोरोना सङ्क्रमणबाट बच्न भन्दै संसद बैठक स्थल परिर्वतन गरी प्रदेश सरकारले २५ लाख रुपियाँ खर्च गरी पोखरा सभागृहलाई संसद बैठकका लागि तयार पारेको थियो । संसद बैठक भित्र प्रवेश गर्नका लागि उच्च सर्तकता अपनाइएता पनि बैठक सकिए लगत्तै निर्वाध रूपमा हिँड्डुल र भेटघाट गर्दा संक्रमणको खतरा बढ्ने देखिन्छ ।

इन्सेक बागलुङ जिल्ला प्रतिनिधि सिर्जना पन्तका अनुसार जेठ २५ गते बागलुङमा १० जना कोरोना सङ्क्रमित थपिएपछि उनीहरूलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा सरोकारवाला नै अलमलमा परे । सङ्क्रमित बढ्दै गएपछि धौलागिरी अस्पतालमा केही दिन अगाडि मात्र १२ बेड थप गरेर २४ बेडको आइसोलेशन तयार गरिएको थियो । अस्पतालको आइसोलेशनमा १९ जना उपचाररत छन् । अब अस्पतालमा जम्मा पाँच बेड मात्र खाली छ । जेठ २५ गते बडिगाड गाउँपालिकामा एकै पटक १० सङ्क्रमित थपिएपछि वैकल्पिक स्थानको खोजी गर्नुपर्ने बाध्यता आइलाग्यो । अन्ततः बडिगाडका नौ जना र ढोरपाटनका एक जना सङ्क्रमितलाई धौलागिरी बहुमूखी क्याम्पसमा व्यवस्थापन गरिएको जिल्ला कमाण्ड पोष्टका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । अस्पतालले मात्र नथेग्ने भएपछि धौलागिरी बहुमूखी क्याम्पसमा २४ बेडको प्रि–आइसोलेशन निर्माण गरिएको छ ।

प्रदेश ५

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार कपिलवस्तु नपा–१० स्थित रेहरा स्वास्थ्य चौकीमा निर्माण गरिएको आइसोलेशनमा राखिएका कपिलवस्तु नपा–८ का ११ जना कोरोना सङ्क्रमितहरू सुविधा नभएको भन्दै क्वारेण्टाइनमा फर्केका छन् । उनीहरूले उक्त आइसोलेशन सेन्टरमा खानेपानी, खाना र बस्नको असुविधा हुनुका साथै टाउको दुखेको औषधिसमेत नपाएको गुनासो गरेपछि जेठ २४ गते दोहनीमास्थित विश्वमैत्री आधारभुत विद्यालयको क्वारेण्टाइनमा राखिएको वडा अध्यक्ष शिवकुमार पाण्डेयले बताउनु भयो । कोरोना सङ्क्रमित बढ्दै गएपछि पुर्ण व्यवस्थापन हुन नसकेपनि नगरपालिकाले दिएको सेवा सुविधा दिइएको स्वास्थ्य संयोजक उमेशप्रसाद गुप्ताले बताउनु भयो ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बढैयाताल गाउँपालिकाका एक जना कर्मचारी र स्वास्थ्य चौकीमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकाको कार्यलय र स्वास्थ्य चौकीको सेवा तीन दिनका लागि बन्द गरिएको गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले बताउनु भयो । कन्ट्याक्ट टे«सिङको काम भइरहेको स्वास्थ्य शाखा प्रमुख विष्णु पौडेलले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य चौकीमा नै क्वारेण्टाइन बनाएर सङ्क्रमितसँग सम्पर्कमा आएका सबै स्वास्थ्यकर्मीलाई राखिएको छ । यसैगरी जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालक ५५ वर्षीय पुरूषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला जिल्ला प्रशासन कार्यालयलाई सिल गरी १९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाइएको छ । परीक्षण रिपोर्ट नआउञ्जेलसम्म जिल्ला प्रशासन कार्यालयको काम बन्द गरी फोनबाट काम भइरहेको प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले बताउनु भयो ।

कर्णाली प्रदेश

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेशमा कोरोना सङ्क्रमित बढेसँगै इन्सेकलगायतका विभिन्न नागरिक सङ्घसंस्थाले क्वारेण्टाइनको उचित व्यवस्थापन र क्वारेण्टाइनमा बसेका सबैको पीसीआर परीक्षण गर्न सरकारसँग माग गरेका छन् । जेठ २५ गते जारी संयुक्त अपिलमा प्रदेशमा कोरोनाको कारण मृत्यु भएका तीन जनामध्ये एक जनाको क्वारेण्टाइनभित्रै मृत्यु भएको, मापदण्डअनुरूपका क्वारेण्टाइन नभएको वास्तविकता र पीसीआर परीक्षणमा उदासिनता देखाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । अपिलमा आवश्यक समन्वय र नागरिक परिचालनका लागि सबै राजनीतिक दल, नागरिक समाजको प्रतिनिधित्वसहितको संयुक्त अभियान अविलम्ब सुरू गर्न प्रदेश सरकारलाई नेतृत्वदायी भूमिका निर्वाह गर्न अनुरोध गरिएको छ ।

सुदूरपश्चिम प्रदेश

बैतडी प्रतिनिधि नरी बडुका अनुसार भारतबाट फर्किएर पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेण्टाइनमा जेठ २४ गते मृत्यु भएका पाटन नगरपालिका–६ का ३० वर्षीय युवकको परीक्षणबिनै जेठ २५ गते दाहसंस्कार गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको मृत्यु भएमा नेपाली सेनाले शव व्यवस्थापन गर्नुपर्ने सरकारले व्यवस्था गरेको भए पनि क्वारेण्टाइनमा मृत्यु भएका व्यक्तिको परीक्षण रिपोर्ट नआइसकेको अवस्थामा परिवारका सदस्यहरूले दाहसंस्कार गरेका छन् । मृतकको थ्रोट स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि धनगढी पठाइएको भए पनि भारतबाटसँगै आएका मृतकका परिवारजनले आफूहरू ग्रिन जोनबाट आएको भन्दै मृतकको दाहसंस्कार आफैले गर्ने अड्डी गरेपछि दाहसंस्कारका लागि दिनु परेको  स्वास्थ्य कार्यालय, बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो ।

दार्चुला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार महाकाली नगरपालिका–७ स्थित मालिकार्जुन नमूना मावि धापको क्वारेण्टाइनमा रहेका सोही नगरपालिका–३ का रामसिंह डोबालले आफूहरूसँग ओढ्ने÷ओछ्याउनेको समस्या भएको अनुगमनमा गएका नगरप्रमुख भट्टसँग गुनासो गरिएको बताउनु भयो । उहाँले भन्नु भयो–‘दुई/तीन दिनदेखि पानी परेपछि चिसो निकै बढ्यो । राति ओढ्न कम्मल छैन । ओछ्याउनलाई डोरम्याट दिइएको छ । घरबाट ल्याइदिने मान्छे छैन । डोरम्याटमा सुतेर जीउ दुखिसक्यो । नजिक घर भएकाहरूले घरबाटै ओढ्ने÷ओछ्याउने ल्याएर बसेका छन् । टाढा घर भएकाहरू हामीलाई समस्या भएको छ । मरे पनि आफ्नै देशमा मरौँला भनेर भारतबाट फर्किएका थियौँ तर यहाँ आए पनि क्वारेण्टाइनमा बस्दा ओढ्न र ओछ्याउन समस्या भएको छ । शरीरमा डाम भइसकेको छ । औषधि मागे कोरोना भयो भन्छन् । भारतबाट आएका व्यक्तिलाई नकारात्मक दृष्टिकोणले हेर्छन् ।’

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार गौरीगङ्गा नगरपालिका–६ स्थित अमर माध्यमिक विद्यालयमा रहेको क्वारेण्टाइनमा बसेका ६२ जना व्यक्तिहरूले आफूहरूको कोरोना परीक्षण गर्नुपर्ने माग गर्दै जेठ २५ गते गौरीगङ्गा नगरपालिका–६ को कार्यालय घेराउ गरेका छन् । भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेको लामो समय भइसक्दासमेत आफूहरूको कोरोना परीक्षण नगरिएको भन्दै वडा कार्यालय घेराउ गर्न आएका गौरीगङ्गा नगरपालिका–६ का  वडाअध्यक्ष कमला शर्माले बताउनु भयो । आरडीटी पोजेटिभ देखिएकाहरूको पीसीआर विधिबाट परीक्षण नगरिएको भन्दै क्वारेण्टाइनमा रहेकाहरू आक्रोशित भएकाले उहाँहरूको पीसीआर विधिबाट परीक्षणका लागि पहल भइरहेको वडाध्यक्ष शर्माको भनाइ छ ।


अनलाइन डेस्क