कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १४ गते)

सरकारले लकडाउनलाई वैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको वैशाख १३ गते बसेको बैठकले लकडाउनकै कारण कोरोनाको सङ्क्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्षनिकालेको थियो । समितिले लकडाउनको अवधि एक साता लम्ब्याउन सिफारिस गरेको थियो । तर, सरकारले लकडाउन १० दिन थपेको छ । नेपालमा कोरोनाबाट सङ्क्रमित दोस्रो व्यक्ति भेटिए लगत्तै सरकारले ०७६ चैत ११ गतेबाट लकडाउन लागु गरेको थियो । पहिलोपटक चैत १८ गतेसम्म लकडाउन घोषणा गरिएको थियो । दोस्रो चरणमा चैत २५ गतेसम्म लकडाउन घोषणा गरिएको थियो भने तेस्रो चरणमा ०७६ वैशाख ३ गतेसम्म लकडाउन लम्ब्याइएको थियो । चौथो चरणमा वैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरिएको थियो । वैशाख १४ गते बसेको मन्त्रिपरिषदको बैठकले पाँचौ चरणमा वैशाख २५ गतेसम्म लकडाउनको अवधि तय गरेको हो ।

Table_1_April26सरकारले अन्तर्राष्ट्रिय सीमा नाकामा वैशाख ३१ गतेसम्म आवागमन रोक्ने निर्णय पनि गरेको छ । सरकारले ०७६ चैत १० गतेबाट आवागमन रोकेको थियो । आगामी जेठ २ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा सरकारले यसअघि नै रोक लगाएको छ ।

नेपालमा कोभिड-१९ बाट सङ्क्रमित भएको आशङ्कामा देशभर ५१ हजार १ सय ७९ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशभर पीसिआर विधिबाट ९ हजार ९ सय ३१ र आरडीटी विधिबाट ४१ हजार ४ सय ३६ जनाको परीक्षण गरिएको जानकारी दिनुभयो । हालसम्म नेपालमा कोभिड-१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ५२ रहेको र १६ जना डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ । वैशाख १४ गते साँझ झापाका ५० वर्षीय पुरुषमा कोरोना देखिएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५२ पुगेको हो ।

प्रदेश १

कोशी अस्पताल विराटनगरमा वैशाख १२ गते गरिएको परीक्षणमा झापाका ५० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले ५० वर्षीय पुरुषमा सङ्क्रमण भएको विज्ञप्तिमार्फत सार्वजनिक गर्नु भएको छ । योसँगै प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । उदयपुरका २४ जना, विराटनगरका चार जना, भोजपुरका एक जना र झापाका दुई जना रहेका छन् । प्रदेश १ सरकारले कोरोना भाइरस सङ्क्रमितका लागि सुनसरीको धरानमा १ सय बेडको अस्पताल सञ्चालनमा ल्याएको छ ।

प्रदेश १ सभाले १० करोड रुपियाँ बजेट प्रदेश सरकारलाई फिर्ता पठाएको छ । कोरोना भाइरस सङ्क्रमणले गर्दा खर्च हुन सक्ने कार्यक्रम कटौती गरेर विवरण बुझाउन भएको परिपत्र अनुसार प्रदेश सभाले वैशाख १४ गते ९ करोड ९९ लाख १७ हजार रुपियाँ प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयलाई फिर्ता पठाएको हो ।

data207701141

पेट दुखेर अस्पताल आएकी उदयपुरकी एक जना बिरामीलाई विराटनगरस्थित विराट नर्सिङ होमले वैशाख १४ गते उपचार नगरी गेटबाटै फर्काइदिएको छ । जिल्ला प्रशासन कार्यालय, सनुसरीले वैशाख १४ गते विज्ञप्ति जारी गरी मुस्लिम समुदायको पर्व रमजान घरमै मनाउन आग्रह गरेको छ । कोरोना जोखिम नियन्त्रणका लागि लकडाउन पूर्ण पालना गर्दै सामाजिक दूरी कायम गरी पर्व मनाउन मुस्लिम समुदायमा अपिल गरेको छ ।

झापा उद्योग वाणिज्य सङ्घले तरकारी उत्पादनलाई प्रोत्साहित गर्न किसानहरूलाई निःशुल्क रूपमा तरकारीको बीउ/बिजन वितरण गरेको छ ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा कोरोना सङ्क्रमितको सङ्ख्या सात जना पुगेको छ । कोरोना सङ्क्रमित चार जना बिरामीहरू उपचारपछि वैशाख १४ गते डिस्चार्ज भएका छन् । पर्साको बीरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार गराइरहेका तीन भारतीय नागरिक र एक जना रौतहट जिल्लाका बिरामी डिस्चार्ज भएका हुन् ।

आरडीटी परीक्षणमा पोजेटिभ देखिएकी पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका-१३ की २३ वर्षीया एक महिलाको उपचारका लागि नारायणी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भएको छ । उनी रक्त क्यान्सरको बिरामी थिइन् उनको स्वाब सङ्कलन गरेर हेटौँडा पठाइएको छ । रिपोर्ट आएपछि मात्र मृत्युको कारण खुल्ने नारायणी अस्पतालले जनाएको छ ।

इस्लाम धर्मालम्वलीहरूको महान चाड रमजानको उपलक्ष्यमा प्रदेश २ का माननीय मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै इस्लाम धर्मावलम्बीहरूलाई घरमै नमाज पढ्न तथा भिडभाड नगर्न आग्रह गर्नु भएको छ ।

प्रदेश २ सरकारलाई वैशाख १४ गते गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान नेपाल र नेपाल भारत युवा मैत्री सङ्घ नेपालले संयुक्तरूपमा पीपीइ १ सय थान, सेनिटाइजरको बोटल एक कार्टुन, एन-९५ मास्क १ सय थान, सर्जिकल मास्क २ हजार, सर्जिकल ग्लोब्स २ हजार थान हस्तान्तरण गरेको छ । स्वास्थ्य सामग्रीहरू प्रतिष्ठानका तर्फबाट पूर्वमन्त्री एवम् सांसद अनिल कुमार झा तथा मैत्री सङ्घका जिल्ला अध्यक्ष पंकज महतो र जीवनाथ चौधरीले संयुक्त रूपमा सामाजिक विकास मन्त्री नवल किशोर साहलाई हस्तान्तरण गर्नु भयो ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

रसुवा जिल्लामा इन्सेक जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाको संयोजकत्वमा कोभिड-१९ बाट उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न समिति गठन भएको छ ।

दोलखामा कोरोना सङ्क्रमण भइहालेमा उपचारमा सहज होस भन्ने उद्देश्यका साथ एम्बुलेन्सलाई पार्टेसन गरी सुरक्षित बनाइएको छ । सङ्क्रमित बिरामी ओसारपसार गर्दा एम्बुलेन्स चालकलाई सङ्क्रमण नफैलियोस भन्ने उद्देश्यका साथ दोलखाको भीमेश्वर नगरपालिकाको एउटा र तामाकोसी गाउँपालिकाको एउटा गरी दुई ओटा एम्बुलेन्सलाई पार्टेसन गरिएको भीमेश्वर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख श्याम खड्काले जानकारी दिनुभयो ।

लकडाउनपछि घर बिदामा बसेका मकवानपुरको भैँसेमा रहेको पुरानो गोरखगणमा कार्यरत १ सय ५० जना सैनिकलाई बिदापछि गणमा आएलगत्तै गणभित्रै क्वारेण्टाइनमा राखिएको छ गणपति अनिल बुढाथोकीले बताउनु भयो ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयले निर्माण गरेको स्वास्थ्य सम्बन्धी अनलाइन सूचना सङकलन र प्रस्तुतीकरण गर्ने पोर्टलमा आएको विवरण वैशाख १४  गतेदेखि अद्यावधिक गरिएको छ । हाललाई उक्त सफ्टवेयरमार्फत कोभिड-१९ सङ्क्रमणसम्बन्धी सूचना तथा जानकारी लिनको लागि प्रयोग गर्न 'गण्डकी हेल्थ' नामक मोबाइल एप सार्वजनिक भएको छ ।

पोखरा महानगरपालिका-९ मा रहेको सुकुम्बासी बस्तीका नागरिकले राहत नपाएको भन्दै वडा कार्यालय घेराउ गरेका छन् । वडा नं ९ पृथ्वीचोक बसपार्कमा रहेको कृष्णटोल विकास संस्थाका अध्यक्ष दुर्गा गुरुङले १ सय ९४ घर धुरीमा राहत वितरण नगरिएको बताउनुभयो । अरु टोलमा तीन पटकसम्म राहत वितरण हुँदा कृष्णटोलमा एकपटक पनि राहत वितरण नभएको र भौकै मार्न खोजिएको भन्दै स्थानीय आक्रोशित भएका हुन् । पोखरा महानगरपालिकाले नगरबासीका गुनासो सुनेर सम्भव भएसम्म तत्काल सम्बोधन गर्न पैसा नलाग्ने हटलाइन नम्बर ११८१ र ११८६ सञ्चालन गरेको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

बर्दियाको राजापुर नपा-१० स्थित कोठियाघाटमा सञ्चालित क्रसरमा उद्योगमा काम गर्ने दुई जना भारतीय नागरिकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि कोठियाघाट क्षेत्र चारैतिरबाट 'लक' गरिएको जिल्ला प्रशासन कार्यालय, बर्दियाले जनाएको छ । नेपाली उद्योगमा काम गर्ने भारतीय नागरिकहरू लकडाउनका अवस्थामा केही दिनअघि भारतस्थित आफ्नो घर गएका थिए । भारतमा उनीहरूको परीक्षण गर्दा कोरोना पोजिटिभ भेटिएको भारतीय प्रहरीबाट प्राप्त पत्रमा उल्लेख गरिएको छ ।

भारतको क्वारेण्टाइनमा रहेका ३५ जना नेपालीलाई कपिलवस्तु ल्याइएको छ । तीमध्ये दाङ जिल्लाका आठ जना र रुपन्देही जिल्लाका चार जना रहेका छन् भने २३ जना कपिलवस्तुकै रहेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनु भयो । हाल उनीहरूलाई कृष्णनगरको क्वारेण्टाइनमा राखिएको छ ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

रुकुम (पश्चिम) मुसिकोट नगरपालिकाले देशका विभिन्न ठाउँमा अलपत्र परेका १ सय ९७ जनालाई उद्धार गरी ल्याइएकोमा १ सय ५५ जना क्वारेन्टाइनमा बसेको र ४२ जना क्वारेण्टाइनमा बस्न नमानेको नगर प्रमुख देविलाल गौतमले जानकारी दिनु भयो ।

लकडाउनका कारण सुर्खेत र नेपालगञ्जबाट ७७ जना जाजरकोट जिल्लाको कुशे गाउँपालिकाका नागरिकको शुक्रबार उद्दार गरी १४ दिन क्वारेन्टाइनमा राखेर सामान्य चेक जाँच गरिएको भए पनि आरटिडीको अभावका कारण कोरोनाको चेक जाँच हुन नसकेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताउनु भयो ।

सुर्खेत, नेपालगञ्ज र काठमाडौँबाट कालीकोट, जुम्ला र मुगु जान हिँडेको सात ओटा बस यात्रुहरूको विवरण नभएको भन्दै दैलेखको रानीमत्तामा रोकिएका छन् भने यात्रुहरूको विवरणसहित आएका १७ ओटा बस वैशाख १४ गते छोडिएको रानीमत्ता प्रहरी चौकीका इञ्चार्ज असई चन्द्रलाल गिरीले बताउनु भयो ।

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको कार्यालय सुलिगाड डोल्पामा वैशाख १३ गते बसेको बैठकमा सुरक्षा निकायका प्रमुख, निकुञ्ज कर्मचारी, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी, स्थानीय निकायका प्रतिनिधि र सञ्चारकर्मीसमेतको उपस्थितिमा छलफल गरी कोरोना भाइरसको विषम परिस्थितिका कारण यो वर्ष यार्सा‍गुम्बा सङ्कलनमा रोक लगाएको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय सुलिगाडका कायममुकाम प्रमुख संरक्षण अधिकृत सरोजमणि पौडेलले बताउनु भयो ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

कोरोना भाइरसको त्रास बढ्दै गएपछि जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिकाका विभिन्न गाउँटोलमा गएर कोरोना भाइरसको बारेमा सचेतना फैलाउन थालेको छ ।

कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षतामा बसेको बैठकले बाजुरा जिल्ला समन्वय समितिको समीक्षालय हलमा बनाएको आइसोलेशनको वार्डको थप सुधारका लागि महिला कक्ष र पुरुष कक्षको व्यवस्थापन गर्ने, कार्पेटिङ, सिसि टिभी क्यामरा जडानका लागि जिल्ला अस्पताल बाजुरालाई जिम्मा दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तथा कोभिड-१९ सङ्कट व्यवस्थापन समिति अध्यक्ष गंगाप्रसाद न्यौपानेले बताउनु भयो ।

सङ्घीय राजधानी काठमाडौँ, प्रदेश राजधानी धनगढी र अन्य जिल्लाबाट बस बुकिङ गरेर विद्यार्थी तथा अन्य व्यक्तिहरू फर्किने क्रम बढेपछि बैतडी जिल्ला विपद् व्यवस्थापन समितिले वैशाख १४ गते बैठक बसी बाहिरी जिल्लाबाट आउने सबैलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र आरडिटी जाँच गरी आएका व्यक्तिहरूको हकमा भने होम क्वारेन्टाइनमा बसाउने निर्णय गरेको छ ।

दार्चुलामा नौ ओटै स्थानीय तहमा लकडाउनपछि प्रभावित बनेको खोप सेवा पुनः सुचारु भएको जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टले जानकारी दिनु भयो ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क