कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २४ गते)
पछिल्लो २४ घन्टामा थप ३ सय २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ सय ८६ जना पुरुष र ३७ जना महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनु भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार २ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३२ जना निको भएर घर फर्किएसँगै निको हुनेको सङ्ख्या ३ सय ६५ पुगेको छ । जेठ २४ गते साँझसम्म प्रदेश १ का इलाम र ओखलढुङ्गा, बागमती प्रदेशको रसुवा, गण्डकी प्रदेशका मनाङ र मुस्ताङ र प्रदेश ५ का पूर्वी रुकुम र रोल्पाबाहेकका जिल्लामा कोरोना सङ्क्रमित फेला परेका छन् ।
प्रदेश १
प्रदेश १ मा जेठ २४ गते सात जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या २ सय ४७ पुगेको छ । उद्दार गरी विदेशबाट जेठ २३ गते ल्याइएकामध्ये प्रदेश १ का ४२ जनालाई प्रदेश सरकारले स्थापना गरेको सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतरास्थित होल्डिङ्ग एरियामा जेठ २४ गतेदेखि राखिएको छ । म्यानमारबाट आएका दुई जना र युएईबाट आएका ४० जनालाई होल्डिङ्ग एरियामा राखिएको हो । चतरास्थित रामानन्द पिठ सेवा आश्रमलाई प्रदेश सरकारले तेस्रो मुलुकबाट आएकाहरूको लागि होल्डिङ्ग एरिया बनाएको छ । प्रदेश सरकारद्वारा गठित होल्डिङ्ग तथा व्यवस्थापन उपसमितिका सदस्य रवि खनालका अनुसार उनीहरूलाई त्यहीँ राखेर सम्बन्धित जिल्लामा समन्वय गरेर पठाइने छ । होल्डिङ्ग एरियाबाट सम्बन्धित स्थानीय तहले लानुअघि उनीहरूको आरडीटी परीक्षण गरी लैजाने व्यवस्था प्रदेश सरकारले गरेको छ । उनीहरूको आवश्यक परे स्वाब सङ्कलन गरी स्थानीय तहले परीक्षणका लागि पठाउने छन् ।
प्रदेश २
प्रदेश २ मा जेठ २४ गते ८३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेका अनुसार प्रदेश २ मा सङ्क्रमितको सङ्ख्या १ हजार ६६ जना पुगेको छ ।
धनुषा प्रतिनिधि दीपेन्द्रप्रसाद सिंहका अनुसार जनकपुरधाम उपमहानगरपालिकामै क्वारेन्टाइनको व्यवस्थापन नहुँदा जेठ २३ गते राति १ बजे आएका १४ जना युवाहरू जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाको माध्यमिक विद्यालयमा रातभर चिसो भुइँमा सुतेको सामाजिक अभियन्ता सरोज रायले बताउनु भयो । जनकपुरधाम उपमहानगरपालिका–१४ का वडा सदस्य उपेन्द्र बिमल साहका अनुसार भारतबाट आएकाहरूको लागि कोठामा बेड व्यवस्थापन गरिएको थियो । तर, राति आएकाले समस्या भएको हो । जेठ २४ गतेदेखि सबैलाई कोठामा व्यवस्थापन गरेको साहले बताउनु भयो ।
बागमती प्रदेश
काठमाडौँ जिल्लामा चार जना र भक्तपुर जिल्लामा एक जना गरी जेठ २४ गते यस प्रदेशमा पाँच जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमित पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ९० पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले बताउनु भयो ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित जिल्ला समन्वय समितिको भवनमा नगरपालिकाद्वारा सञ्चालित क्वारेण्टाइनमा मापदण्ड अनुसारको सुविधा नभएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगद्वारा गठित मानव अधिकार अवस्था अनुगमन समितिले ध्यानाकर्षण गराएको छ ।
क्वारेण्टाइन केन्द्रमा सेवा सुविधा उपलब्ध गाराउन समितिले जेठ २४ गते जिल्ला स्वास्थ्य कार्यालयमा सुझाव पेश गरेको छ । अनुगमन समितिका संयोजक भेषराम ढकालले जेठ २१ गते गरेका अनुगमनको क्रममा २३ जना व्यक्तिले एउटै ट्वाइलेट प्रयोग गरेको, क्वारेण्टाइन केन्द्रमा स्वास्थ्यकर्मीको नियमित अनुगमन नभएको, खानेपानीको पर्याप्तता नभएको, क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले समय कटाउने भन्दै तास खेल्ने गरेको, माक्स, पञ्जा र स्यानिटाइजरको पर्याप्तता नभएको जस्ता समस्या देखिएको बताउनु भयो ।
आफूहरूले साधन श्रोतले भ्याएसम्म क्वारेण्टाइन केन्द्रलाई व्यवस्थित बनाउने प्रयास गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चपागाईँले बताउनु भयो । क्वारेण्टाइनमा आवश्यक सुरक्षा सामग्रीको छिटै व्यवस्था गर्ने चौतारा साँगाचोगढी नगरपालिका प्रमुख अमानसिं तामाङले बताउनु भयो ।
रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार गोकुलगंगा गाउँपालिकाको क्वारेण्टाइनबाट जेठ २४ गते एकजना कोरोना सङ्क्रमित सम्पर्कविहीन भएका छन् । जिल्ला अस्पतालको आइसोलेशनमा लैजान तयार गरिएका गोकुलगङ्गा गाउँपालिका–४ बेतालीका सङ्क्रमित युवक सोही गाउँपालिका–३ रस्नालुको क्वारेण्टाइनबाट बेपत्ता भएका हुन् ।
गाउँपालिकाको क्वारेण्टाइनमा रहेका १९ जना मध्ये ११ जनामा जेठ २३ गते सङ्क्रमणको पुष्टि भएको थियो । तर, गाउँपालिकामा पुगेको गलत सूचनाको कारण सङ्क्रमितलाई दिउँसै घर पठाइएको गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले जानकारी दिनभुयो । उनलाई २३ गते राति अबेर प्रहरीले नियन्त्रणमा लिई रस्नालुको क्वारेण्टाइनमा राखेकोमा राति नै भागेका थिए ।
घर पठाइएका मध्ये नौ जनालाई २३ गते साँझ र एक जना युवालाई २४ गते बिहान प्रहरीले नियन्त्रणमा लिए पनि बेतालीका एक सङ्क्रमित भने सम्पर्कविहीन भएका छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्याल रामेछापका प्रमुख डिएसपी वसन्त पाठकले जनाकारी दिनुभयो ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार दुबईबाट उदार गरी ल्याइएका प्रदेश १ र २ का नागरिकलाई नेपाली सेनाको टोलीले भक्तपुरको होल्डिङ सेन्टरमा राखेर सम्बन्धित प्रदेश पठाएको छ । जेठ २३ गते राति आठ बजे मध्यपुर थिमी नगरपालिका–४ राधेराधेस्थित हेरिटेज बैङ्क्वैट र सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पिरियर बैङ्क्वैटस्थित होल्डिङ सेन्टरमा आइपुगेका उनीहरूलाई राति पौने ११ बजे यातायात व्यवसायी महासङ्घले व्यवस्था गरेको दुई ओटा बसमा राखेर सम्बन्धित प्रदेश पठाइएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई)बाट ल्याइएका ६१ जनालाई राति ८ बजे मात्रै भक्तपुरका दुई होल्डिङ सेन्टरमा सेनाले ल्याएको थियो । आउँदा सेनाको पाँच ओटा गाडीमा सामाजिक दूरी कायम गर्दै सेन्टरसम्म ल्याए पनि त्यहाँबाट प्रदेश पठाउँदा भने एउटै गाडीमा पठाइएको छ ।
प्रदेश ५
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार बैजनाथ गाउँपालिका—८ स्थित श्री नेपाल राष्ट्रिय माविमा बनाइएको क्वारेण्टाइनमा रहेका ३२ वर्षीय कर्णबहादुर सारु मगरलाई सोही ठाउँका ३० वर्षीय शिब विक, २५ वर्षीय भिमबहादुर सुनार र २६ वर्षीय निरज सुनारले जेठ २१ गते कुटपिट गरेको प्रहरीले जनाएको छ । नास्ताको विषयमा विवाद हुँदा क्वारेण्टाइन व्यवस्थापनमा खटिएका आरोपितहरूले कुटपिट गरेको पीडितको आरोप छ । पीडित मगरलाई फलामको रडले प्रहार गर्दा टाउकोमा चोट लागेको गाउँपालिकाकी उपाध्यक्ष शारदा रेग्मीले बताउनु भयो । पीडित पक्षले इलाका प्रहरी कार्यालय कोहलपुरमा जेठ २२ गते उजुरी दिएको र आरोपितहरू फरार रहेकोले खोजी भइरहेको सई रणधिर जैसीले बताउनु भयो । पीडितको उपचार जेठ २१ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार विद्यालयमा क्वारेण्टाइन निर्माण गर्ने बुद्धभूमि नगरपालिकाको निर्णयको स्थानीयहरूले विरोध गरेका छन् । नगरपालिकाले जेठ २२ गते बुद्धभूमि नपा–२ गोरुसिङ्गेस्थित गौतम बुद्ध माविमा ५० बेडको क्वारेण्टाइन निर्माण गर्ने निर्णय गरेको थियो । यसैगरी वडा नम्बर ९ मा सर्वदलीय बैठकले क्वारेण्टाइन बनाउने निर्णय गरेपनि स्थानीयको विरोधका कारण कार्यान्वयन हुन नसकेको हो । क्वारेण्टाइन नहुँदा व्यवस्थापनमा समस्या रहेको मेयर केशवकुमार श्रेष्ठले बताउनु भयो ।
बुटवलको कोरोना विशेष अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका नौ जना कोरोना सङ्क्रमितहरू पिसीआर परीक्षण बिना डिस्चार्ज भएका छन् । कोरोना सङ्क्रमण देखिएपछि १४ दिनअघि कोरोना अस्पलाल भर्ना भएका २७ जनालाई डिस्चार्ज गर्ने क्रममा कपिलवस्तुका नौ जना डिस्चार्ज भएका हुन् । अस्पतालमा १४ दिन बस्दासम्म कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलका डा. विष्णु गौतमले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेठ २० गते जारी गरेको निर्देशिका अनुसार कोरोनासँग मिल्दो लक्षण नदेखिएकाले डिस्चार्ज गरिएको हो ।
कर्णाली प्रदेश
डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको जेठ २० गते कोरोना सङ्क्रमणबाट मृत्यु भएपछि जगदुल्लाको संवेदनशीलतालाई ध्यानमा राखी सबै वडा सिल गरिएको र सबै नागरिकको पीसीआर परीक्षणको लागि पहल भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको भनाइ छ ।
हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा काठमाडौँ, नेपालगञ्ज र सुर्खेतबाट जेठ १८ गतेदेखि जेठ २४ गतेसम्म उद्धार गरी ल्याइएका करिब २ सयभन्दा बढी नागरिकहरूलाई क्वारेण्टाइनमा उचित व्यवस्था गर्न नसकेको गुनासो आएको छ । सर्केगाड गाउँपालिका–४ का स्थानीय प्रवजन शाहीका अनुसार क्वारेण्टाइनमा रहेका व्यक्तिहरूलाई खान, बस्नको उचित व्यवस्था छैन । सीमित स्रोत, साधनले क्वारेण्टाइन बनाइएको भन्दै मापदण्डअनुरूपको सुविधा दिन नसकेको गाउँपालिका–५ का अध्यक्ष कर्णजङ्ग शाहीको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार शुक्लाफाँटा नगरपालिकाका एम्बुलेन्स चालकहरूले मास्क, सेनिटाइजर र ग्लोब्सलगायतका आवश्यक स्वास्थ्य सामग्री नपाएको गुनासो गरेका छन् । शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्य चौकीका एम्बुलेन्स चालक गौरे लुहारले कोरोनाको सङ्क्रमणका बीच अहोरात्र खटिए पनि स्वास्थ्य सामग्री नपाएको आरोप लगाउनु भएको छ । एक महिना पहिले केही स्वास्थ्य सामग्री पाएको भए पनि हाल पटक–पटक माग गर्दासमेत आज र भोलि भन्दै नगरपालिकाले स्वास्थ्य सामग्री दिन आलटाल गरेको उहाँको आरोप छ । अहोरात्र खटिँदासमेत आफूहरूलाई उचित पारिश्रमिक, भत्ताको व्यवस्था र नियमित स्वास्थ्य चेकजाँचको व्यवस्था नभएको लुहारले आरोप लगाउनु भएको हो ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार धनगढी उपमहानगरपालिका–१४ स्थित पञ्चोदय माविको क्वारेण्टाइनमा राखिएका ४६ जनासँगै दुई जना कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई राख्दा सङ्क्रमणको उच्च जोखिम बढेको धनगढी उपमहानगरपालिका–१४ का अध्यक्ष रामबजारी चौधरीले बताउनु भयो । स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका पारित गरेपछि सेती प्रादेशिक अस्पतालले पञ्चोदय माविको क्वारेण्टाइनमा रहेका २२ वर्षीया युवती र २६ वर्षीय युवकमा लक्षण नदेखिएको भन्दै फिर्ता पठाएपछि अव्यवस्थित क्वारेण्टाइनमा राख्नु पर्दा अन्य व्यक्तिहरूमा पनि सङ्क्रमण फैलिने डर बढेको वडाध्यक्ष चौधरीको भनाइ छ । उहाँले भन्नु भयो–‘पञ्चोदयको क्वारेण्टाइनमा दुई जना सङ्क्रमितसँगै अन्य ४६ जनालाई राखिएको छ । दुई जना सङ्क्रमितले प्रयोग गर्ने शौचालय र धारा अन्य ४६ जनाले पनि प्रयोग गर्नु परेको छ । यसले ४६ जनामा समेत त्रास फैलिएको छ ।’ कोभिड–१९ सम्बन्धी क्वारेण्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको सङ्घीय, प्रदेश तथा स्थानीय मापदण्ड, २०७६ बमोजिम घनाबस्तीबाट टाढा, सयभन्दा बढीलाई राख्न सक्ने क्षमता भएको, सञ्चार, स्वास्थ्य, पानी, बिजुलीको पूर्ण व्यवस्था भएको र प्रति व्यक्ति ७५ वर्ग फिटको स्थान वा न्यूनतम दुरी साढे तीन फिट हुनुपर्ने, नियमित सरसफाइ हुनुपर्ने लगायतको व्यवस्थाअनुरूप धनगढी उपमहानगरपालिका क्षेत्रमा तयार गरिएका क्वारेण्टाइनको व्यवस्थापन भएको छैन ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
कोशी प्रदेशमा खुल्लातर्फ चार सय बढी र नियमिततर्फ ८० हजार बढी परीक्षार्थीले एसइई दिँदै
न्यूनतम कक्षा आठ उत्तिर्ण गरेका (खुल्ला परीक्षार्थी) सहित कोशी प्रदेशबाट ८० हजार ९ सय ३४ जना परीक्षार्थीले यस वर्षको (कक्षा १० को परीक्षा) एसइई परीक्षा दिई रहेका छन् । आज…
बाल सुधारगृहको समस्या समाधान गर्न इन्सेकद्वारा प्रशासनमा ज्ञापनपत्र
विराटनगर महानगरपालिका-३ स्थित बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न इन्सेकले ज्ञापनपत्र बुझाएको छ । बाल सुधारगृहमा देखिएको समस्या समाधान गर्न माग गर्दै इन्सेक कोशी प्रदेश कार्यालय, ओरेक, सिविन नेपाल लगायतका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
५८ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा वीरगञ्ज उपमहानगरपालिका-३२ चोर्नि टोल का ४० वर्षीय मेघनाथ यादबलाई प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले पीडित महिलालाई चैत ३ गते घरमा बसिरहेको अवस्थामा…
सामूहिक बलात्कार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा भोटेकोशी गाउँपालिका— ४ का ३३ वर्षीय सुनिल पौडेल, सोही ठाउँका ३० वर्षीय सविन कार्की, २७ वर्षीय राजेश कार्की र ३० वर्षीय पाण्डे घिसिङ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…