कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २३ गते)
नेपालमा जेठ २३ गते २ सय ७८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै सङ्क्रमितहरूको सङ्ख्या २ हजार ९ सय १२ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका २१ प्रयोगशालामा ४ हजार २ सय ३२ जनाको स्वाब परीक्षण गरिएको थियो । काठमाडौँको निजी अस्तालमा उपचाररत गुल्मीका एक जना र सरकारी अस्पतालमा उपचाररत कास्कीका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । जेठ ७ गते भारतबाट आएका उनी विद्यापुरको जनता माविको क्वारेण्टाइनमा १४ दिन बसेपछि आरडीटी टेष्ट गरेर घर गएका थिए । घर गएकै राति उनको निधन भएको थियो ।
प्रदेश १
प्रदेश १ मा जेठ २३ गते ३९ जना कोरोना सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहताका अनुसार झापामा ११ जना, मोरङमा ६ जना, सुनसरीमा १७ जना, भोजपुरमा पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ४० पुगेको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार बलान बिहुल, तिरहुत गाउँपालिका, राजविराज, हनुमाननगर कंकालिनी, बोदे बर्साइन नगरपालिकामा बसेकाहरूले अविलम्ब आरडीटी परीक्षण गरेर घर जान दिनु पर्ने भन्दै माग गरेको र होहल्ला गरेकोले व्यवस्थापनमा समस्या हुन थालेको स्वास्थ्य संयोजकहरूले बताएका छन् । आरडीटी परीक्षणमा भर पर्दा सङ्क्रमण फैलिने र ज्यान जाने भन्दै राजविराज नगरपालिकाका स्वास्थ्य संयोजक निरञ्जनप्रसाद यादवले ढिलै भएपनि पीसीआर परीक्षण गर्नु आवश्यक रहेको भनी सम्झाएको बताउनु भयो । एकातिर भिटिएम किटको अभाव अर्कोतिर स्थानीय तहलाई क्वारेण्टाइन व्यवस्थापन गर्न झन्झट भएकाले आरडिटी परीक्षण गर्दै घर पठाउन थालिएको अधिवक्ता गजराज पाण्डेको आरोप छ ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार बटेश्वर गाउँपालिका–५ शान्तिपुरको श्री काली जनज्योती आवासिय विद्यालयको क्वारेण्टाइनबाट पीसीआर परीक्षणको लागि जेठ १२ गते नौ जनाको स्वाव सङ्कलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाइए पनि ११ औँ दिनसम्म रिर्पोट नआउँदा लामो समय क्वारेण्टाइनमा बसेका १६ जना युवाहरूलाई जेठ २३ गते आरडीटी चेकजाँच गरी घर पठाइएको बटेश्वर गाउँपालिकाका स्वास्थ्य संयोजक रुद्रनारायण यादवले बताउनु भयो । जेठ २३ गते गरिएको आरडिटी चेकजाँचमा एक जनामा रिर्पोट पोजेटिभ देखिएकाले उनको पीसीआर परीक्षण गराई, क्वारेन्टीनमै राखेर उपचार गरिने यादवले बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार राजपुर नगरपालिका–९ बैरियास्थित ठुलो मदरसा क्वारेण्टाइनमा खटिएका राजपुर नगरपालिका–४ निवासी सिनीयर अहेब ४८ वर्षीय खुर्सेद आलम र गरुडा नगरपालिका निवासी सिनीयर अहेब ४५ वर्षीय रामनरेश साहलाई जेठ २१ गते कुटपिट गरेको घटनाका आरेपित राजपुर नगरपालिका–९ का ४५ वर्षीय रुस्तम मियाँलाई प्रदेश प्रहरी कार्यालय, जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोलीले जेठ २२ गते घरबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताउनु भयो । कुटपिट घटनामा संलग्न तीन जना फरार भएको र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले बताउनु भयो । पीडित स्वास्थ्यकर्मी आलमले जिल्ला प्रहरी कार्यालयमा जेठ २३ गते उजुरी दर्ता गराएका छन् । स्वास्थयकर्मीहरूले जेठ २२ गते घाइते स्वास्थ्यकर्मीको निःशुल्क उपचार गरीदिनुपर्ने, सुरक्षाको सुनिश्चितता हुने वातावरण मिलाउनुपर्ने, स्वाव सङ्कलन गर्ने ल्याव कर्मचारीहरूको सुरक्षाको छुट्टै व्यवस्था मिलाउनुपर्ने ज्ञापनपत्रमार्फत विपद् व्यवस्थापन समितिसँग माग गरेका छन् । यसैगरी गत चैत मसान्तदेखि हालसम्म क्वारेण्टाइन, आइसोलेशन र स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूले हालसम्म कुनैपनि जोखिम भत्ता प्राप्त नगरेकोले एक हप्ताभित्र जोखिम भत्ता उपलब्ध गराउन समेत माग गरिएको छ ।
बागमती प्रदेश
रामेछाप जिल्लामा जेठ २३ गते १७ जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । यसैगरी प्रदेशको सिन्धुली जिल्ला दुई, काभ्रे जिल्लामा पाँच जना समेत कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ८५ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले बताउनु भयो ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार कोरोना भाइरस (कोभिड—१९) को लडाइमा अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने उदेश्यले जिल्लामा कार्यरत ६ सय १३ जना स्वस्थ्यकर्मीहरू बीमा गरिएको छ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबाहदुर बस्नेतले जेठ २२ गते प्रतिव्यक्ति १ लाख रुपियाँ बराबरको स्वास्थ्य बीमा गरिदिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले बताउनु भयो । जिल्लामा रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा कार्यरत सम्पुर्ण स्वास्थ्यकर्मीको कोरोना बीमा गरिदिएको नेता बस्नेतले बताउनु भयो । पूर्व मन्त्री बस्नेत जेठ २२ गते जिल्ला स्वास्थ्य कार्यालय पुगी बीमा गरिएको सम्पूर्ण कागजपत्रहरू जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख चापागाईंलाई हस्तान्तरण गरेको जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत पारथमणी न्यौपानेले बताउनु भयो ।
प्रदेश ५
रुपन्देही जिल्लामा इन्सेकद्वारा शुद्धोधन गाउँपालिकामा गठित मानव अधिकार निगरानी समूहले गाउँपालिका भित्र रहेका क्वारेण्टाइनको अनुगमन गरेको छ । उक्त गाउँपालिकाका पाँच ओटा क्वारेण्टाइनमा विदेशबाट आएका ७५ जना रहेका छन् । योज्ञदय थारू बहुमुखी क्याम्पसमा ४० जना, गौलोली माविमा ६ जना, भग्लापुर माविमा १० जना, सिसै माविमा १० जना, वनगाइ मावि पाँच जनालाई क्वारेण्टाइनमा राखिएको इन्सेक रूपन्देही सहजकर्ता विष्णु घिमिरेले बताउनु भयो । अनुगमनका क्रममा क्वारेण्टाइनमा रहेकाहरूलाई खाना बस्नको व्यवस्था भएपनि उनीहरूले लगाउने माक्स, सेनिटाइजरको व्यवस्था नगरेको पाइएको छ । अनुगमनपछि माक्स, सेनिटाइजरलगायतका अत्यावश्यक सामग्रीको पनि व्यवस्था गरिने गाउँपालिकाका प्रवक्ता राजेन्द्र कँडेलले प्रतिबद्वता जनाउनु भएको छ ।
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार सरकारले आह्वान गरेको लकडाउनका कारण स्थगित गरिएको नियमित खोप सेवा जिल्लाका नौ वटा स्थानीय तहहरूले सञ्चालनमा ल्याउन सकेका छैनन् । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण हरेक महिनाको १० गतेदेखि १४ गतेसम्म सञ्चालन हुने नियमित खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको यशोधरा गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रकाश दुवेले बताउनु भयो । बालस्वास्थ्य महाशाखाले खोप सञ्चालन गर्न पत्र पठाएको भएपनि सङ्क्रमणको अवस्थामा बालबालिका सुरक्षित नहुने अवस्था देखिएपछि खोपसञ्चालन गर्न नसकिएको कृष्णनगर नपाका स्वास्थ्य संयोजक अनिल बिश्वकर्माले बताउनु भयो । बालबालिकालाई जन्मेदेखि १५ महिनासम्म सात पटक विभिन्न ११ प्रकारका रोग विरूद्ध खोप दिइन्छ ।
कर्णाली प्रदेश
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेपछि दैलेखमा जेठ २३ गतेदेखि दुई ओटा स्थानीय तहमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । सङ्क्रमण रोकथाम गर्न सदरमुकाम नारायण नगरपालिका र दुल्लु नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिनु भयो । पहिलो सङ्क्रमित फेला परेको तीन साता नपुग्दै दैलेखका ११ मध्ये आठ ओटा स्थानीय तहमा ३ सय ८ जना सङ्क्रमित पुष्टि भइसकेको स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले बताउनु भयो ।
कालीकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार सान्नीत्रिवेणी गाउँपालिकास्थित पञ्चदेवल उच्चमाविको क्वारेण्टाइनमा रहेकाहरूलाई गाउँपालिकाले खानबस्नका लागि व्यवस्था गर्न नसकिने भन्दै आ–आफ्नो घर पठाएको छ । सोही क्वारेण्टाइनमा रहेका १ सय ११ जनामध्ये १९ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको तीन दिनपछि ९२ जनालाई घर पठाइएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार जेठ २१ गते पीसीआर रिपोर्ट पोजेटिभ देखिएका सबैसँगै बसिरहेको भए पनि खानबस्न समस्या भएपछि नेगेटिभ रिपोर्ट आएकाहरूलाई जेठ २३ गते घर पठाइएको हो । १० दिनसम्म कोरोना पोजेटिभ भएकाहरूसँगै बसेर घर जाँदा परिवारलाई समेत सर्न सक्ने जोखिम देखिने भन्दै स्थानीयले विरोध गरेका छन् ।
सुदूरपश्चिम प्रदेश
दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार भारतलगायतका क्षेत्रबाट ठूलो सङ्ख्यामा मान्छेहरू आइरहेको र थ्रोट स्वाब नमूना सङ्कलन गरिएका व्यक्तिको रिपोर्ट आउन ढिलाइ भएको भन्दै पाँच दिनसम्म थ्रोट स्वाबको नमूना सङ्कलन नगर्न सुदूरपश्चिम स्वास्थ्य सेवा निर्देशनालय, डोटीले पत्राचार गरेको छ । सुदूरपश्चिम प्रदेशभरिको एउटै मात्रै प्रयोगशाला धनगढीमा रहेको र यसको क्षमता दैनिक २ सय ५० जनाको मात्रै हुने हुँदा सङ्कलन गरिएका रिपोर्ट आउन ढिलाइ भएकोले पाँच दिन थ्रोट स्वाबको नमूना सङ्कलन नगर्न पत्राचार गरिएको स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थीले जानकारी दिनु भयो । सुदूरपश्चिमका नौ ओटै जिल्लाबाट सङ्कलन गरिएका १ हजार ८३ जनाको रिपोर्ट आउन बाँकी छ । थ्रोट स्वाब नमूना सङ्कलन गरी जम्मा गरिँदा बिग्रने सम्भावना रहेको भन्दै तत्काललाई स्वाब सङ्कलन नगर्न÷नगराउन पत्राचार गरिएको निर्देशनालयले जनाएको छ ।
डडेल्धुरा प्रतिनिधि भुपेन्द्र विष्टका अनुसार अमरगढी नगरपालिकाले महेन्द्र माविमा तयार गरेको क्वारेण्टाइन ‘कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी क्वारेण्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ मा उल्लेख गरेअनुसार कुनै व्यवस्था नभएको क्वारेण्टाइनमा रहेकाहरूको गुनासो छ । मापदण्डअनुसार क्वारेण्टाइन घनाबस्तीबाट टाढा रहनुपर्ने भनिएको भए पनि क्वारेण्टाइनबाट पाँच मिटर नजिकै घरहरू रहेकाले स्थानीयहरूलाई जोखिम बढेको अमरगढी नगरपालिका–५ का योगेश बोहराले बताउनु भयो । क्वारेण्टाइनमा खानेपानी र विद्युतको समस्या भएको क्वारेण्टाइनमा बस्दै आएका मिन पालले गुनासो गर्नु भयो । क्वारेण्टाइनभित्र एउटै कोठामा धेरै व्यक्तिहरू राखिएका ले समाजिक दुरी कायम गर्न समस्या हुन गई थप जोखिम बढेको क्वारेण्टाइनमा रहेका पालको भनाइ छ । उहाँले भन्नु भयो– “क्वारेण्टाइनमा धेरै मान्छे छौँ । खानेपानीको धारा, प्रयोग गर्ने शौचालय पनि एउटै स्थानमा छ । आवश्यक खाद्यान्न सामग्रीको समेत अभाव रहेको छ । खाद्यान्न तथा तरकारीमा किरासमेत भेटिएका छन् भने नियमित सरसफाइका लागि आवश्यक पर्ने सामाग्रीहरूको समेत अभाव छ ।’ अमरगढी नगरपालिकाले क्वारेण्टाइन व्यवस्थापनका लागि छुट्टै समिति गठन गरेको र उक्त समितिले क्वारेण्टाइन व्यवस्थापन गरिरहेको नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले बताउनु भयो । क्वारेण्टाइनमा बसिरहेका व्यक्तिहरूले दैनिक खानाको व्यवस्था आफैले गरेमा दैनिक २ सय रुपियाँका दरले रकम उपलब्ध गराउने व्यवस्था गरिएको नगरप्रमुख ओझाको भनाइ छ ।
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त १ करोड रुपियाँको लागतमा महेन्द्रनगरस्थित महाकाली अस्पतालमा निर्माण भइरहेको ५० शैयाको कोरोना अस्पतालको निर्माण समयमै सम्पन्न नभएका कारण कोरोना सङ्क्रमित बिरामीहरूको उपचारमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनु भयो । महाकाली अस्पतालको परिसरमा निर्माणाधीन ५० शैयाको कोरोना अस्पताल जेठ ७ गतेसम्म निर्माण गर्ने गरी सम्झौता भए पनि ठेकेदारको लापरवाहीले अस्पताल निर्माणमा ढिलाई भइरहेकोले समस्या भएको अस्पतालले जनाएको छ । ०७६ चैत ६ गते आइसोलेशन भवन निर्माणका लागि ९२ लाख ५४ हजारमा ठेक्का पाएको विपिन विल्डर्सले विभिन्न बहाना र समस्या देखाएर भवन निर्माणमा ढिलाई गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीले बताउनु भयो । २० बेड क्षमता भएको महाकाली अस्पतालको आइसोलेशन कक्षमा अहिले कैलालीका सात र कञ्चनपुरका आठ जना गरी १५ जना कोरोना सङ्क्रमित बिरामीको उपचार भइरहेको र कोरोना सङ्क्रमित बिरामी थपिएको खण्डमा महेन्द्रनगरस्थित सेफर हस्पिटलमा राख्ने तयारी भइरहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशीको भनाइ छ । महाकाली अस्पतालमा आइसोलेशन अभावकै कारण आरडीटी पोजेटिभ देखिएका सयौँ जनालाई अस्पताल ल्याउन नसकिएपछि सम्बन्धित ठाउँकै क्वारेण्टाइनमा राखिएको छ ।
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार सयौँको सङ्ख्यामा भारतबाट दैनिक रूपमा नेपाल भित्रिने नेपाली नागरिकहरूका कारण सुदूरपश्चिममा रहेका सबै स्थानीय तहले निर्माण गरेका क्वारेण्टाइन भरिभराउ भएपछि व्यवस्थापनमा समस्या देखिएकाले लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै आइसोलेशनमा राख्ने निर्णय गरेको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका नरेन्द्र कार्कीले बताउनु भयो । नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि सङ्घीय सरकारले कोरोनाको लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै आइसोलेशनमा राखिने निर्देशिका पारित गरेपछि सुदूरपश्चिममा पनि त्यसको कार्यान्वयन गरिने निर्णय भएको कार्कीको भनाइ छ । लक्षण नभएका र सामान्य लक्षण भएका सङ्क्रमितलाई अस्पतालमा राख्दा अस्पतालका आइसोलेशन वार्ड भरिएको र गम्भीर समस्या भएकालाई राख्ने ठाउँ नहुन सक्ने भन्दै सङ्घीय सरकारले यस्तो निर्देशिका बनाएको कार्कीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…