कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २१ गते)

नेपालमा २ हजार ३ सय जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जेठ २१ गते थप २ सय १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । दोलखा जिल्लाका ७६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट जेठ २१ गते मृत्यु भएको छ । मन्त्रालयका अनुसार भीमेश्वर नगरपालिका–२ का उनी मधुमेहका बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई जेठ १२ गते दोलखा अस्पताल लगिएको थियो । जेठ १३ गते काठमाडौँ ल्याइएका उनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

प्रदेश १

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ८५ पुगेको छ । जेठ २१ गते प्रदेशका पाँच जिल्लामा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रदेश सरकारले जनाएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मोरङको रङ्गेली नगरपालिकामा दुई जना पुरुष, झापाको कमल गाउँपालिकामा एक जना पुरुष, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सात जना पुरुष, धनकुटाको शहीदभूमि गाउँपालिकामा एक जना पुरुष र तेहृथुमको आठराई गाउँपालिकामा एक जना महिला र एक जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । विराटनगर र धरानको प्रयोगशालामा परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो । प्रदेश १ को झापामा १ सय १९ जना, उदयपुरमा ३३ जना धनकुटामा आठ जना, मोरङमा आठ जना, सुनसरीमा १० जना, सङ्खुवासभा र तेहृथुममा दुई÷दुई जना, खोटाङ, भोजपुर र सोलुखुम्बुमा एक÷एक जना सङ्क्रमित भएका छन् । प्रदेशमा सङ्क्रमित मध्ये ४८ जना डिस्चार्ज भएका छन् ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार साइकृष्ण कलेज एण्ड हस्पिटलमा बनाइएको आइसोलेशनमा राखिएका सङ्क्रमितहरूले जेठ २१ गते इन्सेक प्रतिनिधिसँग हालसम्म चिया र खाजा नपाएको र खाना समेत समयमा नपाएको गुनासो गरेका छन् । घरबाट मगाएको चियापत्ती, चिनी र चिउरा समेत भित्र ल्याउन नदिएको बलान बिहुल गाउँपालिका–४ बेल्हीका कोरोना सङ्क्रमित पुरुषले बताए । सङ्क्रमितहरूको सुरक्षाका लागि बाहिरबाट आएको सामग्री दिन नमिल्ने जानकारी दिँदै गजेन्द्र नारायण सिंह अस्पतालका डा. रणजितकुमार झाले खाना समयमै तयार भएपनि वितरण गर्न कोही तयार नहुँदा ढिलो भएको बताउनु भयो । क्वारेन्टाइनमा रहेका सङ्क्रमितहरूलाई आइसोलशेनमा समुचित व्यवस्थापन नहुँदै ल्याउनु परेको जनाउँदै डा. झाले जेठ २१ गतेदेखि खाजा तयार गर्ने भान्से तयार गरेपनि कोरोना सङ्क्रमणको भयले खाजा वितरण गर्न कोही तयार नहुँदा समस्या भएको बताउनु भयो ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार सम्सी गाउँपालिका–१ स्थित धानुक समाज धर्मशालाको क्वारेन्टाइनमा भारतबाट आएका २२ वर्षीय युवा पाँच दिनदेखि १ सय ४ डिग्री ज्वरो देखिएको र उनको स्वास्थ्य अवस्था थप जटिल बन्दा समेत उपचारमा लान नसकिएको क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष बिजयकुमार यादवले बताउनु भयो ।  उनलाई ज्वरो बढ्दै गएको, बान्ता गर्ने, छाती दुख्ने, खोकी लाग्ने लक्षण देखिएपछि स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकीलाई पत्र समेत पठाएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्यकर्मीले जाँच गर्न नमानेको र उनलाई अस्पताल लैजान पर्सा देवार्ड स्वास्थ्य चौकीले एम्बुलेन्स समेत नदिएको वडा १ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विपिन विहारी यादवले बताउनु भयो । क्वारेन्टाइनको राम्रो व्यवस्थापन नहुँदा बिरामी भएकै कोठामा अन्य पाँच जनालाई सँगै राखिएको छ । बिरामीको परिवार र क्वारेन्टाइनमा सँगै बस्ने व्यक्तिले उनको स्वास्थ्य जाँच गरी उपचार गरिदिन गाउँपालिकालाई आग्रह गरेका छन् ।  गाउँपाकिकाका अध्यक्ष शेष फारुक नै निष्क्रिय अवस्थामा बसेकाले सम्सीमा क्वारेन्टाइन व्यवस्थापन गर्न निकै कठिनाइ भएको वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यादवले बताउनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहा नगरपालिका–१७ स्थित बज्रमोहन झब्बुराम माविमा रहेको क्वारेन्टाइनमा क्षमता भन्दा बढी व्यक्ति राखिएकोले ओछ्यान र बस्ने ठाउँ नहुँदा बाहिर त्रिपालमा सुत्नु परेको एक बिरामीले बताए । स्वास्थ्य परीक्षण भएको छैन, न समयमा खाना दिन्छन्, कि त राम्रो व्यवस्थापन गर्नु प¥यो कि त घर पठाइ दिनु प¥यो, अर्का बिरामीले बताए । क्वारेन्टाइन राम्रो व्यवस्थापनको माग गर्दै उनीहरूले जेठ २१ गते नारा जुलस गरेका थिए । सिरहा नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले दैनिकरूपमा भारतबाट मानिसहरू आउने गरेकोले व्यवस्थापनमा समस्या भएपनि सुधार गर्दै गएको बताउनु भयो ।  जेठ २० गते कोरोना सङ्क्रमित पुष्टि भएका १७ जनालाई सिरहाको सूर्यनारायण सत्य नारायण मरवैता क्याम्पसबाट जिल्ला अस्पतालमा सोही दिन बेलुका ८ बजेतिर ल्याए पनि जेठ १९ गते १२ बजेसम्म खाना नदिएको अधिकारकर्मीलाई बताए । आइसोलेशन अस्पतालमा शौचालय पनि नभएको र गेटमा ताल्चा लगाएर हामीलाई बन्द गरेर राखेको बिरामीहरूले बताएका छन् ।  जिल्ला अस्पताल सिरहाका मेडिकल सुपरिटेण्डन डा. नागेन्द्र प्रसाद यादवले रातिको खाना आठ बजे खुवाउने गरेकोले उनीहरूलाई खानामा भात नदिए पनि अन्य खानेकुरा दिएको र जेठ २१ गते बिहान चिया बिस्कुट र ११ बजे खाना खान दिएको बताउनु भयो । प्रत्येक व्यक्तिलाई पाँच लिटरको दरले पानी दिएको र शौचालय पर्याप्त नभए पनि चार ओटा रहेको बताउनु भयो । सङ्क्रमितहरू बाहिर ननिस्किउन भनेर ताल्चा लगाएर राखेको डाक्टर यादवले बताउनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार राजपुर नगरपालिका–९ बैरियास्थित ठुलो मदरसा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूले जेठ २१ गते सो स्थानमा खटिएका राजपुर नगरपालिका–४ निवासी सिनीयर अहेब ४८ वर्षीय खुर्सेद आलम र गरुडा नगरपालिका निवासी सिनीयर अहेब ४५ वर्षीय रामनरेश साहलाई कुटपिट गरेका छन् । घाइतेमध्ये आलमको टाउकोमा चोट लगेको छ । उनको टाउकोमा आठ ओटा टाँका लगाएको छ । क्वारेन्टाइनमा रहेका अधिकाँश व्यक्तिहरूको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको र पोजेटिभ रिपोर्ट आउनुमा डाक्टरहरूको लापरबाही रहेको भन्दै क्वारेन्टाइनका व्यक्तिहरूले कुटपिट गरेको राजपुर नगरपालिकाका निमित्त प्रशासक अधिकृत वैजु ठाकुरले बताउनु भयो । घाइतेहरूको स्थानीय प्राथमिक स्वास्थ्य चौकी राजपुरमा उपचार भइरहेको र थप उपचारका लागि जेठ २२ गते बीरगञ्ज लाने तयारी भएको ठाकुरले बताउनु भयो । कार्यालयको दुई ओटा मोटरसाइकलमा समेत क्षति पुगेको उहाँले बताउनु भयो ।

बागमती प्रदेश

हालसम्म यस प्रदेशमा ५७ जनामा सङ्क्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतम राज सेढाईले बताउनु भयो । हासम्मल कोरोना सङ्क्रमणपछि यस प्रदेशका ३१ जना निको भएर घर फर्केको डा. सेढाईले बताउनु भयो ।

इन्सेक काठमाडौँ जिल्ला प्रतिनिधि विमला पौडेलका अनुसार लकडाउन लम्बिँदै जाँदा मानिसहरूमा रोगले भन्दा भोकले मर्ने भन्दै आन्दोलनमा उत्रिन थालेका छन् । काठमाडौँ महानगरपालिका–२ को मैतीदेवीमा दैनिक पाँच घण्टा मात्रै खोलिएका पसलले जीवन धान्न नसक्ने भन्दै व्यापारीहरु आन्दोलनमा उत्रिएका हुन् । व्यापारीहरुको आन्दोलनलाई शान्त पार्दै वडा–२९ का वडाध्यक्ष कुश ढकालले पाँच घण्टा खोलिँदै आएका पसललाई बढाई आठ घण्टा पुर्‍याइएको जानकारी दिनुभयो । विगतमा बिहान ५ बजेदेखि १० बजेसम्म मात्रै खुल्दै आएको पसलहरू जेठ २२ गतेबाट भने दिउँसो १ बजेसम्म पसल खोल्न दिइने भएको हो । मैतीदेवीका व्यापारीले जेठ २१ बिहान पसल खोल्ने समय अपुग भएको भन्दै विरोध गरेका थिए । व्यापारीहरूले पसल खोल्ने समय अपुग भयो भन्दै विरोध गरेको र सरकारले पनि लकडाउनको मोडालिटी तयार गर्छु भनेर नगरेपछि यस्तो अवस्था आएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार पर्वतमा पुलिङ क्वारेण्टाइनका रुपमा सञ्चालन गरिएको शिवालय बहुमुखी क्याम्पस क्वारेण्टाइनमा महिला र पुरुषलाई एउटै कोठामा राखिएको छ । भारतबाट भित्रिनेको सङ्ख्या बढेपछि व्यवस्थित गर्न नसक्दा महिलालाई छुट्टै व्यवस्थापन गर्न असहज भएको हो । जेठ १९ गतेदेखि महिला र पुरुषलाई एउटै कोठामा बस्न बाध्य भएका हुन् । विहादी गाउँपालिकाका दुई महिला र दुई पुरुष एउटै कोठामा बस्दै आएका छन् भने क्वारेण्टाइनमा रहेका सबैले प्रयोग गर्ने शौचालय पनि एउटै रहेको छ । अहिले क्वारेण्टाइनमा ५० जनाभन्दा बढी व्यक्ति रहेका छन् । शौचालय जाँदा लाइन बस्नुपर्ने अवस्था रहेको पर्वतको विहादी गाउँपालिकाका एक व्यक्तिले इन्सेक प्रतिनिधिलाई जानकारी दिए । महिला पुरुष एउटै कोठामा राखेको जानकारी प्राप्त गरेपछि प्रश्न गर्दा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले क्वारेण्टाइन व्यवस्थापन गर्ने काम भइरहेकाले समस्या आएको हुनसक्ने बताउँदै नेपाली सेनालाई व्यवस्थापनका लागि अनुरोध गरिएको बताउनु भयो ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा निर्माण भएका ९३ ओटा क्वारेण्टाइनमा भारतबाट आएका करिब १ हजार ३ सय ४१ जना रहेको स्वास्थ्य कार्यालय प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । बागलुङका कुनै पनि स्थानीय तहमा विश्व स्वास्थ्य सङ्गठनले निर्देशन गरे अनुसारको मापदण्ड पुरा भएको क्वारेण्टाइन निर्माण भएका छैनन् । विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक क्वारेण्टाइनमा एक स्वास्थ्यकर्मी, सरसफाई सहितको बसाइ, खानपान लगायतको मापदण्ड उल्लेख गरे पनि सीमित स्रोत साधनका काराण बागलुङका कुनै पनि क्वारेण्टाइनमा त्यस किसिमको सुविधा नभएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौको भनाइ छ । ‘डब्लुएचओले भने अनुसारको क्वारेण्टाइन त बागलुङमा निर्माण गर्न कठिन छ । तर, यहाँ बस्नेहरूलाई सुरक्षित राख्ने गरी निर्माण भएका छन् ।’–प्रमुख गुरौले भन्नुभयो–‘अधिकांश क्वारेण्टाइनहरू विद्यालयमा बनाएको अवस्था छ ।

कर्णाली प्रदेश

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय जुम्लाले जेठ २१ गते बिहान ९ बजेदेखि जेठ २३ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिनु भयो । उक्त अवधिमा अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ । यो अवधिमा जिल्लाभरका औषधि पसल भने खुल्ला रहने छन् ।

कालीकोट प्रतिनिधि कालीबहादुर मल्लका अनुसार आइसोलेशन वार्डमा रहेका व्यक्तिलाई आवश्यक खानपिन, उपचार तथा हेरचाहको राम्रो व्यवस्था नगरिएको आफन्तहरूले गुनासो गरेका छन् । सङ्क्रमितका आफन्त शुभकालिका गाउँपालिका–५ का गङ्गाराम जैसीले बिरामीलाई अत्यावश्यक सुविधा पनि नदिइएको बताउनु भयो । जिल्ला अस्पताल कालीकोटका प्रमुख डाक्टर भीष्म पोखरेलले जिल्लामा कोरोना उपचारका लागि डाक्टर तथा उपकरणको अभावमा समस्या उत्पन्न भएको बताउनु भयो । उहाँका अनुसार जिल्ला सदरमुकाममा रहेको एकीकृत भवनलाई कोरोना अस्पताल बनाउने भनिए पनि हालसम्म जनशक्ति, उपकरण, औजारको अभावका कारण बिरामी समस्यामा छन् ।

दैलेख प्रतिनिधि अमर सुनारका अनुसार आरडीटी परीक्षणको विषयमा विवाद बढेपछि क्वारेण्टाइनमा बसेका व्यक्तिहरूले जेठ २१ गते भैरवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरासिंह थापा र वडा नम्बर ४ का अध्यक्ष वीरेन्द्र शाहीमाथि हातपात गरेका छन् । उक्त घटनामा संलग्न पाँच जनालाई इलाका प्रहरी कार्यालय दुल्लुले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हिक्मत बोहोराले जानकारी दिनु भयो । घटनाबारे अनुसन्धान थालिएको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश

दार्चुला जिल्ला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्ला अस्पताल, दार्चुलाको आइसोलेशनमा रहेका एक जना पुरुष र जिल्लाका ६ ओटा स्थानीय तहका १ सय ३ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक प्रयोगशालमा पठाइएको भए पनि रिपोर्ट आउन ढिलाइ भएका कारण कोरोना सङ्क्रमणको आशङ्कामा अस्पताल भर्ना हुन आएकाहरूलाई आइसोलेनशमा राख्न समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनु भयो । जेठ १७ गते जिल्लाका नौ ओटै स्थानीय तहमा रहेका तथा जिल्ला अस्पताल दार्चुलाको आइसोलेशनमा रहेका एक जनासहित २ सय २८ जनाको स्वाब परीक्षण गर्नका लागि धनगढीस्थित प्रादेशिक प्रयोगशालामा पठाइएको भए पनि जेठ २१ गतेसम्म पनि उहाँहरूको रिपोर्ट आउन नसकेको जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलाका सूचना अधिकारी कार्कीले जानकारी दिनु भयो । शङ्कास्पद व्यक्तिहरूको स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढीस्थित प्रयोगशालामा पठाइएको भए पनि परीक्षण रिपोर्टका लागि हप्तौँ दिनसम्म कुर्नुपर्ने भएकाले उपचारमा समस्या भएको जिल्ला अस्पताल, दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनु भयो ।

जिल्लाको नौ ओटै स्थानीय तहले तयार गरेका क्वारेण्टाइनहरू मापदण्डअनुसार नभएकोले आफूहरूले सास्ती भोग्नु परेको क्वारेण्टाइनमा बस्दै आएका स्थानीयहरूले गुनासो गरेका छन् । मालिकार्जुन गाउँपालिका–२ भद्राडीका नरेन्द्रसिंह धामीले आफू क्वारेण्टाइनमा बसेको १७ दिन बितिसक्दा पनि कुनै प्रकारको स्वास्थ्य परीक्षण नगरिएको बताउनु भयो । उहाँले भन्नु भयो– ‘हामी क्वारेण्टाइनमा बस्न तयार छौँ । तर, सरकारले तयार गरेको मापदण्डअनुसार क्वारेण्टाइन सञ्चालन गर्नु प¥यो । हाम्रो स्वास्थ्य परीक्षण हुनु प¥यो । हाम्रा पनि घरमा बालबालिका छन् ।’ मालिकार्जुन गाउँपालिकाको क्वारेण्टाइनमा बस्दै आएका मानसिंह धामीले पनि गाउँपालिकाले आफूहरूको कुनै प्रकारको स्वास्थ्य परीक्षण नगरेको बताउँदै गाउँपालिकाले गर्न नसक्ने भए अन्य निकायबाट स्वास्थ्य परीक्षणका लागि पहल गर्ने बताउनु भयो । उहाँले भन्नु भयो – ‘खाना खाजा पनि नियमित छैन । समयमा खाना खाजाको माग गर्‍यो भने तिम्रो घर हो ? भनेर उल्टै गाली गर्छन् ।’ सोही ठाउँका स्थानीय मदनसिंह धामीले क्वारेण्टाइनमा पानी र खानाको समेत व्यवस्था नगरेको गुनासो गर्नु भयो । उहाँले भन्नु भयो– ‘नाम मात्रका क्वारेण्टाइन रहेछन्, न पानी न खाना । त्यसै कति दिन बिताउनुपर्ने हो थाहा छैन ।’ भौतिक दूरी कायम गरी बसाइ व्यवस्थापन गर्नुपर्ने मापदण्ड भए पनि त्यो हुन नसकेको महाकाली नगरपालिका–९ का प्रदिप सामन्तले बताउनु भयो । उहाँले भन्नु भयो – ‘हामीहरू भारतबाट ११ जना आएका हौँ । सबैलाई एउटै कोठामा थुनेर राखिएको छ । ओढ्ने, ओछ्याउने छैन । त्यसै रात काटनु पर्छ । लामखुट्टेको टोकाइले हैरान पार्छ ।’ नौ ओटै स्थानीय तहले निर्माण गरेका क्वारेण्टाइनमा हालसम्म १ हजार ५ सय ८७ जना रहेको र भारत तथा अन्य जिल्लाबाट पनि आउने क्रम जारी रहेकोले क्वारेण्टाइन व्यवस्थापनमा समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलाका सूचना अधिकारी खगेन्द्रबहादुर कार्कीले बताउनु भयो ।

जिल्लाभरि क्वारेण्टाइनमा बस्नेको सङ्ख्या बढ्दै गएपछि जिल्ला अस्पताल दार्चुलामा सात ओटा आइसोलेशन बेडबाट बढाएर १३ ओटा पु¥याइएको छ भने गोकुलेश्वर अस्पतालमा चार ओटा आइसोलेशन बेड निर्माण गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले बताउनु भयो ।

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार गौरीगङ्गा नगरपालिकाको कालिका माविको क्वारेण्टाइनमा रहेका १९, २०, २४, २८ र ३२ वर्षीय पुरुषमा जेठ २० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि जेठ २० गते राती नै सेती प्रादेशिक अस्पतालमा पठाइएकोमा अस्पतालले भर्ना नलिइ फिर्ता पठाएको गौरीगङ्गा नगरपालिकाका प्रमुख भीमबहादुर देउवाले बताउनु भायो । सङ्क्रमित पाँच जनामध्ये दुई जनालाई ज्वरो आउने, खोकी लाग्ने र बान्तासमेत भइरहेकाले उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएकोमा अस्पतालले फिर्ता पठाएपछि सङ्क्रमित सबै जनालाई वडा नम्बर ४ स्थित मन्दिरको हलमा राखिएको प्रमुख देउवाले बताउनु भयो । सङ्क्रमण पुष्टि भएका बिरामीहरूलाई सेती प्रादेशिक अस्पतालमा पठाउनु भन्ने स्वास्थ्य मन्त्रालयको निर्देशिकामा उल्लेख गरिएको भए पनि निर्देशिकाअनुसार सङ्क्रमितहरूलाई सेती प्रादेशिक अस्पतालले  भर्ना नगरेपछि समस्या भएको नगरपालिकाका प्रमुख देउवाको भनाइ छ । सेती प्रदेशिक अस्पतालमा आइसोलेशन बेडको अभाव भएपछि कोरोना सङ्क्रमित बिरामीलाई भर्ना नगरी फिर्ता पठाउनु परेको सेती प्रादेशिक अस्पतालका सुपरिटेण्डेन्ट डाक्टर हेमराज पाण्डेयले बताउनु भयो । उहाँले भन्नु भयो– ‘२४ शैयाको आइसोलेशनमा २५ जना सङ्क्रमितलाई राखेका छौँ । आइसोलेशन बेड भरिभराउ भएकाले थप पाँच जना कोरोना सङ्क्रमित बिरामीलाई भर्ना गर्न सकेनौँ । आइसोलेशन बेड अभाव भएकाले बाध्य भएर फिर्ता पठाउनु परेको हो ।’ सेती प्रादेशिक अस्पताले भर्ना लिन नमानेपछि एक रात मन्दिरको हलमा राखेर जेठ २१ गते महाकाली अस्पतालसँग समन्वय गरेर पाँचै जना कोरोना सङ्क्रमित बिरामीलाई कञ्चनपुर जिल्लास्थित महाकाली अस्पतालमा पठाइएको गौरीगङ्गा नगरपालिकाका प्रमुख देउवाले बताउनु भयो ।


अनलाइन डेस्क