कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ २० गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा २ हजार ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये २ सय ६६ जना उपचार पछि घर फर्किएको र आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । जेठ २० गतेसम्म ६१ जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । मन्त्रालयले वेभसाइटमा राखेको सूचना अनुसार १० वर्षसम्मका ५५ जना, ११ वर्षदेखि २० वर्षसम्मका ४ सय ८६ जना, २१ वर्षदेखि ३० वर्षसम्मका ८ सय जना, ३१ वर्षदेखि ४० वर्षसम्मकम ४ सय ७४ जना, ४१ वर्षदेखि ५० वर्षसम्मका १ सय ९१ जना, ५१ वर्षदेखि ६० वर्षसम्मका ६३ जना, ६१ वर्षदेखि ७० वर्षसम्मका २३ जना र ७१ वर्षभन्दा माथिका सात जनामा कोरोना देखिएको हो ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार भारतबाट जेठ १ गतेदेखि जेठ १९ गते सम्ममा विराटनगर महानगरपालिकामा १ हजार ८ सय ८९ जना प्रवेश गरेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनु भयो । सरकारले जेठ १३ गतेदेखि मुख्य नाकाबाटै प्रवेश गराउने निर्णय गरेकै दिन रानी नाकाबाट ३ सय ४ जना र सहायक नाकाबाट १ सय ३८ जना नागरिक प्रवेश गरेका थिए । प्रमुख जिल्ला अधिकारी भुजेलका अनुसार पछिल्लो एक साताको अवधिमा १ हजार १ सय जना मुख्य नाका हुँदै प्रवेश गरेका छन् । प्रदेशको प्रमुख नाका विराटनगर, झापाको काकडभिट्टा हुँदै पछिल्लो १५ दिनयता ३ हजार ५ सय ७३ नागरिक नेपाल प्रवेश गरिसकेका छन् ।

सुनसरी प्रतिनिधि जयृकष्ण यादवका अनुसार इटहरी उपमहानगरपालिकाको सुत्केरी भेट कार्यक्रम लिएर उपमेयर लक्ष्मी गौतम सुत्केरीका घरघर पुग्नुभएको छ । लकडाउनकै बीचमा २७ जना सुत्केरीलाई भेटिसकेको उपमेयर गौतमले बताउनु भयो । लकडाउनका कारण ज्यालादारी गर्ने पतिले काम गर्न नपाएको र पाएको राहत पनि मितव्ययी भएर चलाउँदै आएका विपन्न सुत्केरीलाई भेटेर आमा बच्चालाई कपडा, दाल, चामल, गेडागुडी, तेल लगायतका खाद्यान्न उपलब्ध गराएको उपमेयर गौतमले बताउनु भयो ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार साइकृष्ण कलेज एण्ड हस्पिटलमा बनाइएको आइसोलेशनमा राखिएका सङ्क्रमितहरूले बिजुली बत्ती र पानीको व्यवस्था नहुँदा खानेपानी पिउन र शौचालय जान नसकेको भन्दै जेठ २० गते बिहान आइसोलेशन सेन्टरमा नाराबाजी गरे । जेठ १९ गते बिहान वर्षासँगै परेको चट्याङले बिजुली बत्ती बिग्रदा मोटर नचलेर पानीको अभाव भएको आइसोलेशनमा उपचारत बलान विहुल गाउँपालिका–४ का बिरामीले बताए । वैशाख २९ गते पुष्टि भएका पहिलो सङ्क्रमितलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेशन कक्षमा राखिए पनि ५५ जना सङ्क्रमितलाई साइकृष्ण कलेज एण्ड हस्पिटलमा बनाइएको आइसोलेशनमा सारिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले बताउनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जेठ २० गतेसम्म जिल्लाको १७ ओटै स्थानीय तहले निर्माण गरेको क्वारेण्टाइनमा ७८ महिला र १ हजार ५ सय ७२ पुरुष गरी १ हजार ६ सय ५० जना रहेका छन् । भारतबाट आएर क्वारेण्टाइनमा बसेकाहरूको कोरोना परीक्षणबाट दैनिक सङ्क्रमित देखिएपनि उनीहरूले सामाजिक दुरी कायम नगरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । जिल्लामा स्वास्थ्यसम्बन्धी पूर्वाधार तथा जनशक्तिको अभाव रहेको उहाँले बताउनु भयो । क्वारेण्टाइनमा बसेका उनीहरू समूहमै बस्ने गरेको र यसबारे पटक पटक स्थानीय तहका प्रमुख तथा स्वास्थ्य शाखाका प्रमुखहरूलाई आग्रह गरेपनि कसैले ध्यान नदिएको यादवले बाउनु भयो ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार सदरमुकाम जलेश्वरमा रहेको एकमात्र रमानन्द विशेश्वर महेन्द्र क्याम्पस भित्रको क्वारेण्टाइनमा कोरोनाको सङ्क्रमित पुष्टि भएपछि नेपाली सेना राखेर जेठ १७ गतेदेखि शिल गरिए छ । क्वारेण्टाइन अभाव मै भारतबाट जेठ १७ गते आएका जलेश्वर नगरपालिका–८ बजराहीका तीन जनालाई घर मै गएर सेल्फ क्वारेण्टाइनमा बस्न भनिएको थियो । तर, घरमा बालबच्चा तथा परिवारको अन्य सदस्यहरूलाई खतरा हुन सक्ने भन्दै उनीहरू घरमा नबस्ने भन्दै गाउँकै छेउको आँपको बगैँचामा बसेका छन् । खाना समेत आफ्नै घरबाट मगाएर खाइरहेको बताउँदै स्थानीय निकायले अमानवीय व्यवहार गरेको उनीहरूले बताएका छन् ।

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार देवताल गाउँपालिका–२ का १५ वर्षीय बालक कोरोना पुष्टि भएपछि क्वारेण्टाइनमै बसिरहेको भन्दै उपचारका लागि पहल गरिदिन इन्सेक प्रतिनिधिलाई जेठ २० गते पीडित परिवारले आग्रह गरे । बालक भारतबाट जेठ १६ गते आएर क्वारेण्टाइनमा बस्दै आएका थिए । बालकलाई जेठ २० गते कोरोना पुष्टि भएकोे र उपचारका लागि प्रयास गरिरहेको जनस्वास्थ्य कार्यालय प्रमुख राजकिशोर यादवले बताउनु भयो । बालकको उपचारका लागि कसैले जिम्मा नलिएकोे र माथिल्लो निकायले कुनै सल्लाह पनि नदिएकाले कहाँ उपचार गराउने अन्यौलमा परेको देवताल गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजिव कुमार यादवले बताउनु भयो । कलैया उपमहानगरपालिका–३ स्थित प्रादेशिक शैक्षिक तालिम केन्द्र गंगापुरमा ५० बेड क्षमताको आइसोलेशन रहेकोमा ५० जना कोरोना सङ्क्रमितको उपचार भइरहेकाले बेडको व्यवस्था नभएसम्म अरू बिरामीको जिम्मा लिन नसक्ने डा. विवेक कुशवाहाले बताउनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार जिल्लामा कोरोना सङ्क्रमितहरू दिनप्रतिदिन बढ्दो क्रममा रहेका छन् । सङक्रमितहरू आ–आफ्ना स्थानीय तहका क्वारेण्टाइनमा रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेश साहले बताउनु भयो । जिल्लामा आइसोलेशन बेडको अभाव भएको  हुँदा अर्को आइसोलेशन तयार नहुन्जेल उनीहरू बसिरहेको क्वारेण्टाइनमा नै आइसोलेट गरेर राख्ने तयारी गरिएको गौर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट कृष्ण साहले बताउनु भयो ।

बागमती प्रदेश

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार लकडाउनका कारण नियमित रूपमा मृगौलाको डायलासिस गराउने बिरामीहरूले समस्या भोग्नु परेको बिरामीहरूले गुनासो गरेका छन् । धादिङ जिल्लाका १ सय ५० जना मृगौला रोगीले नियमित मृगौलाको डायलोसिस गराउँदै आएका छन् । ४२ जना मृगौला रोगीहरूले एउटै अस्पतालमा डायलासिस गराउँदै आएका छन् । गजुरीका २० वर्षीय सोमबहादुर मगर, त्रिपुरासुन्दरीका ७० वर्षीय ब्रह्मलाल थपलिया लगायत ४२ जनाले एउटै अस्पताल राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा निःशुल्क डायलासिस गराउँदै आएका नेपाल रेडक्रस सोसाइटी धादिङका उपमन्त्री नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा यसरी नियमित डायलासिस गराउनु पर्दा समस्या परेको र खर्च धान्न समेत समस्या परेकोले केही मृगौला रोगीहरूलाई सामाजिक रूपमा रकम सङ्कलन गरेर सहयोग समेत उपलब्ध गराएको श्रेष्ठको भनाइ छ ।

सिन्धुली प्रतिनिधि बिमला पाण्डेका अनुसार कमलामाइ नगरपालिकाले खाद्य सङ्कटमा परेका नागरिकलाई बाँडेको राहतमा नेपाली कांग्रेसलगायतका ६ दल र नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरूले गुणस्तरहीन र तौल कमको आरोप निराधार भएको छ । राजनीतिक दल र वडा अध्यक्षहरूले पटकपटक जिल्ला प्रशासन कार्यालयमा यसबारे जाँच गर्न दबाब दिएपछि जेठ १९ गते कमलामाई नगरपालिका–१३ र १४ मा गरिएको गोदाम सिल र नापजाँचपछि सामानमा गुणस्तरीयता रहेको र नापतौलमा कमी नभएको जिल्ला प्रशासन नेतृत्वको टोलीले जनाएको छ ।

टोलीले राहतको खाद्यान्नको नापतौल, मूल्य र गुणस्तरमा समस्या नभएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका प्रशासकीय अधिकृत उपेन्द्र न्यौपानेको नेतृत्वमा प्रहरी, कमलामाई नगरपालिकामा मेयर खड्ग खत्री, वडाका जनप्रनिनिधिहरू, नेपाली कांग्रेसका सभापति उज्जल बराल सहितको टोलीले राहतको खाद्यान्नको जाँच गरेको थियो ।

भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार सरकारले विदेशबाट ल्याउने प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा राख्ने भएको छ । यसको तयारीको अवस्थाबारे जानकारी दिन जेठ २० गते भक्तपुर आउनु भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले प्रदेश १ र २ का नागरिकलाई राख्ने छुट्टाछुट्टै होल्डिङ्ग सेन्टरको अनुगमन गर्नुभयो ।

अनुगमन टोलीमा सांसद एवम् पूर्वमन्त्री महेश बस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, सूर्यविनायकका प्रमुख बासुदेव थापा, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रलगायतको टोलीलाई जिल्लास्थित सङ्कट व्यवस्थापन समिति (सीएमसी) र सुरक्षा निकायले जानकारी गराएको थियो ।

सरकारले विभिन्न देशबाट फर्कनेमध्ये प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा, बागमती, गण्डकी र प्रदेश ५ का नागरिकलाई काठमाडौंँमा र कर्णाली तथा सुदूरपश्चिम प्रदेशका नागरिकलाई ललितपुर जिल्लामा तोकिएको सेल्टरमा होल्डिङ्गमा राखेर मात्रै सम्बन्धित प्रदेशको समन्वयमा जिल्ला जिल्लामा पठाइने भएको छ । विदेशबाट फर्कनेको समन्वय गर्न सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङ र प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव संयोजकको जिम्मेवारी तोकेको छ ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार लकडाउनका कारण आफूहरूको व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीले जेठ २० गते गोकर्णेश्वर नगरपालिका अगाडि प्रदर्शन गरेका छन् । लकडाउन भएको ७१ आंैँ दिनसम्म पनि आफूहरूले व्यापार गर्न नपाएको र व्यापारका लागि लिएको सटरको भाडा समेत तिर्न मुस्किल परेको जोरपाटीका व्यापारी अनिल लम्सालले जानकारी दिनुभयो । चैतको पहिलो हप्ता सामान हालेका लम्सालको सटर भाडामात्र १८ हजार तिर्नुपर्ने बताउँदै उहाँले कोरनाले भन्दा ऋण र कोठाभाडा तिर्न नसक्ने भएकोमा चिन्ता व्यक्त गर्नुभयो । महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नवीन कार्कीका अनुसार पसल खोल्न पाउनु पर्ने माग गर्दै प्रदर्शनमा उत्रिएका व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिई नगरपालिकासँग छलफल गराइएको थियो । आफूहरूसँग छलफलपछि प्रदर्शन शान्त भएको गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले बताउनु भयो । निश्चित दुरी कायम राख्दै कोरनाका लागि पालना गर्नुपर्ने नियमका साथ केही पसलहरूलाई सञ्चालनमा ल्याउने नगरपालिकाको तयारी रहेको मेयर चालिसेले जानकारी दिनु भयो ।

गण्डकी प्रदेश

पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कोरोना सङ्क्रमण नियन्त्रणका लागि कुश्मा नगरपालिका स्थित शिवालय मावि क्वारेण्टाइन र क्वारेण्टाइन बनाइएको दुई ओटा होटलमा राखेर स्वाब सङ्कलन गरी सम्बन्धित स्थानीय तहमा पठाइएका ३२ जना व्यक्तिहरूलाई पुनः बाटोबाटै क्वारेण्टाइन स्थलमा फर्काइएको छ ।  भारतबाट फर्किएका व्यक्तिहरूको स्वाब परीक्षण रिपोर्ट नआउँदै विभिन्न स्थानीय तहहरूमा  पठाएको र सोही मध्येका पाँच जना व्यक्तिहरू कोरोना पोजेटिभ देखिएपछि पुनः फर्काइएको हो । चिकित्सक, पोखरास्थित प्रयोगशाला र जिल्ला प्रशासन कार्यालय पर्वतबीच आवश्यक समन्वयको अभावमा यस्तो समस्या भएको हो । रिपोर्ट नेगेटिभ आएको भन्ने सूचना प्राप्त भएकाले गाउँ पठाइएको तर सम्बन्धित स्थानमा नपुग्दै रिपोर्ट पोजेटिभ र केही व्यक्तिहरूको रिपोर्ट आउनै बाँकी रहेको खबर प्राप्त गरेपछि फर्काइएको महासिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिनुभयो ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई कोरोना सङ्क्रमण भएका व्यक्तिको उपचार गर्ने कोरोना अस्पताल बनाइएपछि सो अस्पतालको अन्य सेवा प्रभावित भएको छ । क्वारेण्टाइनमा बसेका एक जना युवामा तीन दिन अघि कोरोना पुष्टि भएपछि उनलाई सो अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । त्यसपछि सो अस्पतालको अन्य सबै सेवाहरू अवरूद्ध भएको छ । अस्पतालले नै विज्ञप्ति प्रकाशित गरी अस्पतालबाट दिइने सबै प्रकारका सेवाहरू हाललाई बन्द गरिएको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले कोरोना सङ्क्रमितलाई उपचार गर्ने भएपछि अन्यलाई सङ्क्रमणबाट जोगाउन सबै खाले सेवा हाललाई बन्द गरिएको बताउनुभयो । ‘ओपीडी पूरै बन्द गरिएको छ ।’–उहाँले भन्नुभयो–‘इमर्जेन्सी सेवा केही दिनमा सञ्चालन गर्ने तयारीमा छौँ ।’

उक्त अस्पतालमा सुरूमा २७ बेड क्षमताको आइसोलेशन तयार गरिएको तर जिल्लामा कोरोना सङ्क्रमित फेला नपरेको हुँदा नियमित सेवा सञ्चालनका लागि १२ बेडको आइसोलेशन बनाइएको थियो । यसबीचमा जिल्लामा कोरोना भाइरसको एक जना सङ्क्रमित फेला परेसँगै नियमित सेवा बन्द गरी आइसोलेशन बेड बढाउने र अन्य सेवा बन्द गर्ने निर्णय भएको कार्यकारी निर्देशक डा. श्रेष्ठले बताउनुभयो ।

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जैमिनी नगरपालिकाले स्थानीय तहका शिक्षकहरूलाई दैनिक चार घण्टा टोलटोलमा परिचालन गरेर अभिभावक शिक्षा सञ्चालन गरी कोरोना रोकथामका उपायहरूको बारेमा प्रचारप्रसार गर्न थालेको छ । घरमै पुगेर विद्यार्थीलाई गृहकार्य दिने, विभिन्न टेलिभिजनबाट सञ्चालन गरिएका कक्षा हेर्न आग्रह गर्ने र रेडियो सुन्न आग्रह गर्ने गरिएको नगरपालिकाका नगर शिक्षा अधिकारी खेमप्रसाद आचार्यले बताउनुभयो ।

गाउँपालिकाले विदेशबाट आएका र क्वारेण्टाइनमा रहेका नागरिकको निगरानी राख्नको लागि वडा/वडामा निगरानी समिति गठन गरेको छ । बागलुङको बरेङ गाउँपालिकाले पाँच ओटा वडामा निर्माण भएका १२ ओटा क्वारेण्टाइनमा बस्ने विदेशबाट आएका नागरिकहरूको समस्या र उनीहरूको गतिविधिलाई बुझ्न र स्थानीय तहमा रिपोर्टिङ गर्नको लागि निगरानी समिति निर्माण गरेको गाउँपालिका अध्यक्ष कृष्ण शर्माले बताउनुभयो । उहाँले क्वारेण्टाइनमा बसेकाहरूको स्वास्थ्य अवस्था बुझ्न र खाना लगायतको व्यवस्थापनको लागि निगरानी समितिले भूमिका खेल्ने बताउनुभयो ।

प्रदेश ५

रुपन्देही प्रतिनिधि रिमा बीसीका अनुसार प्रदेश ५ सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुने परिवारलाई १ लाख रुपियाँ दिने निर्णय गरेको छ । जेठ २० गते बसेको मन्त्री परिषदको बैठकले कोरोना सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारकालाई राहत स्वरुप १ लाख रुपियाँ दिने निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री तथा प्रवक्ता बैजनाथ चौधरीले बताउनुभयो । प्रदेश सरकारले कोरोना कोष निर्देशिका परिमार्जन गरी कोरोना विशेष अस्पतालमा खटिने प्रहरीलाई खाना खर्च र स्वाब सङ्कलनमा खटिइने स्वास्थ्यकर्मीलाई भत्ताको व्यवस्था गरेको छ । बैठकले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष (स्थापना र सञ्चालन) निर्देशिका पहिलो संशोधन २०७७ स्वीकृत गर्दे यस्तो सुविधा दिने निर्णय गरेको हो ।

कपिलवस्तु प्रतिनिधि पार्वती अचार्यका अनुसार बुद्धभूमि नपा–१० धनकौलीका किसानहरूले अर्घाखाँचीमा नष्ट गरिएको तरकारीको क्षतिपुर्ति माग गर्दै जेठ २० गते जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । श्रीराम घाट तरकारी कृषि उपज व्यवस्थापन तथा सङ्कलन केन्द्रका अध्यक्ष बहरैती केवटको नेतृत्वमा कपिलवस्तुको तरकारी अर्घाखाँचीमा डिस्पोज गरिएकोमा क्षतिपुर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा ज्ञापनपत्र बुझाइएको हो । अन्य खाद्यान्न सामग्रीहरू लैजाँदा कोरोना नजाने हरियो तरकारीमा कोरोना सर्छ भन्नु गलत भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायया पौडेलले बताउनु भयो ।

कर्णाली प्रदेश

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कर्णाली प्रदेशका विभिन्न स्थानीय तहमा २२ हजार ५ सय बढी व्यक्ति क्वारेण्टाइनमा रहेका जनाएको छ । क्वारेण्टाइनमा बसेकाहरूमध्ये ५ हजार भन्दा बढीको १४ दिने अवधि पुरा हुनै लाग्दा पनि स्वाब परीक्षण हुन सकेको छैन । पीसीआर परीक्षणका लागि आवश्यक पर्ने किट नहुँदा क्वारेण्टाइनबाट घर फर्किँदा पनि परीक्षण गर्न नसकिएको मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायले बताउनु भयो । उहाँका अनुसार प्रदेशका लागि आवश्यक पर्ने किट उपलब्ध गराउन सङ्घीय सरकारसँग माग गरे पनि समयमै उपलब्ध नहुँदा शङ्कास्पदको समेत परीक्षण हुन सकेको छैन । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रीता भण्डारीले भारतबाट आयात गरिएको किटले काम नगरेकोले केही दिनलाई पीसीआर परीक्षण रोकिएको बताउनु भयो । जेठ १९ गते १ हजार किट आइसकेको र जेठ २० गतेदेखि अत्यावश्यक स्थानमा क्रमशः पीसीआर परीक्षण गरिने उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय, डोटीका निर्देशक डाक्टर गुणराज अवस्थीले स्थानीय तहलाई पत्राचार गर्दै आरडीटी र पीसीआर परीक्षणमा पोजेटिभ भएकालाई व्यवस्थापन गर्न कम्तीमा पनि ५० शैयाको आइसोलेशन तयारी अवस्थामा राख्न स्थानीय तहहरूलाई अनुरोध गर्नुभएको छ । सुदूरपश्चिममा देखिएका कोरोना सङ्क्रमित लक्षणविहीन अवस्थाका भएकाले यसप्रकारका बिरामीहरूको उपचारका लागि स्थानीयस्तरमा भएका स्वास्थ्यकर्मी र नर्सिङ कर्मचारीले गर्न सक्ने भन्दै आइसोलेशन तयारी अवस्थामा राख्न अनुरोध गरिएको डाक्टर अवस्थीको भनाइ छ ।

दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्लाका नौ ओटै स्थानीय तहमा भारतमा रोजगारीका लागि गएका नेपाली नागरिकहरू दिनानुदिन फर्कने क्रम बढ्दै गएपछि क्वारेण्टाइन व्यवस्थापनमा चुनौती देखिएको महाकाली नगरपालिकाका विपद् व्यवस्थापन समितिका संयोजक भुवन जोशीले बताउनु भयो । जेठ २० गतेसम्म जिल्लाभर १ हजार १ सय ६४ जना क्वारेण्टाइनमा रहेको भए पनि स्थानीय तहहरूले मापदण्ड अनुसार क्वारेण्टाइनमा राख्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनु भयो । उहाँले भन्नु भयो–‘मान्छेको चाप बढेको छ । व्यवस्थित रूपमा स्थानीय तहले क्वारेण्टाइन बनाउन सकिरहेका छैनन् । गुनासोहरू पनि आउँछन् तर श्रोत साधन बिना नै क्वारेण्टाइनमा राख्ने काम गरिएको छ ।’ भारतबाट आएकाहरूलाई १४ दिन क्वारेण्टाइन र १५ औँ दिनमा स्वास्थ्य परीक्षण गरी एक हप्ता होम क्वारेण्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको र नेपालका विभिन्न शहरबाट फर्किएकाहरूलाई १० दिन संस्थागत क्वारेण्टाइन र ११ औँ दिनमा स्वास्थ्य परीक्षण गराएर होम क्वारेण्टाइनमा राख्नुपर्ने जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताउनु भयो ।

अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोरोना सङ्क्रमित व्यक्तिको उपचारमा संलग्न हुनुपर्ने भन्दै जेठ २० गतेदेखि अछाम जिल्ला अस्पताल र बयलपाटा अस्पतालले अत्यावश्यक सेवाबाहेकका बिरामीहरूको उपचारमा रोक लगाएको छ । सामान्य रोगमा बिरामीहरू अस्पतालमा आएपछि कोरोना सङ्क्रमण सर्ने सम्भावना भएको भन्दै दुवै अस्पतालले सूचना जारी गर्दै अत्यावश्यकबाहेकका सेवा बन्द गरेका हुन् । अछाम जिल्ला अस्पताललाई लेभल एक अस्पताल तोकिएपछि कोरोना भाइरस सङक्रमितको उपचार गर्नुपर्ने भएकाले अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरू बन्द गरिएको अछाम जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मनोज विष्टले बताउनु भयो । डाक्टर विष्टले गर्भवती, खोप र अत्यावश्यक सेवा भने बन्द नहुने बताउनु भयो । यसैगरी, बयालपाटा अस्पतालले पनि उपचार गर्न आएका एक जनामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएकाले सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अत्यावश्यक सेवाबाहेकका अन्य सेवाहरू बन्द गरिएको बयालपाटा अस्पतालका स्वास्थ्य सेवा निर्देशक डाक्टर विकास गौचनले बताउनु भयो ।

बैतडी प्रतिनिधि नरी बडुका अनुसार पुर्चौंडी नगरपालिका–४ भटनास्थित मालिका माध्यमिक विद्यालयको क्वारेण्टाइनमा बसेकी २२ वर्षीया सुनिता लुहारको जेठ २० गते बिहान मृत्यु भएको छ । मुटु रोगको नियमित सेवन गर्नुपर्ने औषधि किन्न पैसा नहुँदा ज्यान गुमाउनु परेको मृतकका पति हरिश लुहारको भनाइ छ ।  मृतक लुहार मुटु रोगको बिरामी रहेको भटना स्वास्थ्य चौकीका इञ्चार्ज रोहितकुमार धानुकले बताउनु भयो । मृतक लुहार भारतको पञ्जाबबाट मुटु रोगको उपचार गराएर जेठ १६ गते गौरीफण्टा नाका हुँदै पति र १८ महिने छोरासहित गाउँ फर्केकोमा जेठ १८ गतेदेखि क्वारेण्टाइनमा राखिएको थियो । भारतको पञ्जाबबाट मुटु रोगको उपचार गराएर फर्किएको भए पनि आर्थिक अभावका कारण विगत १२ दिनदेखि औषधि सेवन नगरेको मृतकमा पति हरिश लुहारको भनाइ छ । उहाँले भन्नु भयो– ‘बाटोमै औषधि सकियो । थप औषधि किन्ने पैसा थिएन । खासै अप्ठ्यारो पनि महसुस नभएकाले त्यति जोर गरिएन । यहाँ हाम्रा लागि औषधिको व्यवस्था कस्ले गरी दिन्थ्यो । सबैलाई क्वारेण्टाइनमै बसाउन हतार थियो ।’ मृतक लुहारको स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली पुचौँडीतर्फ गएको र स्वाब सङ्कलन गरी धनगढीस्थित प्रयोगशालामा पठाइने जनस्वास्थ्य अधिकृत योगेश भट्टले बताउनु भयो ।

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार सरकारले तयार गरेको क्वारेण्टाइन व्यवस्थापन मापदण्ड अनुसार आफूहरूलाई नराखिएको धनगढी नगरपालिकास्थित क्वारेण्टाइनमा बसेकाहरूले गुनासो गरेका छन् । धनगढी नगरपालिका–८ बहुमुखी क्याम्पसको क्वारेण्टाइनमा रहेका २८ वर्षीय नारायण रानाले गर्मीको समय भएको र लामखुट्टेहरू धेरै रहेको भए पनि झुलबिना नै सुत्नु परेको दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो–‘न त हामीलाई झुल दिइएको छ न त राम्रो खाना नै ! साबुन, सेनिटाइजर, मास्क केही पनि दिइएको छैन । भारतबाट दिनहुँ आउने नेपालीलाई सँगै राखिएको छ । सुरक्षितभन्दा पनि जोखिम बढेको छ ।’ यसैगरी, धनगढी उपमहानगरपालिका–९ स्थित सरस्वती प्राथमिक विद्यालय र भवानी माध्यमिक विद्यालयमा तयार गरिएको क्वारेण्टाइनमा बस्दै आएका ३६ वर्षीय दिपक मल्लले पनि स्थानीय सरकारबाट कुनै पनि सहयोग नपाएको र नजिक घर भएका कारण खानासमेत घरका सदस्यले पुर्‍याउने गरेको गुनासो गर्नु भयो । उहाँले भन्नु भयो–‘हामीलाई क्वारेण्टाइनमा बस्नका लागि कपडासमेत दिइएको छैन । कोठामा बत्ति र पङ्खाको व्यवस्था पनि छैन । कोठा अभावका कारण समाजिक दुरी पनि कायम गरिएको छैन । सेनिटाइजर त उपलब्ध गराइ दिनुस् भनेर पटकपटक अनुरोध गर्दा कसैले वास्ता गरेका छैनन् ।’

क्वारेण्टाइनमा रहेकाहरूको स्वास्थ्य परीक्षण, खानपान तथा बस्नको उचित व्यवस्था, आवश्यक स्वास्थ्य सामग्री मास्क, सेनिटाइजरको उपलब्धता, समाजिक दुरी कायम र नियमित निगरानीको अभावका कारण क्वारेण्टाइनबाटै सङ्क्रमण फैलिने खतरा बढेको क्वारेण्टाइनमा रहेकाहरूको भनाइ छ । क्वारेण्टाइन व्यवस्थापनका संयोजक तथा धनगढी उपमहानगरपालिका–८ का अध्यक्ष नारायण बरालले दिनहुँ भित्रिने नेपालीहरूका कारण क्वारेण्टाइन व्यवस्थापनमा चुनौती थपिएको बताउनु भयो । नजिकै घर रहेकाहरूलाई खाना, लुगा आवश्यक पर्ने सामानको व्यवस्थापन घरैबाट गर्न भनिएको र जिल्ला बाहिरकालाई स्थानीय सरकारले व्यवस्था गरेको अध्यक्ष बरालको भनाइ छ । हाल धनगढी उपमहानगरपालिकाभित्र २९ ओटा क्वारेण्टाइन स्थलमा ९ सय ३७ पुरूष, १ सय ५० महिला, ३२ बालक र सात बालिका गरी १ हजार १ सय २८ जना रहेको क्वारेण्टाइन व्यवस्थापन समितिका संयोजक नारायण बरालले जानकारी दिनु भयो ।  सरकारले तयार गरेको क्वारेण्टाइन व्यवस्थापन मापदण्डअनुसार क्वारेण्टाइनमा स्वास्थ्य, सञ्चार, खानेपानी, विद्युतको पू्र्ण व्यवस्था हुनुपर्ने, सम्भव भएसम्म १ सयभन्दा बढी व्यक्ति राख्ने क्षमताको क्वारेण्टाइन हुनुपर्ने, प्रति १ सय जनाको लागि एक जना चिकित्सकसहित आठ जना स्वास्थ्यकर्मीको टिम परिचालन गर्नुपर्ने उल्लेख गरिएको भए पनि यसको कार्यान्वयन हुन सकेको छैन ।


अनलाइन डेस्क