कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख १३ गते)

क्वारेण्टाइनमा रहेका केहीमा औलो सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनु भएको छ । क्वारेण्टाइनमा रहेकाहरूको परीक्षण गर्दा केहीमा रिपोर्ट पोजेटिभ आएको उहाँले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । तर, कति जनामा औलो देखियो भन्ने खुलाइएको छैन ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाइ उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । वैशाख १३ गते बसेको कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले तत्काल हवाइ उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गर्नुभएको थियो । त्यसपछि वैशाख ३ गतेसम्म प्रतिबन्ध लम्बाइएको थियो । त्यसपछि फेरि वैशाख १८ गतेसम्म प्रतिबन्ध विस्तार भएको थियो । सो समितिले एक सातासम्म लकडाउन थप गर्न सरकारलाई सिफारिस समेत गरेको छ ।

data2077_01_13_1

प्रदेश १

प्रदेश १ मा वैशाख १३ गतेसम्म पीसीआर र आरडीटी विधिबाट ५ हजार २ सय १२ जनाको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । पीसीआर विधिबाट शङ्कास्पद ९ सय १४ जनाको परीक्षण गरिएको छ । २ सय ४५ जना महिला र ६ सय ६९ जना पुरुषको कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये दुई जना महिला र २८ जना पुरुषसहित ३० जनाको रिपोर्ट पोजेटिभ आएको छ । १ सय १० जना महिला र ५ सय ८९ जना पुरुषसहित ६ सय ९९ जनाको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब सङ्कलन गरिएकामध्ये १ सय ८५ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । वैशाख १३ गतेसम्म आरडीटी विधिबाट ४ हजार २ सय ९८ जनाको एण्टीवडी परीक्षण गरिएको छ । एण्टीवडी परीक्षण गरिएकामध्ये १० जनामा पोजेटिभ देखिएको थियो । आरडीटीमा ७ सय दुई जना महिला र ३ हजार ५ सय ८६ जना पुरुष गरी ४ हजार २ सय ८८ जनाको नेगेटिभ रिपोर्ट आएको छ । प्रदेश १ मा वैशाख १३ गतेसम्म ४ हजार ९ सय ७२ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । क्वारेन्टाइनमा वैशाख १३ गतेसम्म १ सय २९ जना महिला र १ हजार ७५ जना पुरुष गरी १ हजार २ सय ४ जना बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा वैशाख १३ गतेसम्म दुई जना महिला र २९ जना पुरुष गरी ३१ जना आइसोलेशनमा बसेका छन् । प्रदेश १ मा होमक्वारेन्टाइनमा बस्नेको सङ्ख्या ५ हजार ७ सय १५ पुगेको छ । होमक्वारेन्टाइनमा १ हजार तीन जना महिला र ४ हजार ७ सय १२ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

data2077_01_13_2

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरसविरूद्ध सबै एक भएर लाग्नु पर्ने बताउनु भएको छ । वैशाख १३ गते कोरोनाबाट प्रभावित उदयपुर र भोजपुर पुगेर मुख्यमन्त्री राईले सो कुरा बताउनु भएको हो । कोरोना प्रभावित क्षेत्रका स्थानीयहरूलाई मुख्यमन्त्री राईले त्रसित नभइ बस्न आग्रह गर्नुभएको छ । तपाईंहरूको साथमा प्रदेश सरकार छ, नआत्ति बस्नुहोस्, मुख्यमन्त्री राईले भन्नुभयो । मुख्यमन्त्री राईले सङ्क्रमितको उपचार र फराकिलो ढङ्गले नागरिकको स्वास्थ्य परीक्षण गरिने समेत बताउनु भयो । मुख्यमन्त्रीसँग आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपाली सेनाको टोली कोरोना प्रभावित क्षेत्रमा पुगेको हो । प्रभावित क्षेत्र पुगेर आन्तरिक मामिला तथा कानुन मन्त्री कार्कीले शान्ति सुरक्षाका विषयमा सुरक्षा निकायका अधिकारीहरूसँग जानकारी लिनुभएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले हतुवागढी लगायतका क्षेत्रहरूमा आरडीटी टेष्टका लागि प्रदेश सरकारले आवश्यक स्रोत साधन, स्वास्थ्य सामग्री र जनशक्ति उपलब्ध गराउने बताउनु भएको छ । मुख्यमन्त्री सहितको टोली हेलिकोप्टर मार्फत हतुवागढीबाट कोरोनाको बढी प्रभावित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका पुगेको थियो । मुख्यमन्त्री राईको टोलीले उदयपुरको भुल्के, भोजपुरको हतुवागढी र उदयपुरको कटारी नगरपालिका–१ बेलसोतमा रहेको क्वारेन्टाइन स्थलको समेत निरीक्षण गर्नु भएको छ । मुख्यमन्त्रीको टोलीले उदपयुर र भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत प्रदान गरेको छ । त्यहाँ कोरोना भाइरस परीक्षण गर्ने स्वास्थ्य सामग्री अभाव थियो । मुख्यमन्त्री राई सहितको टोलीले थर्मगन, पीपीइ, एन ९५ माक्स, सेनिटाइजर, ग्लोब्स, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री हतुवागढी र उदयपुर पुर्‍याएको हो ।

दमक नगरपालिका–३ का ६२ वर्षीय एक जना कोरोना सङ्क्रमण पुष्टि भएपछि दमक नगरपालिकाले वडा–३ लाई ‘सिल’ गरेको छ । नगरपालिकाकी प्रवक्ता एवम् उपप्रमुख गीता अधिकारीले वडा–३ का एकैघरका चार जनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षण गर्दा एक जनामा पोजेटिभ भेटिएको बताउनु भयो ।

सुनसरीको हरीनगर गाउँपालिकामा राहत वितरणको विषयमा झडप भएको छ । जिल्लाको सिमावर्ती हरिनगर गाउँपालिका –४ मा राहतको विषयमा विवाद उत्पन हुँदा झडप भएको छ । प्लान इन्टरनेश्नल नेपाल नामक संस्थाले वितरण गरेको राहतमा वडा सदस्य लखन महतोले आफ्नो आसेपासेलाई मात्र वितरण गरेको भन्दै झडप भएको हो ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

data2077_01_13_3

प्रदेश २

प्रदेश २ मा वैशाख १३ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद १ हजार २ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा ६ सय ३१ को रिपोर्ट नेगेटिभ आएको छ भने पाँच जनाको रिपोर्ट पोजेटिभ आएको छ । ६ सय ५४ जनाको रिपोर्ट आउन बाँकी रहेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस प्रदेशमा पीसीआर परीक्षण मार्फत पोजेटिभ प्रमाणित भएका पाँच जनाको पर्साको बीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये पर्सा जिल्लाका तीन जना र रौतहट जिल्लाका एक जना कोरोना सङ्क्रमितको लगातार दोस्रो पटकको पीसीआर परीक्षणबाट समेत नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले बताउनु भयो ।

त्यसैगरी, वैशाख १३ गतेसम्म आरडीटी किटबाट परीक्षण ४ हजार ४ सय ४८ जनाको गरिएकोमा ४ हजार ४ सय ३९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने नौ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा ३ हजार ६ सय ७५ क्वारेन्टाइन बेड सङ्ख्या रहेकोमा वैशाख १३ गतेसम्म १ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् भने १ हजार ६ सय ३९ जना होमक्वारेन्टाइनमा रहेका छन् । कोरोना आशङ्का गरिएका २३ जना बिरामी आइसोलेशन वार्डमा उपचारार्थ छन् । प्रदेशमा आइसोलेशन बेड सङ्ख्या २ सय २७ रहेको छ ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

data2077_01_13_4

बागमती प्रदेश

बागमती प्रदेशमा वैशाख १३ गतेसम्म ७ हजार ४ सय ६७ जनामा आरडीटी विधिबाट र ७ हजार ४ सय ८५ जनामा पीसीआर विधिबाट परीक्षण गरिएको छ । बागमती प्रदेशमा सात जनामा कोरोना देखकिामा ६ जना निको भएर घर फर्किसकेका छन् भने एक जनाको उपचार जारी रहेको छ ।

बेलकोटगढी नपा–८ ठूलोखोलामा रहेको इँटाभट्टाबाट घर हिँडेका भारतीय मजदुरलाई धादिङको गल्छीबाट नुवाकोट नै फिर्ता पठाइएको छ । नेपाल भारत सीमा सिल भएको कारण भारत पठाउन नसकिने भन्दै प्रहरीले इँटाभट्टा सञ्चालकसँग समन्वय गरी ८९ जना भारतीय मजदुरलाई उद्योगमै फिर्ता पठाएको धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले जानकारी दिनुभयो ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

बागलुङ जिल्लाकी दोस्रो कोरोना सङ्क्रमित १९ वर्षीया युवती कोरोना मुक्त भएर वैशाख १२ गते राति अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । यसका साथै प्रदेशमा कोरोना सङ्क्रमण भएका दुवै जना सङ्क्रमित निको भई घर फर्किसकेका छन् । हाल गण्डकी प्रदेशमा आइसोलेशन वार्डमा दुई जना छन् भने कुनै पनि नयाँ सङ्क्रमित फेला परेका छैनन् । तर, गण्डकी प्रदेश सरकारले आइसोलेशनमा एक जना पनि नरहेको जनाएको छ । गण्डकी प्रदेशमा दुई जनामा कोरोना देखिएकामा दुवै जना बाग्लुङका थिए । यसअघि नै ६५ वर्षीया महिलाको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुनुभएको थियो । वैशाख १३ गतेसम्म प्रदेशभर ४ हजार ८ सय ७१ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको र सबैको अवस्था सामान्य रहेको छ ।

कास्कीको मादी गाउँपालिका वडा ५ मा लकडाउन कारण अस्पतालसम्म पुग्न नपाइ औषधि सेवन गर्न नपाएका, असहाय, अशक्त र नियमित उपचारबाट वञ्चित ५६ जना बिरामीलाई घरघरमा गएर स्वास्थ्य जाँच तथा निःशुल्क औषधि वितरण गरिएको छ ।

हिउँदको जाडो छल्न र व्यापार गर्नका लागि बेसी झरेका हिमालपारीको जिल्ला मुस्ताङ्का बासिन्दा कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण आफ्नो जिल्ला प्रवेश गर्न पाएका छैनन् । व्यापारको सिलसिलामा बेसी झरेका १ हजार ५ सय जति मुस्ताङ्गीहरू जिल्ला फर्कन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकरी वेदप्रसाद अर्यालले बताउनुभयो ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

भारतको क्वारेण्टाइनमा रहेका नेपाली र नेपालको क्वारेण्टाइनमा रहेका भारतीयहरूलाई आ–आफ्नो देश फर्काउने क्रम सुरू भएको छ । भारतलगायतका मुलुकबाट फर्कने क्रममा लकडाउनकामा परी भारतको नौतुनहवा इन्टर कलेजको क्वारेण्टाइनमा रहेका १ सय १२ जना नेपालीहरू २५ दिनपछि वैशाख १२ र १३ गते नेपाल आएका छन् । क्वारेन्टाइनमा रहेका ३ सय ३५ जना नेपालीमध्ये पहिलो चरणमा वैशाख १२ गते १ सय जनालाई स्वास्थ्य परीक्षण गरी भारतबाट नेपाल भित्र्याइएको हो । यसैगरी लकडाउनको समयमा सीमा क्षेत्रमा अलपत्र रहेका १ सय ५२ जना भारतीयलाई भैरहवास्थित प्रतिमा–नीमा स्मृति प्रतिष्ठानको क्वारेण्टाइनबाट २५ दिनपछि वैशाख १३ गते भारत पठाइएको छ ।

नवलपरासी पश्चिम जिल्लाको रामग्राम नपा–१७ र १८ मा राहत वितरणमा विवाद भएपछि स्थानीयले एक जना प्रहरीमाथि आक्रमण गरेका छन् । रामग्राम नपा– १७ का वडाध्यक्ष जितबहादुर गोसाइँका अनुसार विवादका कारण केही समय राहत वितरण रोकिए पनि पुनः सुचारू भई २ सय विपन्न तथा गरिब परिवारलाई राहत वितरण गरिएको छ ।

काठमाडौँ तथा देशका अन्य भेगबाट रोल्पा आएका ३ हजार ८ सय ९ जनाको अनिवार्य रूपमा आरडीटी परीक्षण गर्नुपर्ने, खाद्यान्न अभाव हुन नदिनको लागि सामान ढुवानी गरी भण्डार राख्नु पर्नेलगायतका निर्णय रोल्पाका स्थानीय तहले गरेका छन् ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

विश्वभर कोरोना भाइरस (कोभिड–१९)को महामारी फैलिएको भन्दै हुम्लाको ताँजाकोट गाउँपालिकाले गाउँगाउँमा रहेका स्वास्थ्य संस्था र हेल्थडेस्कहरूका लागि वैशाख ११ गते विभिन्न किसिमका स्वास्थ्य सामग्री र उपकरणहरू पुर्‍याएको छ ।

जाजरकोट जिल्लामा खाद्यान्नको माग बढेपछि मौज्दात चामलले खाद्य सङ्कट टार्न नसक्ने भन्दै जिल्ला खाद्य व्यवस्था समितिले सरकारसँग थप २६ हजार क्वीन्टल खाद्यान्नको माग गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका डिपोहरूमा चामलको स्टक सकिँदै गएको र डिपोहरू नजिक नहुँदा चामल लिन समस्या भएपछि थप सात ठाउँमा सहुलियत दरको चामलको व्यवस्था गर्न माग गरिएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताउनु भयो ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

नेपाल–भारत सीमा क्षेत्रमा नाका बन्द गरिएको एक महिना बढी भइसक्यो । अवैध आवतजावतलाई पूर्णरूपमा नियन्त्रण गर्ने भनिए पनि दार्चुलामा महाकाली नदी तरेर आउने क्रम झन् बढ्दो छ । जिल्ला प्रहरी कार्यालय, दार्चुलाकाअनुसार वैशाख १३ गतेसम्म एक महिनाको अवधिमा २ सय ५५ जना अवैधरूपमा महाकाली नदी तरेर नेपाल आएका छन् ।

सेती अस्पतालमा उपचारत धनगढी उपमहानगरपालिका–५ की ३४ वर्षीया महिलाको वैशाख १३ गते चौथोपटक गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालले जनाएको छ । उनलाई चैत २२ गते कोरोना पुष्टि भएपछि यसअघि तीन पटक परीक्षण भइसकेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनु भयो । हाल सेती प्रादेशिक अस्पतालको आइसोलेशन वार्डमा उनको उपचार भइरहेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलको संयोजकत्वमा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले जिल्लाभित्र विकास निर्माण आयोजना र उद्योगहरू सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ ।

बैतडी जिल्लाको मेलौली नगरपालिकाले जारी लकडाउनका कारण सामाजिक भत्ता वितरणमा ढिलाइ भएपछि सम्बन्धित वडा कार्यालयमार्फत घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको नगर उपप्रमुख राधा ओझाले जानकारी दिनु भयो ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क