कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ६ गते)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ ६ गते थप २७ जना व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये झापाका नौ, मोरङका एक, सुनसरीका एक, सर्लाहीका दुई, काठमाडौँको तीन, भक्तपुरका एक, ललितपुरका एक, मकवानपुरका एक, रामेछापका एक, सिन्धुलीका एक, लमजुङका एक, कपिलवस्तुका चार र नवलपरासी पश्चिमा एक जना रहेका छन् । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । जसमध्ये पुरुष ३ सय ४० र महिला ६२ जना रहेका छन् भने सङ्क्रमण फैलिकएको जिल्ला ३६ पुगेको छ । डिस्चार्ज हुनेको सङ्ख्या ३७ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार अब लक्षण नभएका स्वदेशी तथा विदेशी नागरिकले आरडीटी र पीसीआर गर्न पाउने छन् । यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड पालना गर्नुका साथै सूचनाको गोपनीयता र नियमित रिपोर्टिङ गर्ने गरी सार्वजनिक स्वास्थ्य संस्थामा सशुल्क परीक्षण गर्न दिने निर्णय भएको छ ।
प्रदेश १
प्रदेश १ मा जेठ ६ गते ११ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । झापाको केचनाकवलका नौ जना, सुनसरीको इटहरी उपमहानगरपालिकाका एक जना र मोरङको पथरीशनिश्चरेका एक जनामा सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ । प्रदेशमा सात जिल्लामा कोरोना सङ्क्रमित देखिएका छन् । उदयपुरमा ३३ जना, झापामा १२ जना, मोरङमा चार जना, सुनसरीमा दुई जना, खोटाङमा एक जना, धनकुुटामा एक जना र भोजपुरमा एक जना सङ्क्रमित देखिएका हुन् । सङ्क्रमितमध्ये १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका १५ जना, झापाका दुई जना र भोजपुरका एक जना छन् । डिस्चार्ज भएका सात जना भारतीय नागरिक हुन् ।
प्रदेश २
यस प्रदेशमा जेठ ६ गते सर्लाहीका दुई जना व्यक्तिहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । जसअनुरुप सर्लाही जिल्ला बागमती नगरपालिका–९ का ३४ वर्षीय पुरुष र उदयपुर जिल्ला घरभई सर्लाहीको हरिवन नगरपालिका–१० नयाँ रोड बस्ने ३१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी विश्वमणी पोखरेलले बताउनु भयो । सङ्क्रमित मध्ये बागतमती नगरपालिका–९ का व्यक्ति हाल काठमाडौँमै बस्दै आएका छन् भने हरिवान नगरपालिका–१० नयाँ रोडमा डेरा गरी बस्ने व्यक्तिलाई जनकपुर पठाउने तयारी भइरहेको हरिवन नगरपालिकाका नगर प्रमुख गणेश प्रसाइँले बताउनु भयो ।
बागमती प्रदेश
कोरोनाको आशङ्कामा यस प्रदेशमा हालसम्म १३ हजार १ सय ९७ जनामा आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ । जसमध्ये १ सय १३ जनामा एण्टिबडी पोजेटिभ देखिएको छ । यस्तै हालसम्म ४ हजार ७ सय ८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।
धादिङको थाक्रे गाउँपालिका–७ स्थित जुँगेखोला क्षेत्रमा कोरोना सङ्क्रमितको पहिचान भएकाले सो क्षेत्रमा जेठ ६ गतेदेखि ११ गतेसम्मका लागि ‘सिल’ गरिएको छ ।
ललितपुरको पाटन अस्पतालमा जेठ ६ गते १६ जनाको आइसोलेसन वार्डमा उपचार भइरहेको अस्पतालले जनाएको छ । कोभिड–१९को पुष्टि भएका पाँच जनालाई समेत आइसियूमा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ । काठमाडौँ महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका ‘सिल’ गर्न नेपाल सरकार, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग आग्रह गरेको छ ।
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा जेठ ६ गतेसम्म १ हजार ३ सय ३१ जनाको स्वाब परीक्षण गरिएको छ भने १ हजार ८१ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । २ सय ४७ जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । प्रदेशमा जेठ ६ गते सम्म ६ हजार ९ सय ९८ जनाको ¥यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।
प्रदेश ५
बाँकेको नरैनापुरका थप १२ जना पुरुषमा कोरोना पुष्टि भएको छ । योसँगै नरैनापुरमा ५९ जना सङ्क्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै नरैनापुर गाउँपालिका–५ का निवासी रहेका छन । बाँकेमा जेठ ५ र ६ गते पीसीआर परीक्षणबाट कोरोना पोजेटिभ पुष्टि भएका ५९ जना सङ्क्रमितहरू कोरोना नदेखिएकाहरूसँगै एउटै क्वारेण्टाइनमा बसिरहेका छ्न ।
कर्णाली प्रदेश
दैलेख जिल्लाको आठबीस नगरपालिका–१ सात्तलास्थित क्वारेण्टाइनमा रहेका ३८ जनाको जेठ ३ गते नोजल स्वाब सङ्कलन गरिएकोमा ३५ वर्षीय युवकको जेठ ५ गते कोरोना पुष्टि भएपछि जेठ ६ गते जिल्ला सदरमुकामको आइसोलेशन वार्डमा लगिएको छ ।
हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–५ यारीस्थित क्वारेण्टाइनमा रहेका १७ जनाको जेठ ३ गते आरडिटी परीक्षण गर्दा एक जनाको रिपोर्ट शङ्कास्पद देखिएपछि जेठ ६ गते हेलिकप्टरमार्फत स्वाब सुर्खेत पठाइएको छ ।
रुकुम (पश्चिम)मा कोराना भाइरसको सङ्क्रमण बढ्दै आएपछि स्थानीय तहहरूले भारत तथा अन्य मुलुुकबाट आउने नागरिकलाई जिल्लाको सीमाबाटै क्वारेण्टाइनमा लैजाने, अनिवार्य १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर रिपोर्टपछि मात्रै घर फिर्ता पठाउनेजस्ता तयारी गरेका छन् । जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकाले लडाउनका कारण प्रभावित विपन्न नागरिकलाई छाक टार्नका लागि २ नम्बर वडाका १ सय ८६ जनालाई राहत वितरण गरेको छ ।
सुदूरपश्चिम प्रदेश
अछाम जिल्ला तुर्माखाँद गाउँपालिकाका सात जनाको नेपालगञ्जमा मृत्यु भएका युवकसँगै क्वारेण्टाइनमा रहेको आशङ्कामा जेठ ६ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत पठाइएको छ । साथै, क्वारेण्टाइनमा रहेका बान्नीगढी जयगढ गाउँपालिकाका एक युवकमा आरडीटी परीक्षणमा पोजेभिट देखिएपछि पीसीआर परीक्षणका लागि सुर्खेत पठाइएको र जेठ ५ गतेबाट वयलपाटा अस्पतालको आइसोलेशनमा राखिएको छ ।
दार्चुला जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको जेठ ६ गते जिल्ला सदरमुकाम खलङ्गामा भएको बैठकमा नौ ओटै स्थानीय तहका जनप्रतिनिधिहरूले सीमा पारी अलपत्र रहेका नेपाली मजदुरहरूको उद्दार गर्नुपर्ने माग गरेका छन् ।
डोटी जिल्ला आदर्श गाउँपालिका–६ को वडा अध्यक्ष लालबहादुर खडायतको अध्यक्षतामा बसेको बैठकले वडासँग जोडिएका सीमा नाकाबाट विभिन्न माध्यमबाट वडा प्रवेश गर्ने भएकाले एक गाउँबाट अर्को गाउँमा जान रोक लगाउने निर्णय गरेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…