कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १४ गते)

असोज १४ गते १ हजार ५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ७७ हजार ८ सय १७ पुगेको छ । गत २४ घण्टामा १२ हजार २ सय ५ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज १४ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय ९८ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ५६ हजार ४ सय २८ जना निको भएका छन् । असोज १४ गते १ हजार ५७ जना निको भएका छन् भने निको दर ७२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २० हजार ८ सय ९१ जनाको उपचार भइरहेको छ ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार असोज १४ गते बिहान कोरोनाबाट सङ्क्रमित अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ बनौलीका ३५ वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् । धरानस्थित प्रयोगशालामा गरिएको परीक्षणमा असोज ८ गते कोरोना सङ्क्रमण पुष्टि भएकोमा कोभिड अस्पताल धरानको भेण्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको बिरामीको स्याहारमा संलग्न उहाँका भाइले जानकारी दिनु भयो । १४ वर्षको उमेरदेखि नै चिनी रोगबाट पीडित उनको आठ दिन उपचार गरेपछि गोल्डेन अस्पताल विराटनगरले दुवै मिर्गौलाले काम गर्न छाडेको भन्दै घर फर्काएको थियो । गोल्डेन अस्पतालमा भदौ २७ गते गरिएको परीक्षणमा कोरोना सङ्क्रमण नेगेटिभ आएको थियो । गोल्डेन अस्पतालले घर फर्काएपछि एक रात घरमा रहेर पुनः उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेकोमा असोज ८ गते बिरामीमा कोरोना सङक्रमण देखिएको अग्नीसाइर कृष्णसवरण गाउँपालिका–४ का वडा अध्यक्ष तेजनारायण यादवले जानकारी दिनु भयो ।

गण्डकी प्रदेश

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार असोज १४ गते २५ वर्षीय प्रहरीमा कोरोना सङक्रमण पुष्टि भएपछि गोरखा नगरपालिका–११ को बाह्रकिलो प्रहरी चौकी सील गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी सुरेन्द्र गुरुङले बताउनुभयो । उहाँले प्रहरी चौकीमा कार्यरत अन्य १२ प्रहरीलाई चौकी भित्रै क्वारेण्टाइनमा राखेर प्रहरी चौकी सील गरेको बताउनुभयो । यसका साथै उहाँले अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि बाह्रकिला प्रहरी चौकीबाट प्रवाह हुने सेवा जिल्ला प्रहरी कार्यालयबाटै हुने बताउनुभयो ।

२९ वर्षीय पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरानचोक गाउँपालिकाबाट प्रवाह हुने सेवा एक साताका लागि बन्द गरिएको छ । असोज १४ गते एक सूचना प्रकाशित गर्दै गाउँपालिकाले सेवा बन्द गरेको जानकारी गराएको हो । कोरोना सङक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सेवा बन्द गरेको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनुभयो ।

प्रदेश ५

नेपालगञ्ज उपमनपा–१ धम्बोझीकी कोरोना सङ्क्रमित ३५ वर्षीया महिलाको असोज १४ गते मृत्यु भएको छ । यससँगै बाँकेमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार विगत केही समयदेखि मधुमेह, उच्च रक्तचाप र हाइपोथाइराइडिज्मको बिरामी रहेकी महिलाको स्वास्थ्यमा समस्या आएपछि असोज २ गते भेरी अस्पताल नेपालगञ्जको प्रि–आइसोलेशन वार्डमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा असोज २ गते लिइएको स्वाब परीक्षण गर्दा असोज ३ गते आएको रिपोर्टमा कोरोना पुष्टि भएको थियो ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार  असोज ४ गते कोरोना सङ्क्रमण पुष्टि भइ युनिभर्सल कलेज अफ मेडिकल साइन्स, भैरहवामा उपचाररत बुद्धभुमि नपा–१ की ५० वर्षीया को उपचार को क्रममा असोज १४ गते मृत्यु भएको छ । लामो समयदेखि मधुमेह तथा उच्च रक्तचाप उपचार गराइरहनु भएको थियो । यससँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको जिल्ला स्वास्थ सेवा कार्यालय कपिलवस्तुले जनाएको छ  ।


अनलाइन डेस्क