कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १२ गते)

असोज १२ गते १ हजार ३ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ७४ हजार ७ सय ४५ पुगेको छ । जसमध्ये २० हजार २ सय ३० जना महिला रहेका छन् । गत २४ घण्टामा १० हजार ८० जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज १२ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय ८१ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ५४ हजार ६ सय ४० जना निको भएका छन् । असोज १२ गते ७ सय ४२ जना जना निको भएका छन् भने निको दर ७३.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १९ हजार ६ सय ४२ जनाको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २२ हजार ३ सय २६ जनामा कोरोना पुष्टि भएकामा ११ हजार ७ सय ६४ जना निको भएका छन् भने १० हजार ४ सय २८ जनाको पपचार भइरहेको छ । १ सय ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

photo20200928kathmandu

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा कार्यरत एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि गाउँपालिका कार्यालय सील गरिएको छ । गाउँपालिकाका प्रशासन शाखा प्रमुख भोगेन्द्रप्रसाद यादवले असोज ११ गते एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि कार्यालयका सबै सेवाहरू बन्द हुने गरी सील गरिएको जानकारी दिनुभयो । सूचना अनुसार गाउँपालिकाबाट प्रवाह हुने शिक्षा, स्वास्थ्य, पशु, कृषिलगायतका सबै सेवा बन्द गरिएको छ ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट शहीदनगर नगरपालिका–१ बालाबाखरका ६५ वर्षीय पुरुषको असोज ११ गते राति मृत्यु भएको प्रदेश २ का स्वास्थ्य निर्देशनालयका चिकित्सक डाक्टर कमलेश यादवले बताउनुभयो । श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १० गते प्रादेशिक अस्पताल जनकपुरमा उपचारको लागि भर्ना गरिएका पुरुषको सोही दिन स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्दा असोज ११ गते सङ्क्रमणको पुष्टि भएको थियो । स्थानीय तहको समन्वयमा नेपाली सेनाको टोलीले असोज १२ गते शवको व्यवस्थापन गरेको निर्देशनालयले जनाएको छ ।

प्रदेश ५

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना भाइरसको कारण नेपालगञ्ज उमनपा–९ का ४७ वर्षीय पुरुषको असोज ११ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनु भयो । मृतकको दुवै फोक्सोको निमोनिया र मधुमेहको बिरामी रहेको थियो । भदौ ३१ गते स्वास्थ्य समस्या देखिएपछि कोहलपुर शिक्षण अस्पतालको आइसोलेशनमा उनको उपचार भइरहेको थियो । असोज ३१ गते लिएको स्वाब परीक्षणबाट पोजेटिभ आएको र उनलाई प्लाज्मा थेरापीलगायत रोगको प्रकृति अनुसारको सबै किसिमको उपचार गर्दैगर्दा असोज ११ गते मृत्यु भएको श्रेष्ठले बताउनु भयो । यससँगै  बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।

सुदूरपश्चिम प्रदेश

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कोरोनाको कारण धनगढी उमनपा–१ की ६२ वर्षीया महिलाको असोज १२ गते सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि असोज ७ गते अस्पताल भर्ना गरिएकी ती महिलामा असोज १० गते कोरोना पुष्टि भएको थियो । स्वासप्रश्वासमा जटिलता देखिएपछि आइसीयूमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनु भयो ।

अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार कोरोना सङ्क्रमणका कारण बान्नीगढी जयगढ गाउँपालिका–३ वर्दादेवीका ३४ वर्षीय एक पुरुषको मृत्यु भएपछि बान्नीगढी जयगढ गाउँपालिका क्षेत्रलाई असोज १३ गतेदेखि असोज १९ गतेसम्म सील गर्ने निर्णय गरिएको छ । यो अवधिमा स्वास्थ्य र विपद बाहेका सबै सेवा बन्द गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङ्गानाले बताउनु भयो ।


अनलाइन डेस्क