कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ११ गते)

काठमाडौँ पेप्सीकोलाका दुईजना कोरोना भाइरस सङ्क्रमित निको भएर घर फर्केका छन् । पाटन अस्पतालमा उपचाररत ५८ वर्षीय पुरुष र ८१ वर्षीया महिला डिस्चार्ज भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले यस्तो जानकारी दिनुभएको हो । त्यसैगरी कैलालीकी ५० वर्षीया महिलालाई सेती अस्पतालले डिस्चार्ज गरेको जनाएको छ । यसरी निको भएर घर फर्कनेको सङ्ख्या १० जना पुगेको छ । वैशाख ११ गते थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि data202004231भएको छ । उदयपुरबाट सङ्कलन गरिएको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । त्यस्तै, जनकपुरका १४ वर्षीय बालकमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभएको छ । भोजपुरका २६ वर्षीय एक पुरुषमा पनि कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनु भएको छ । यसरी, नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ । देशभर हालसम्म १० हजार ५ सय ७३ जना क्वारेण्टाइनमा र ८३ जना सम्भावित कोरोना सङ्क्रमितहरू आइसोलेशनमा रहेका छन् ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार देशैभर पीसिआर प्रविधिबाट ९ हजार ० सय ७९ र आरडीटी प्रविधिबाट ३४ हजार ५ सय २३ गरी कुल ४३ हजार ६ सय २ जनाको स्वास्थ्य चेकजाँच गरिएको छ । हालसम्म आरडिटी प्रविधिबाट प्रदेश १ मा ३ हजार ५ सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, बागमति प्रदेशमा ६ हजार १ सय ५५, गण्डकी प्रदेशमा ४ हजार ५ सय ५५, प्रदेश ५ मा २ हजार ७ सय ३५, कर्णाली प्रदेशमा ४ हजार ७ सय ३५ र सुदुरपश्चिम प्रदेशमा ८ हजार २ सय १ जनाको परीक्षण गरिएको छ ।

प्रदेश १

प्रदेश १ मा वैशाख ११ गते थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । उदयपुर त्रियुगा नगरपालिका-३ की ४५ वर्षीया एक महिलामा कोरोना सङ्क्रमण पुष्टी भएको वैशाख ११ गते नेपाल सरकारले जनाएको छ । त्यसैगरी भोजपुरका २६ वर्षीय पुरुषमा पनि कोरोना देखिएको छ । उदयपुरका २५ जना र विराटनगरका चार जना गरी प्रदेश १ मा २९ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । उनीहरू सबैको विराटनगरस्थित अस्थायी कोराना अस्पतालमा उपचार भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरस प्रभावितको अवस्था र यसबाट सृजित समस्या बुझ्न् विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का प्रतिनिधि डा. राजन पटेल वैशाखdata202004232 ११ गते उदयपुर आउनु भएको छ । वैशाख ११ गते स्वास्थ्य सेवा विभाग टेकुका इडिसिडीका प्रतिनिधि लिला विक्रम थापा, प्रदीप रिमाल, पशु सेवा विभागका डाक्टर सृजन रानाको टोलीले प्रभावित क्षेत्र त्रियुगा नगरपालिका-३ भुल्केमा स्थलगत अनुगमन गरेको छ ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे वैशाख ११ गते उदयपुरको त्रियुगा नगरपालिका-३ स्थित भुल्के क्षेत्रको अनुगमन गर्नु भएको छ । मन्त्री घिमिरेले सङ्क्रमणपछिको अवस्था, रोकथाम, नियन्त्रणका प्रयास, स्थानीयका समस्या लगायतका समग्र जिल्लाको अवस्थाका बारेमा सरोकारवालासँग छलफल गर्नु भएको छ । अढाई घण्टा लामो छलफलमा मन्त्री घिमिरेलाई जनप्रतिनिधि, प्रशासन, सुरक्षा निकाय र स्वास्थ्यकर्मी सहितका ११ जनाले जिल्लाको विकसित घटनाक्रमका बारेमा जानकारी गराएका थिए । छलफलका क्रममा मन्त्री घिमिरले उदयपुरमा कोरोनो उपचार केन्द्र बनाउनका लागि १ करोड रुपियाँ विनियोजन भइसकेकाले तत्काल प्रक्रिया अघि बढाउन अस्पताल विकास समितिलाई निर्देशन दिनु भएको छ ।

प्रदेश १ मा वैशाख ११ गतेसम्म पीसीआर र आरडीटी विधिबाट ४ हजार ८ सय बढीको परीक्षण गरिएको छ । पीसीआर विधिबाट ८ सय ८४ जना र आरडीटी विधिबाट ३ हजार ९ सय २९ जना गरी ४ हजार ८ सय १३ जनाको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेशमा कोरोना भाइरसका शङ्कास्पद ८ सय ८४ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २९ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । ८० जना महिला र ४ सय ८० पुरुषसहित ५ सय ६० जनाको कोरोना नेगेटिभ रिपोर्ट आएको छ । २ सय ९६ जनाको रिपोर्ट आउन बाँकी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आरडीटी विधिबाट वैशाख ११ गतेसम्म ३ हजार ९ सय २९ जनाको एण्टीवडी परीक्षण गरिएको छ । आरडीटी परीक्षणमा १० जनाको पोजेटिभ रिपोर्ट आएको छ । ६ सय २३ जना महिलासहित ३ हजार २ सय ९६ जना पुरुषको एण्टीवडी नेगेटिभ आएको छ । प्रदेश १ मा ४ हजार ८ सय ९ जना अट्ने क्षमताको क्वारेन्टाइन निर्माण गरेको छ । २६ ओटा क्वारेन्टाइन बेड थपिएको छ । प्रदेश १ मा आइसोलेशनमा बस्नेको सङ्ख्या ३० पुगेको छ । होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४ हजार ९ सय १० जना पुगेको छ । होम क्वारेन्टाइनमा ७ सय ९४ जना महिला र ४ हजार १ सय १६ जना पुरुष रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

data202004233उदयपुरको चौदण्डीगढी नगरपालिकाको शिवाहीबाट ७८ जनाको स्वाव सङ्कलन गरी विराटनगर ल्याइएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेको नेतृत्वमा वैशाख ११ गते उदयपुर गएको स्वास्थ्यकर्मी सहितको टोलीले स्वाव सङ्कलन गरी कोशी अस्पताल विराटनगर ल्याएको हो । उदयपुरको त्रियुगा नगरपालिका-३ को भुल्केको नुरी मस्जिदमा बसेका जमातीमा यसअघि कोरोना सङ्क्रमण देखिएको थियो । उनीहरू अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत रहेका छन् ।

प्रदेश सरकारले विराटनगर महानगरपालिका-१० मा कोरोना सङ्क्रमितका लागि कोशी अस्पताल कोभिड- १९ उपचार केन्द्र निर्माण गरेको छ । उपचार केन्द्रमा अहिले २९ जना सङ्क्रमित उपचाररत छन् । सो अस्पताल ५० बेड क्षमताको रहेको छ । प्रदेश सरकारले सुनसरी धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि सङ्क्रमितको उपचारको व्यवस्था गरेको छ । प्रतिष्ठानमा ३ सय बेडको तयारी भइरहेको सामाजिक विकास मन्त्री घिमिरेले बताउनु भयो ।

लकडाउनको अवज्ञा गर्दै पूर्वी नाकाबाट भारततिर जाने र स्थानीयवासीलाई त्रसित बनाउँदै जथाभावी हिँड्ने लागु औषध प्रयोगकर्तालाई मेचीनगर नगरपालिकाको पहलमा प्रहरीले क्वारेन्टाइनमा राख्न थालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले बताउनु भयो । क्वारेन्टाइनमा राखिएका त्यस्ता व्यक्तिलाई लागु औषधको कुलतबाट छुटकारा दिलाउन उपचारको विधिसमेत प्रयोग गरिने उहाँले जानकारी दिनु भयो । मेचीनगर नगरपालिका-८ स्थित इँटाभट्टामा रहेको आदर्श माध्यमिक विद्यालयलाई विशेष क्वारेन्टाइन बनाइ उनीहरूलाई वैशाख १० गतेदेखि उपचार गर्न थालिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताउनु भयो ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ को जनकपुरधाममा १४ वर्षीय एक बालकमा वैशाख ११ गते कोरोना भाइरस पोजेटिभ देखिएको छ । वैशाख ११ गतेसम्म प्रदेश २ मा कोरोना भाइरसका शङ्कास्पद ६ सय ५४ जनाको स्वाब परीक्षण गरिएकोमा ६ सय ५ को रिपोर्ट नेगेटिभ आएको छ । ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

सर्लाही जिल्लामा एक युवकमा वैशाख ११ गते कोरोना सङ्क्रमण पुष्टि भएसँगै यस प्रदेशमा कोराना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ ।data202004234 यसअघि पर्सा जिल्लामा तीन र रौतहटमा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यसैगरी, वैशाख ११ गतेसम्म आरडीटी किटबाट परीक्षण ४ हजार १ सय ८६ जनाको गरिएकोमा ४ हजार १ सय ७७ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने नौ जनाको रिपोर्ट पोजेटिभ आएको छ । पोजेटिभ रिपोर्ट आएकामध्ये आठ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशमा १ सय ६४ क्वारेन्टाइनमा ३ हजार ६ सय बेड सङ्ख्या रहेको छ । वैशाख ११ गतेसम्म १ हजार २ सय ८६ जना क्वारेन्टाइनमा रहेका छन् भने १ हजार ८ सय ६१ जना होम क्वारेन्टाइनमा रहेका छन् । कोरोना आशङ्का गरिएका ११ जना बिरामी आइसोलेशन वार्डमा उपचारार्थ छन् । प्रदेशमा आइसोलेशन बेड सङ्ख्या २ सय २७ रहेको छ ।

लकडाउनका कारण कृषि क्षेत्रमा परेको असुविधालाई मध्यनजर गर्दै प्रदेश २ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषिजन्य पदार्थको ढुवानी तथा सहजिकरणका लागि कोभिड- १९ र्‍यापीड रेस्पोन्स टिम क्रियाशिल गराएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यसैगरी, सम्पूर्ण कृषहरूले आफूले उत्पादन गरेको वस्तु बजारसम्म पुर्‍याउनका लागि सप्तरी र सिरहाका लागि कृषि ज्ञान केन्द्र सप्तरी, धनुषा जिल्लाका लागि कृषि ज्ञान केन्द्र धनुषा, महोत्तरी र सर्लाहीका लागि कृषि ज्ञान केन्द्र सर्लाही, बारा जिल्लाका लागि कृषि ज्ञान केन्द्र बारा, पर्सा जिल्लाका कृषि ज्ञान केन्द्र पर्सा, रौतहट जिल्लाका लागि कृषि ज्ञान केन्द्र रौतहट र उष्ण प्रादेशिक वागवानी धनुषामा सम्पर्क गर्न समाजिक विकास मन्त्रालयले अनुरोध गरेको छ ।

धनुषाको जनकपुरधाममा उपचार गराएर घर फर्किएका सर्लाही धम्कौलका १४ वर्षीय एक किशोरमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्लाहीमा आरडिटी टेष्ट पोजेटिभ आएपछि जनकपुरधाम प्रादेशिक अस्पताल ल्याएर पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ देखिएपछि उनलाई घर फर्काइएको थियो । भारतबाट आएका धनकौल गाउँपालिकाका १४ वर्षीय किशोरको टेकु अस्पतालमा जाँच गर्दा भने रिपोर्ट पोजेटिभ आएको छ ।

वर्ल्ड भिजन इन्टरनेशनल नेपालले प्रदेश २ सरकारलाई १ सय २५ पीपीई र २० इन्फ्रारेड थर्मोमिटर सहयोग गरेको छ । उक्त सामग्रीहरू वैशाख ११ गते समाजिक विकास मन्त्री नवलकिशोर शाहलाई वर्ल्ड भिजनका जिल्ला प्रवन्धक ब्रम्हदेव रामले सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे, प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. प्रमोद कुमार यादव र मन्त्रालयका केही कर्मचारीहरूका बीचमा हस्तान्तरण गर्नु भएको छ ।

पर्सा जिल्लाको बिन्दवासिनी गाउँपालिका-३ का गरिब, अति विपन्न परिवारलाई वैशाख ११ गते राहत वितरण गर्दा वितरणका लागि बनाइएको प्याकेट रहेको समानहरू सबै प्याकेटमा बराबर नभएपछि स्थानीयले विरोध गरेपछि राहत वितरण कार्य स्थगित भयो । वडा-३ मा वडाध्यक्षको नेतृत्वमा रहेको र्सवदलीय समितिले १ सय ३५ जनाको नामावली सङ्कलन गरेको थियो । वडाध्यक्ष सलमा खातुनले भने सङ्कलित नामावली अनुसार राहत वितरण गर्दा अनावश्यक रूपमा विवाद गरिएको बताउनु भयो । उहाँले विवाद आएकोले राहत वितरण रोकेको पछि पुनः वितरण गरिने बताउनु भयो ।

औरही नगरपालिकामा लकडाउनलाई मध्यनजर गर्दै सर्वसाधारण जनतालाई खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सुपथ मुल्य पसल सञ्चालन गरिएको छ । स्थानीय  कपिल चौधरी र अनिल चौधरी (बाबु र छोरा) ले वैशाख ११ गतेदेखि सुरु गरेको पसलमा पसल अगाडि मूल्य सूची सहित सामाजिक दूरीको घेरा बनाइ विक्री वितरणको सुरुवात गरेका छन् । सञ्चालक स्थानीय युवा अनिलले औरही बजारमा कालो बजारीलाई निरुत्साहित गर्नका लागि आफ्नो नीजि लगानिमा सर्वसाधारण जनतालाई सुलभ र उचित दरमा खाद्यान्न उपलब्ध गराउने बताएका छन् ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

कोरोना भाइरस (कोभिड १९) को महामारी रोक्न सरकारले गरेको बन्दाबन्दी (लकडाउन) का कारण काठमाडौमा रोकिएका ६ सय भन्दा बढी व्यक्ति बागमती प्रदेश सांसद जगत सिंखडाको पहलमा धादिङ पुर्‍याइएको छ । उनीहरू नीलकण्ठ नगरपालिका, नेत्रावती डबजोङ, खनियाबास, त्रिपुरासुन्दरी गङ्गाजमुना लगायतका गाउँपालिकाका नागरिक हुन् ।

रामेछापको सुनापति गाउँपालिकाले १८ ओटा बसको प्रबन्ध गरी वैशाख १० गते राति आफ्ना नागरिकहरूलाई गाउँमा ल्याएको गाउँपालिका अध्यक्ष धावा लामाले बताउनु भयो । यसैगरी खाँडादेवी गाउँपालिका-३ भिरपानीले आफ्नै खर्चमा पाँच ओटा बसमा आफ्ना नागरिकलाई गाउँ ल्याएको वडाध्यक्ष पुष्कर कुमार कार्कीले जानकारी दिनुभयो । सोही गाउँपालिका-५ पकरबासले पनि चार ओटा बसमा आफ्ना नागरिकलाई १० गते राति गाउँ ल्याएको छ ।

चिनिया सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसको सुरक्षा स्वास्थ्य सामग्री वैशाख ११ गते तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको छ । चिनिया सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री नेपाल ल्याउनको लागी हिजो तोतोपानी स्थित सुख्खा बन्दरगाहाको आइसोलेशनमा राखिएको थियो । १ करोड रुपियाँ बराबर पर्ने सुरक्षा सामाग्री वैशाख ११ गते नेपाल भित्रिएको भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौड्यालले बताउनु भयो ।

कोभिड-१९ को सङ्क्रमण नेपालमा पनि देखिन थालेपछि काठमाडौँ बस्दै आएका दोलखाका ११ हजार ९ सय नागरिक आफ्नो गाउँ फर्केका छन् । शहर बजारमा कोरोनाको सङ्क्रमण फैलन सक्ने भन्दै उनीहरू आफ्नै गाउँठाउँ फर्किएका हुन् । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण फैलन नदिन नेपाल सरकारले जारी गरेको लकडाउनका कारण कामविहिन भएका दोलखाका ११ हजार ९ सय नागरिक गृह जिल्ला फर्किएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाका प्रहरी जवान जगदीश कार्कीले जानकारी दिनु भयो ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा वैशाख १० गतेसम्म ४ हजार ७ सय ८३ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर बिनोदविन्दु शर्माले जानकारी दिनुभएको छ । नेपालको पाँचौ तथा बागलुङको पहिलो कोरोना सङ्क्रमित १९ वर्षीया युवतीको कोरोना परीक्षणको पाँचौँ रिपोर्ट नेगेटिभ आएको छ । धौलागिरी अञ्चल अस्पतालको आइसोलेशन कक्षमा उपचाररत युवतीको यसअघिको चारओटा पुनः परीक्षण रिपोर्ट पोजेटिभ देखिएको थियो । वैशाख ११ गते पोखरामा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण नेगेटिभ रिपोर्ट आएको धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रमुख शैलेन्द्र बि पोखरेलले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशस्तरीय मानव अधिकार अवस्था अनुगमन समितिको बैठकले इन्सेक गण्डकी सङ्योजक शिव खकुरेलललाई सदस्यको रूपमा मनोनित गरेको छ ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ 

प्रदेश ५

गुल्मीको इस्मा गाउँपालिका-२ को पालुखा मावि क्वारेण्टाइनमा रहेका आठ जनाको र्‍यापीड टेष्ट गराउँदा कोरोना रिपोर्ट नेगेटिभ आएकाले वडाको रोहबरमा एक हप्ता होम क्वारेण्टाइनमा बस्ने गरेर घर पठाइएको गाउँपालिकाकी उपप्रमुख बिमला खत्रीले जानकारी दिनुभयो । अझै इस्मा गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा १९ जना रहेका छन् । स्थानीय तहहरूले दिएको तथ्याङ्क अनुसार १ हजार ८ सयभन्दा बढी व्यक्ति भारतलगायत अन्य मुलकबाट आएका व्यक्तिहरू छन् ।

रुकुम पूर्वको भूमे गाउँपालिकामा लकडाउन अगाडि विभिन्न देशबाट आएका र हालसम्म होम क्वारेण्टाइनमा बसेका १६ जनाको र्‍यापीड टेष्ट गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । यसैगरी वैशाख ११ गते भूमे गाउँपालिको व्यवस्थापनमा दाङबाट आएका १५ जना र म्याग्दीबाट आएका चार जना गरी १९ जनालाई भूमे गाउँपालिका-१ स्थित सिद्धचौर मावि लुकुममा बनाइएको क्वारेण्टाइनमा राखिएको वडाध्यक्ष रामचन्द्र पुनले बताउनुभयो ।

बर्दियाका ७४ ओटा क्वाराण्टाइनमा १ हजार ७ सय ६४ बेडको व्यवस्था गरिएको छ । वैशाख ११ गते सम्ममा १ हजार ५ सय ५६ जना क्वारेण्टाइनमा छन् । वैशाख ११ गते मात्र २ सय ६१ जना थपिएका हुन् । दुई हप्ता क्वारेण्टाइनमा बसिसकेकाहरूको मध्ये हालसम्म ३ सय ८६ जना र्‍यापीड टेस्ट आरडीटीबाट कोरोना परीक्षण भएको छ ।

रोल्पामा वैशाख ११ गतेसम्म क्वारेण्टाइनमा २ हजार ४ सय १५ जना रहेका छन् । पछिल्लो समयमा काठमाडौँमा मजदुरी गर्न गएकाहरू गाउँ फर्किएपछि क्वारेण्टाइनमा रहनेको सङ्ख्या बढेको हो । यसको व्यवस्थापन गर्न जनप्रतिनिधिहरूले अनुगमन गरिरहेका छन् ।

कपिलवस्तुमा हालसम्म १ हजार ३५ जना क्वारेण्टाइनमा रहेकामा ८ सय २६ जना घर फर्किएका छन् । उनीहरूमध्ये वैशाख ११ गते दिउँसो २ बजे सम्म ७ सय ८६ जना व्यक्तिको र्‍यापीड टेष्ट पछि घर फर्किएका छन् ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ 

कर्णाली प्रदेश

कोरोना प्रभावका कारण नेपालमा पनि चैत ११ गतेबाट बन्द रहेका हुम्ला जिल्लाका सात ओटा गाउँपालिकाका ४४ वडाहरूमा रहेका स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार नियमित खोप तथा अन्य अतिआवश्यक सेवा सञ्चालन गर्नका लागि परिपत्र गरिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका मानबहादुर रोकायाले जानकारी दिनु भयो । सर्वोच्च अदालतको आदेशअनुसार एक वर्षन्दा कम कैद समय बाँकी रहेका देशभर १ सय ५२ जना कैदीलाई दिइएको कैद मिनाहा सुविधा दैलेख कारागारका तीन जना कैदीहरूले सेवा उपभोग गरेको दैलेख अदालतका सूचना अधिकारी बिनोद आचार्यले बताउनु भयो ।

हुम्लाको सिमकोट गाउँपालिका-५ मा बिरामी र जरुरी काम परेकाबाहेक अन्यलाई गाउँ प्रवेशमा रोक लगाउन महिलाहरू गाउँका नाकामा पहरा दिन थालेको स्थानीय सजिता रावतले बताउनु भयो । लकडाउनका कारण घर आउन नपाई अलपत्र परेका आफ्ना बासिन्दालाई मुगु जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिका सोरु र मुगुम कार्मारोङ गाउँपालिकाले वैशाख १० गतेबाट उद्धार गर्न थालेका भए पनि खत्याड गाउँपालिकाले भने कोरोना सङ्क्रमण फैलिने त्रासले उद्धारको सट्टा जिल्ला बाहिर रहेका आफ्ना बासिन्दालाई हाल बसेकै स्थानमा राहत पुर्‍याउने भएको छ ।

लकडाउनकै अवधिमा वैशाख ९ र १० गते काठमाडौँ तथा नेपालगञ्जबाट ६ सयभन्दा बढी मानिसहरू जाजरकोट जिल्लामा भित्रिए पनि क्वारेण्टाइनमा कोही पनि नबस्दा कोरोना सङ्क्रमण हुने जोखिम बढेको छ ।

लामो समयसम्म लकडाउन भएका कारण ललितपुरबाट हिँडेर एक हप्तामा दाङ आएका ललितपुरको इँटा भट्टामा काम गर्ने रुकुम पश्चिम मुसिकोट नगरपालिका-१३ का १९ जना व्यक्तिहरूलाई वैशाख १० गते मुसिकोट नगरपालिकाका कार्यकारी अधिकृत नरबीर खड्का र मुसिकोट नगरपालिका-१३ का वडा अध्यक्ष दिपक केसीको पहलमा घर ल्याइएको छ । त्यसैगरी, बाँफीकोट र सानीभेरी गाउँपालिकाले जिल्ला बाहिर रहेका मजदुरहरूलाई लिन एक/एक ओटा बस काठमाडौँ र गोरखा पठाएको गाउँपालिकाले जानकारी दिएका छन् ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम जनस्वास्थ्य प्रयोगशाला, डोटीका अनुसार प्रदेशअन्तर्गत जिल्ला तथा स्थानीय तहले तयार गरेका क्वारेन्टाइनमा ६ हजार ७ सय २८ बेड रहेका छन् । जसमा १ सय ८९ जना महिला र १ हजार ५ सय ७० जना पुरुष गरी जम्मा १ हजार ७ सय ५९ जना रहेका छन् । सुदूरपश्चिम प्रदेशका नौ ओटै जिल्लामा ८ हजार २ सय ३ जनाको आरडिटी गरिएकोमा ८ हजार १ सय ९८ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको छ भने पाँच जनाको आरडिटी पोजेटिभ आएको भए पनि पीसिआर रिपोर्ट नेगेटिभ आएको छ । सुदूरपश्चिम प्रदेशमा २ हजार ६ सय ३६ जनाको पीसिआर नमूना सङ्कलन गरिएकोमा २ हजार ६ सय ३१ जनाको नमूना परीक्षण सम्पन्न भएको छ । जसमा पाँच जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये चार जनालाई निको भएपछि सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको छ भने पाँच जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

दशरथचन्द नगरपालिका-४ स्थित जगन्नाथ बहुमुखी क्याम्पसमा निर्माण गरिएको एकीकृत क्वारेन्टाइन व्यवस्थित नभएको भन्दै गुनासो आएपछि ०७७ वैशाख १० गते इन्सेक बैतडी प्रतिनिधिलगायत पत्रकारहरूको टोलीले अनुगमन गरी नगरपालिकालाई सुझाव दिएपछि व्यवस्थापनमा सुधार आएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रमुख डिएसपी डिल्लीनारायण पाण्डेले बताउनु भयो । वैशाख ११ गते जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिले पनि उक्त क्वारेन्टाइनको अनुगमन गरेको थियो ।

डडेल्धुराको अजयमेरु गाउँपालिकाका सबै नागरिकहरूको स्वास्थ्य जाँचका साथै कोरोना भाइरससम्बन्धी जानकारीका लागि स्वास्थ्यकर्मीसहितको टोली औषधिसहित घरघरमा पुग्न थालेको समैजी स्वास्थ्यचौकीका इञ्चार्ज मदनराज पाण्डेले बताउनु भयो ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको अध्यक्षतामा वैशाख ११ गते बसेको बैठकले धारचुलामा विगत चार सातादेखि क्वारेण्टाइनमा रहेका नेपालीहरूको समयावधि पुगिसकेकाले  स्वदेश ल्याउनको लागि नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क