कोरोना आशंकामा आइसोलेसनमा रहेका तीन जना बिरामीको रिपोर्ट नेगेटिभ

  ०७६ चैत २० गते

कोरोना भाइरस (कोभिड¬ १९) को आशंकामा जिल्ला अस्पतालमा रहेका तीन जना बिरामीको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज भएका छन् ।

विदेशबाट आएका ती व्यक्तिहरूको स्वाबको नमूना सङ्कलन पश्चात गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि चैत १९ गते डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

एक जना महिला र दुई जना पुरुष गरी तीन जनाको स्वाब परीक्षण गर्न चैत १७ गते स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको सो अस्पतालका डाक्टर बुद्धिबहादुर थापाले बताए । उनीहरू चैत १४ गते अस्पतालमा भर्ना भएका थिए ।

जिल्लामा कोरोना सङक्रमणको महाभारीलाई रोक्न जिल्ला सदरमुकाममा रहेका जिल्ला अस्पतालमा पाँच, समर्पित अस्पताल प्रालिमा ११ र पाथीभरा हस्पिटल प्रालिमा छ गरी २२ वेडको आईसोलेसन स्थापना गरिएका छन् ।

जिल्लाका आठ स्थानीय तहले २ सय सात वेडको क्वारेन्टाईन तयार गरेका छन । सङ्क्रमणको शंका लागेका व्यक्तिहरूलाई राख्नका लागि याङवरक गाउँपालिकाले ३०, हिलिहाङ गाउँपालिकाले २८, फालेलुङ गाउँपालिकाले ४० र फिदिम नगरपालिकाले ४५ वेडको क्वारेन्टाईन निर्माण गरेका छन् ।

यसै गरी, फाल्गुनन्द गाउँपालिकाले १०, कुम्मायक गाउँपालिकाले १०, तुम्बेवा गाउँपालिकाले २९ र मिक्लाजुङ गाउँपालिकाले १५ वेडको क्वारेन्टाईन निर्माण गरेका हुन् ।


मङ्गल बेघा