कोरोनाभाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट ( साउन ६ गते)
सरकारले साउन ७ गतेबाट लागु हुने गरी लकडाउन अन्त्य गरेको छ । ०७६ चैत ११ गतेबाट लगाइएको लकडाउन गत जेठ २९ गतेबाट खुकुलो बनाइएको थियो । सङ्क्रमितको दरमा कमी आएका कारण लकडाउन अन्त्य गरिएको सरकारका प्रवक्ता अर्थ एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनु भयो । असार ५ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्न साउन ६ गते आयोजित पत्रकार सम्मेलनमा निजी सवारी साधनमा लगाउँदै आएको जोरविजोर प्रणालीलाई हटाउने निर्णय गरेको पनि मन्त्री खतिवडाले जानकारी दिनु भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ६ गते जारी गरेको स्थिति प्रतिवेदनमा निको दर ६९. ३ प्रतिशत उल्लेख छ । असार ६ गतेसम्म १२ हजार ४ सय ७७ जना उपचार पछि निको भइ घर फर्किएका छन् । ४० जनाको मृत्यु भएको छ भने ५ हजार ४ सय ७७ जना उपचाररत छन् । कूल सङ्क्रमित १७ हजार ९ सय ९४ जना रहेका छन् ।
कोरोनाको पहिलो सङ्क्रमितः ०७६ माघ ९ गते
कोरोनाको दोस्रो सङ्क्रमितः ०७६ चैत १० गते
लकडाउन सुरूः ०७६ चैत ११ गते
लकडाउन खुकुलोः ०७७ जेठ २९ गते
लकडाउन अन्त्यः ०७७ साउन ७ गते
प्रदेश २
प्रदेश २ मा साउन ६ गते सम्ममा जम्मा ४ हजार ६ सय ८५ जना कोरोना सङ्क्रमित पुगेकोमा २ हजार ७ सय ६६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल १ हजार ९ सय १३ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन ६ गते सम्ममा ६ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार समुदायमा कोरोना सङ्क्रमण फैलिएपछि राजविराज नगरपालिकाले साउन ६ गते कोरोना भाइरसको रोकथामका लागि पूर्ण रूपमा लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रमुख शम्भुप्रसाद यादवले साउन ६ गते एक विज्ञप्तिमार्फत निर्णय सार्वजनिक गर्नु हुँदै कोरोना सङ्क्रमण फैलिन नदिन र कोरोनाको जोखिमबाट जोगिन नगरवासीको चाहना बमोजिम अर्को सूचना नभएसम्मका लागि साउन ७ गतेदेखि लकडाउनको पूर्ण पालना गर्न, गराउन आग्रह गर्नु भएको छ । यो अवधिमा अत्यावश्यक सेवाहरू बाहेक सम्पूर्ण बजार, पसल, व्यवसाय, सरकारी, गैरसरकारी कार्यालय, वित्तिय संस्थाहरु पूर्ण रूपले बन्द गरी लकडाउन पूर्ण रूपमा पालना गर्न नगरवासीमा हार्दिक अनुरोध गर्नु हुँदै नगर प्रमुख यादवले अनावश्यक रूपमा घर बाहिर ननिस्किन, अत्यावश्यक काममा निस्कँदा मास्कको अनिवार्य प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गर्नुभएको छ । भारतलगायत विदेशबाट आएर होम क्वारेण्टाइनमा बस्ने प्रतिबद्धता गर्नेहरूले प्रतिबद्धता पालना नगरेको र उहाँहरूको निगरानीसमेत नभएकाले कोरोना समुदायमा फैलिएको बताउँदै स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले नियन्त्रणका लागि सबै किसिमले प्रयास भइरहेको बताउनु भयो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोरोना भईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले साउन ५ गते स्थनीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ अनुसार देवताल गाउँपालिका भरी निषेधाज्ञा जारी गरी पालना गर्न अनुरोध गर्नु भएको छ । देवताल गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरूबाट प्रदान गरिँदै आएका सम्पूर्ण सेवाहरू साउन ५ गतेदेखि अर्को सूचना जारी नभए सम्मका लागि बन्द गर्न प्रशासनले सूचना जारी गरेर अनुरोध गरेको हो । अत्यावश्यक (खाद्यान्न, औषधि, ग्याँस, दुध, तेललगायत) बाहेकका अन्य सम्पूर्ण पसलहरू र हाटबजार पूर्णरूपमा बन्द गर्ने जनाइएको छ । देवताल गाउँपालिकासँग जोडिएका नगरपालिका तथा गाउँपालिकाबाट देवताल गाउँपालिकामा आवतजावत गर्न निषेध गरिएको छ । कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्य गराउन पनि निषेध गरिएको छ । असार ३० गते देवताल गाउँपालिकामा ७४ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गर्दा नारायणी अस्पताल वीरगंजले दिएको विवरण अनुसार ११ जना महिला र ३५ जना पुरुष गरी ४६ जनामा कोरोना पोजेटिभ देखिएकाले महामारीबाट नागरिकको रक्षा गर्न बाध्य धएर निषेधाज्ञा जारी गरेको प्रजिअ पण्डितले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा कोरोना सङ्क्रमतिहरूको सङ्ख्या ८ सय ८२ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेढाईँले बताउनु भयो । जसमा ४ सय ५२ जना उपचारपछि घर फर्किसकेका छन्, ४ सय २१ जना आइसोलेशनमा उपचारर्थ रहेका छन् भने नौ जनाको मृत्यु भएको छ ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार कोरोना सङ्क्रमितको उपचारमा भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरू कसैले पनि जोखिम भत्ता पाएका छैनन् । कोरोनाका बिरामीको उपचारमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न जनशक्तिलाई जोखिम भत्ता व्यवस्थापन आदेश, २०७७ बमोजिम सुरू तलव स्केलको ५० देखि १०० प्रतिशतसम्म भत्ता पाउने व्यवस्था गरिएको छ । ‘भत्ताको कुरै छाड्नुस एक दिन बिदा समेत पाइएको छैन ।’–कोरोना विशेष अस्पतालकी इन्चार्ज डाक्टर शान्ति भूर्तेलले भन्नु भयो । कोरोना विशेष अस्पतालका डाक्टर, नर्स, सरसफाई गर्ने कर्मचारी कसैले पनि हालसम्म कुनै सुविधा नपाएको गुनासो गरेका छन् । यो अस्पताल हाल बन्द अवस्थामा छ । कोरोना सङ्क्रमितको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मीका लागि दुई हप्ता क्वारेण्टाइन र एक हप्ता बिदाको व्यवस्था निर्देशिकामा छ, तर आफूहरूले एक दिन पनि बिदा नलिइ काम गरेको कोरोना विशेष अस्पतालको इन्चार्जसमेत रहेर काम गरेकी डाक्टर शान्ति भूर्तेलले बताउनु भयो । कोभिड–१९ का बिरामीहरूको उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको व्यवस्थापन सम्बन्धित मार्ग निर्देशन २०७७ मा बिदाको अनिवार्य व्यवस्था रहेको छ । कोरोना विशेष अस्पतालमै कार्यरत अर्का डाक्टर सुलभ सुवेदीले काजमा सेवाका लागि कोरोना विशेष अस्पताल गएको र पुनः पहिले कार्यरत अस्पतालमा फर्किएको बताए । सरकारले भत्ता उपलब्ध गराउने भनेको तर आफूहरूले हालसम्म नपाएको डाक्टर सुवेदीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…