कोभिड–१९ सङ्क्रमितसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट (वैशाख २५ गते)

  ०७८ वैशाख २५ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य निर्देशनालय बुटवलका अनुसार वैशाख २४ गतेसम्म प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ९ सय २४ रहेको छ । हालसम्म बाहिरबाट उपचारका लागि आएकासमेत गरी ७ सय ६५  जनाको मृत्यु भएको छ ।  ९ हजार ७८ जनामा गरिएको एण्टीजेन परीक्षणमा २ हजार ९ सय ८ जनामा पोजेटिभ देखिएको छ । प्रदेशमा पहिलो खोप लिनेको सङ्ख्या २ लाख ७८ हजार ३ सय २२ रहेको छ भने  ६२ हजार ५ सय ६ जनाले दोस्रो खोप पुरा गरेका छन् ।

नवलपरासी पश्चिम जिल्ला प्रतिनिधि नारायण पराजुलीका अनुसार जिल्लामा बढ्दै गएको कोभिड सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्लाका सात वटै स्थानीय तहमा अक्सिजन सहितको आइसोलेशन सेन्टर बनाउने काम सुरू भएको छ । रामग्राम नगरपालिकाले पाल्ही बहुमुखी क्याम्पसमा २० बेड क्षमताको अक्सिजनसहितको आइसोलेशन सञ्चालन गरेको मेयर नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो । यस्तै, सुनवल नपाले  २० बेड क्षमता आइशोलेसन सेन्टरको निर्माण कार्य अन्तिम चरणमा पुगेको मेयर भीमबहादुर थापाले बताउनु भयो । बर्दघाट नगरपालिका स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार १० बेड अक्सिजनसहितको आइसोलेशन सेन्टर सुरू भएको छ । सरावल गाउँपालिकाले सरावल– ५ धनगडवामा पाँच शैयाको अक्सिजनसहितको आइशोलेसन सेन्टर तयार पारेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकास पौडेलेले जानकारी दिनुभयो । यसैगरी प्रतापपुर गाउँपालिकाले त्रिभुवन मावि, बेलाटारीमा १५ बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर सुरू गरेको स्वास्थ्य शााखा प्रमुख इन्द्र लामिछानेले जानकारी दिनुभयो ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार कोभिड सङ्क्रमितहरूको संख्या दैनिक बढ्दै गएपछि कृष्णनगर नगरपालिकाले बहादुरगंजमा अक्सिजन सिलेण्डर सहितको आइसोलेशन सेन्टर निर्माण गरेको छ । बहादुरगञ्जमा अक्सिजनसहितको  १५ बेडको आइसोलेशन तयार गरेको कृष्णनगर नपाका मेयर रजतप्रताप शाहले जानकारी दिनु भयो । नगरपालिकाले नागरिकको स्वास्थ्यलाई मध्यनजर गर्दै सिमानाकामा स्वास्थ्य जाँच केन्द्र स्थापना गरेको उप मेयर सबनम खातुनले जानकारी दिनु भयो ।

दाङ जिल्ला प्रतिनिधि जयनाराण पुनका अनुसार दाङमा लकडाउनको अवधि एक हप्ता थप गरिएको छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले सङ्क्रमण तीव्र गतिमा फैलिएको भन्दै जारी लकडाउनलाई जेठ १ गतेसम्म थप गर्ने निर्णय गरेका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिनुभयो । यसअघि वैशाख १७ गतेदेखि वैशाख २५ गते साझ ६ बजेसम्मका लागि लकडाउन घोषणा गरिएको थियो । यसैगरी बैठकले निर्माणको काममा सहजताका लागि हरेक दिन साझ ६ देखि ९ बजेसम्म निर्माणका सामग्री ढुवानी गर्न दिने, बैंक तथा वित्तिय संस्था पालैपालो खोल्ने र नगरपालिकाका र उपमनपाले २ सय र गाउँपालिकाले १ सय अक्सिजन सिलिण्डर खरीद गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । कोभिड सङ्क्रमणबाट दाङमा हालसम्म ९३ जनाको मृत्यु भइसकेको छ भने हाल २ हजार २ सय ९५ जना सक्रिय सङ्क्रमित रहेका छन् । १ सय ५१ जना विभिन्न अस्पतालमा उपचाररत छन ।

प्यूठान जिल्ला प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्लामा एक साताका लागि लकडाउन थप गर्ने निर्णय  गरिएका छ । जिल्ला कोभिड – १९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २४ गते बसेको बैठकले वैशाख २५ गतेदेखि वैशाख ३१ गतेसम्म लकडाउन थप गर्ने  निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताउनु भयो ।  यस अघि वेशाख १८ गतेदेखि वैशाख २४ गतेसम्म लकडाउन गरिएको थियो । हाल जिल्लामा ४ सय १६ जना सक्रिय सङ्क्रमित रहेका छन् भने हालसम्ममा कोभिडबाट १९ जनाको मृत्यु भएको छ ।

बाँके जिल्ला प्रतिनिधि स्मृति देवकोटाका अनुसार भेरी अस्पताल नेपालगञ्जको इमरजेन्सी विभागमा कार्यरत हेल्थ असिसेन्ट पुपेन्द्र शाहीमाथि वैशाख २४ गते ३-४ जनाको समूहमा आएका व्यक्तिहरूले दुर्व्यवहार गरेको घटनाप्रति अस्पताल विकास समितिले खेद व्यक्त गरेको छ । भेरी अस्पताल विकास समितका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापाले वैशाख २४ गते संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनामा सङ्लग्न दोषीमाथि कारबाहीको माग गरेका छन् । कोभिड वार्डमा मृत्यु भएका बिरामी हेर्न नआएको भन्दै उपचारमा सङ्लग्न चिकित्सकमाथि  दुर्व्यवहार भएको अध्यक्ष धितालले बताउनु भयो । विज्ञप्तीमा कोभिड सङ्क्रमितको उपचारमा सङ्लग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि पटक–पटक अभद्र व्यवहार गर्दै चिकित्सकको लापरबाहीबाट सङ्क्रमितको मृत्यु हुने गरेको आरोप लगाउँदै अस्पतालमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहार हुने गरेकोले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।


इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज