कोभिड–१९ सङ्क्रमणसम्बन्धी लुम्बिनी प्रदेशको दैनिक अपडेट ( वैशाख २४ गते )

  ०७८ वैशाख २४ गते

लुम्बिनी प्रदेशमा कोभिड सङ्क्रमितका लागि बेड र अक्सिजन अभाव भएको छ ।  अस्पतालले नयाँ बिरामी भर्ना नलिएका कारण अक्सिजन आवश्यक भएका सङ्क्रमितहरू होम आइसोलेशनमा बस्न बाध्य भएका छन् । भेरी अस्पताल नेपालगञ्जको इमरजेन्सी विभागमा कार्यरत हेल्थ असिसेन्ट ४५ वर्षीय पुपेन्द्र शाहीमाथि वैशाख २४ गते ३/४ जनाको समूहमा आएका व्यक्तिहरूले दुर्व्यवहार गरेको घटनाप्रति अस्पताल विकास समितिले खेद व्यक्त गरेको छ । भेरी अस्पताल विकास समितका अध्यक्ष प्रमोद धिताल र मेडिकल सुपरिटेण्डेन्ट डाक्टर प्रकाश थापाले वैशाख २४ गते संयुक्त विज्ञप्ती जारी गर्दै उक्त घटनामा सङ्लग्न दोषीमाथि कारबाहीको माग गरेका छन् । कोभिड वार्डमा मृत्यु भएका बिरामी हेर्न नआएको भन्दै उपचारमा सङ्लग्न चिकित्सकमाथि  दुर्व्यवहार भएको अध्यक्ष धितालले बताउनु भयो । विज्ञप्तीमा कोभिड सङ्क्रमितको उपचारमा सङ्लग्न चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि पटक–पटक अभद्र व्यवहार गर्दै चिकित्सकको लापरबाहीबाट सङ्क्रमितको मृत्यु हुने गरेको आरोप लगाउँदै अस्पतालमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहार हुने गरेकोले सुरक्षा व्यवस्था मिलाउन अनुरोध गरिएको छ । बाँकेमा कोभिडको दोस्रो लहरले सबै क्षेत्रलाई असर गरेको र कोभिड सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै गएको अवस्थामा फ्रन्टलाइनमा काम गर्ने पत्रकारलाई अनलाइन पत्रकार सङ्घ बाँकेले पत्रकारका  लागि मास्क वितरण गरेको छ । कोभिडको महामारीमा जोखिम मोलेर फ्रन्टलाइनमा काम गर्ने पत्रकारलाई अनलाइन पत्रकार सङ्घले प्रति व्यक्ति १ सय थानका  दरले मास्क वितरण गरेको सङ्घका अध्यक्ष कमल न्यौपानले बताउनु भयो ।

गुल्मी जिल्ला प्रतिनिधि टोपलाल अर्यालका अनुसार  कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको वैशाख २४ गते बसेको बैठकले जेठ ४ गतेसम्म निषेध थप गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनु भयो । दोस्रो लहरको कोभिड सङ्क्रमणबाट जिल्लामा  जिल्लामा १५ जनाको मृत्यु भएको छ । अहिलेसम्म सङ्क्रमित ५ सय १४ पुगेको छ ।  जसमध्ये  ४ सय ७६ जना सक्रिय सङ्क्रमित छन् । स्थानीय तहले सोचे अनुसार कोभिड नियन्त्रण हुन सकेको छैन ।  भारतबाट आएकाहरूको समन्वय र व्यवस्थापन जटिल बनिरहेको छ । एन्टिजिनको किट अभावमा केही स्थानीय तहमा परीक्षण रोकिएको छ । अहिले स्थानीय तहहरूले कोभिड अस्पताल र आइसोलेशनलाई प्राथमिकता दिएका छन् । तर, बिरामीहरूको उपचारमा ध्यान नदिएकाले बिरामीहरू थप जोखिममा छन् । रेसुंगा नगरपालिका र गुल्मी अस्पतालबिच आइसोलेशन निर्माण र व्यवस्थापनमा राम्रो समन्वय छैन । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निशेधको आदेश फितलो रहेको छ ।  नाकाहरुमा चेकजाँच कम छ । जिल्लामा अक्सिजनको अभाव रहेको छ ।  व्यक्तिहरूले अक्सिजन सिलिण्डर लुकाएर राखेको चर्चा भएपनि प्रशासनले चासो दिएर खोजी थालेको छैन् । नागरिक स्तरबाट जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञामा अझै कडाई गर्नुपर्ने र बिपन्न बर्गमा पर्ने समस्यामा स्थानीय तहलाई राहत प्रदान गर्ने बिषयमा सजग बनाउनु पर्ने माग गरिएको छ  ।

कपिलवस्तु जिल्ला प्रतिनिधि पार्वती आचार्यका अनुसार कोभिड सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बिरामीहरूलाई कपिलवस्तु अस्पतालको भुईमा राखेर उपचार गर्न थालिएको छ । कपिलवस्तु जिल्ला अस्पतालममा रहेका बेडहरु सङ्क्रमितहरूले भरि भराउ भएपछि बिरामीहरूलाई भुईमा राखेर उपचार गर्न बाध्य भएको अस्पतालले जनाएको छ । इमरजेन्सी शाखामा रहेको आठ वटै बेड कोभिड सङ्क्रमितले भरिएका छन् । जिल्लामा संक्रमितहरुको ङ्ख्या थपिँदै गएपछि अस्पतालकै भुईमा राखेर उपचार गर्न बाध्य भएको   अस्पतालका  क्लिनिकल कोर्डिनेटर गणेश क्षेत्रीले बताउनु भयो । बिरामीको चापबढी भएपछि एउटा अक्सिजन सिलिन्डरबाट पाँच जना बिरामीको उपचार गराउनु परेको क्षेत्रीले बताउनु भयो । सिमित साधन र स्रोतको भरमा बिरामीहरूको सक्दो सेवा गरीरहेका र बिरामीको सङ्ख्या बढेपछि उपचारमा समस्या आएको अस्पतालका मेसु डा. किशोर बन्जाडेले बताउनु भयो । हाल अक्सिजन र औषधीमात्रै चाहिने संक्रमितलाई राख्ने ठाउँ समेत अस्पतालमा नभएको उहाँले बताउनु भयो । महाराजगञ्ज नगरपालिकाले २५ बेडको अक्सिजन सहितको आइसोलेशन सेन्टर तयार गरेको छ । वडा नम्बर ७ कुशहवा स्वास्थ्य चौकीमा १५ बेडको र वडा नम्बर १० को हरदौना स्वास्थ चौकीको भवनमा १० बेडको आइसोलेशन सेन्टर तयार गरिएको महाराजगन्ज नगरपालिकाका मेयर अब्दुल कलाम खाँले जानकारी दिनु भयो । नगरपालिका भित्र रहेका बिरामीहरूका लागि अक्सिजन सहितको एम्बुलेन्स तयारी अवस्थामा रहेको नपाका प्रमुख प्रशासकीय अधिकृत वेदप्रसाद खरेलले जानकारी दिनु भयो । यसैगरी, कोभिड सङ्क्रमित बढ्दै गएपछि वाणगंगा नगरपालिकाले वैशाख ३१ गतेसम्म बैंक तथा वित्तिय संस्थाहरू बन्द गर्ने निर्णय गरेको नपाका प्रवक्ता बिष्णुप्रसाद पौडेलले जानकारी दिनु भयो ।


इन्सेक, लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्ज