कोभिड–१९ विरूद्धको खोप लुकाइएको विषयमा छानबिन समिति गठन, अधिकारकर्मीद्वारा प्रशासनमा ज्ञापन–पत्र

  ०७८ साउन १८ गते

कोभिड–१९ विरूद्धको १ सय ३ भाइल खोप साउन १५ गते विर्तामोड  नगरपालिकाका कोरोना खोप फोकल पर्सन ओम खड्काले विर्तामोड नगरपालिका–५ स्थित टाइमलेस होटलमा लुकाइएको घटनामा अधिकारकर्मीहरूले चासो व्यक्त गरेका छन् ।

मानव अधिकार सञ्जाल झापाले साउन १६ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन–पत्र बुझाउँदै महामारीका समयमा राज्यले उपलब्ध गराएको कोभिड–१९ विरूद्धको खोप जथाभावी प्रयोग हुनु र कर्मचारीले होटलमा लुकाएको घटनाले राज्यप्रति जनताको विश्वास गुम्ने भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । ज्ञापन–पत्रमार्फत अधिकारकर्मीहरूले आगामी दिनमा महामारीका समयमा राज्यले उपलब्ध गराएको खोपलगायतका सुविधामा अनियमितता रोक्न माग गरेका छन् ।

कर्मचारीले खोप लुकाएको विषय सार्वजनिक भएपछि विर्तामोड नगरपालिकाले साउन १५ गते कोरोना खोप दुरूपयोग  सम्बन्धी घटनाको छानबिन  गर्न जिल्ला कोभिड खोप व्यवस्थापन समिति झापाले पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा साउन १६ गते बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा छानबिन समिति गठन गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

समितिका सदस्यमा जिल्ला समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, डिएसपी राकेश थापा, सशस्त्रका डिएसपी प्रेम प्रसाई र राष्ट्रिय अनुसन्धानका अधिकृत किरण भट्टराई रहनु भएको छ । समितिले घटनाको वास्तविकता बुझि सात दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताउनु भएको छ । कोभिड–१९ विरूद्धको खोप लुकाएको आरोप लागेका कर्मचारीमाथि कारबाहीको माग गर्दै नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारी झापाले संयुक्त रूपमा साउन १६ गते नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

खोप लुकाएको आरोप लागेका कोरोना खोप फोकल पर्सन ओ खड्काले भने खोप लुकाएको विषयलाई अस्वीकार गर्नु भएको छ । उहाँले आफूले खोप नलुकाएको तर जिल्ला स्वास्थ्य कार्यालयले पठाएको खोप बुझेर आफूले होटलमा राखेको बताउनु भएको छ ।

Photo 20210802 Jhapa


नरेश खाती