कोभिड–१९: यो साता परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा सङ्क्रमण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १९ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । गत साता २१ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । यो साता प्रतिदिन सरदर २२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । अघिल्लो साता प्रतिदिन २६ जना सङ्क्रमितको मृत्यु भएको थियो । मन्त्रालयले एक सातामा ७३ हजार ८ सय ५ ओटा स्वाब परीक्षण गरिएको जनाएको छ । यो साता १४ हजार १ सय ९६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा ११ हजार ९ सय ६९ जना सङ्क्रमित निको भए भने १ सय ८२ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।
बागमती प्रदेश
यस प्रदेशमा साउन १० गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा ३ लाख ६८ हजार १ सय जना पुगेको छ । अघिल्ला हप्ता ३ लाख ५९ हजार ७ सय ५२ जना कोभिड–१९ का सङ्क्रमित रहेका थिए । यो हप्ता ८ हजार ३ सय ४८ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशमा तीन हप्ता अखिदेखि सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।
यस प्रदेशका कूल सङ्क्रमितमध्ये ३ लाख ५४ हजार ४ सय ६६ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ९ हजार ६ सय २१ जना उपचाररत रहेका छन् । अघिल्लो साता सक्रिय सङ्क्रमतिको सङ्ख्या ८ हजार ८ सय ५० जना रहेकोमा यो हप्ता ७ सय २१ जना बढ्न गई ९ हजार ६ सय २१ जनामा पुगेको हो । यस प्रदेशमा साउन १० गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने ४ हजार १३ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा ४२ जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर १.०९ प्रतिशत रहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९६.०० प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा साउन ११ गते आइपुग्दा यो सङ्ख्या ९६.३० प्रतिशत रहेको छ ।
यस प्रदेशमा कोभिड–१९ विरुद्ध हालसम्म भेरोसेल खोप ३ लाख ९६ हजार ४ सय ३९ जनाले, कोभिसिल्ड खोप ८ लाख १९ हजार ८९ जनाले पहिलो मात्रा लगाइसकेका छन् । साथै भेरोसेल खोप १ लाख ६० हजार ४ सय ९० जनाले र कोभिडसिल्ड ४ लाख ४२ हजार ३ सय २५ जनाले गरी जम्मा ६ लाख २ हजार ८ सय १५ जनाले दोस्रो मात्र पनि लगाइसकेका छन् । यसैगरी जोन्सेन एन्ड जोन्सेन खोप १ लाख ८४ हजार ४ सय ९३ जनाले लगाइसकेका छन् । यो खोपको एक मात्रा लगाएपछि पुनः अर्को खोप लगाउनु नपर्ने स्वास्थ्य तथा जसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गण्डकी प्रदेश
प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको साउन ११ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ६५ हजार १ सय ५ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्की र नवलपरासी पूर्वमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने स्याङजा, गोरखा, बागलुङ र तनहुँमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ३ हजार ८ सय ७२ जना होम आइसोलेशन, २ सय २६ जना संस्थागत आइसोलेशन, ७५ जना आइसियू र १७ जना भेण्टीलेटरमा रहेका छन् । गत २४ घण्टामा कोभिड–१९ सङ्क्रमणले आठ जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड–१९ सङ्क्रमणले १ हजार ६२ जनाको मृत्यु भएको छ । प्रदेशका विभिन्न स्थानिय तहमा असार २९ गतेदेखि भेरोसेल खोप लगाउन थालिएको छ । नेपाल सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार साउन ११ गतेसम्म गण्डकी प्रदेश भरी १ लाख ८७ हजार ९ सय ७४ जनाले कोभिसिल्डको पहिलो मात्राको खोप लगाएका छन् भने ४९ हजार ६ सय ११ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । त्यसैगरि भेरोसेल खोप अन्तर्गत १ लाख ७२ हजार ३० जनाले पहिलो मात्राको खोप लगाएका छन् भने २९ हजार ३ सय ९ जनाले दोस्रो मात्राको खोप लगाएका छन् । यो साताबाट प्रदेशमा दिइएको जोन्सन एण्ड जोन्सन खोप ५७ हजार ५ सय ९५ जनाले लगाएका छन् ।
लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा यस साता १ हजार ६ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये १ सय ९५ जना अस्पतालमा उपचाररत छन् भने बाँकी होम आइसोलेशनमा रहेका छन् । लुम्बिनी प्रदेशमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रुपन्देहीमा रहेका छन् भने २ सय भन्दा बढी सक्रिय सङ्क्रमित गुल्मी, पाल्पा, दाङ र बर्दियामा रहेका छन् । प्रदेशमा कोभिसिल्डको पहिलो डोज २ लाख ७८ हजार ४ सय ७६ जनाले लगाए भने दोस्रो डोज ८३ हजार ९ सय ३७ जनाले लगाएका छन् । भेरोशिल पहिलो डोज ३ लाख ३९ हजार ३ सय १६ जनाले लगाए भने दोस्रो डोज ६८ हजार १ सय ९ जनाले लगाएका छन् । यसैगरी जोन्सन एण्ड जोन्सनको ७ सय २५ जनाले लगाएका छन् । प्रदेशका पाल्पा, बाँके, बर्दिया र प्यूठान जिल्लामा पहिलाको तुलनामा खुकुलो हुने गरी निषेध आदेश थप गरेको छ । प्रदेशमा हालसम्म ८ सय ३४ जना स्वास्थ्यकर्मी कोभिड सङ्क्रमित भए । जसमध्ये ८ सय २७ जना निको भए । सात जना स्वास्थ्यकर्मीहरूको मृत्यु भएको जनाइएको छ ।
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा २९ हजार ८ सय ९२ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म २७ हजार ८ सय ७३ जना कोभिड सङ्क्रमणबाट मुक्त भएका छन् । हाल आइसोलेशनमा ६ सय ४३ जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या ३ सय ५१ रहेको छ । यो साता ४ सय ५१ जना नयाँ सङ्क्रमित थपिएका छन् । सातामा चार जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेशको १० वटै जिल्लामा साउन ११ गतेदेखि कोभिड १९ विरूद्धको खोप अभियान शुरू गरिएको छ । यस प्रदेशका लागि सङ्घीय सरकारले ५९ हजार भेरोसेल र १७ हजार ३ सय २० डोज जोन्सन एण्ड जोन्सन खोप पठाएपछि प्रदेश स्वास्थ्य निर्देशनालयले खोप अभियान शुरु गरेको हो । प्रदेशका १० ओटै जिल्लाका पायक पर्ने स्थानहरूमा चार दिनसम्म कोभिड–१९ विरूद्धको खोप अभियान शुरू गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर रविन खडकाले बताउनु भयो । उहाँका अनुसार हालसम्म यस प्रदेशका १ लाख ७ हजार ३ सय ३० जनाले कोभिड १९ विरूद्धको खोप लगाइसकेका छन ।
कर्णाली प्रदेशका २८ हजार ८ सय ४८ जना नागरिकले कोभिसिल्डको पहिलो र दोस्रो डोज तथा २२ हजार ५ सय ७० जनाले भेरोसेलको पहिलो डोज लगाइसकेको निर्देशक खडकाले जानकारी दिनु भयो । सबै जिल्लाबाट एकिन तथ्याङ्क आइनसकेपनि पहिलो डोज लगाएका अधिकांशले भेरोसिलको दोश्रो डोजको खोप लगाइसकेको निर्देशक खडकाको भनाइ छ । भेरोसेल खोपपछि मात्र ५० देखि ५४ वर्ष उमेर समुहका नागरिकहरुलाई जोन्सन एण्ड जोन्सन अमेरिकी खोप लगाउन सुरू गरिने निर्देशक खडकाले जानकारी पनि दिनु भयो । जिल्लामा हालसम्म ३३ हजार ४ सय ४९ जनाले कोभिसिल्ड तथा १४ हजार २ सय ७९ जनाले भेरोसेल खोप लगाईसकेको र १८ हजार ७ सय ७ जना नागरिकहरु कोभिसिल्डको दोश्रो डोज खोप लगाउन बाँकी रहेको प्रमुख वाग्लेले जानकारी दिनु भयो ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण फैलिएदेखि नौ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये सात जना ज्येष्ठ नागरिक छन् । कोभिड–१९ विरूद्धको खोप लगाउनेमा पनि सरकारले ६५ वर्षमाथिका नागरिकलाई प्राथमिकता दिएको छ । सोहीअनुसार जुम्लामा गत १४ माघदेखि खोप अभियान सञ्चालन गरिएको थियो । प्रत्येक स्थानीय तहमा कोभिसिल्डको पहिलो डोज दिइएपनि ६ महिना बितिसक्दा पनि खोपको दोस्रो डोज लगाउन पाएका छैनन् ।
जिल्लाका ८ हजार ९ सय ५८ जना ६५ वर्षमाथिका ज्येष्ठ नागरिकले दोस्रो डोज नपाएको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका जनस्वास्थ्य निरीक्षक प्रेम सुमाइले बताउनुभयो । जिल्लामा कोभिसिल्ड र भेरोसिल्ड गरेर दुई प्रकारका खोप अभियान सञ्चालन भएका छन् । भेरोसिल लगाउनेले अर्को डोज पनि पाएका छन् । तर, कोभिसिल्ड दोस्रो डोज भारतबाट आउन बन्द भएका कारण ठूलो सङ्ख्यामा नागरिक पूरा खोप लगाउनबाट वञ्चित भएको चन्दननाथ नगरपालिका स्वास्थ्य शाखा जुम्लाका जनस्वास्थ्य निरीक्षक क्षेत्र महतले बताउनुभयो । सामान्यतया पहिलो खोप लगाएको दुई महिनाभित्र दोस्रो खोप लगाउनुपर्छ । तर, ६ महिनासम्म ज्येष्ठ नागरिक खोपबाट वञ्चित भएको जनस्वास्थ्य निरीक्षक महतले बताउनुभयो ।
जिल्लामा कोभिसिल्ड पहिलो डोजको खोप लगाउने ८ हजार ९ सय ५८ जना ज्येष्ठ नागरिक छन् भने यसको दोस्रो डोज खोप २ हजार ९ सय ४८ जना स्वास्थ्यकर्मी, चालक कर्मचारीले लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ । यस्तै भेरोसिल पहिलो डोजको खोप १ हजार ९ सय ९१ जनाले लगाएका छन् भने यसको दोस्रो डोजको खोप १ हजार ६ सय १६ जनाले लगाएका छन् । भेरोसिलको दोस्रो जोडको खोप अभियान जारी नै रहेकोले पहिलो डोज लगाएका सबै जनाले दोस्रो डोजको खोप पाउने जनाएको छ ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ साउन ५ गतेदेखि २०७८ साउन ११ गतेसम्म २ सय ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । साउन ११ गते मात्रै यस प्रदेशमा ६६ जनामा सङ्क्रमण पुष्टि भएको छ । हालसम्म ५ सय ७६ जनाको मृत्यु भएको भएपनि अघिल्लो २४ घण्टमा सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा कोभिड सङ्क्रमणका कारण मृत्यु नभएको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । साउन ११ गतेसम्म आइसियुमा सात जना र भेन्टीलेटरमा तीन जना र कोभिड वार्डमा ६ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । अघिल्लो २४ घण्टामा २४ जना निको भएको निर्देशनालयले जनाएको छ । हालसम्म २ लाख ८५ हजार २ सय ४७ जनाको कोभिड परीक्षण भएकोमा ४४ हजार ९ सय जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर जगदिश जोशीका अनुसार पहिलो चरणको खोप अभियानमा २ लाख ४८ हजार ३ सय ६० जना र दोस्रो चरणको खोप अभियानमा ७१ हजार १ सय ४२ जनाले खोप लगाउनु भएको छ । तोस्रो चरणकोको खोप अभियानका लागि तयारी भइरहेको र यसका लागि जोनसन एण्ड जोनसन कम्पनीको १ लाख ४३ हजार र भ्यारोसील १ लाख ९७ हजार खोप आउने सूचना प्राप्त भएको स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर जोशीले बताउनु भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
प्रहरी हिरासत जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या
जिल्ला प्रहरी कार्यालय जुम्लाको हिरासत निकै जीर्ण हुँदा थुनुवालाई बसोबासमा समस्या भएको छ । द्वन्द्वकालमा ध्वष्त भएको प्रहरीको हिरासत मर्मत गरी प्रयोगमा ल्याएपनि जीर्ण अवस्थामा रहँदा थुनुवाहरूलाई बसोबासमा समस्या भएको…
जिल्ला सदरमुकाममा खानेपानीको अभाव
जिल्ला सदरमुकामसमेत रहेको खाँडाचक्र नगरपालिका–१, मान्म बजारमा तीन हप्तादेखि खानेपानीको चरम अभाव भएको छ । जीर्ण अवस्थामा रहेका खानेपानीका पाइपहरू फुटेर पुरै पानी जङ्गलमा जाने भए पनि नगरपालिका र उपभोक्त…
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…