कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये चार प्रतिशतमा सङ्क्रमण

  ०७८ मङ्सिर ७ गते

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये ३.७९ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता प्रतिदिन सरदर तीन जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ५४ हजार १ सय ६२ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता २ हजार ५३ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २ हजार ७३ जना सङ्क्रमित निको भए भने २२ जनाको मृत्यु भएको मन्त्रालयले जनायो ।

coviddata20211123weekly

गण्डकी प्रदेश

प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको कात्तिक ८ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ८७ हजार ७ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने नवलपरासी पूर्वमा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये १ हजार ५ सय ८१ जना होम आइसोलेशन, ६२ जना संस्थागत आइसोलेशन र २१ जना आइसियूमा रहेका छन् । गत २४ घण्टामा प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसगै प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ३ सय ९० जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार कात्तिक ८ गतेसम्म गण्डकी प्रदेशमा कोभिड–१९ विरुद्ध ६ लाख २२ हजार ९ सय ६७ जनाले पूर्ण खोप लगाएका छन् भने ९ लाख १० हजार ४ सय १५ जनाले खोपको पहिलो मात्रा लगाएका छन् ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा १ लाख ८० हजार २४ जनाले कोभिड –१९ परीक्षण गरेकोमा हालसम्म ३३ हजार ९ सय ६ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हालसम्म ३२ हजार एक सय ४२ जना कोभिडलाई जितेर घर फर्किएका छन् । हाल आइसोलेशनमा २६ जना रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या ३ सय ८७ रहेको छ । यो हप्ता २१ जना नयाँ सङ्क्रमित थपिएका छन । सातामा कोभिडबाट एकजनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३२ जनाले परीक्षण गरेकोमा १२ जना सङ्क्रमित भेटिएका छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ कात्तिक ३० गतेदेखि २०७८ मङ्सिर ६ गतेसम्म ५६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मङ्सिर ६ गते मात्रै सुदूरपश्चिमका कैलालीमा तीन र अन्य अस्पतालमा दुई जना गरी पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता कोभिड सङ्क्रमितबाट मुत्यु नभएको भएपनि हालसम्म मृत्यु हुनेको सङ्ख्या ६ सय ८ जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएको छ । मङ्सिर ६ गतेसम्म तीन जना महिलासहित नौ जना आइसोलेशनमा रहेका छन् । अधिल्लो २४ घण्टामा कोभिड वर्डमा एक जना बिरामीहरुको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख ३ हजार १ सय ९० जनाको कोभिड परीक्षण भएकोमा ४७ हजार ९ सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा कोभिशिल्ड पहिलो खोप पाउनेको सङ्ख्या ३ लाख ४ हजार ९ सय १८ जना रहेकोमा कोभिशिल्ड दोस्रो खोप १ लाख ८९ हजार ८ सय २३ जनाले मात्रै पाएका छन् । यसैगरी भेरोसेल पहिलो खोप पाउनेको सङ्ख्या ५ लाख ११ हजार ४८ जना रहेकोमा भेरोसेल दोस्रो खोप ३ लाख ९४ हजार ३ सय ६ जनाले मात्रै पाएका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप १ लाख ३९ हजार ९ सय ७९ जनालाई लगाइएको छ ।


अनलाइन डेस्क