कोभिड-१९: यो साता परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये २७ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । यो साता १७ जना केभिड सङ्क्रमितको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । एक सातामा ८० हजार ६ सय ५९ ओटा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो साता २१ हजार ५ सय ३९ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । एक सातामा २ हजार ५ सय जना सङ्क्रमित निको भए । यो साता कोभिड सङ्क्रमणको ग्राफ उकालो लागेको छ । जसका कारण सरकार र सरकारी निकायले शतर्कताका लागि नागरिकलाई आह्वान गरेका छन् ।

Coviddata20220118weekly

प्रदेश १

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७८ पुस २६ गतेदेखि माघ ४ गतेसम्मको अवधिमा झापामा २ सय ८७ जना पुरूष र १ सय ८९ जना महिला गरी ४ सय ६७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा २ सय ८० जना पुरूष र २ सय ७३ जना महिला गरी ५ सय ५३ जना, मोरङमा ७ सय ५ जना पुरूष र ४ सय ९१ जना महिला गरी १ हजार १ सय ९६ जना, उदयपुरमा ३२ जना पुरूष र १७ जना महिला गरी ४९ जना, भोजपुरमा १९ जना पुरूष र १७ जना महिला गरी ३३ जना, धनकुटामा २१ जना पुरूष र नौ जना महिला गरी ३० जना, खोटाङमा २३ जना पुरूष र १३ जना महिला गरी ३६ जना, पाँचथरमा आठ जना पुरूष र सात जना महिला गरी १५, ताप्लेजुङमा आठ जना पुरूष र नौ जना महिला गरी १७ जना, इलाममा १० जना पुरूष र १० जना महिला गरी २० जना,ओखलढुङ्गामा २१ जना पुरूष र १० जना महिला गरी ३१ जना, सोलुखुम्बुमा १४ जना पुरूष र चार जना महिला गरी १८ जना र तेहृथुममा ६ जना पुरूष र दुई जना महिला गरी आठ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल,प्रदेश जनस्वास्थ्य प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला, कोटीहोम प्रयोगशाला, नोवेल अस्पताल प्रयोगशाला, विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा २ हजार ४ सय ८७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेश

एक हप्ताको अवधिमा मधेश प्रदेशमा ६ सय ६ ओटा स्वाब पिसिआर परीक्षण गर्दा १ सय ७२ महिला र ४ सय ९ पुरुष गरी ५ सय ८१ जनामा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको मधेश प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । जसमध्ये धनुषामा १ सय ८१, पर्सामा १ सय ५८, सिरहामा ६२, महोत्तरीमा ४९, बारामा ४०, सर्लाहीमा ३७, रौतहटमा २९ र  सप्तरीमा २५ जनामा कोभिड—१९ सङ्क्रमण पुष्टि भएको छ । यस अधिमा तिन वर्षदेखि ७९ वर्ष उमेर समूहका व्यक्ति कोरोना सङ्क्रमित भएको देखिन्छ । यो एक हप्ताको अवधिमा १६ महिला र २६ पुरुष गरी ४३ जना कोभिड—१९ सङ्क्रमित निको भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेश

प्रदेश सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको माघ ३ गतेको तथ्याङ्क अनुसार प्रदेशमा कुल ९० हजार २९ जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् । हाल कास्कीमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् भने नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) मा २ सय भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् । गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये १ हजार ९ सय २८ जना होम आइसोलेशन, ३६ जना संस्थागत आइसोलेशन, सात जना आइसियू र एक जना भेण्टीलेटरमा रहेका छन् । प्रदेशमा कोभिड–१९ को सङ्क्रमणबाट कुल १ हजार ४ सय २८ जनाको मृत्यु भएको छ । प्रदेश सरकार स्वास्थ्य जनसङ्ख्या मन्त्रालयको तथ्याङ्क अनुसार माघ ३ गतेसम्म गण्डकी प्रदेशमा १८ वर्ष माथिका उमेर समुहले कोभिड–१९ विरुद्ध  ९३.९ प्रतिशतले खोपको पहिलो मात्रा लगाएका छन् भने ८३.१ प्रतिशतले खोपको पूर्ण मात्रा लगाएका छन् । त्यस्तै १२ देखि १७ वर्षसम्मका उमेर समूहमा १.१ % ले खोपको पूर्ण मात्रा लगाएका छन् भने ५९.७ % ले खोपको पहिलो मात्रा लगाएका छन् । स्वास्थ्य कार्यालय कास्कीले माघ ३ गते सूचना जारी गर्दै माघ ४ गतेबाट अग्रपक्तिमा अटिने, सार्वजनिक सेवामा सलग्न व्यक्ति तथा दिर्घ रोग भएका १८ वर्ष माथिका सम्पूर्ण व्यक्तिलाई एक मात्रा बुस्टर खोप दिने भएको छ । प्रदेशका विभिन्न जिल्लाले सोही अवधिमा बुस्टर खोप दिने सुचना दिएका छन् ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीका अनुसार सुदूरपश्चिम प्रदेशमा २०७८ पुस २७ गतेदेखि २०७८ माघ ३ गतेसम्म १ हजार ९  सय ६१ जनामा सङ्क्रमण पुष्टि भएको छ । माघ ३ गते मात्रै सुदूरपश्चिमका बैतडीमा नौ, दार्चुलामा एक, डोटीमा दुई, कैलालीमा ८७, कञ्चनपुरमा दुई र अन्य जिल्लामा दुई जना गरी १ सय ३ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस साता दुई जना कोभिड सङ्क्रमितको मुत्यु भएसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ६ सय १६ जना रहेको सुदूरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय राजपुर, डोटीले जनाएकोे छ । माघ ३ गतेसम्म २४ जना महिलासहित १ सय ९ जना आइसोलेशनमा रहेका छन् । अघिल्लो २४ घण्टामा कोभिड वर्डमा पाँच जना, आइसियुमा तीन जना र भेन्टीलेटरमा दुई जना बिरामीहरुको उपचार भइरहेको र सात जना निको भएको मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख ५३ हजार २ सय ६० जनाको कोभिड परीक्षण भएकोमा ५० हजार ९ सय ९२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । अघिल्लो २४ घण्टामा गड्डा चौकी नाका, कञ्चनपुरबाट ४ सय ८२ जना, जुलाघाट नाका, बैतडीबाट ३३ जना र गौँरीफन्टा नाका, कैलालीबाट ६ सय ५४ जना नेपाल प्रवेश गरेकोमा उहाँहरुको एन्टीजेन परीक्षण गर्दा १ सय ५४ जनामा कोभिढ सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशस्तरीय अस्पतालमा आइसोलेशन वेड ७ सय १०, एच.डी.यू वेड २ सय १३, आइसियू वेड ७२, भेन्टिलेटर ३१, अक्सीजन सिलिन्डर १ हजार ३ सय ९१, अक्सीजन कन्सन्ट्रेट १ सय ९९, अक्सीजन प्लान्ट पाँच र ट्यांक दुई ओटा रहेको जनाएको छ ।