कोभिड–१९: परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा सङ्क्रमण

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो एक साताको अवधिमा परीक्षण गरिएकामध्ये १५ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयले एक सातामा ३५ हजार २ सय १८ ओटा स्वाब परीक्षण गर्दा ५ हजार ३ सय ७६ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ । एक सातामा १ हजार ३ सय ९० जना सङ्क्रमित निको भए भने ३८ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनायो । नेपालमा कोभिड–१९ को दोस्रो लहर सुरू भएको सरकारले जनाएको छ । सरकारले स्वास्थ्य अनुशासनमा जोड दिँदै आएको छ । वैशाख ६ गते मन्त्रिपरिषदले कोभिड–१० को सङ्क्रमणबाट बच्नका लागि मापदण्ड र केही आदेश समेत जारी गरेको छ ।

coviddata20210420kathmandu

प्रदेश १

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ०७७ चैत ३१ गतेदेखि वैशाख ६ गतेसम्मको अवधिमा झापामा २६ जना पुरूष र २२ जना महिला गरी ४८ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी सुनसरीमा ३४ जना पुरूष र १५ जना महिला गरी ४९ जना, मोरङमा ८४ जना पुरूष र ३७ जना महिला गरी १ सय ३७ जना, पाँचथरमा एक जना पुरूष र दुई जना महिला गरी तीन जना, संखुवासभामा तीन जना पुरूष, उदयपुरमा ६ जना पुरूष र तीन जना महिला गरी नौ जना, भोजपुरमा एक जना महिला, धनकुटामा ११ जना पुरूष र पाँच जना महिला गरी १६ जना, इलाममा ६ जना पुरूष र एक जना महिला गरी सात जना, खोटाङमा चार जना पुरूष, ओखलढुङ्गामा तीन जना पुरूष र दुई जना महिला गरी पाँच जना, सङ्खुवासभामा तीन जना पुरूष, सोलुखुम्बमा तीन जना पुरूष र ताप्लेजुङमा चार जना पुरूष गरी  २ सय ८९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । प्रदेश १ मा रहेका कोशी कोभिड–१९ अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा प्रयोगशाला, मेची अस्पताल प्रयोगशाला,कोटीहोम प्रयोगशाला,नोवेल अस्पताल प्रयोगशाला,विराट अस्पताल प्रयोगशाला र न्यूरो अस्पताल प्रयोगशालामा गरिएको कोभिड–१९ को परीक्षणमा प्रदेश १ मा एक साताको अवधिमा प्रदेश १ मा २ सय ८९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तेहृथुममा यो साता कोभिड–१९ सङ्क्रमित फेला नपरेको मन्त्रालयले जनाएको छ । कोभिड–१९ को सङ्क्रमण बढेर गएपछि नेपाल सरकारले वैशाख ७ गतेबाट मोरङको विराटनगर महानगरपालिकामा वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार एन्टिजेन परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उदयपुरबाट उपचारका लागि विराटनगर ल्याइएकी एक जना महिलाको विराटनगरका विभिन्न अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । विराटनगरका अस्पतालले भर्ना लिन अस्वीकार गरेपछि उपचार नपाएर उदयपुरको गाइघाट नगरपालिकाकी ३५ वर्षीया महिलाको ज्यान छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई एम्बुलेन्समा राखेर उपचारका लागि वैशाख ६ गते बिहान साढे तीन बजेतिर विराटनगर ल्याएर गोल्डेन अस्पतालमा भर्ना गरिएको थियो । एन्टिजेन परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि विभिन्न अस्पताल पु¥याए पनि उपचार गराउन कसैले नमानेको पीडित परिवारले जनाएको छ । विराटनगरमा रहेका अन्य अस्पतालले उपचार गर्न नमानेपछि आफन्तले विराटनगरस्थित कोसी अस्पतालका मेडिकल सुपरिटेण्डेन डा. चुमनलाल दासलाई सम्पर्क गरेका थिए । त्यति बेलासम्म श्वास फेर्न नसकेर बिरामीको अवस्था अन्तिम भएको पीडित पक्षको भनाइ छ । अस्पतालका मेसु दासको आग्रहमा बिरामीलाई बिहान ७ बजेतिर दोस्रो पटक कोसी अस्पताल पुर्‍याइए पनि केही बेरमै मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ । महिलाको शरीरमा अक्सिजनको मात्रामा पनि निक्कै कम भएकोले उपचार सुचारू गर्न नपाउँदै मृत्यु भएको डा. दासको भनाइ छ । एम्बुलेन्स चालकका अनुसार बिरामीलाई उदयपुरबाट विराटनगरसम्म ल्याइपुर्‍याउँदा दुई सिलिन्डर अक्सिजन सकिएको थियो । मृत्युपछि महिलाको शव परिवारका सदस्य र आफन्तले उदयपुरस्थित घरतर्फ लिएर गएका छन् । कोभिड–१९ सङ्क्रमणका कारण कोही कसैको मृत्यु भएमा स्वास्थ्य सावधानी अपनाउँदै र आवश्यक मापदण्डको पालना गर्दै शवको अन्त्येष्टि गर्नुपर्ने नियम छ । गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले रिपोर्ट पोजिटिभ आएका कारण सुविधा उपलब्ध गराउन नसकिएकाले थप उपचारका लागि महिलालाई आइसोलेसन सेन्टरमा रेफर गरिएको बताउनु भयो । विराटनगर महानगरपालिकाका स्वास्थ्य संयोजक रमेश कार्कीका अनुसार विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले एन्टिजेन रिपोर्ट पोजिटिभ आउनुलाई कोभिड–१९ को सङ्क्रमण भनेको छ । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलालले अस्पतालले महिलाको उपचार गराउन नमानेको विषयमा थप बुझ्ने काम भइरहेको बताउनु भएको छ ।

बागमती प्रदेश

यस प्रदेशमा वैशाख ६ गते कोभिड–१९ सङ्क्रमितको सङ्ख्या जम्मा १ लाख ५७ हजार ४ सय १९ जना पुगेको छ । अघिल्ला हप्ता १ लाख ५४ हजार ६ सय ९६ जना कोभिड–१९ का सङ्क्रमित रहेकोमा यस हप्ता २ हजार ७ सय २३ जना सङ्क्रमित थपिएका छन् । यो हप्ता अघिल्लो हप्ता भन्दा १ हजार ४ सय ६९ जना बढीले कोभिड–१९ का सङ्क्रमित थप भएका हुन् । यस प्रदेशमा एक महिना अखिदेखि प्रत्येक हप्ता सङ्क्रमितको सङ्ख्या बढ्न थालेको छ ।

यस प्रदेशका कूल सङ्क्रमितमध्ये १ लाख ५३ हजार ३ सय १८ जना उपचारपछि निको भइसकेका छन् भने विभिन्न अस्पतालका आइसोलेशन तथा होम आइसोलेशनमा ३ हजार ५२ जना उपचाररत रहेका छन् । अघिल्लो हप्ता सक्रिय सङ्क्रमतिको सङ्ख्या १ हजार ४ सय ६४ जना रहेकोमा यो हप्ता १ हजार ५ सय ८८ जना बढ्न गई ३ हजार ५२ जनामा पुगेको हो । यस प्रदेशमा वैशाख ६ गतेसम्म मृत्यु हुनेको सङ्ख्या भने १ हजार ४९ जना पुगेको छ । यो अघिल्लो हप्ता भन्दा २० जनाले बढी हो । यस प्रदेशमा कोभिड–१९ बाट मृत्यु हुनेको दर ०.६७ प्रतिशत रहेको छ । अघिल्लो साता ३९.६० प्रतिशत महिला र ६०.४० प्रतिशत पुरुष सङ्क्रमित भएकोमा वैशाख ६ गते महिला ३९.६५ र पुरुष ६०.३५ प्रतिशत कायम भएको छ । बागमती प्रदेशमा अघिल्लो हप्ता देशको कूल सङ्क्रमणको सङ्ख्या ५५.३० प्रतिशत रहेकोमा वैशाख ६ गते आइपुग्दा ५५ प्रतिशत कायम भएको छ ।

यस प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका मध्येमा अघिल्लो हप्ता ९८.३९ प्रतिशतको हाराहारीमा निको हुनेको सङ्ख्या रहेकोमा वैशाख ६ गते आइपुग्दा यो सङ्ख्या ९७.४१ प्रतिशतमा झरेको छ । कोभिड–१९ को विरुद्ध पहिलो र दोस्रो चरणको खोप कार्यक्रममा लक्ष्यको ६५.७८ प्रतिशत मात्र पुरा भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तेस्रो चरण अन्तर्गत यस प्रदेशमा चैत २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएकोमा वैशाख ६ गतेसम्म १ लाख २७ हजार ७ सय ६६ जनाले खोप लिइ सकेका छन् ।

गण्डकी प्रदेश

गण्डकी प्रदेशमा चैत ३१ गतेबाट वैशाख ६ गतेसम्म थप ३ सय ९१ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । जसमध्ये २ सय ३६ जना पुरुष र १ सय ५५ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कुल सङ्क्रमितको सङ्ख्या १९ हजार ४ सय ६ रहेको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वैशाख ६ गतेको तथ्याङक अनुसार गण्डकी प्रदेशमा रहेका सक्रिय सङ्क्रमित मध्ये ५ सय ९७ जना होम आइसोलेशनमा रहेका छन् भने ४६ जना संस्थागत आइसोलेशन, चार जना आइसीयू र एक जना भेण्टिलेटरमा रहेका छन् । कोभिड सङ्क्रमण बढेसँगै वैशाख ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले पोखरा महानगरपालिकामा रहेका शैक्षिक संस्था, विद्यालय, इन्स्टिच्यूट, तालिम केन्द्र लगायतलाई यही वैशाखमसान्त विद्यालय बन्द गर्ने निर्णय गर्ने भएको अनुसार पोखरा महानगरपालिकाको सम्पूर्ण विद्यालयले अनलाइन माध्यमबाट शैक्षिक गतिविधि सञ्चालन गरेका छन् ।

सुदूरपश्चिम प्रदेश

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा चैत २४ गतेदेखि चैत ३० गतेसम्म २४ जना महिला सहित ६९ जनामा सङ्क्रमण पुष्टि भएको छ । चैत ३० गते मात्रै सुदूरपश्चिमका डडेल्धुरा जिल्लामा एक पुरुष, कैलालीमा तीन महिला सहित १४ जनामा र कञ्चनपुरमा ६ पुरुष गरी जम्मा २१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो साता एक जना पुरुषको मृत्यु भएसँगै यस सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ ।  हालसम्म सुदूरपश्चिम प्रदेशमा ३ हजार ९ सय ६६ जना महिला र ११ हजार १ सय ९६ जना पुरुष गरी १५ हजार १ सय ६२ जनामा कोभिड पुष्टि भएको छ । नेपाल सरकारले सञ्चालन गरेको पहिलो र दोस्रो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा सुदूरपश्चिम प्रदेशमा चैत १५ गतेसम्म २ लाख २ हजार ८ सय ८ जनाले खोप लिएको सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


अनलाइन डेस्क