कोभिड–१९ तेस्रो लहरको माहामारीको पूर्व तयारीका लागि एकजुट हुन आवश्यक

  ०७८ असाेज ८ गते

कोभिड–१९ को तेस्रो लहरको माहामारी आउने सम्भावना रहेकोले पूर्व तयारीको लागि सबै एकजुट हुन आवश्यक रहेको एक कार्यक्रमका सहभागहिरूले जोड दिएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), राष्ट्रिय मानव अधिकार आयोग, नेपालगञ्जको आयोजना  डिसिए र सिशुको सहयोगमा असोज ७ गते आयोजित कोभिड–१९ महामारीका दौरानमा अग्रणी भूमिका निर्वाह गरिरहेका मानव अधिकार रक्षकहरूको अवस्था, चुनौती र संरक्षण विषयक अन्तरक्रिया कार्यक्रममा उक्त विषयमा जोड दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोभिड–१९ को तेस्रो लहरको माहामारी आउने सम्भावना रहेकोले पूर्व तयारीको लागि सबै एकजुट हुन आवश्यक रहेको बताउनु भयो । प्रजिअ गेलालले सबैले स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गर्नुको साथै  जिल्ला प्रशासनबाट भएका कमि कमजोरीको विषयमा जानकारी गराउन आग्रह गर्नुभयो ।

नेपालगञ्ज उप–महानगरपालिकाकी उप– मेयर उमा थापा मगरले कोभिड महामारीको पहिलो चरणमाको समयमा भएका कमि कमजोरीलाई दोस्रो लहरको समयमा सुधारेर कामलाई अगाडि बढाएको बताउनु भयो ।

photo2021092301banke

मेयर मगरले स्वास्थ्यकर्मीहरूको कोभिड महामारीको बेलामा कोभिड बिमा र जोखिम भत्ताको विषयमा समस्या भएकोले समाधानका लागि पहल भइरहेको बताउनु भयो । उहाँले भारतबाट नेपाल आएका नागरिकहरूलाई राख्नको लागि २ हजार क्षमताको होल्डीङ सेन्टर निमार्ण गराउने कामलाई अगाडि बढाएको बताउनु भयो ।

राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्जका प्रमुख झङ्करबहादुर रावलले आफूले नागरिकहरूलाई विभेद नगरी नागरिकको अधिकारको विषयमा काम गर्दै आएको बताउनु भयो । उहाँले मानव अधिकारकर्मी सङ्क्रमित हुँदा पनि बिरामीका लागि लकडाउनको समयमा औषधि खरिद गर्न जान समस्या भएको बेलामा मानव अधिकार रक्षकहरूले पहल गरेको बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धिरजङ्ग शाहले कोभिड विरूद्धको खोप लगाउने बेलामा खोपका विषयमा समाजमा नकारात्मक कुराहरू फैलिएका कारण नागरिकहरू खोप लगाउन नआएको प्रसँगमा जिल्लामा ३ लाख २० हजार जनाले खोप लगाउनु पर्नेमा हालसम्म १ लाख १० हजार जनाले मात्र कोभिड विरूद्धको खोप लगाएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालयका बाँकेका डिएसपी मधुसुधन न्यौपानेले कोभिड महामारीको रोकथाममा  नागरिक समाजको महत्वपूर्ण सहयोग रहेकोले आगामि दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा रहेको बताउनु भयो ।

नेपालगञ्ज मेडिकल कलेजका डाक्टर विनोद कर्णले कोभिड महामारी रोकथाम सम्बन्धी पूर्व तयारी गर्ने विषयमा पहिले गम्भीर भएर नलागेका कारण धेरै मानविय क्षति भएको बताउनु भयो ।

नेपालगञ्ज शिक्षण अस्पतालका सहायक प्रबन्धक डाक्टर नितेश कनोडियाले नागरिक र समाजप्रति मानव अधिकार रक्षकले आफ्नो दायित्वको विषयमा गम्भीर रहनुपर्ने बताउँदै नेपाल भारत सिमा नाकामा अझै निगरानी गरि कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्यलाई अघि बढाउन आवश्यक रहेको बताउनु भयो ।  भेरी अस्पतालका डाक्टर प्रकाश थापाले प्रदेश सरकारको सहयोग र अस्पतालको पहलमा कोभिड अस्पताल सञ्चालनमा ल्याएको बताउनु भयो ।

कोभिड पहिलो चरणको बेलामा नागरिकहरूमा गलत प्रचार भएकोले नागरिकहरूलाई अस्पतालसम्म आउन डराएको बताउनु भयो । उहाँले नागरिक समाजको सहयोगमा गलत प्रचारहरूलाई हटाउन सफल भएको बताउनु भयो । पत्रकार जीवन पाण्डेले कोभिड महामारीको सुरूवाती चरणमा पत्रकारले कोभिड फैलाएको भन्दै आरोप आएको बताउनु भयो ।

अधिकारकर्मी बसन्त गौतमले कोभिड रोकथाममा सबैले समन्वय गरेर अगाडि बढ्नु पर्ने बताउदै  जोखिममा परेका नागरिकहरूलाई बचाउनु नै मानव अधिकार रक्षकको महत्वपूर्ण भूमिका रहेकोले अग्रपङ्क्तिमा काम गर्ने रक्षकहरूलाई सम्मान गरेर मनोबल बढाउन आवश्यक रहेको बताउनु भयो ।


स्मृति देवकोटा