कोभिड–१९ जोखिम कायमै, कर्णालीमा यस्तो छ तयारी
कोभिड –१९ सङ्क्रमणको नयाँ भेरियन्ट (ओमिक्रोन) मुलुकका विभिन्न ठाउँमा पुष्टि भइरहेको बेला कर्णालीमा भने सर्वसाधारण नागरिकको ध्यान जान सकेको छैन । सङ्क्रमणबाट सुरक्षित रहन सामान्य स्वास्थ्य सुरक्षाको मापदण्ड अन्तरगत अपनाइने भौतिक दुरी कायम, स्यानिटाइजर प्रयोग, माक्स जस्ता स्वास्थ्य सामग्रीको प्रयोग गर्नतर्फ बेवास्ता बढ्दै गएको छ ।
सरकारले सङ्क्रमणको अवस्था भयावह हुनसक्ने भन्दै शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरिसकेको छ । तर, प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा सरकारी विद्यालयहरु बन्द छन् भने कतिपय संस्थागत विद्यालयहरू सञ्चालनमा आइरहेका छन् । विद्यालयको पोशाक नलगाएर विद्यार्थीहरूलाई बोलाइ पठन पाठन गराइरहेको सन्दर्भमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व डीन तथा मानव अधिकार रक्षक सञ्जाल कर्णाली प्रदेशका संयोजक पिताम्बर ढकालले माघको दोस्रो हप्तासम्म धैर्य धारण गर्न विद्यालय तथा सम्बन्धित सबैलाई आग्रह गर्नुभयो ।
‘बालबालिका, टिचर हुँदै घर परिवारलाई कोभिड लागेर समुदायमा भयावह अवस्था आउन सक्छ’ ढकालले भन्नुभयो, ‘वैकल्पिक शिक्षण सिकाइ प्रक्रिया अपनाएर विद्यार्थीलाई अध्यापन गराउन सकिन्छ तर, यस्तो बेला विद्यालय खोल्नु सबैका लागि घातक हुन सक्छ ।’
विभिन्न विषयमा कक्षाहरू सञ्चालन गराइरहेका नीजि इन्सिच्युटहरूले आयोगका तयारी कक्षा र ट्युसन कक्षाहरूलाई निरन्तरता दिइरहेका छन् । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्देशन गरेपनि इन्स्ट्च्यिुटहरुले आयोगका तयारी कक्षामा एउटै कोठामा कोठामा ८० देखि डेढ सय बढी विद्यार्थीहरू पढाइरहेका छन् । एक साताअघि मात्रै वीरेन्द्रनगरस्थित अमरज्योति नमुना माध्यामिक विद्यालयमा शिक्षकलाई कोभिड पुष्टिभएपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
त्यस्तै, राष्ट्रिय वाणिज्य बैंक सुर्खेत शाखामा कार्यरत कर्मचारीमा समेत भाईरस सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह नै बन्द गरिएको छ । कार्यालयमा कार्यरत सुरक्षा गार्ड सहित १० जनामा माघ २ गते सङ्क्रमण पुष्टि भएपछि बैंक नै बन्द गर्नुपरेको कार्यालय प्रमुख लीलाराम ढुङ्गानाले जानकारी दिनुभयो । १८ जना कर्मचारी कार्यरत बैंकमा अन्य सबैको पिसिआर परीक्षण गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ्क हेर्दा पनि जोखिम बढेसँगै दैनिक सङ्क्रमण दर पनि बढ्न थालेको छ । तर, नागरिक र सरोकारवाला निकाय भने अझै चनाखो बनिसकेका छैनन् ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णालीका निर्देशक डा. रविन खड्काले पनि संक्रमणको दर बढ्दै गएको बताउँनुहुन्छ । उहाँका अनुसार अघिल्लो साता मात्रै कूल गरिएको पीसीआर परीक्षणमा ७६ प्रतिशत कोभिड पुष्टि भएको हो । २१ जनाको पीसीआर परीक्षण गरिएको मध्ये १६ जनामा सङ्क्रमण पुष्टि निर्देशक खड्काले बताउनुभयो ।
परीक्षणको दायरा बढेसँगै सङ्क्रमितको सङ्ख्या पनि बढीरहेको प्रति स्वास्थ्यकर्मीहरू चिनित देखिएका छन् । नागरिकले सावधानीमा अटेरी गर्नाले विगतको नियती नदोहोरीएला भन्न नसकिने चिकित्सकले चेतावनीसमेत दिएका छन् । ‘हाम्रो यस्तै छाडा गतिविधि भइरहने हो भने गएको बैशाख, जेठ असारमा हामीले भोगेको नियती फेरी नआउँला भन्न सकिन्न’ निर्देशक डा. खड्काले भन्नुभयो ।
स्वास्थ्य सेवा निर्देशनालयको तथ्याङ अनुसार हाल सुर्खेतमा १२ जना, सल्यानमा १४ जना र रूकुम पश्चिममा ३ जना सङ्क्रमित होम आइसोलेशनमा बसिरहेका छन् ।
सिमा नाकामा कमजोर व्यवस्थापन
स्थानीय प्रशासन र प्रदेश सरकारले सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना, निगरानी, परीक्षणको दायरा बढाउन, आवश्यक स्वास्थ्य पूर्वाधार निर्माणमा गति दिन सकेका छैनन् । सरकारी संयन्त्रबाट रोकथाम तथा नियन्त्रणका लागि गरिएका निर्णय पनि कार्यान्वयनमा ढिलाई भइरहेको छ ।
जोखिम नियन्त्रणका लागि सीमा नाकामा हुनुपर्ने व्यवस्थापन पक्ष कमजोर बनेको छ भने भारत लगायत विदेशबाट भित्रिने नागरिकको चेकजाँचको उचित व्यवस्था छैन । सीमा नाकामा अन्य प्रदेशमा भित्रिनेहरूको विवरण सङ्कलन गरिएको छैन ।
हाल बाँकेसँग जोडिएको सुर्खेतको बबई र कैलालीसँग जोडिएको कुइने तथा सल्यानको कपुरकोट नाका हुदैँ नागरिकहरू कर्णाली प्रदेशमा भित्रिरहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विष्टका अनुसार तीनवटै नाकाबाट दैनिक करीब २५ सयको सङ्ख्यामा नागरिकहरू प्रदेशमा भित्रिरहेका छन् ।
जसले गर्दा निर्वाध गाउँघरमा कोभिड पुग्ने आंशङ्कामा नागरिक त्रसित बनिरहेका छन् । प्रदेश सरकार र स्थानीय प्रशासन सुर्खेतको अगुवाइमा बबई नाकामा सामान्य स्वास्थ्य परीक्षण कार्य भर्खर सुरू गरिएको निर्देशक खड्काको भनाइ छ ।
‘चेकजाँचको क्रममा शङ्कास्पद व्यक्ति भेटिएमा सम्बन्धित स्थानीय तहमा खवर गर्ने र सुरक्षित आइसोलेशनमा बस्ने व्यवस्था मिलाउने गरी पठाउने गरिएको छ’ निर्देशक खड्काले थप्नुभयो । उहाँका अनुसार अव केही दिनभित्र होल्डिङ सेन्टर निर्माण गरेर भारत लगायतका स्थानबाट आउने व्यक्तिहरूलाई राखिने छ ।
पूर्वाधारको तयारी
रोजगारीमा भारत लगायत विभिन्न शहरहरूमा पुगेका कर्णालीका नागरिक सङ्क्रमण बढेपछि घर फर्किने क्रम बढेसँगै जोखिम पनि बढेको छ ।
एकातिर सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढीरहेको छ भने अर्कोतिर परीक्षण गराउन नमान्नेको सङ्ख्या पनि उत्तिकै रहेको स्वास्थ्यकर्मीहरू बताउँछन् । विगतको वर्षमा कोभिडले चरम रूप लिंदा कर्णाली प्रदेशमा सङ्क्रमितहरूले उपचारका लागि बेड र अक्सिजनको चरम अभाव व्यहोर्नु परेको थियो ।
प्रदेशकै सुविधा सम्पन्न अस्पताल मानिएको प्रदेश अस्पताललेसमेत विरामी भर्ना लिन नसक्ने भन्दै सूचना जारी गर्नु परेको थियो । ‘विगतको प्राक्टिसलाई पनि हेरेर हामीले कोभिडको विरामीका लागि भनेर भवन अलग्गै छुट्टयाएका छौँ’ प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्काले भन्नुभयो,‘पाइप फिटिङ गरेर बेडमा पाइप लाइन मार्फत अक्सिजनको व्यवस्था गरेका छौँ । सय, डेढ सय जना विरामीका लागि तयारी नै छ । विरामी बढ्दै गए बेड थप्न सकिन्छ ।’
सर्वसाधारण नागरिकले पनि स्वास्थ्य सुरक्षाको सावधानी अपनाए विगतको जस्तो समस्या नदोहोरीने उहाँको भनाइ छ । ‘नागरिकले अनिवार्य खोप लगाएर आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर उपचार गर्नुभन्दा पनि रोग लाग्न नदिनु नै राम्रो हुने थियो’ उहाँले भन्नुभयो ।
स्वास्थ्य सेवा निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा कोभिडका आईसीयू बेड ५७ वटा रहेका छन् । प्रदेश अस्पताल सुर्खेतमा २५ बेड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १०, सल्यानमा २, जाजरकोटमा २, दुल्लु दैलेखमा ५, कालिकोटमा ८, हुम्लामा ३ र डोल्पामा २ वटा आईसीयू बेड तयारी अवस्थामा रहेका छन् ।
त्यस्तै, कर्णालीमा रहेका भेन्टिलेटरमध्ये सुर्खेतमा १०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १५, डोल्पा, जाजरकोट र रूकुम पश्चिममा एक/एक, कालिकोटमा ४, दैलेखमा २, हुम्ला ३ वटा भेन्टिलेटर तयारी अवस्थामा रहेको निर्देशनालयले जनाएको छ ।
विगतको वर्षमा भएको अक्सिजनको अभावलाई मध्यनजर गरेर कर्णालीका प्रत्येक जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिएको छ । कोभिड नियन्त्रणका लागि आवश्यक पूर्वाधार थप गर्ने गृहकार्य भईरहेको निर्देशक खड्काको भनाइ छ ।
जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह
निर्देशक खड्काले जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न अनुरोध गर्नुभएको छ । पछिल्लो समय राजनीतिक दलहरूले आयोजना गरेका विभिन्न सभा, सम्मेलन, जुलुशहरू पूर्ण रूपमा बन्द गर्नुपर्ने, अनावश्यक रूपमा घर बाहिर अनावश्यक यात्रा नगर्न आग्रह गर्नुभएको छ ।
त्यस्तै, विद्यालय, शिक्षण संस्थाहरू केही समयका लागि पूर्ण रूपमा बन्द गर्नुपर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी लक्षित समूहले कोभिड विरूद्धको खोप लगाउनुपर्ने, भारत लगायत विदेशबाट फर्किएका व्यक्तिहरू अनिवार्य होम आइसोलेशनमा बस्न सुझाव दिनुभएको छ ।
पूर्णबहादुर खड्का
सम्बन्धित समाचारहरू
पुनः मतदान मागको रिटमा उच्च अदालत विराटनगरद्वारा अल्पकालीन आदेश जारी
वैशाख ३० गते मतदान भइरहेको अवस्थामा पानी परेका कारण स्थगित भएको त्रियुगा नगरपालिका–१२ जनप्रेमी आधारभूत विद्यालय मतदान केन्द्रमा स्थगित निर्वाचन पुनः नगराउन उच्च अदालत विराटनगरले जेठ ५ गते अल्पकालीन आदेश…
झडपमा घाइते भएका शाहीको उपचारका क्रममा मृत्यु
खार्पुनाथ गाउँपालिकाको मतगणना स्थलको झडपमा घाइते भएका सोही गाउँपालिका–५ याङ्चुका ६१ वर्षीय छत्त शाहीको उपचारका क्रममा जेठ ४ गते मृत्यु भएको मृतकका छोरा सागर शाहीले जनकारी दिनु भएको छ ।…
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (जेठ ५ गते)
जेठ ५ गते १२ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार २८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ५ सय ८०…
क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित
क्षिरेश्वरनाथ नगरपालिकाको जारी मतगणना विवादका कारण जेठ ३ गतेदेखि स्थगित गरिएको छ । जेठ ३ गतेदेखि अनिश्चित समयका लागि स्थगित गरिएको मतगणना जेठ ५ गतेसम्म सुरु हुन सकेको छैन ।…
कमलामाई नगरपालिका वर्डा नं. १३ मा मतपत्र बढि भेटिएपछि गणना स्थगित
कमलामाई नगरपालिका–१३ को प्रभात माध्यमिक विद्यालय रानीबासमा मुचुल्का भन्दा बढी मतपत्र भेटिएपछि ०७८ जेठ ५ गते बिहानदेखि मतगणना स्थगित भएको छ । वैशाख ३० गते भएको मतदानमा १ हजार ७…