कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १६ गते)

असोज १६ गते २ हजार ७ सय २२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ८२ हजार ४ सय ५० पुगेको छ । गत २४ घण्टामा १४ हजार ७ सय ३९ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज १६ गतेसम्म कोभिड–१९ सङ्क्रमणका कारण ५ सय २० जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ६० हजार ६ सय ९६ जना निको भएका छन् । असोज १६ गते ३ हजार ३ सय ७ जना निको भएका छन् भने निको दर ७३.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २१ हजार २ सय ४३ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार ११ हजार ७ सय ६० जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय १० जनाको उपचार आइसीयूमा र २९ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।

प्रदेश १

झापा जिल्ला प्रतिनिधि नरेश खातीका अनुसार समुदायमा कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि अर्जुनधारा नगरपालिकाले असोज १६ गतेदेखि अर्को सूचना नभएसम्मका लागि वडा नं ६ कार्यालयबाट सेवा प्रवाह बन्द गरेको छ । वडा नं ६ मा ३३ वर्षीय पुरूषमा असोज १५ गते कोभिड–१९ को को लक्षणसहित सङ्क्रमण पुष्टि भएपछि जोखिम न्यूनीकरणका लागि सेवा प्रवाह बन्द गरिएको वडाध्यक्ष लोकनाथ गौतमले जानकारी दिनु भयो ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोभिड–१९ सङ्क्रमित तिलाठी कोइलाडी गाउँपालिका–५ का ६८ वर्षीय पुरुषको असोज १६ गते उपचारका क्रममा मृत्यु भएको छ । निमोनियाबाट ग्रसित भएपछि ६ दिनअघि न्युरो अस्पताल भर्ना भएका उनको उपचारका क्रममा न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिनु भयो । यसैगरी भक्तपुर अस्पतालमा उपचारार्थ सप्तरीका ४८ वर्षीय पुरुषको असोज १५ गते कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भयो । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि असोज १२ गते अस्पतालमा भर्ना भएका उनको कोभिड परीक्षण गर्दा पोजिटिभ देखिएको अस्पतालका सूचना अधिकारी डाक्टर सुनिल ढुङ्गेलले जानकारी दिनु भयो । सङ्क्रमण पुष्टि भएपछि भेण्टिलेटरमा राखेर उपचार भइरहेका पुरुषमा निमोनिया र मधुमेहको समेत समस्या देखिएको डाक्टर ढुङ्गेलले बताउनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जिल्ला प्रशासन कार्यालय सिरहामा कार्यरत आठ जना कर्मचारीमा कोभिड सङ्क्रमण भएको र असोज १३ गते प्रशासन फाँटका एक जना कर्मचारीमा पनि कोभिड सङ्क्रमण देखिएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भयो । जोखिम न्यूनीकरण गर्न असोज १८ गतेदेखि असोज २४ गतेसम्मको लागि कार्यालयको सेवा शान्ति सुरक्षा र मुद्दा बाहेकका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो ।

बागमती प्रदेश 

यस प्रदेशमा असोज १६ गते काठमाडौँमा १ हजार २ सय ८०, भक्तपुरमा १ सय ९६, ललितपुरमा १ सय ६२, चितवनमा ८३, मकवानपुरमा ६१, काभ्रेपलान्चोकमा २६, धादिङमा २३, सिन्धुलीमा १६, नुवकोटमा ११, सिन्धुपाल्चोकमा १०, रामेछाप र दोलखामा तीन/तीन जना गरी १ हजा ८ सय ७४ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ३२ हजार ४ सय ९७ जना पुगेको छ । जसमध्ये १८ हाजर ८ सय ५१ जना उपचारपछि निको भएका छन् भने १३ हजार ४ सय ४९ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशनमा भइरहेको छ । यस प्रदेशमा कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ९७ पुगेको छ ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार धादिङ अस्पताल र नीलकण्ठ नगरपालिकामा कार्यरत कर्मचारिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । धादिङ अस्पतालका दुई जना स्वास्थ्यकर्मीमा कोभिड–९ सङ्क्रमण पुष्टि भएपछि धादिङ अस्पतालको सेवा बन्द गरिएको हो । धादिङ अस्पतालको इमरजेन्सी सेवा, ज्वरो क्लिनिक, र प्रसूति सेवा बाहेकका सबै सेवा अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिनुभयो । यसअघि पनि असोज ७ गतेदेखि १२ गतेसम्म पनि यसरी नै अत्यावश्यक सेवा बाहेकका सेवा बन्द गरिएको थियो ।

यसैगरी नीलकण्ठ नगरपालिकामा कार्यरत चार जना कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै असोज १२ गते स्वाब सङ्कलन गरी परीक्षण गरिएका कर्मचारीमा कोभिड सङ्क्रमण भएपछि अर्को सूचना नभएसम्मका लागि सबै सेवा बन्द गरेको जनाएको छ । नियमित गर्दै आएको नगरपालिकाको मातृशिशु स्वास्थ्य परीक्षणसम्बन्धी सेवा समेत बन्द भएको सूचनामा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश

बैतडी प्रतिनिधि नरी बडुका अनुसार कोभिड–१९ सङ्क्रमणको जोखिम बढ्दै आएको भन्दै बैतडीका तीन ओटा स्थानीय तहलाई सील गरिएको छ । मेलौली नगरपालिका, पुर्चौडी नगरपालिका र पञ्चेश्वर गाउँपालिका क्षेत्रलाई सील गरिएको हो । मेलौली नगरपालिकामा सवारी चालक र भारतबाट फर्किएका एक स्थानीय बासिन्दालाई काभिड पुष्टि भएसँगै असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सील गरिएको हो । मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टका अनुसार सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब सङ्कलन गर्ने कार्य हुने भएकाले नगरक्षेत्र सील गरिएको हो ।

पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सील गरिएको छ । भारतबाट फर्किएका एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको र आठ जना नयाँ सङ्क्रमित थपिएपछि नगरक्षेत्र सील गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिनुभयो । पञ्चेश्वर गाउँपालिकामा कार्यरत एक कर्मचारीलाई कोभिड सङ्क्रमण भएपछि गाउँपालिका क्षेत्र असोज १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि सील गरिएको अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । मेलौलीमा हालसम्म ३६ जनामा सङ्क्रमण पुष्टि भएकोमा दुई जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् । पुर्चौडीमा हालसम्म २० जनामा कोरोना पुष्टि हुँदा आठ जना सक्रिय सङ्क्रमित रहेका छन् भने एक जनाको मृत्यु भएको छ ।


अनलाइन डेस्क