कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २३ गते)

असोज २३ गते २ हजार ५९ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १ लाख नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितको सङ्ख्या १ लाख ६ सय ७६ पुगेको हो । गत २४ घण्टामा १३ हजार २ सय ७९ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २३ गतेसम्म ६ सय जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ७३ हजार २३ जना निको भएका छन् । असोज २३ गते १ हजार ६ सय ८० जना निको भएका छन् भने निको हुनेको दर ७२.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २७ हजार ५३ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १५ हजार ८ सय ७७ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । ३ सय १८ जनाको उपचार आइसीयूमा र ७५ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोभिड–१९ सङ्क्रमित रुपनी गाउँपालिका–१ का ३३ वर्षीय कर्मचारीको उपचारको क्रममा मेडिकल कालेज (केएमसी) काठमाडौँमा असोज २२ गते मृत्यु भएको रुपनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामनारायण यादवले जानकारी दिनु भयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा असोज २३ गते गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीसहित सर्वसाधारणलाई सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो । योसँगै सप्तरीमा सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ३ सय ६३ पुगेको छ । जसमध्ये १ हजार १ सय ३ जना निको भएका छन् ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार कोभिड–१९ सङ्क्रमित लहान नपा–६ की ४८ वर्षीया महिलाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा असोज २२ गते मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । हेपाटाइटिस बि र जण्डिसको उपचार गराउन गएका उनको पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट देखिएको थियो ।

बागमती प्रदेश 

रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार जिल्लामा  कोभिड–१९ का सङ्क्रमित बिरामी बढेपछि रामेछाप नगरपालिकाले अर्को सूचना जारी नहुँदासम्मको लागि लकडाउन गरेको छ । नगरपालिकाले नगरपालिकाका बजार निश्चित समयको लागि मात्र खुल्ला गर्ने निर्णय गरेको हो । असोज २२ गते सात जना स्वास्थ्यकर्मीसहित १३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएएपछि नगरपालिकाले पसल तथा व्यापार व्यवसाय बिहान ५ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको छ । रामेछाप नगपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेका अनुसार रामेछाप बजारका केही स्थानीयसहित नगरपालिकाका कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाका बजार क्षेत्रहरूमा थप कडाई र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउने निर्णय गरेको हो ।

यसैबिच, एकैपटक सात जना स्वास्थ्यकर्मीमा कोभिड–१९ सङ्क्रमण देखिएपछि रामेछाप जिल्ला अस्पतालले आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा असोज २२ गते कोभिड–१९ पुष्टि भएको हो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रोशन पाख्रिनका अनुसार सङ्क्रमित स्वास्थ्यकर्मीमा खोकी, ज्वरो लगायतका लक्षण समेत देखिएका छन् । अस्पतालमा कार्यरत १३ जनाको स्वाब सङ्कलन गरी पठाइएकोमा सात जनामा सङ्क्रमण देखिएको उहाँले बताउनुभयो । सङ्क्रमण देखिएका स्वास्थ्यकर्मीलाई अस्पतालको अइसोलेशनमा राखिएको छ । बाँकी स्वास्थ्यकर्मी र कर्मचारीलाई पनि अस्पतालकै क्वारेण्टिनमा राखिएको उहाँले जानकारी दिनुभयो ।

काभ्रे प्रतिनिधि हिरामान तामाङका अनुसार जिल्ला स्वास्थ्य सेवा कार्यालय र मालपोत कार्यालयका कर्मचारीलाई असोज २३ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि दुवै कार्यालय बन्द भएका छन् । सङ्क्रमण पुष्टि भएका स्वास्थ्यकर्मीहरू आइसोलेशनमा बस्नु पर्ने भएकोले कर्मचारी अभाव हुने भन्दै अर्को सूचना प्रकाशन नहुञ्जेलसम्मका लागि कार्यालय बन्द हुने स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो । यसैगरी मालपोत कार्यालयमा कार्यरत कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि मालपोत कार्यालय पनि बन्द गरिएको छ । सङ्क्रमण पुष्टि भएकाको सम्पर्कमा आएका कर्मचारी समेत क्वारेण्टिनमा बस्नु पर्ने भएकाले कार्यालय बन्द गरिएको मालपोत अधिकृत लोकबहादुर भण्डारीले बताउनु भयो । अधिकृत भण्डारीका अनुसार असोज २३ गतेदेखि ३० गतेसम्म कार्यालय बन्द हुने छ । यो अवधिमा कार्यालयले कुनै पनि सेवा दिन नसक्ने कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेश

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत १४ प्रहरीको पीसीआर रिपोर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीले बताउनुभयो । असोज १९ गते गोरखा नगरपालिका–११ बाह्रकिलोका आठ र जिल्ला प्रहरी कार्यालय गोरखाका एक गरी नौ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । असोज १९ गते पुष्टि भएका सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङका क्रममा असोज २३ गते थप १४ जनामा कोभिड पुष्टि भएको हो । असोज १९ गते कोरोना पुष्टि भएको १२ प्रहरीलाई वाह्रकिलो प्रहरी चौकीलाई नै आइसोलेशन बनाएर आठ प्रहरी राखिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताउनुभयो । असोज २३ गते सङ्क्रमण पुष्टि भएकाहरू पीसीआर परीक्षणपछि मनकामना वहिरा माविको क्वारेण्टाइनमा रहेको र सङ्क्रमण पुष्टि भएपछि आइसोलेशन पठाइएको उहाँको भनाइ छ ।

सुदूरपश्चिम प्रदेश

बैतडी प्रतिनिधि नरी बडुका अनुसार पाटन नगरपालिकामा कार्यरत दुई जना कर्मचारीमा कोभिड–१९ पुष्टि भएपछि पाटन नगरपालिकालाई एक साताका लागि सील गरिएको छ । डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणबाट उनीहरूमा कोभिड पुष्टि भएपछि नगरपालिका सील गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुभयो । असोज ३० गतेसम्म नगरपालिका र १० ओटै वडा कार्यालयबाट प्रदान गरिने सबै सेवा बन्द हुने पनि उहाँले बताउनुभयो ।

डडेल्धुरा प्रतिनिधि भूपेन्द्र विष्टका अनुसार डडेल्धुरा अस्पतालमा कार्यरत एक कर्मचारीमा असोज २२ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि असोज २३ गतेदेखि अस्पताल सील गरिएको छ । अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालले प्रदान गर्दै आइरहेकाोआकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डाक्टर जगदिशचन्द्र बिष्टले बताउनु भयो ।

कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार बेलौरी नगरपालिकामा कार्यरत तीन जना कर्मचारीमा असोज २३ गते कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि असोज २३ गतेदेखि आसोज २९ गतेसम्मका लागि नागरपालिका सील गरिएको छ ।  बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज चौधरीले नगरपालिकाले प्रवाह गर्ने सम्पूर्ण सेवा बन्द गरी कार्यालयका कर्मचारीहरुको कोभिड–१९ परीक्षण तथा कन्ट्याक्ट ट्रेसिङ्ग गरिने बताउनु भयो ।


अनलाइन डेस्क