कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३ गते) 

भदौ ३ गते २ सय ४६ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९४ हजार ८ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १ हजार ६ सय २१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७७ हजार ८ सय ४५ जना निको भएका छन् । भदौ ३ गते ४ सय ८७ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार २४ रहेको छ ।

भदौ ३ गतेसम्म ११ हजार ९ सय ९० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । भदौ ३ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौ ३ गते ३ हजार ३ सय २४ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय ७७ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ३ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४८ हजार ८ सय ३८ जनालाई कोभिड पुष्टि भएको छ । भदौ ३ गतेसम्म २ करोड १२ लाख २२ हजार ३ सय ४३ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतिका अनुसार शिक्षक र विद्यार्थीमा कोभिड सङ्क्रमण देखिएपछि आरुघाट गाउँपालिका–८ को दरवार मावि आरुपोखरीको पठनपाठन एक साताका लागि बन्द गरिएको छ । भदौ ३ गते आरुपाखरीमा ६६ जनाको कोभिड परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक सुनिता अधिकारीले जानकारी दिनु भयो । सङ्क्रमण फैलिन नदिन भदौ १० गतेसम्म भौतिक उपस्थितिमा हुने पठनपाठन बन्द गरेको विद्यालयले जनाएको छ । सो  अवधिसम्म अन्य विधिबाट पढाउने निर्णय नभएकाले विद्यालय बन्द गरिएको हो ।


अनलाइन डेस्क