कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३० गते) 

साउन ३० गते ४ सय २७ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ९३ हजार ४ सय ५९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार १ सय ५५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७६ हजार ८३ जना निको भएका छन् । साउन ३० गते ४ सय ७४ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ३ सय ८७ रहेको छ ।

साउन ३० गतेसम्म ११ हजार ९ सय ८९ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन ३० गते एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन ३० गते २ हजार ५ सय ८२ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ४ सय ६१ जनालाई कोभिड पुष्टि भएको छ । साउन ३० गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४७ हजार ३ सय ७३ जनालाई कोभिड पुष्टि भएको छ । साउन ३० गतेसम्म २ करोड ८ लाख ७६ हजार ७५ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार कोभिड–१९ को सङ्क्रमण र भाइरल ज्वरोका बिरामी बढेपछि लिखु गाउँपालिकाले चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको सूचना जारी गरेको छ । गाउँपालिकाले साउन ३० गते जारी गरेको सूचनामा भदौ २ गतेसम्म गाउँपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द हुने उल्लेख छ । सामुदायिक विद्यालयका विद्यार्थी तथा शिक्षकहरूमा भाइरल ज्वरोका कारण नियमित पठनपाठन गर्न असहज भएपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत विपना श्रेष्ठले बताउनु भयो । लिखु गाउँपालिका–८ मा साउन २९ गते २३ जनाको स्वाव परीक्षण गर्दा शिक्षक र विद्यार्थीसहित ६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।


अनलाइन डेस्क