कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन १८ गते) 

साउन १८ गते ५ सय ९० जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ८८ हजार ३ सय २७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ९१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ७० हजार ९ सय २६ जना निको भएका छन् । साउन १८ गते ३ सय १ जना निको भएका छन् भने निको हुनेको दर ९८.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ३३ रहेको छ ।

साउन १८ गतेसम्म ११ हजार ९ सय ६८ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । साउन १८ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार साउन १८ गते २ हजार ९ सय ११ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ३ सय १ जनालाई कोभिड पुष्टि भएको छ ।

साउन १८ गतेसम्म एण्टिजेन विधिबाट गरिएको परीक्षणमा १ लाख ४३ हजार ५ सय २६ जनालाई कोभिड पुष्टि भएको छ । साउन १८ गतेसम्म २ करोड ६ लाख ७ हजार २ सय ४७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार तिला गाउँपालिका–६ घोडे गाउँस्थित जनजागृति माध्यामिक विद्यालयका विद्यार्थीलाई कोभिड सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।

८८ जनाको नमूना परीक्षण गर्दा एक जना छात्र र एक जना छात्रा गरी दुई जना विद्यार्थी र एक जना स्वास्थ्यकर्मीलाई कोभिड सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो ।

विद्यार्थीहरूलाई खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लक्षण देखिएकोे प्रधानाध्यापक जयलाल रोकायाले बताउनु भयो ।

ती विद्यार्थीहरू एक सातादेखि बिरामी परेपछि विद्यालय प्रशासनले गाउँपालिकाको स्वास्थ्य शाखालाई परीक्षणको माग गरेको थियो । विद्यालयले विज्ञप्ति निकालेर साउन १९ र २० गते विद्यालय बन्द रहने जनाएको छ । जनजागृति मावि घोडेमा २ सय २२ जना विद्यार्थी छन् ।


अनलाइन डेस्क