कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २२ गते)
असोज २२ गते ४ हजार ३ सय ६४ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९८ हजार ६ सय १७ पुगेको छ । एकैदिन यति धेरैमा सङ्क्रमण पुष्टि भएको यो पहिलो हो । परीक्षण पनि एकैदिन धेरैको भएको छ । गत २४ घण्टामा १८ हजार ४ सय ७३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २२ गतेसम्म ५ सय ९० जना कोभिड–१९ सङ्क्रमितको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ७१ हजार ३ सय ४३ जना निको भएका छन् । असोज २२ गते २ हजार ६ सय ७५ जना निको भएका छन् भने निको हुनेको दर ७२.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । २६ हजार ६ सय ८४ जनाको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार १४ हजार ९ सय ६७ जनाको उपचार होम आइसोलेशनमा भइरहेको छ । २ सय ३५ जनाको उपचार आइसीयूमा र ४२ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ ।
प्रदेश १
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार धरान उपमहानगरपालिका–१० का कोभिड–१९ सङ्क्रमित ३९ वर्षीय पुरुष्को मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले बताउनुभयो । असोज १२ गते सङ्क्रमण पुष्टि भएर १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका उनको मृत्यु असोज २२ गते बिहान भएको हो । धरान उपमहानगरपालिमा कोभिड सङ्क्रमितको सङ्ख्या बढेपछि २० ओटै वडा कार्यालय र उपमहानगरको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । जनप्रतिनिधि र कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि असोज २२ गतेदेखि २८ गतेसम्म सेवा बन्द गरिने निर्णय गरिएको उपमहानगरका प्रमुख तिलक राईले बताउनुभयो । इटहरी उपमहानगरपालिका पनि असोज २३ गतेसम्म बन्द रहने भएको छ । पटकपटक गरी तेस्रो पटक पनि दुई दिन इटहरी उपमहानगरपालिकाको कार्यालय सहित २० ओटै वडा असोज २३ गतेसम्म बन्द रहने भएको उपप्रमुख लक्ष्मी गौतमले बताउनु भयो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोभिड सङ्क्रमित राजगढ गाउँपालिका–४ छातापुर घर भई राजविराज नपा–६ मा किराना व्यापार गर्ने ६७ वर्षीय पुरुषको असोज २२ गते बिहान मृत्यु भएको छ । राजविराजस्थित घरबाट उपचारका लागि एम्बुलेन्समा गजेन्द्रनारायण सिंह अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको राजगढ गाउँपालिकाका स्वास्थ्य संयोजक रामचन्द्र यादवले बताउनु भयो । राजविराजस्थित अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा असोज २१ गते उनलाई कोभिड सङ्क्रमण देखिएको थियो । उनी दमको रोगी रहेको परिवारका सदस्यले बताएका छन् । यसबारे जिल्ला कोभिड–१९ नियन्त्रण समितिका प्रवक्ता समेत रहेका स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवलाई समेत जानकारी नरहेको उहाँले बताउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार शहिदनगरपालिका–१ का ७० वर्षीय कोभिड सङ्क्रमित पुरुषको असोज २१ गते राति मृत्यु भएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि असोज २० गते अस्पताल भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । मृतकको असोज २० गते नै पीसीआर परीक्षण गर्दा असोज २१ गते दिउँसो रिपोर्ट पोजिटिभ आएको थियो । उनी मुटुका रोगी समेत रहेको अस्पतालले जनाएको छ ।
बागमती प्रदेश
सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार असोज २२ गते जिल्ला प्रशासन कार्यालयका ११ जना कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि असोज २२ गतेदेखि २६ गतेसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने शान्ति सुरक्षा बाहेक अन्य सेवा बन्द गरिएको साहायक प्रमुख जिल्ला अधिकारी बावुराम खनालले बताउनु भएको छ । यसैबिच, जिल्ला प्रशासन कार्यालयका शाखा अधिकृत सुनिता पहरीद्वारा असोज २२ गते एक विज्ञप्ति जारी गरी सर्वसाधारणमा जिल्ला प्रशासन कार्यालय बन्द गरिएको जनाइएको छ ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार चितवन मेडिकल कलेजका ४० जनाभन्दा बढी स्वास्थ्यकर्मी र कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पोजेटिभ देखिएपछि स्वास्थ्य सेवा प्रभावित भएको छ । अस्पतालका प्रमुख डा. हरिशचन्द्र न्यौपानेले पनि अस्पतालका धेरैजसो कर्मचारीहरू कोभिड–१९ सङ्क्रमणका कारण आइसोलेशनमा बस्नु परेको तथा कोभिड आइसीयू भरिएको हुँदा नयाँ बिरामी भर्ना लिन नसकिने जनाउनु भएको छ । यस अस्पतालले कोभिड बिरामी उपचारका लागि छुट्याएको २ सय ४ ओटा आइसोलेशन बेड भरिएको छ । साथै अस्पतालका अधिकांश नर्सहरू, रेसिडेण्टल डाक्टर, कन्सल्टेण्ट डाक्टरहरू सङ्क्रमित भई अस्पतालमा र घरमै उपचार गराइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
यसका साथै केन्द्रीय अस्पतालको रूपमा रहेको भरतपुर सरकारी अस्पताल, चितवन मेडिकल कलेज (नयाँ) र कलेज अफ मेडिकल साइन्सेज (पुरानो) मा समेत आइसीयू बेड भरिएका छन् । नयाँ मेडिकल कलेजमा ५९, पुरानोमा ५० र सरकारी अस्पतालमा १० ओटा आइसीयू छन् । भरतपुर अस्पतालमा एक महिनादेखि नै कोभिड आइसीयू अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनु भएको छ । उहाँले आइसीयू बेड भरिएपछि कतिपय बिरामीहरू फर्काउन अस्पताल बाध्य भएको बताउनु भयो । पुरानो मेडिकल कलेजका जनसम्पर्क विकास प्रमुख दुर्गा शर्माले यस अस्पतालमा पनि आइसीयू बेड भरिएको बताउनु भयो । शर्माले पनि नयाँ गम्भीर प्रकृतिका कोभिड–१९ बिरामीका लागि बेड खाली नभएको बताउनु भयो । जिल्ला स्वास्थ्य सेवा कार्यालय चितवनका प्रमुख दीपक तिवारीले अस्पतालहरूबाट प्राप्त हुने दैनिक कोभिड अपडेट तथ्याङ्कले पनि आइसीयू बेड भरिएको पाइएको बताउनु भयो ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार समुदायमा कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएपछि घिरिङ गाउँपालिकाले गाउँपालिका भित्र सार्वजानिक यातायात सञ्चालनमा रोक लगाएको छ । गाउँपालिकाले असोज २२ गतेबाट अर्को सूचना जारी नहुँदासम्म गाउँपालिका भित्र सार्वजानिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताउनुभयो । नीजि सवारी साधनले गाउँपालिका प्रवेश गर्दा वा गाउँपालिका छाड्दा अनिवार्य रूपमा गाउँपालिकामा त्यसको विवरण दिनुपर्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार कोभिड–१९ सङ्क्रमित पोखरा महानगरपालिका–१६ का ८३ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा असोज २२ गते मृत्यु भएको छ । असोज १३ गते कोभिड–१९ पुष्टि भएपछि उनलाई सोही दिन साढे ३ बजे अस्पताल भर्ना गरिएको थियो । मृतक पुरुष हाइपरटेन्सन, डाइबेटिज् तथा मिर्गौलाको रोगको बिरामी भएको पनि अस्पतालले जनाएको छ ।
लुम्बिनी प्रदेश
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतिनिधि नारायण पराजुलीका अनुसार कोभिड–१९ सङ्क्रमित सुनवल नपा–५ निवासी ७६ वर्षीया महिलाको मृत्यु भएको छ । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ । गत २४ घण्टामा जिल्लामा आठ जना महिला र पाँच जना पुरुष गरी १३ जनामा सङ्क्रमण भएको जिल्ला स्वास्थ्य सेवा कार्यलयले जनाएको छ । यससँगै सङ्क्रमितको सङ्ख्या ६ सय १७ पुगेको छ ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार भीमदत्त नपा–४ महेन्द्रनगरस्थित आन्तरिक राजस्व कार्यालय, महेन्द्रनगरमा कार्यरत एक जना कर्मचारीमा असोज २० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज २२ गतेदेखि कार्यालय सील गरिएको छ । कार्यालयका सबै कर्मचारीहरुको कोभिड–१९ परीक्षण गरिएको र कर्मचारीको परीक्षण रिर्पोट नआउँदासम्म कार्यालयका सम्पुर्ण सेवा बन्द गरी सील गरिएको आन्तरिक राजस्व कार्यालय, महेन्द्रनगर कम्प्युटर अधिकृत भीम बिष्टले बताउनु भयो । भारतलगायत तेस्रो मुलुकबाट आएकाहरू वडा कार्यालयसँग समन्वय नै नगरी होम क्वारेण्टिनमा बस्दा स्थानीय स्तरमै जोखिम बढ्न थालेपछि उनीहरूलाई होम क्वारेण्टिनको फारम भर्न अनिवार्य गरिएको र सम्पर्क नगरी होम क्वारण्टिनमा नबस्न आग्रह गरिएको बेलौरी नगरपालिका कोभिड–१९ संयोजक मानबहादुर चन्दले बताउनु भयो । फाराम नभरी आफूखुसी होम क्वारेण्टिन बस्नेहरूको पीसीआर निःशुल्क परीक्षण गर्न नसकिने चन्दले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…