कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २९ गते)

फागुन २९ गते ५९ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७७ हजार ९ सय ३७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । फागुन २९ गते परीक्षण गरिएकामध्ये एक प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १७.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा ६ हजार ३ सय ६ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ९ लाख ६१ हजार ७० जना निको भएका छन् । फागुन २९ गते १ सय ९२ जना निको भएका छन् भने निको हुनेको दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । फागुन २९ गतेसम्म ११ हजार ९ सय ५० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । फागुन २९ गते कोभिड सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ९ सय १७ रहेको छ ।

मन्त्रालयका अनुसार फागुन २९ गते १ हजार ६ सय ४१ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ६ जनालाई कोभिड पुष्टि भएको छ । फागुन २९ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३९ हजार ९ सय ४२ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । फागुन २९ गतेसम्म १ करोड ८४ लाख ५२ हजार ४ सय ६७ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा ९८.१७ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण खोप पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार १८ वर्ष उमेर माथिका १ लाख ५९ हजार २ सय ३८ अनुमानित जनसङ्ख्या मध्ये १ लाख ५६ हजार ३ सय ३० जनाले पुर्ण खोप पाएका हुन् । त्यस्तै १२ देखि १७ बर्ष उमेर समूहका ८६.३ प्रशितले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य कार्यालय गोरखाका सूचना अधिकारी नवराज खड्काले बताए । १२–१७ उमेर समुहका २६ हजार ६ सय ६१ अनुमानीत जनसङ्ख्या रहेको र २३ हजार पाँच जनाले मोडर्न खोप लगाइएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । खोप लगाउन छुटेकाहरुलाई पालिकामा खोप लगाउने कार्य जारी रहेको उनले बताए । नजिकको स्वास्थ्य संस्था वा गाउपालिकाको स्वास्थ्य इकाइले कोभिड १९ विरुद्धको खोप लगाउने अभियानलाई निरन्तरता दिएका हुन् ।


अनलाइन डेस्क