कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ २१ गते)

माघ २१ गते १ हजार ६ सय २ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ६४ हजार १ सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ २१ गते परीक्षण गरिएकामध्ये २४ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.३ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ६ सय ५५ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ९५ हजार ८ सय ६८ जना निको भएका छन् । माघ २१ गते ८ हजार ४ सय २५ जना निको भएका छन् भने निको हुनेको दर ९२.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ २१ गतेसम्म ११ हजार ७ सय ९४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ २१ गते १६ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ हजार ४ सय ५७ रहेको छ ।

मन्त्रालयका अनुसार माघ २१ गते ४ हजार ४ सय १८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा ९ सय २४ जनालाई कोभिड पुष्टि भएको छ । माघ २१ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख ३३ हजार ४ सय ७० जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ २१ गतेसम्म १ करोड ५१ लाख ८३ हजार ४ सय ४६ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ ।

हुम्ला प्रतिनिधि नन्द सिंहका अनुसार माघ २० गतेदेखि लगातार हिमपात भएपछि कोभिड बिरूद्धको खोप अभियान दुई दिनदेखि प्रभावित बनेको छ । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले हिमपातले गर्दा दुई दिन यता जिल्ला भरि खोप लगाउने कार्य प्रभावित भएको बताउनु भयो । उहाँले जिल्लाका सात ओटै गाउँपालिकाका ८१ वटा खोप केन्द्रमा खोप सहित स्वास्थ्यकर्मी पुगेर अभियानका रूपमा सञ्चालन गरेको भएपनि हिमपातले सो कार्य पूर्ण रूपमा बन्द भएको बताउनु भयो । यस कार्यमा दुई सय भन्दा बढी स्वास्थ्यकर्मी र स्वास्थ्य स्वयम सेविका परिचालन गरिएको छ । जिल्लाभर बालबालिकाका लागि मोडर्ना खोपको दोस्रो मात्रा, बुस्टर खोप र अन्य पहिलो र दोस्रो मात्राको खोप लगाउने कार्य भइरहेको थियो ।


अनलाइन डेस्क