कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ १४ गते)

माघ १४ गते ४ हजार ८ सय ७ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ४४ हजार ७४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । माघ १४ गते परीक्षण गरिएकामध्ये ३५ प्रतिशतमा कोभिड पुष्टि भएको भएपनि समग्रमा परीक्षण गरिएकामध्ये १८.२ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १३ हजार ७ सय ९१ ओटा स्वाब पिसिआर परीक्षणका लागि सङ्कलन गरेको पनि मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ८ लाख ४२ हजार ४ सय ३६ जना निको भएका छन् । माघ १४ गते ५ हजार ४ सय ३२ जना निको भएका छन् भने निको हुनेको दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । माघ १४ गतेसम्म ११ हजार ६ सय ९७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । माघ १४ गते १० जना कोभिड सङ्क्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार ९ सय ४१ रहेको छ ।

मन्त्रालयका अनुसार माघ १४ गते ६ हजार ७८ ओटा स्वाब एण्टिजेन विधिबाट परीक्षण गरेकामा २ हजार २० जनालाई कोभिड पुष्टि भएको छ । माघ १४ गतेसम्म एण्टिजेन परीक्षणबाट १ लाख २४ हजार ८ सय ५८ जनामा कोभिड पोजेटिभ पुष्टि भएको छ । यो सङ्ख्यामा उपचार, निको र कूल सङ्क्रमितमा जोडिएको भने पाइँदैन । माघ १४ गतेसम्म १ करोड ३८ लाख ३३ हजार ६ सय २९ जनालाई पुर्ण खोप लगाइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, सप्तरी, सिरहा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, कास्की, नवलपरासी पूर्व, तनहुँ, बाँके, रुपन्देही, दाङ र कैलालीमा सक्रिय सङ्क्रमित ५ सयभन्दा बढी रहेका छन् ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार झापा गाउँपालिका–७ वडा कार्यालयमा दुई जना कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि वडा कार्यालयले माघ १४ गतेदेखि माघ १८ गतेसम्मका लागि अत्यावश्यकबाहेकका अन्य सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष जयनारायण शाहले बताउनु भएको छ ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार राष्टिय वाणिज्य बैङ्क सिरहा शाखाका ६ जना कर्मचारीलाई कोभिड सङ्क्रमण पुष्टि भएपछि बैङ्कले कारोबार बन्द गरेको छ । शाखाले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेको शाखा प्रवन्धक शिवशङ्कर यादवले बताउनु भयो ।

Corona Infographics 2078-10-14 Nepali


अनलाइन डेस्क